कैफियतको कठघरामा भुइँको प्रश्न

चन्द्रकिशोर लेख्छन् : चुनाव खेत–खलिहान, आँगन–दलान, चिया बैठकीसम्म पुग्छ । नेताजी घरदैलोमा पुग्छन्, वाचा स्थानीय भाषामा गर्छन् । किनभने अरू बेला देहात फगत ‘तथ्यांक’ हुन्छ तर चुनाव आएलगत्तै देहात निर्णायक भूगोल बन्छ । हिजोका अदृश्य मान्छेहरू अचानक भोटबैंक लाग्न थाल्छन् ।

फाल्गुन ६, २०८२

चन्द्रकिशोर

The question of the floor in the Kaifiyat courtroom

What you should know

घरको दैलोमै पुगेर संवाद गर्ने अभियान पछिल्ला दशकदेखि नै नेपाली चुनावी संस्कृतिको महत्त्वपूर्ण अभिन्न अंग बन्दै आएको छ । निर्वाचनको समयमा उम्मेदवार वा दलका प्रतिनिधिहरू ‘घरदैलो’ कार्यक्रममार्फत मतदाताको घर–घर पुगेर प्रत्यक्ष भेटघाट गर्ने, आफ्नो चुनावी प्रतिबद्धता र योजना प्रस्तुत गर्ने, जनताका गुनासा, माग र अपेक्षा सुन्ने लक्ष्य रहेको सुनाउँछन् ।

सामान्यतः यसलाई ‘दलप्रति केन्द्रित’ बाट ‘जनताकेन्द्रित’ हुने प्रयासका रूपमा व्याख्या गरिन्छ । घरदैलोको सामाजिक, सांस्कृतिक र राजनीतिक अर्थ त अर्थ्याइन्छ तर यसको आर्थिक अर्थबारे कोही हतपती बोल्न चाहँदैन । मतदातासँग आमने–सामने संवाद भनेको जनताले सिधै प्रश्न गर्ने अवसर हो भने प्रत्याशीले स्थानीय मुद्दा पहिचान गर्ने प्राथमिक स्रोत । एक कोणबाट दैलोको लोकतन्त्र देखिन्छ । घरदैलो कार्यक्रम नेपाली लोकतन्त्रको सबैभन्दा जीवित दृश्य भनेर परिभाषित गर्नेहरू कम छैनन् ।

घरदैलोको अघोषित प्रतियोगितामा प्रत्याशीहरू एकअर्कालाई उछिन्न अनेक खेला गरिरहेका छन् । किनभने चुनावको मौसममा सबैको भाषा मीठो सुनिन्छ, शब्दहरूमा मधु तप्किन्छ, अनुहारमा गुनासा सुन्ने धैर्यको भाव झल्किन्छ । मतदातालाई थाहा छ– चुनाव सकिएपछि दैलो दर्शनमा कोही फर्किंदैन । ‘यो पटकचाहिँ पक्का’– यो चुनावी थेगोजस्तै भन्दै नेता आउँछन्, हात जोड्छन् । यसपालि पनि पुराना–नयाँ सबै दल घरदैलोमा रमाएका छन् । तर, के गुनासोहरू अझै माटोमै टाँसिरहन्छ कि त्यो लेखिन्छ पनि, टिपिन्छ पनि ? प्रश्न यथावत् छ । तर, मतदाता यहाँ निर्णायक न्यायाधीश हो, जसले यसपालि पनि मुस्कानले स्वागत त गरिरहेको छ । तर, आँखाले हिसाब राखिरहेको छ ।

बरहथवा, सर्लाहीमा सुनियो, ‘हामी त हरेक चुनावमा उस्तै गरी कुर्दै आएका छौं । आँगनमा आउने पाइला गन्ने बानी परिसक्यो ।’ सायद समस्या यो होइन कि नेताहरू गाउँ/देहात पुगेनन्, समस्या यो हो कि उनीहरूले भुइँ छोएनन् । उनीहरूले हात समाते, तर नाडीको धड्कन सुनेनन् । हामीकहाँ बहुतहको चुनाव हुन्छ, प्रत्येक तहको निर्वाचनताका घरदैलो अनिवार्य रूपमा गरिन्छ । लोकतन्त्रमा जनगणका कुरालाई आ–आफ्नो तहगत हैसियतअनुसार त्यसलाई ग्रहण गर्नुपर्ने, स्वर दिनुपर्ने र सरोकारप्रति स्वामित्व लिनुपर्ने हुन्छ । तर, नेताजीहरू तहगत भिन्नताका आधारमा त्यसलाई लिँदैनन् । र, यसरी जन–मनका गुनासो माटोले मात्रै सुन्ने गरेको परम्परा बस्यो । उता जनता पनि हामी र हाम्रो पीडा दुवै यही भुइँका भयौं भन्ने भावबोधमा बाँचिरहेका छन् । कति चुनाव अझै पर्खिरहनुपर्छ, जब नेताको खुट्टा मात्रै होइन, कान र मन पनि भुइँमा टेकाओस् ?

घरदैलोमार्फत गाउँ–देहात चर्चामा आउँछन् । नेताजीहरूका डिजिटल व्यवस्थापन नछुट्ने हिस्सा बन्छ । ज्येष्ठ नागरिकलाई ढोगिएको तस्बिर प्रचार गरिन्छ, यता नवपुस्ताहरू नेताजीसँगको सेल्फीमा लेन्सभित्र पर्न खोज्छन् । सेल्फी युगको राजनीतिमा भीड नै प्रमाणपत्र बन्न जो पुगेको छ । यस पटक अनुमान थियो– पुराना पुस्ताका मान्छेहरू सिकायत राख्छन्, नवपुस्ताले प्रश्न तेर्स्याउँछन् तर बहुसंख्यक त ‘सेल्फी’ मोहमै लट्ठिएका छन् । नेताजी र नवपुस्ताका लागि प्रश्न लिने र गर्नेभन्दा बढी महत्त्वपूर्ण हुन पुगेको छ– कति एंगलबाट फोटो आयो ! यो नवचलनमा आएको ‘सेल्फी–चुनाव’ मा नेताजीलाई लाग्छ, जो तिनका साथ फोटोमा छन्, तिनले मतदानमा पनि साथ दिन्छन् । उता नवपुस्ताहरूका लागि जो नेताजी फोटोमा साथ–साथ छन्, तिनैसँग सबै समाधान फुर्छ भन्ने ठहर छ ।

भीडको उभारलाई नवीन राजनीतिक दिग्दर्शन मान्नेहरूले ‘ट्रेन्डिङ ह्यासट्याग’ लाई विजयको बाटो भनेर पत्याएका छन् । तर, चुनावी लोकतन्त्र पोषित त ट्रेकले होइन, ट्रेकिङले हुन्छ भनेर बताउने कोही भेटिँदैन । त्यो भनेको जनताले भन्न चाहेको के हो ? आफू प्रत्याशी बनेको तहबाट कसरी सम्बोधन हुने हो ? त्यसलाई कसरी लिने र कसरी उठाउने भन्ने प्रस्टता हुनु हो । यो ल्याकत नभएकाहरूका लागि भीड जति ठूलो हुन्छ, तिनलाई भ्रम पनि त्यतिकै गहिरो हुन्छ । संस्कृतको एउटा शब्द छ– ‘पुनर्नवा’ । जसको अर्थ हो– फेरि नयाँ बनाइयोस् वा नयाँ रूपमा फर्किएर आओस् । लोकतन्त्रमा संस्थागत पुनर्नवा समय–समयमा आवश्यक हुन्छ । चुनावी राजनीतिमा विचार र व्यवहारको पुनर्नवा भएन भने जडता आउँछ । त्यो जडता तोड्ने कोसिस सेल्फी–पोलिटिक्सबाट सम्भव पनि हुँदैन ।

चुनाव त्यो समय हो, जब राजनीति खेत–खलिहान, आँगन–दलान, चिया बैठकीसम्म पुग्छ । नेताजी घरदैलोमा पुग्छन्, वाचा स्थानीय भाषामा गर्छन् । किनभने अरू बेला देहात फगत ‘तथ्यांक’ हुन्छ तर चुनाव आएलगत्तै देहात निर्णायक भूगोल बन्न पुग्छ, हिजोका अदृश्य मान्छेहरू अचानक भोटबैंक लाग्न थाल्छन् । भनिन्छ– अनपढ मतदाताको विवेक नै लोकतन्त्रको मेरुदण्ड हो । मतदानको राजनीतिमा तय गरिनुपर्ने हो कि राजनीति माथिबाट तल होइन, तलबाट माथि उत्रिन्छ । तर, यही विडम्बना अझै रहिरहने स्थिति छ । घरदैलो एक आदर्श राजनीतिक घोष बन्नुपर्ने, नेताजी भुइँमान्छेका विश्वविद्यालयमा दीक्षित हुनुपर्ने हो । तर, यो भावपूर्ण, कल्पनाशील देखिए पनि बाँकी समयमा यथार्थभन्दा निकै दूर बस्ने छाँटकाँट यसपालि पनि छ । चुनावी पर्वमा घरदैलो अनुष्ठान यस्तो भयो, जहाँ झूट सार्वजनिक सम्पत्ति भयो । लोकतान्त्रिक चुनावमा भुइँ तहको महत्त्व यसकारण निर्णायक बनाइनुपर्छ कि लोकतन्त्रको वास्तविक स्पन्दन त्यहीं बस्छ । यतिखेर भुइँ तहलाई केवल जातीय समीकरण, ढौआ (पैसा) को प्रभाव र तात्कालिक लाभ प्रभावी बनाउने सोच सघन छ । यो घरदैलोलाई प्रत्याशीहरू आफ्नो हैसियत प्रदर्शन र तमासागिरीको परिघटना बनाउने होडको मनोविज्ञानमा देख्दै छन् । यहाँ मतदातासँग जोडिनेभन्दा तेस्रो पक्ष (जो अमूक टोल, बिरादरी, समूहको मत व्यवस्थापन सूत्र दिन्छ) को पहिचान गर्ने दृष्टि राखिन्छ ।

प्रतिनिधिको काम एक अर्थमा अनुवादकको समेत हो । त्यो कसरी भने आमजनता भावनात्मक, अनुभवजन्य र सरल शब्दमा आफ्ना कुरा पस्किन्छन् । जबकि प्रतिनिधिसभा सदस्यसँग तथ्य, विधायिकी शब्दावली र नीतिगत प्रस्तावको भाषा अपेक्षित हुन्छ । प्रतिनिधिले भावनालाई प्रावधानमा, सिकायतलाई नीतिमा र पीडालाई प्रस्तावमा बदल्ने खुबी राख्नुपर्ने हुन्छ । कुन उम्मेदवारसँग पैसा कति छ ? कसको भ्युज कति छ ? को मन्त्री बन्न सक्छ ? बाट तिनको योग्यताको मूल्यांकनभन्दा नवपुस्ताकाले तिनको समस्या बुझ्ने र त्यसलाई संसदीय तहमा अनुवाद गरेर राख्न सक्ने सीपका आधारमा छनोट गर्नुपर्ने हो । उसको घरदैलोसँगै हिजोसम्म मिडियामा नआउने सन्दर्भहरू यतिखेर मुखरित भइरहेका छन् । तर, यति मात्रैले भुइँ तहमा लोकतन्त्र जीवन्त हुँदैन ।

जनभाषामा समस्या प्रकट भयो– हाम्रो परम्परागत बीउ मासियो, किसान बजारमाथि निर्भर हुँदै आए, अब बीउ पनि किसानको आफ्नो हातमा रहेन । न्याय पाउन वर्षौं लाग्छ, अदालत धाउँदा–धाउँदा ऋणको भारी बढ्यो । पढेलेखेका युवाहरू कामबिना बसेका छन्, देशमै काम नपाउने भएर भिसाको खोजीमा छ । विद्यालयमा शिक्षक हुँदैनन् । स्वास्थ्य चौकीमा औषधि हुँदैन । थानामा सोर्सफोर्स चाहिन्छ । विषादी खेती–किसानीको अनिवार्य आवश्यकता भयो । समस्या यो होइन कि प्रतिस्पर्धामा रहेकाहरूले समस्या सुनेनन्, देखेनन् वा भोगेनन् । समस्या यो हो कि उनीहरूले टुप्पो मात्रै समाए, जरातिर नजर नै दिएनन् । नयाँ–पुरानाको भाष्य र व्यक्तिविशेषको चामत्कारिक ब्रान्डिङले गर्दा गाउँ/देहातका सवाल र सरोकार ठोस र स्थानीय छ । तर, स्थानीय पीडा प्रतीकात्मक भाषणमा घोलिएर हराउँदै छ । चुनाव तात्कालिक भाष्य र गणितमाथि टिक्न पुगेको लाग्छ ।

किसान सुनाउँछन्– पुरानो बीउ खत्तम भयो । उता जित्न पुगेका नेता आवाज उठाउँछन्– संसद्मा किसानलाई सहज रूपमा बीउ उपलब्ध गराइयोस् । यस्ता बोलेका रिलहरू भाइरल बनाउने यत्न चलिरहेको छ । किसानलाई लाग्छ, मैले त मत माग्न आउने सबैलाई सुनाएँ । नेताजी ठान्छन्, मैले संसद्मा उठाएकै हो, ल यो हेर्नुहोस् यो भिडियो । यो बीचमा जुन खाल्डो छ, त्यही लोकतन्त्रको असली रिक्तता हो । काम गर्ने उमेर समूहका बच्चाहरू दिनभर मोबाइलमा व्यस्त रहन्छन् भन्ने बेरोजगारीसँग जोडिएको सवाल जनसांख्यिकीय लाभांश (डेमोग्राफिक डिबिडेन्ड) पनि हो । काम गर्ने उमेर समूहकाहरूको संख्या बढी हुनु भनेको बढी जनशक्ति काममा संलग्न हुन सक्ने, उत्पादन र कर संग्रह बढ्ने, बचत र निवेशको क्षमता बढ्ने, गरिबी घटाउने अवसर हो । तर, यसलाई यसरी बुझिँदैन । केवल कतै जागिर लगाइदिने वाचा मात्रै सुनिन्छ ।

यस्ता गुनासाको समग्रतामा उठान र सुनिश्चितता खोइ ? भुइँ प्रश्न र प्रतिनिधिसभाबीचको बाटो सरल छैन, अनेक घुम्तीका गोलचक्कर छन्, बयानबाजीको स्पिड ब्रेकरहरू छन् । मतदाता सोच्छन्– मैले आफ्नो प्रतिनिधि चुनें । उता नेताजीलाई लाग्छ– मैले प्रशस्त विषयहरू पाएँ । तर, निर्वाचित व्यक्ति जब संसद्मा पुग्छ, उसले जनताका सवालहरूको उठान कसरी गर्छ ? यदि ‘भोक’ पोषणीय असन्तुलन र बेरोजगारी ‘रोजगार संक्रमणकाल’ जस्ता गैसस शब्दावलीमा अल्झियो भने के हुन्छ ?

चुनावी घरदैलोमा भुइँ मान्छेले ‘हामीलाई पानी चाहियो’ भन्छन् भने त्यो केवल धाराको पाइपको माग होइन । के यो राज्यसँगको भरोसाको माग हो ? यसलाई प्रतिनिधि बन्न इच्छुकहरूले कसरी हेर्छन् ? के यो राज्यको उत्तरदायित्वको परीक्षण होइन ? के यो केवल स्रोतको अभाव, व्यवस्थापन, वितरण, निगरानीको कमजोरी, तहगत सरकारबीचको समन्वय अभाव वा प्राकृतिक दोहनको परिणति हो ? कि यसलाई सार्वभौम नागरिकको मर्यादाको प्रश्नसँग पनि गाँसेर हेर्ने ? पानीको कुरा विपन्न र वञ्चितहरूका लागि अर्को त्रासदी बनेको भनेर राज्यले कहिले बुझ्ने ? पानीको संकटलाई समग्रतामा हेर्नु जरुरी छ । यति डिप बोरिङ, उति धारा जडानको तथ्यांक मात्रैले यसको भरपाई हुँदैन ।

घरदैलोमा सुनेको आवाजलाई यदि विधायिकी भाषामा रूपान्तरण गर्न सकिएन भने चुनावी राजनीतिको वर्णमालामा ‘प’ अक्षरमा पानी खाली नै रहन्छ । प्रश्न यो हो– त्यो खाली अक्षरलाई भर्ने संकल्प र सपना मत माग्दै आइपुगेकाहरूमा छ कि छैन ?

जनताले आफ्ना सवाल र सरोकार बेमनले उठाइरहेका छन् कि ? समस्या हल त हुँदैन तर यसो सोधनी भएपछि सुनाइदेऊको भाव बढी छ कि ? जनता र राजनीतिबीच अविश्वास छ, दलहरूले यसलाई पुर्ने इमानदार प्रयत्न गर्नैपर्ने हो । अझै भुइँ तहका प्रश्नहरू आवरणमै छन् । यसलाई राजनीतिक शक्तिहरूले खनजोत गरेर उजागर गर्नुपर्ने हो । यो चुनावमार्फत राजनीतिक शक्तिहरूले जनताको विश्वास जगाउने काम गरेनन् भने कालान्तरमा गैरराजनीतिक खेलाडीहरू प्रकट हुन बेर छैन ।

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully