जुत्ताको मूल्यभन्दा कमजोर अर्थतन्त्र

नेतृत्वको वास्तविक शक्ति केवल सत्ता प्राप्तिमा होइन, न्याय र समानताको स्थापना गर्न सक्ने क्षमतामा हुन्छ । मुलुकलाई त्यस्तो नेतृत्वको आवश्यकता छ, जसले सबै नागरिकलाई समान अवसर र सम्मान दिन्छ ।

फाल्गुन ९, २०८२

भोजराज पौडेल

An economy weaker than the price of shoes

What you should know

जुत्ताको मूल्य महँगो होइन । तर राज्यको नालायकीले गर्दा चर्को पर्‍यो । प्रकाश बोहोराले जम्मा १५०० रुपैयाँ (१०.३७ अमेरिकी डलर) मा किनेको एक जोर जुत्ताले नेपाली अर्थतन्त्र किन जकडिएको छ र यसलाई कसले बन्दी बनाएर राखेको छ भन्नेबारे सबैले बुझ्ने गरी सपाट कथा बताइदिएको छ । प्रकाशले त्यही जुत्ता लगाएको खुट्टामा प्रहरीले गोली चलायो । जेन–जी आन्दोलनका क्रममा संसद् भवनअगाडि गोली लागेर ढलेका प्रकाशको दैलेखदेखि सुरु भएको दुःखको कथाले नेपाली राजनीति र अर्थनीतिको केन्द्रमा बसेका सबैलाई एकैपटक खोजेको छ ।

पछिल्लो तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय १२४३.३ अमेरिकी डलर छ । मुलुक अहिले पनि अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीमा छ । आर्थिक वृद्धिदर अत्यन्त न्यून छ । केही दिनअघि मात्र सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । हाम्रा सारा प्रयत्नका बाबजुद मुलुकको अर्थतन्त्रको प्रमुख आधार नै विप्रेषण आय रहिआएको छ । यसमा तत्काल परिवर्तन हुने देखिँदैन । हाम्रो अर्थतन्त्र यति कमजोर र शिथिल हुनुका पछाडि दशकौंदेखि थिग्रिएर बसेको कुशासन, बेथिति, भ्रष्टाचारलगायतका कारण छन् । यिनै बेथितिविरुद्धको लडाइँमा प्रकाशको जुत्ता अलपत्र पर्‍यो । दर्जनौं निहत्था युवाको जीवन अन्त भयो ।

जेन–जी आन्दोलनले कुनै अमुक पात्रलाई सत्ताच्युत र नयाँ पात्रको सत्तारोहण खोजेको होइन । तर हुन गइरहेको त्यही छ । यसकारण पनि मलाई लाग्छ, यो आन्दोलनको मर्मलाई हामीले धेरै पछाडि छाडिसकेका छौं । निर्वाचनको प्रक्रियाबाट जोसुकै सत्तामा आए पनि मुलुकले आर्थिक विकासको बाटो समात्न सक्नेछैन भन्ने स्पष्ट छ । किनभने राजनीतिक वृत्तमा मुलुक निर्माणको आर्थिक र राजनीतिक दर्शनसँग खासै चिन्ता छैन । नेताका भाषण छन् तर त्यहाँ स्पष्टता र इमानदारिता छैन । यसकारण हामीले खोजेको आर्थिक क्रान्ति र राजनीतिक संस्कारको निर्माणका लागि कतैबाट पनि पहल हुन सक्ने देखिँदैन ।

पछिल्ला दशकहरू, खासगरी सन् २०१५ देखि यताको यात्रा हेर्दा हामीले मुलुक निर्माणका लागि इमानदार प्रयत्न गरेका छैनौं । यसको सबैभन्दा ठूलो उदाहरण संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनाएको गठबन्धन सरकार हो । यो राजनीतिक बेइमानी मात्र नभएर संसदीय मर्यादाको विपरीत थियो । यस्तो बेइमान र अनैतिक गठबन्धन र यसको जगमा उभिएको सरकारले गरेका हदसम्मका निर्णयलाई नेपाली समाजको सबैभन्दा पछिल्लो जेन–जी पुस्ताले सहन सकेन । उनीहरूको अकर्मण्यतालाई विद्रोहमार्फत बाहिर धकेल्ने काम जेन–जी पुस्ताले गर्‍यो । सरकार प्रमुख नै सुरक्षा घेरामा रहेर भाग्नुपर्ने अवस्था आयो । यही पुस्ताको आन्दोलनमा सहभागी एक जोर जुत्ताको कथाले हाम्रो अर्थतन्त्रको अवस्थालाई बाहिर ल्याइदिएको छ । जेन–जी आन्दोलनमा रगतले लथालिंग भएको जुत्ताको तस्बिरले देशभरि हलचल ल्यायो । त्यो जुत्ता केवल एउटा वस्तु रहेन । त्यो एउटा पुस्ताको पीडा, निराशा, आक्रोश र परिवर्तनको चाहनाको प्रतिबिम्ब बन्न पुग्यो ।

कहिलेकाहीं साना प्रतीकहरू, जस्तै त्यो जुत्ता, हाम्रो समाजको गहिरो पीडा र असन्तुष्टिको ऐना बन्छन् । त्यो जुत्ता कसको थियो ? किन रगत पोतिएर लथालिंग भयो ? पत्रकारहरूले खोजी गर्दा, उनीहरूले केवल एउटा घाइतेको पहिचान मात्र होइन, नेपाली समाजको गहिरो पीडा र असन्तुष्टिको तह पत्ता लगाए । रोजगारीको खोजीमा देश–विदेश भौंतारिइरहेका युवाहरू, अवसरको अभावमा निराश भएका परिवारहरू र परिवर्तनको आशामा सडकमा उत्रिएका नागरिकहरूलगायतको कथा त्यो जुत्तामा मिसिएको थियो ।

अब प्रश्न उठछ, के हिजोको पुस्ताले मुलुक निर्माणको कुनै पनि काम नै नगरेको हो त ? त्यस्तो होइन । अघिल्लो पुस्ताले धेरै गरेको छ । राष्ट्रका लागि लडेको थियो । तर अब त्यो तरिकाको गराइले पुग्दैन । भोलि कस्तो बनाउने भन्नेबारेमा आजको पुस्ताले निर्णय गर्ने हो । कस्तो देश बनाउने भन्ने केवल राजनीतिक वा आर्थिक मात्र होइन, सामाजिक र नैतिक प्रश्न पनि हो । पुस्तान्तरणको अर्थ केवल उमेरको अन्तर होइन । यो सोच, दृष्टिकोण र मूल्यको हस्तान्तरण हो । हिजोका पुस्ताले गरेका संघर्ष र बलिदानको फलस्वरूप हामीले गणतन्त्र, संघीयता र समावेशिताको अभ्यास गर्न पाएका छौं । तर, यो नै सबथोक होइन । यी सब त केवल साधन मात्र थिए । अब यहाँबाट अगाडि हामीले कस्तो समाज निर्माण गर्छौं, अर्थतन्त्रलाई कसरी अगाडि बढाउँछौं र समाजलाई कति परिस्कृत बनाउँछौं भन्ने विषय मुख्य हो ।

आजका युवाहरू प्रविधि, सूचना र विश्वव्यापीकरणको युगमा हुर्किएका छन् । उनीहरूमा नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ ऊर्जा छ । तर, उनीहरूमा निराशा, असन्तुष्टि र आक्रोश पनि छ । जब अवसरको अभावमा हजारौं युवा विदेशिन बाध्य हुन्छन्, जब आफ्नै देशमा श्रमको सम्मान हुँदैन, जब शिक्षा र सीपको उचित प्रयोग गर्न सकिँदैन, तब त्यो निराशा आन्दोलन, आक्रोश र अन्ततः विद्रोहमा परिणत हुन्छ ।

नेपालको आर्थिक अवस्था पछिल्ला वर्षहरूमा चुनौतीपूर्ण बन्दै गएको छ । स्रोत जुटाउन र खर्च गर्न नसकेपछि सरकारले चालु आर्थिक वर्षको बजेट २ खर्ब ७५ अर्बले घटाएको छ । अर्थमन्त्रीले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षामा चालु आर्थिक वर्षको कुल विनियोजित बजेटमा २ खर्ब ७५ अर्ब ७८ करोड ३३ लाख रुपैयाँ घटाइएको जानकारी दिएका छन् । यसअघि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको थियो । तर, बजेट खर्च गर्न नसक्ने देखिएपछि संशोधन गर्दै १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँमा झारिएको छ ।

पुँजीगत खर्चको अवस्था अत्यन्तै कमजोर रहेको अर्थ मन्त्रालयका अधिकारीले स्वीकार गर्छन् । राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि गरेको बजेट विनियोजनमा त्यसको मात्र १५.४९ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष सुरु हुनासाथ राजनीतिक संक्रमण आइपर्‍यो र त्यसपश्चात् निर्वाचनको पूर्वतयारी गर्नुपर्ने भएकाले पुँजीगत खर्चमा ध्यान जान सकेन भन्ने भनाइ छ । तर यो कुनै एक आर्थिक वर्षको समस्या होइन । हरेक आर्थिक वर्षमा हामीलाई केही न केही बहाना मिलिरहेको हुन्छ । यसकारण आयोजनाहरूको समयमा निर्माण सुरु हुँदैन, र सम्पन्न हुँदैन । अर्थ र विकाससँग जोडिएका तथ्यांकहरू केवल आर्थिक सूचकांक होइनन् । यिनले हाम्रो समाजको तस्बिर र मनोविज्ञान पनि बताइरहेका हुन्छन् । तर, आर्थिक संकट मात्र हाम्रो समस्या होइन । कानुनी अन्योल, सुशासनको अभाव र असमानता हाम्रो समाजका गहिरा घाउ हुन् ।

सन् २०२१ मा प्रकाशित फर्नान्डा पिरीद्वारा लिखित पुस्तक ‘दि रुल अफ लज्स् ःए ४,०००–इयर क्वेस्ट टु अर्डर द वर्ल्ड’ ले कानुन र शासनको विकासलाई फेहरिस्त गर्ने क्रममा प्राचीन मेसोपोटामियादेखि आधुनिक अन्तर्राष्ट्रिय कानुनी व्यवस्थासम्म समेटेकी छन् । अक्सफोर्ड विश्वविद्यालयकी प्रोफेसर पिरीले कुनै समाज तथा मुलुकले अंगीकार गरेका कानुन केवल सामाजिक नियन्त्रणका नियम नभई, त्यो समाज तथा मुलुकको साझा पहिचान, नैतिक ढाँचा र आर्थिक व्यवस्था भएको बताउँछिन् । मानव सभ्यतामा कानुनलाई कहिले सत्ता स्थापनाका लागि ‘तरबार’ त कहिले शक्ति दुरुपयोगबाट जोगिन ‘ढाल’ का रूपमा प्रयोग हुँदै आएको छ । नेपाली समाजमा हामीले कानुन केवल नागरिकलाई सत्ता र स्रोतबाट विमुख गर्नका लागि उपयोग गर्दै आएका छौं । यसकारण जब एउटा जुत्ताको रंग रगतले बदल्छ, अनि मात्र समाजले सुन्छ ।

पुस्तकमा मेसोपोटामियाको हम्मुराबीको संहितादेखि चीन, भारत, इस्लामिक र यहुदी कानुनी परम्परासम्मका विविध कानुनी पहिचानको चर्चा छ । चीनमा कानुनलाई सम्राट्ले ब्रह्माण्डको व्यवस्था स्थापनाका लागि प्रयोग गरे भने भारतमा धर्म र सामाजिक कर्तव्यमा केन्द्रित कानुन विकसित भयो ।

इस्लामिक र यहुदी परम्परामा कानुनलाई धार्मिक जीवन र परलोकसँग जोडिएको प्रणालीका रूपमा प्रस्तुत गरिएको छ । कानुनको निर्माण शासकले दमन गर्नका लागि मात्र नभई, साधारण जनता, व्यापारी, किसान र विभिन्न जातिद्वारा आफ्ना अधिकार र पहिचानको संरक्षण तथा दमनको प्रतिरोधका लागि गरिन्छ । पिरीका अनुसार कुनै कानुनी प्रणाली पूर्ण छैन । तर मानव सभ्यतालाई एकताबद्ध गर्ने कुरा भनेको कानुनले अराजकताबाट व्यवस्था र न्यायको बाटो देखाउन सक्छ भन्ने विश्वास हो । यही विश्वासका साथ दैलेखदेखि रुससम्मको यात्रा गर्ने साहस एउटा युवाले गर्न सक्छ । त्यहाँबाट समेत सकुशल घर फर्केको युवा आफ्नै देशको संसद् भवनअगाडि सत्तालाई सामान्य प्रश्न गर्दा गोली लागेर ढल्छ । योभन्दा निर्लज्ज समाज र सत्ता कहाँ हुन्छ ?

कानुनी अन्योल र सुशासनको अभावले जनतामा गहिरो असन्तुष्टि छ । जब कानुन केवल शक्तिशालीलाई सुरक्षा प्रदान गर्नका लागि लागू हुन्छ, जब साधारण नागरिकले न्याय पाउन सक्दैन, तब समाजमा निराशा र आक्रोश बढ्छ । तर, यति धेरै निराशा र असन्तुष्टिका बीचमा पनि आशाको किरण हराएको छैन । आन्दोलन, बहस र प्रतीकात्मक घटनाहरूले समाजमा चेतना फैलाइरहेका छन् । आजको पुस्ता केवल समस्यामा रोइरहेको छैन, उनीहरू समाधान खोज्न, प्रश्न गर्न र परिवर्तनका लागि संघर्ष गर्न तयार छन् भन्ने विषय हरेक नेपाली जेन–जीका खुट्टाले बताइरहेका छन् । ती प्रत्येक खुट्टाले लगाएका विदेशमा उत्पादित सस्ता जुत्ताले हाम्रो समाज र राज्यको चरित्र उदाङ्गो पारिरहेका छन् ।

मेरो बुबा पुस्ताले दुःख गरेर, छातीमा गोली थापेर ल्याएको प्रजातन्त्र कसैको एकलौटी सम्पत्ति थिएन । त्यो प्रजातन्त्रमाथि धावा बोलेर सत्तामा आएकाहरूले समाजलाई अगाडि बढाएनन् । हिजोको पुस्ताले बनाएको देश नयाँ पुस्तालाई सुम्पिन किन आनाकानी गरेको ? यो मुलुकलाई बन्धक बनाएर राख्ने काम कसले गरिरहेको छ ? नयाँ पुस्ताको सोच र कल्पनालाई किन अन्यथा प्रश्न गरिरहेका छौं हामी ? नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ मूल्यका साथ देशलाई अघि बढाउन हामी किन डराइरहेको ?

नेपालको इतिहासमा पुस्तान्तरणका धेरै उदाहरण छन् । राणा शासनको अन्त्य, प्रजातन्त्रको स्थापना, पञ्चायतको पतन, बहुदलीय लोकतन्त्र र गणतन्त्र, यी सबै परिवर्तनमा पुस्तान्तरणको भूमिका छ । तर, हरेक पुस्ताले आफ्ना चुनौती र सम्भावना बोकेको हुन्छ । चुनौतीसँग जुध्न नयाँ पुस्ता सक्षम छ । यसमा किन शंका र प्रश्न गरेको ? आजको पुस्ताले प्रविधि, सूचना, शिक्षा र विश्वव्यापीकरणको फाइदा उठाउन सक्छ । उनीहरूमा नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ ऊर्जा छ । तर, उनीहरूमा निराशा, असन्तुष्टि र आक्रोश पनि छ ।

एउटा जुत्ताले बोकेको कथा, अर्थतन्त्रको अवस्था, कानुनको उपहासले समाजलाई कलंकित गरेको छ । तर आन्दोलनको प्रतीकात्मकता र पुस्तान्तरणको चुनौतीलगायतले आजको अवस्था र भविष्यका सम्भावनाहरूलाई उजागर गर्छन् । यो मुलुकमा खास अर्थको परिवर्तन सजिलो छैन । तर असम्भव पनि होइन । जुत्ताले बोकेको जीवनको पीडा, आजको आन्दोलनले उठाएको आवाज र भोलिको आशाले नेपाललाई नयाँ दिशातर्फ डोर्‍याउनेछ । नेपालको इतिहास, वर्तमान र भविष्यको संगममा हामी उभिएका छौं । अबको यात्रा सजिलो छैन, तर आशा, संघर्ष र चेतनाले नयाँ नेपाल निर्माणको बाटो अवश्य खोल्नेछ ।

ईसापूर्व २११२ मा मेसोपोटामियाको उर सहरमा उर–नम्मा नामक एक महत्त्वाकांक्षी सैनिक नेताको उदय भयो । उनी एक सफल तर निर्दयी युद्धप्रमुखलाई हटाएर सत्तामा आएका थिए । शासन हातमा लिए । तर, उर–नम्मा केवल सत्ता र शक्ति प्राप्तिमा सीमित थिएनन् । उनी साँच्चै नै गरिब किसान, श्रमिक र कारीगरहरूलाई राहत दिन चाहन्थे । सामाजिक असमानता हटाउने वाचा गरेका थिए र त्यहीअनुसार काम गर्न चाहन्थे । त्यसकारण उनले घोषणा गरे, ‘मैले अनाथलाई धनीकहाँ सुम्पिने छैन । मैले विधवालाई शक्तिशालीकहाँ सुम्पिने छैन । मैले एक सुक्का भएको मानिसलाई साठी सुक्का भएको मानिसकहाँ सुम्पिने छैन । मैले एक भेडा भएको मानिसलाई एक गोरु भएको मानिसकहाँ सुम्पिने छैन । मैले वैर, हिंसा र न्यायका लागि चिच्याहटहरू हटाएँ ।’ घोषणा मात्र होइन, उनले यसका लागि नियमकानुन पनि लागू गरे । जसले समाजमा न्याय र समानता स्थापना गर्न मद्दत गर्‍यो ।

यो ऐतिहासिक उदाहरणले देखाउँछ कि कानुनको शासन केवल सामाजिक नियन्त्रणको माध्यम मात्र होइन, आर्थिक विकासका लागि आधारभूत पूर्वाधार पनि हो । कानुनी प्रणालीको निर्माणमा प्रारम्भिक कानुनहरू, जस्तै नेपालको हकमा मुलुकी ऐन, केवल अपराध नियन्त्रणका लागि नभई आर्थिक स्थिरता र व्यापार व्यवस्थापनका लागि पनि थिए । मुलुकी ऐनले दायित्वलाई नियमन गर्‍यो, जसले व्यापारमा जोखिम कम गर्‍यो र आर्थिक प्रणालीलाई चलायमान बनायो । साथै, सम्पत्ति र उत्तराधिकारका अधिकारहरूलाई औपचारिक बनाउँदा परिवारभित्र पुँजीको दीर्घकालीन सञ्चय सम्भव भयो ।

मध्ययुगीन व्यापारी र ट्रेड युनियनहरूले राज्यको ढिलो र पक्षपाती अदालतहरूमा निर्भर नहुने गरी आफ्नै अनौपचारिक तर बाध्यकारी नियमहरू विकास गरे । यी नियमहरूले विभिन्न क्षेत्र र धर्मका बीच विनिमय सम्भव बनाए, जसले आर्थिक विकासलाई प्रोत्साहन गर्‍यो । नेपालको हकमा पनि लामो समयदेखि सामाजिक असमानता, गरिबी र न्यायको अभाव छ । सम्मुखमा रहेको निर्वाचनले नयाँ सरकार दिनेछ । नयाँ नेतृत्व दिनेछ, जसले देशलाई समृद्धि र समावेशिताको बाटोमा लैजान सक्छ । त्यसभन्दा पनि बढी न्याय र समानता दिनेछ भन्ने आशा आममानिसमा छ ।

आममानिसमा रहेको यो आशा पूरा गर्नका लागि नयाँ सरकारले उर–नम्माको जस्तै साहस र प्रतिबद्धता देखाउन आवश्यक छ । केवल सत्ता कब्जा गर्ने होइन । सबै वर्गका नागरिकहरूको अधिकार र हितको रक्षा गर्ने, गरिब र कमजोरलाई न्याय दिलाउने र सामाजिक असमानता हटाउने नीति बनाउनुपर्छ । सरकारले आर्थिक नीतिहरूमा सुधार ल्याएर बजेटलाई प्रभावकारी र पारदर्शी बनाउनुपर्छ, जसले विकासका परियोजनाहरूलाई गति दिन्छ र जनताको जीवनस्तर सुधार्छ । कानुनी प्रणालीलाई बलियो बनाउँदै सबैलाई समान न्याय सुनिश्चित गर्नुपर्छ, जसले भ्रष्टाचार र दमनलाई कम गर्छ ।

साथै, नयाँ नेतृत्वले सामाजिक एकता र सहिष्णुतालाई प्रोत्साहन गर्नुपर्छ, ताकि विभिन्न जाति, भाषा र धर्मका मानिसहरूबीच वैरभाव हटोस् र साझा राष्ट्रिय पहिचान बलियो होस् । उर–नम्माले जस्तै, नयाँ सरकारले पनि ‘मैले गरिबलाई धनीकहाँ सुम्पिनँ’ भन्ने प्रतिबद्धता लिएर अघि बढ्नुपर्छ । व्यवहारमा पनि न्याय, समानता र समावेशितालाई स्थापित गर्न सक्नुपर्छ । नेपालको भविष्य त्यही नेतृत्वमा निर्भर छ, जसले केवल भाषणमा होइन, कार्यमा पनि जनताको विश्वास जित्छ । देशलाई स्थिरता, समृद्धि र न्यायको बाटोमा डोर्‍याउँछ । नयाँ सरकारलाई पुराना असमानता र अन्यायका जालबाट मुक्त भएर नयाँ युगको सुरुवात गर्ने अवसर छ ।

नेतृत्वको वास्तविक शक्ति केवल सत्ता प्राप्तिमा होइन, न्याय र समानताको स्थापना गर्न सक्ने क्षमतामा हुन्छ । मुलुकलाई त्यस्तो नेतृत्वको आवश्यकता छ, जसले सबै नागरिकलाई समान अवसर र सम्मान दिन्छ । देशलाई समृद्धिको दिशामा लैजान्छ । र, हरेक नेपालीको प्रत्येक कदमलार्ई विकासको बाटोमा हिँडाउन सक्छ ।

भोजराज पौडल विकास अर्थशास्त्री हुन्। उनले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास-साझेदारसँग विभिन्न मुलुकको आर्थिक विकास र नीतिगत सुधारका क्षेत्रमा काम गरेका छन्।

Link copied successfully