प्रतीक्षित वसन्तको छटपटी

घरका ‘मरदहरू’ को विस्थापनले मधेशको राजनीतिलाई ‘महिलाको हातमा मत, तर पुरुषको हातमा नेतृत्व’ को विरोधाभासमा पुर्‍याएको छ । राजनीतिक जागरुकता केही ढिलो आएकाले कुनै खास पार्टीप्रतिको प्रतिबद्धता तरल तर उपस्थिति बलियो भएको महिला मत लगभग निर्णायक ठहरिन सक्छ ।

फाल्गुन ६, २०८२

सीके लाल

The long-awaited spring breeze

What you should know

नगर पञ्चायत हुँदै नगर विकास समितिको गतिविधिबाट नगरपालिका घोषणा गरिएको दशकौं भइसक्दा पनि जलेश्वरका नागरिकहरूले सहरको स्वामित्व लिने नगरीय चरित्र भने अद्यापि ग्रहण गर्न सकेका छैनन् । नगर हुनुको अर्थ चौडा सडक, अग्लो घर र बत्ती बलेको साँघुरो गल्ली पनि हो, तर त्यस्तो रूप मात्रले सहर बन्दैन ।

नगर कहलिन नगरीय चेतनाको विस्तार हुनुपर्ने हुन्छ । जलको प्रयोगबेगर जीवन चल्दैन, तर उपयोग गरेर परित्याग गरिएको प्रदूषित पानी कहाँ जान्छ भन्ने कुरा सम्बन्धित निकायको मात्र नभएर प्रत्येक नागरिकको कर्तव्य हुनुपर्छ । झलमल्ल सहर आकर्षक देखिन सक्छ ।

बस्नलायक नगरले भने भूमि प्रदूषण, वायू प्रदूषण, जल प्रदूषण, प्रकाश प्रदूषण र ध्वनि प्रदूषण सँगसँगै विचार प्रदूषण नियन्त्रण गर्ने उपायहरू पनि निरन्तर अवलम्बन गरिरहनुपर्ने हुन्छ । भद्रपुरदेखि राजविराज हुँदै गौर र तौलिहवादेखि धनगढीसम्मका हुलाकी सडकका एकताका गुलजार बजारहरू जस्तै जलेश्वर पनि सहर बन्नुभन्दा पहिले नै नगर बन्ने प्रयत्नमा अनियन्त्रित बसोबास फैलिएको क्षेत्रमा परिणत भएको स्पष्ट देख्न सकिन्छ । 

प्राचीन विदेह गणराज्यको ‘मिथिला नगरिया’ का चार संरक्षक महादेव– कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर एवं मिथिलेश्वरमध्ये एक रहेकाले जलेश्वरनाथ यस आदिम बस्तीको सबभन्दा पुरानो स्वरूप तीर्थस्थल नै रहेको हुनुपर्दछ । किंवदन्तीअनुसार नजिकै सोनुखडा भन्ने गाउँमा खेत खन्दा पाइएको सुन बेचेर जलेश्वरनाथको अहिलेको स्वरूपमा मन्दिर बनाइएको हो ।

थापाहरूका सुब्बा र राणाकालका बडाहाकिम हुँदै शाह राजाहरूका अञ्चलाधीशले पनि जनकपुरको साटो जलेश्वरलाई नै सदरमुकाम बनाएका थिए । त्यतिबेलादेखि नैं अवरुद्ध रहेको जलेश्वरको रूपान्तरणले अहिलेसम्म पनि गति लिन सकेको छैन ।प्रायः जलमग्न रहने आराध्य लिंग तथा गर्भगृह पुरातन देखिए पनि शिखर शैलीको बाह्य संरचना जनकपुरको जानकी मन्दिरभन्दा केही दशक मात्र पुरानो रहेको हुन सक्छ । बिग्घी र रातो नदीहरूले सिञ्चित उब्जाउ क्षेत्रको किनमेल गर्ने थलो भएकाले कृषि उत्पादन तथा अत्यावश्यक दैनिक उपभोगका वस्तुहरूको विनिमय एवं किनमेलको सामयिक केन्द्रबाट रूपान्तरित भएर स्थायी बजार बनेको इतिहास पनि धेरै पुरानो छैन ।  

बहादुर शाहको गोरखा साम्राज्य सुदृढीकरण गर्ने अभियानसम्म पनि फौजी र निजामती दौडाहाको मुकाम नजिकैको भ्रमरपुरा हुने गर्थ्यो । जिल्ला गठन र सदरमुकाम केही पछि भए पनि हावापानी राम्रो भएकाले जलेश्वर गोरखा साम्राज्यका सम्भ्रान्तहरूको नजरमा सुगौली सन्धिपछि नै पर्न थालिसकेको थियो । थापाहरूका सुब्बा र राणाकालका बडाहाकिम हुँदै शाह राजाहरूका अञ्चलाधीशले पनि जनकपुरको साटो जलेश्वरलाई नै सदरमुकाम बनाएका थिए । त्यतिबेलादेखि नैं अवरुद्ध रहेको जलेश्वरको रूपान्तरणले अहिलेसम्म पनि गति लिन सकेको छैन ।

उत्पादन, विनिमय र सेवामध्ये कुनै उपयोगिता खासै नभएको शुद्ध प्रशासनिक केन्द्रमा परजीवी बिचौलियाहरूको बिगबिगी बढ्दै गएपछि स्थानीय सम्भ्रान्तहरू पनि बसाइँ सर्दा रहेछन् । छेउछाउका गाउँका हुनेखानेहरू सहरी सुविधा खोज्न जड सदरमुकामको साटो नजिकैका गतिशील सहर रोज्छन् । त्यसपछि स्वाभाविक हो, पेसाकर्म गर्ने डाक्टर, इन्जिनियर र वकिल जस्ता सेवा प्रदायक पनि आफ्ना सेवाग्राही सँगसँगै लाग्छन् ।

मैथिलीमा केटाकेटीलाई खेलाउँदा बज्यैहरूले एउटा तुकबन्दी सुनाउँछन्– ‘घुघुवा मन्ना/उपजे धन्ना/बौआ के छेदा देव/दुनु कान सोन्ना/नव घर उठे/पुरान घर खसे ।’माटोसमेत पवित्र ठहरिने ‘धाम’ बाट जनकपुरलाई रेल्वेलाइनमार्फत काठ निकासी गर्ने व्यापारिक केन्द्रमा जुद्धशमशेरले नै रूपान्तरित गर्न थालेका थिए । छेउछाउका जमिनदार र महाजनहरूले कमला–बागमती नदीहरूबीचको मनग्गे धान उत्पादन हुने फाँटको माझमा आधुनिक राइस मिल स्थापना गर्न थालेपछि विराटनगरलाई जुट मिलको सहर भनिएझैं जनकपुर चामल उत्पादनको केन्द्रका रूपमा विकसित भयो । सन् १९६० को दशकमा जनकपुर चुरोट कारखाना सँगसँगै स्थानीय कलेज पनि खुलेपछि गतिशील भयो जनकपुरधाम र सुस्तरी ओझेलमा पर्न थाल्यो, त्यति बेलाको आदर्श गाउँ पञ्चायत जलेश्वर । जलेश्वर बजारको चहलपहल कायम राखेका व्यापारिक परिवारहरू– मुरारका, जालान, साह भने सन् १९९० पछि तत्कालीन एमालेको ‘राष्ट्रिय पुँजीवाद’ नीतिले गर्दा वीरगन्जतिर बसाइँ सर्दै काठमाडौंसम्म पुगेका हुन् । बडाहाकिम र अञ्चलाधीशहरूको प्रियपात्र रहँदै आएका प्रतिष्ठित नन्दु माडवाडीको नयाँ घर सडक चौडा गर्ने निहुँमा डोजरले भत्काइएदेखि कुरूप बनेको बजार अझैसम्म पनि लयमा फर्किन सकेको छैन ।

सायद रामु मारवाडीको सन्ततिले आफ्नो पुस्तैनी घरलाई नयाँ रूप दिन लागेका छन् । मैथिलीमा केटाकेटीलाई खेलाउँदा बज्यैहरूले एउटा तुकबन्दी सुनाउँछन्– ‘घुघुवा मन्ना/उपजे धन्ना/बौआ के छेदा देव/दुनु कान सोन्ना/नव घर उठे/पुरान घर खसे ।’ आत्माको नयाँ घर अर्थात् नवयुवा उठेपछि पुरानो काया खस्नु प्रकृति हो । पुरानो ढालेर नयाँ बनाउनु भौतिक संरचनाको हकमा स्वाभाविक भए पनि परिवार, समाज र राजनीतिको नेतृत्वमा पुस्तान्तरण अनिश्चितता र उथलपुथलबेगर सम्भव नहुने रहेछ । सायद त्यसैले हुनुपर्दछ, आसन्न चुनावबारे केही उत्सुकता भए पनि उत्साह भने धनुषा जस्तो राजनीतिक रूपमा जुझारु जिल्लामा पनि खासै देखिँदैन । महोत्तरीतिर त केही उम्मेदवारहरूसमेत उदासीन जस्ता लाग्छन् । चुनावबारे गरिएको टिप्पणी ‘यो प्रजातान्त्रिक कर्मकाण्ड हो, फलको आशा नगरी गर्न लागेको कर्म’— जस्तो उत्तरले प्रश्नकर्तालाई नैं अचम्मित तुल्याउने रहेछ ।

मौसमी परिवेश

चार ऋतुको चक्रअनुसार वसन्त पञ्चमीदेखि नै ऋतुराजको आगमन मानिन्छ । निष्कासित राजाहरूको सिको गर्दै गणतान्त्रिक नेपालका राष्ट्रपति वसन्त श्रवणका लागि त्यही दिन हनुमानढोका दरबार सवारी हुन्छन् । हजरत निजामुद्दिन औलियाप्रति समर्पित र ब्रजभाषामा चौधौं शताब्दीतिर अमीर खुसरोद्वारा रचित प्रसिद्ध सुफी कब्वाली ‘सकल बन फूल रही सरसों’ आज पनि दिल्लीको निजामुद्दिन दरगाहमा वसन्त पञ्चमीका दिन गाइन्छ । रङ र अबिर वसन्त पञ्चमीदेखि नै उड्न थाल्छन्, तर ६ ऋतुको विभाजनअनुसार माघ र फागुनमा पर्ने शिशिर अझै केही दिन बाँकी नै रहन्छ ।

विवाह दुई व्यक्तिबीचको सम्बन्ध मात्र नभएर परिवार र समाजलाई जोड्ने अवसर हुने भएकाले सबैजसो आर्थिक वर्गका व्यक्तिहरू आफ्नो हैसियतभन्दा केही बढी नै खर्च गर्छन् ।ऋतुहरूकी महारानी भने मधेशका आँप बगैंचामा फागुन पूर्णिमापछि मात्र खुला रूपमा विचरण गर्न थाल्छिन् । जलेश्वर नगरपालिकाको उल्लेख्य हिस्सा अहिले पनि ग्रामीण रहेको हुनाले हरिया गहुँ खेतका गराहरूलाई पहेंलो फुलेका तोरीका बोटले शृंगार गरिदिएको जस्तो लाग्छ । आलीमा लगाइएका रहर अग्लिँदै छन् । बिहानीपखको तुवाँलो दिउँसोतिर सफा भएर घामले तताउन सुरु गरेको दिन बिस्तारै साँझ छिप्पिँदै गएपछि चिस्सिँदै जान्छ । मच्छर देखिन थालेको छ, यद्यपि झिँगा अहिलेसम्म आक्कलझुक्कल मात्र फेला पर्छ । नाम शिशिर ऋतु भए पनि फागुन उत्सव र बिहेवारीका लागि सबभन्दा उपयुक्त मौसम हो । 

व्यवस्थित समाजको आधार परिवार र विवाह त्यस उपक्रमको प्रस्थानविन्दु भएकाले होला, हिन्दुहरूको षोडश संस्कारहरूमध्ये बिहाबारी सबभन्दा महत्त्वपूर्ण अनुष्ठान भएर स्थापित छ । विवाह दुई व्यक्तिबीचको सम्बन्ध मात्र नभएर परिवार र समाजलाई जोड्ने अवसर हुने भएकाले सबैजसो आर्थिक वर्गका व्यक्तिहरू आफ्नो हैसियतभन्दा केही बढी नै खर्च गर्छन् । धान बालीले पेट पाल्ने र पटुवा बेचेर कपडा हाल्ने जमानामा सामान्य किसानसमेत जग्गा बेचेर नै सन्तानको बिहे खर्च जुटाउने गर्दथे । विप्रेषण प्रवाहले निर्वाहबाहेकको कृषि कर्मलाई विस्थापित गर्दै लगिरहेको छ ।

खैनी मोल्नेहरू गुट्खातिर मोडिएका छन् । रमझम गर्ने साँझको पेय ताडीबाट दारु भइसकेको छ । बिस्कुट र चाउचाउका खाली प्याकेट खेत–खलिहानमा पनि फर्फराइरहेका हुन्छन् । नवसम्पन्नताका नकारात्मक प्रभावहरूबाट बिहेका कार्यक्रमहरू पनि मुक्त छैनन् । विप्रेषण आश्रित परिवारले मुद्रा विनिमय दर र सुनको बजार भाउ निरन्तर पछ्याइरहेका हुन्छन्– गहनाका लागि सुन र हल्दी–मेहदी जस्ता नयाँ चलनदेखि भोज–भातका लागि पुरानो व्यवहारलाई विप्रेषणले धानेको छ । मधेशको अर्थतन्त्र कृषि आधारित हुँदा पनि संस्कारजन्य किनमेल आर्थिक गतिशीलताको इन्जिन थियो र विप्रेषणको ठूलो हिस्सा अहिले पनि संस्कारजन्य उपभोगमै खर्च हुन्छ ।

दशगजा छेउछाउ भने सायंकालीन व्यापारको अर्कै रङ देखिन्छ– त्यतातिर केही खानपानका छाप्राहरूमा बाह्रै महिना फगुवा मनाइराखिएको हुन्छ । हुनेखाने सीमापारिबाट मोटर चढेर सप्ताहन्तको रसरङका लागि उत्तरतिरको सहरसम्म आइपुग्छन् । साइकल र मोटरसाइकल चढ्ने दशगजा नजिकै खोजेको कुरा भेट्टाउँछन् । बिहारमा नितिश कुमारको पुनरागमन र त्यहाँ कायम ‘शराबबन्दी’ ले मधेशका दशगजा छेउछाउका सहर–बजारमा एउटा अनौपचारिक अर्थतन्त्र विकसित गरेको छ । जयनगर–जनकपुर सँगसँगै मटिहानी–मधवापुर एवं भिठ्ठामोड–जलेश्वर जस्ता नाका वरिपरि होटल र बारहरूले नयाँ ग्राहक पाएका छन् ।

यो ‘इभनिङ इकनमी’ ले एकहदसम्म वारिपारिको व्यापार घाटालाई कम गर्न केही मद्दत पुर्‍याएको हुन सक्छ । हुन त गफै होला, तर नितिश कुमार पुनः मुख्यमन्त्री बन्ने भएपछि बिहारमा भन्दा मधेशमा खुसियाली छाएको थियो र केही व्यापारीहरूले ‘मोटरसाइकल भरियाहरू’ लाई लड्डु बाँडेका थिए रे ! मधेशका एकथरी व्यापारीका लागि बिहारको मदिरा निषेध नीति एउटा प्रत्यक्ष आर्थिक अवसर हो, जसले तिनको आर्थिक शक्तिलाई अझ मजबुत बनाउँछ । पाप कटाउनलाई होला, धर्मकर्ममा यो समूह अरूभन्दा अगाडि रहन्छ । मधेशमा हिन्दुत्व अतिवाद धार्मिकभन्दा पनि अर्थराजनीतिक गतिविधि भएकाले प्रहरी र प्रशासनको संलग्नता नै नभए पनि मौन सहमतिबेगर फैलिन सक्दैन ।

विवाहको मौसममा सार्वजनिक सडक ओगटेर ब्यान्डबाजा, माइक, भोज–भतेर र रंगीचंगी टेन्ट र पाल महानगरमा त देखिन्छ भने मधेश त्यसबाट मुक्त रहने कुरै भएन । बस्नै नसक्ने अवस्था भने दिनरात बज्ने लाउडस्पिकरले बनाउँदो रहेछ । मन्दिरबाट भजन, मस्जिदबाट अजान र बिहे घरबाट बज्ने तथाकथित भोजपुरी लोकगीतले मन नै अस्थिर बनाउने रहेछ । किन चुपचाप सहेर बसेको प्रश्नमा एउटाको जवाफ– ‘प्रहरीमा सिकायत गर्न गयो, गाउँको कुरा आफैं मिलाउनुस् भन्छन् । वडा कार्यालयले यहाँ यस्तै हो, मन नपरे मुद्दा हाल्नोस् भन्छ । सहनुको विकल्प छैन ।’

राज्य सत्तादेखि स्थानीय सरकारबाट समेत सामान्य मधेशीलाई कुनै अपेक्षा नभएर होला, आसन्न चुनावको चहलपहल अन्तर्जाल र (अ) सामाजिक सञ्जालमा सीमित छ । सडकमा कुदिरहेका गाडीहरूमा दलको झन्डाभन्दा पनि कामदेवको तीर र ‘फलानो वेड्स ढिस्कानो’ पोस्टर टाँसिएका हुन्छन् । चिया पसलमा चुनावको चर्चा चल्नासाथ अहिले पनि कुराकानीको सुरुवात ‘चुनाव हुन्छ र ?’ अभिव्यक्तिमा अन्तरनिहित व्यंग्यात्मक निराशावादतिर झुकेको आशंकाबाट हुन्छ । त्यसपछि मात्र छलफल चुनावका जटिलताहरूतिर मोडिन्छ ।

राजनीतिक परिदृश्य

जनकपुर न हो, शिव चोकको तत्क्षण राजनीतिक विश्लेषण वीरगन्जको साटो बंगलादेशबाट सुरु हुन्छ । हालसालैको निर्वाचनबाट दुई तिहाइ सिट जितेको बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) का अध्यक्ष तरिक रहमानले फागुन ५ मा प्रधानमन्त्रीको शपथ लिएका छन् । पूर्वराष्ट्रपति जनरल जियाउर रहमान एवं पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा अध्यक्ष रहमानको क्षमता देखिन बाँकी छ, तर उनको प्रमुख योग्यता पारिवारिक विरासतको हकदार हुनु हो ।

सम्भ्रान्तका सन्तति सुरुमै राजधानी लागे, जमिनदारका छोराछोरी जनकपुर हुँदै काठमाडौं सरे, व्यापार वीरगन्ज पुग्यो, तर राजनीति भने अझै त्यही पुरानो जडताको भग्नावशेषमा उभिएर नयाँ ‘नव घर उठे’ को सपना बेचिरहेको छ ।कति नै क्रान्ति गरेको दाबी गर्ने नवयुवाहरूको विद्रोहले गर्दा बंगलादेशको सत्ता स्वतन्त्रता सेनानीको परिवारबाट सैनिक ‘कू’ मार्फत सत्ता हत्याएका र सेना प्रमुखबाट पार्टी संस्थापक बनेका वंशज उत्तराधिकारीमा वैधानिक तवरले सरेको छ । प्रमुख प्रतिपक्ष पनि उग्र–दक्षिणपन्थी धर्मान्धतावादी जमात–ई–इस्लाम भइसकेपछि ढाकामा केही कालका लागि प्रजातान्त्रिक उदारवादको यात्रामा अल्पविराम लागेको निर्क्योल आधारहीन लाग्दैन ।  

जलेश्वरनाथको गर्भगृहमा जलमग्न महादेव शान्त छन्, तर बाहिरको सडकमा भने चिन्तित प्रजातन्त्रको सवारी मन्द गतिमा चल्दै छ । सम्भ्रान्तका सन्तति सुरुमै राजधानी लागे, जमिनदारका छोराछोरी जनकपुर हुँदै काठमाडौं सरे, व्यापार वीरगन्ज पुग्यो, तर राजनीति भने अझै त्यही पुरानो जडताको भग्नावशेषमा उभिएर नयाँ ‘नव घर उठे’ को सपना बेचिरहेको छ । नयाँपन भने चुनावी प्रतिस्पर्धामा खासै देखिँदैन । विशेष महाधिवेशनपछिको नेपाली कांग्रेसले पार्टीका वरिष्ठ राजनीतिकर्मी रामचन्द्र तिवारीको दाबीलाई खारेज गर्दै एकताका उनका प्रतिबद्ध कार्यकर्ता रहेका बजरंग नेपालीलाई उम्मेदवार बनाएको छ ।

पार्टी प्रतिबन्धित रहेका बेला रामचन्द्र तिवारीसँगै क्रियाशील रहेका पूर्वमन्त्री गणेश नेपालीका छोरा हुनु मात्र बजरंगको पात्रता होइन, पार्टी सभापति गगन थापा काठमाडौंमा विद्यार्थी राजनीतिको कखरा सिकिरहेका बेला उनी तिनताक कांग्रेस राजनीतिको गढ मानिने राराब क्याम्पसको विद्यार्थी संघका सभापति भइसकेका थिए । अघिल्लो चुनावमा पार्टीले तत्कालीन लोसपा अध्यक्ष महन्थ ठाकुरलाई समर्थन गर्ने निर्णय गरेपछि उनी सरक्क किनार लागेका थिए । सामान्यजनमा राजनीतिप्रतिको वितृष्णा बुझ्न जलेश्वरस्थित उनको घरको कम्पाउन्डमा आगन्तुकहरूका लागि राखिएका रंगीचंगी प्लास्टिकका खाली कुर्सीको चाङ हेरे पुग्छ ।

अहिले केही अगाडि देखिए पनि कांग्रेसको मृदुभाषी उम्मेदवारलाई टक्कर दिनेहरूमा कोहीभन्दा कोही कम छैनन् । जुझारु मनोजकुमार सिंहका पछाडि एमालेका प्रतिबद्ध कार्यकर्ताहरूको जमात छ । पञ्चायतकालका प्रभावशाली जिल्ला सभापति कुलानन्द झाका नाति उज्ज्वल झा गएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए, यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई 

आफ्नो चुनाव चिह्न प्रदान गरेको छ । रास्वपाका ‘पोस्टर ब्वाय’ बालेन्द्र शाहको पुस्तैनी गाउँको जमिनदार उज्ज्वल युवा छन् र आफ्नो उग्र स्वभावलाई नियन्त्रण गर्न प्रयत्नशील देखिन्छन् । जनता समाजवादी पार्टीले प्रभावशाली राजनीतिकर्मी महन्थ ठाकुरकी छोरी मिनाक्षी झालाई उम्मेदवार बनाएको छ । उनको योग्यता यथेष्ट रहे पनि पात्रताका बारेमा भने पार्टी सदस्यहरूसमेत आश्वस्त देखिँदैनन् । नेपाली कम्युनिस्ट पार्टीका राजकिशोर साह एवं जनमत पार्टीका अरबिन्द ठाकुर अझै पनि चर्चामा आउन सकेका छैनन् ।

राजनीतिमा अप्रत्याशित उम्मेदवार (डार्क होर्स क्यान्डिडेट) भनिने प्रतिस्पर्धीहरूले निर्वाचनलाई रोचक बनाउने गर्छन् । जसपा नेपालबाट टिकट नपाएका पूर्वमन्त्री हरिनारायण यादव यस पटक स्वतन्त्र उम्मेदवार छन् । मधेश विद्रोहदेखि नै विचारमा अडिग र हठी छवि बनाएका हरिनारायणका प्रशंसकहरूको कमी छैन । सदाबहार उम्मेदवार रामआधार कापरका समर्थकहरूमा पूर्वमाओवादीदेखि बाहिर एमाले देखिनेहरूसमेत छन् ।

जनमत पार्टीका अरबिन्द ठाकुरलाई धेरैले चिन्दैनन्, तर स्वराजवादीबाट सम्झौतावादी हुँदै ओशो पथगामी भएका चपल (मर्क्युरीअल) राजनीतिकर्मी सीके राउतको मताधार महोत्तरीमा खासै छैन । समसामयिक मधेशको राजनीतिक समाजशास्त्रको सबैभन्दा गहिरो र चुनौतीपूर्ण यथार्थ के हो भने पुरुष मतदाताहरूको उल्लेख्य हिस्सा पश्चिम एसिया, मलेसिया र भारतको औद्योगिक नगरहरूतिर छन् । घरका ‘मरदहरू’ को विस्थापनले मधेशको राजनीतिलाई ‘महिलाको हातमा मत, तर पुरुषको हातमा नेतृत्व’ को विरोधाभासमा पुर्‍याएको छ । राजनीतिक जागरुकता केही ढिलो आएकाले कुनै खास पार्टीप्रतिको प्रतिबद्धता तरल तर उपस्थिति बलियो भएको महिला मत लगभग निर्णायक ठहरिन सक्छ । प्रतिस्पर्धी दलहरूको अल्पदृष्टिले होला, नारी सरोकारका विषयहरू अझै पनि चुनावी चर्चाको केन्द्रमा छैनन् ।

मंगलबारदेखि सार्वजनिक प्रचार सुरु भएपछि सबभन्दा पहिले नेपाली कांग्रेसका अधबैंसे कार्यकर्ताहरू सडकमा देखिन थालेका थिए । केही वंशानुगत गाडी छाप र बाँकी भने आफ्नो जीवन सुरक्षित गरिसकेका कांग्रेस समर्थक हेर्दै सुविधासम्पन्न देखिन्छन् । जनसमूह परिचालन गर्ने ठेकेदारले जम्मा गर्ने रास्वपाको भाँडाको भीडमा भने अरब वा मलेसियाको भिसा कुरिरहेका युवाहरूको बाहुल्य स्पष्ट देख्न सकिन्थ्यो । तिनको अर्को विशेषता युट्युबरहरूको झुन्ड हुँदोरहेछ । नीलो कुर्ता लगाएको दर्शक देख्नासाथ एउटाले माइक तेर्स्याइहाले– ‘अब की बार, बालेन सरकार, होइन त सर ?’ अहिलेको सरकार बालेनको सहमतिमा नै सेनाले बनाएकाले यो ‘बालेन सरकार’ हो । यसपछि जनप्रतिनिधिको सरकार हुन्छ ।

नामै तोकेर महोत्तरीप्रति लक्षित खस–आर्य समुदायका नृजातीय मुख्तियारको ‘गोबर–गुइँठा’ टिप्पणीले उब्जाएको रिस जति छिटोछोटा भिडियोहरूबाट फैलिएको थियो, राजनीतिक चुनौती कायम राख्न नसकेकाले त्यति नै छिटो साम्य पनि भइरहेको छ ।सायद त्यो क्लिप युट्युबरले प्रयोग गर्ने छैनन् । सबभन्दा रमाइलो केही ई–रिक्सा चालकले गर्छन्– यात्रुको कुर्ताको रङ गाढा रातो छ भने गाछी, पहेंलो छ भने हलो र नीलो छ भने घण्टी छाप झन्डा सिट मुनिबाट झिकेर फहराइहाल्छन् π तपाईंहरू कता ? प्रश्नको उत्तरमा एउटा एमाले ‘होलटाइमर’ ले भने– यी थाकेर रक्सी–मासुमा लागेपछि हामी चुनावभन्दा अगाडि आँधी–तुफान बनेर आउने हो । अहिले नै केही भनिहाल्न हतारो हुनेछ, तर आयोजन खर्च हेर्दा रास्वपा सबभन्दा साधनसम्पन्न देखिन्छ ।’ 

सन् २००७–०८ को मधेश विद्रोहहरूले सिंहदरबारलाई प्रश्नको घेरामा पुर्‍याएको थियो । संविधानसभालाई झकझकाएको थियो । समानुपातिकता र संघीयतामार्फत राज्य र परिधिको सम्बन्धलाई सधैंका लागि पुनर्परिभाषित गर्ने प्रयत्न गरेको थियो । सन् २०१५ को मधेश आन्दोलनको निर्मम दमनपछि जोसमाथि होस हाबी भयो र मधेश आश्रित दलहरू समर्पणवादी भए । मधेशको चुनावी राजनीति पुनः संरक्षक र संरक्षित सम्बन्ध, जातीय अंकगणित, संरचनागत चलखेल, तत्कालिक लाभको लेखाजोखा, ओझेलमा पारिएका दलित–मुस्लिम मतदाताको बीजगणित र प्रतिस्पर्धात्मक नगद प्रवाहको ज्यामितीय ढाँचामा फर्किएको छ ।

पुराना दलहरूप्रति आक्रोश छ, तर नयाँ भनिएका पार्टीका पुराना अनुहारहरूले प्रारम्भिक जोस देखाए पनि उत्साह कायम राख्न सकिरहेका छैनन् । नामै तोकेर महोत्तरीप्रति लक्षित खस–आर्य समुदायका नृजातीय मुख्तियारको ‘गोबर–गुइँठा’ टिप्पणीले उब्जाएको रिस जति छिटोछोटा भिडियोहरूबाट फैलिएको थियो, राजनीतिक चुनौती कायम राख्न नसकेकाले त्यति नै छिटो साम्य पनि भइरहेको छ ।

फगुवाको रमझमलाई चुनावले केही सघाउने भए पनि आसन्न निर्वाचनबाट सामान्य मधेशी मतदाताले खास केही पाउने आस नगरेकाले जनकपुर जस्तो जागरुक सहरमा समेत रुचि–रिक्तता र उत्साह–शून्यता स्पष्ट अनुभव गर्न सकिन्छ । अहिले नै मत परिणामको आकलन गर्नेहरू हावामा तीर छोडिरहेका छन्– काकतालीले एउटा वाणले लक्ष्यवेध गरे पनि बाँकीकाको काम आफूअनुकूल माहोल बनाउनु हो । मतदाताका लागि छनोट पनि कम भ्रमकारी छैन– एकातिर नरम एमाले नेपाली कम्युनिस्ट पार्टी, मध्यम एमाले नेपाली कांग्रेस र नृजातीय मुख्तियारको कडा एमाले छ भने अर्कोतिर नवपञ्चहरूको साझा मञ्च रास्वपा र घघडान पञ्चहरूको राप्रपा । रनभुल्ल मधेश आश्रित दलहरूसँग मतदातालाई बेच्ने कुरा केही छैन । ती सबभन्दा निरीह देखिन्छन् र कुनै दैवी चमत्कारको आस गर्दै प्रचारमा लाग्ने हिम्मतसमेत जुटाउन सकिरहेका छैनन् ।

सीके राजनीतिक विश्लेषक लाल कान्तिपुरका नियमित स्तम्भकार हुन् । उनकाे नेपालीय हुनलाई‍‍ ..., ह्युमन राइट्स, डेमोक्रेसी एण्ड गभर्न्यान्स लगायतका पुस्तक प्रकाशित छन् । कान्तिपुरका अलवा विभिन्न प्राज्ञिक जर्नल तथा पुस्तकमा उनका लेखहरु प्रकाशित छन् ।

Link copied successfully