कर्णालीले खोजेको स्वास्थ्य उपचार

स्वास्थ्य सेवाको पहुँचको महत्त्व बताउनका लागि मानिसको जन्म र मृत्यु अस्पतालमै हुनुपर्छ भन्ने मान्यता छ, तर कर्णालीमा आज पनि अस्पताल लैजाँदै गर्दा बाटैमा बच्चा जन्मिएका र बाटैमा बिरामीको मृत्यु भएका समाचार सार्वजनिक हुने गरेका छन् ।

फाल्गुन ८, २०८२

सम्पादकीय

Karnali seeks health treatment

What you should know

मानव विकासको अवस्थालाई केलाउनका लागि स्वास्थ्य पनि एउटा प्रमुख आधार हो । नेपालमा पछिल्ला दशकमा औसतमा स्वास्थ्य सेवामा पहुँच बढेको छ, तर सबै भूगोलका नागरिकले समान पहुँच पाउन सकेका छैनन् । जसले गर्दा एउटा भूगोलका मानिसले स्वास्थ्य सेवाको आधुनिक पद्धतिको उच्चतम लाभ लिन सकिरहेका छन्, अर्को भूगोलका मानिस भने अस्पताल पुग्नै नपाएर ज्यान गुमाउन बाध्य भइरहेका छन् ।

कर्णाली प्रदेश त्यस्तै एउटा भूगोल हो, जहाँ स्वास्थ्य सेवाको पहुँच असाध्यै कठिन छ । स्वास्थ्य सेवाको पहुँचको महत्त्व बताउनका लागि मानिसको जन्म र मृत्यु अस्पतालमै हुनुपर्छ भन्ने मान्यता छ, तर कर्णालीमा आज पनि अस्पताल लैजाँदै गर्दा बाटैमा बच्चा जन्मिएका र बाटैमा बिरामीको मृत्यु भएका समाचार सार्वजनिक हुने गरेका छन् । यसले संविधानका व्यवस्था र राज्यका नीतिहरूको असफलता दर्शाउँछ । तसर्थ, तीनै तहका सरकारले गम्भीर भएर नागरिकको स्वास्थ्य पहुँच बढाउनका लागि रचनात्मक र व्यावहारिक प्रयत्न गर्नुपर्छ ।

१६ माघमा जुम्लाको तिला गाउँपालिकाकी २७ वर्षीया रमिता थापाले झन्डै दुई फिट हिउँ जमेको चायापाटनमा बच्चा जन्माएकी थिइन् । उनको गाउँबाट नजिकको स्वास्थ्यचौकी रासा पुग्न ५ घण्टा हिँड्नुपर्छ । गाउँमा कसैलाई सुत्केरी व्यथा लाग्दा स्ट्रेचरमा बोकेर दौडाउनुपर्छ तर अधिकांशले बाटामै बच्चा जन्माउँछन् । रमिता र बच्चाको ज्यान सुरक्षित रहे पनि कर्णालीको दुर्गम भेगमा बच्चा जन्माउने क्रममा वा जन्माइसकेपछि देखिने जटिलताका कारण कतिपय आमा र बच्चाको मृत्यु हुने गरेको छ ।

मुगुको छायानाथरारा–१० जिउलाकी धनरूपा विश्वकर्मा गत वर्ष २३ पुसमा घरमै सुत्केरी भएकी थिइन् । सुत्केरी भएको २ दिनसम्म रक्तस्राव भएपछि परिवारजनले जिल्ला अस्पताल लैजाने तयारी गर्दैगर्दा उनको ज्यान गयो । कर्णालीमा समयमै उपचार नपाएर पछिल्ला ९ वर्षमा १ सय ७२ सुत्केरीको मृत्यु भएको छ । कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा मात्रै १४ र चालु आर्थिक वर्षमा ९ जनाले ज्यान गुमाइसकेका छन् । 

मृत्यु सदैव दुःखद हुन्छ । तर, कोही महिला सुत्केरी हुन्छिन् भन्ने विषय महिनौंअघि नै थाहा भइसकेको हुन्छ, उसको समेत समयमै उपचार नपाएर मृत्यु हुनु झन् दुःखद स्थिति हो । अर्कोतर्फ, कर्णालीमा धेरैजसो सुत्केरी १५ देखि २५ वर्ष उमेरसम्मका हुने र मृत्यु हुनेमा यही उमेर समूहका झन्डै ८० प्रतिशत रहेको तथ्यांक छ । यसरी युवा र उत्पादनशील उमेर समूहका व्यक्तिको निधनबाट सम्बन्धित परिवार र समाजले समेत क्षति बेहोर्नु परिरहेको हुन्छ । मृत्युले परिवारका सदस्यमा पार्ने मानसिक आघात, त्यसले परिवारको आर्थिक–सामाजिक पक्षमा पार्ने असर थप चर्चाका पक्ष हुन् । आमाको मात्रै होइन, नवजात बच्चाको मृत्युदर पनि भयावह छ । पछिल्ला ४ वर्षमा ७ सय ७७ नवजात शिशुले ज्यान गुमाएको तथ्यांक छ ।

कर्णालीमा स्वास्थ्य सेवाको पहुँचलाई अवरोध गर्ने मुख्य पक्ष भौगोलिक विकटता र त्यसले निर्धारण गर्ने बाटोको दूरी नै हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत वर्ष गरेको अध्ययनअनुसार कर्णालीमा २३.६ प्रतिशत परिवार मात्रै आधा घण्टामा स्वास्थ्य संस्था पुग्न सक्छन् । कर्णालीमा स्वास्थ्य सेवाको पहुँचलाई अवरोध गर्ने मुख्य पक्ष भौगोलिक विकटता र त्यसले निर्धारण गर्ने बाटोको दूरी नै हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत वर्ष गरेको अध्ययनअनुसार कर्णालीमा २३.६ प्रतिशत परिवार मात्रै आधा घण्टामा स्वास्थ्य संस्था पुग्न सक्छन् । अस्पताल पुग्न लाग्ने समय जति बढी भयो, उति नै ज्यान जोखिममा पर्ने वा मृत्यु नै हुन सक्ने सम्भावना बढ्छ । यस्तो स्थितिले गर्दा ‘कोही त मर्छन् अस्पताल नहेरी, हाम्रो नेपालमा’ भन्ने दशकौं पुरानो गीत अझै सार्थक भइरहेको प्रमाणित हुन्छ । राज्यले दुर्गम क्षेत्रलाई लक्षित गरेर कमभन्दा कम समयमा स्वास्थ्य सेवा पाउन सक्ने वातावरण बनाउनुपर्छ । त्यसका लागि आधुनिक प्रविधिको उपयोग गर्नेतर्फ पनि ध्यान दिनुपर्छ । 

कर्णालीलगायत दुर्गम भेग भूगोलमा स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचनाको पनि अभाव छ । चिकित्सकको पनि अभाव छ । कर्णालीमा स्वास्थ्य सेवातर्फ कर्णालीमा ९ सय ८ जनाको दरबन्दी कायम गरिएकामा ४ सय ६३ जना मात्र कार्यरत छन् । अहिले कर्णालीमा १ सय ८४ चिकित्सकको दरबन्दी रहे पनि करारबाहेक ३२ दरबन्दी मात्रै पूर्ति भएको छ । कर्णालीमा चिकित्सक टिकाउने नीतिअनुरूप ७५ देखि १ सय ५ प्रतिशतसम्म भत्ता दिने गरिएको छ । तर प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाहेक अन्य अस्पतालमा नियमित चिकित्सक भेट्टाउन मुस्किल छ ।

औषधि अभावको समस्या पनि ठूलो छ । औषधि भण्डारण (स्थान, कोल्डचेन आदि) को अभावजस्ता कारणले गुणस्तरीय औषधिको आपूर्ति र वितरण गर्न कठिन छ । साथै, जनशक्ति अभावकै कारण कर्णालीमा करोडौं मूल्यका उपकरण अस्पतालमा अलपत्र परेका छन् । जस्तो कि, रुकुम पश्चिमस्थित जिल्ला अस्पतालमा २ शय्याको भेन्टिलेटर र ६ शय्याको आईसीयू वार्ड छ । जनशक्ति अभावमा ती प्रयोगमा छैनन् । स्वास्थ्य उपकरण प्रयोगहीन हुनु लगानीको उपयोग नहुनु मात्रै होइन, नागरिकको उपचारमार्फत जीवन जोगिने अवसर पनि गुम्नु हो । 

कर्णाली प्रदेशका ७९ मध्ये ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । यस्तो स्थितिमा संविधानमा उल्लिखित प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने प्रावधानकै उल्लंघन हुने स्थिति बनेको छ । राज्यले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

विकटता एउटा चुनौती हो, तर अस्पतालको भौतिक पूर्वाधार, चिकित्सकको उपलब्धता, औषधि, औषधि भण्डारण गराउने विषय राज्यका व्यावहारिक नीतिसँग पनि जोडिएका विषय हुन् । सरकारले प्रभावकारी नीति लिन सक्दा त्यस्ता समस्या समाधान हुन सक्छन् । साथसाथै प्रविधिको उच्चतम प्रयोग गर्न सक्दा बाँकी समस्या पनि न्यूनीकरण हुन सक्छ । यसतर्फ राज्य, राजनीतिक दल र आगामी निर्वाचनका उम्मेदवारले ध्यान केन्द्रित गर्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully