चुनावी याम : भ्रामक सूचना र सजग मिडिया

सिंगो देश निर्वाचनमा होमिएको यो बेला राज्यको चौथो अंग सञ्चार जगत्ले निर्वाचनको आचारसंहिता पालना गर्ने र सबै उम्मेदवारलाई आचारसंहिता पालना गराउन निगरानी गर्ने दायित्व बहन गर्न सक्नुपर्छ ।

फाल्गुन ६, २०८२

तारा वाग्ले

Election Season: Misinformation and Alert Media

What you should know

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दल तथा उम्मेदवारहरू चुनावी प्रचरप्रसारमा जनताको घरदैलो पुगेका छन् । विभिन्न आश्वासन, प्रतिबद्धता र दाबीसहित जनता रिझाउन तल्लीन दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका उजुरी पनि निर्वाचन आयोगमा दर्ता भइरहेकै छन् । निर्वाचन आचारसंहिता निर्वाचनमा भाग लिने दल र उम्मेदवारलाई मात्रै होइन, मिडियालाई पनि लागू हुन्छ । 

तर, सञ्चारमाध्यम तथा निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारले पनि निर्वाचन आचारसंहिता पालना गरेका छैनन् । सिंगो देश निर्वाचनमा होमिएको यो बेला राज्यको चौथो अंग सञ्चार जगत्ले निर्वाचनको आचारसंहिता पालना गर्ने र सबै उम्मेदवारलाई आचारसंहिता पालना गराउन निगरानी गर्ने दायित्व बहन गर्न सक्नुपर्छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन सकिएसँगै आचारसंहिता उल्लंघनका घटना नियमन र नियन्त्रणमा कडाइ गरेको छ । 

आयोगले आचारसंहिता उल्लंघनको सवालमा बहालवाला मुख्यमन्त्रीदेखि उम्मेदवारसम्मलाई स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सञ्चारमाध्यमहरूले आधिकारिक स्रोतलाई मात्रै आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गर्दै आएको छ । तर, विभिन्न डिजिटल प्लाटफर्महरू तथा कृत्रिम बुद्धिमता (एआई) जस्ता एप्समार्फत सत्यतथ्य सूचनाबिनाका सामग्री अतिरञ्जित तवरले प्रस्तुत गर्ने प्रवृत्ति बढ्दो छ ।

निर्वाचनको समयमा मात्रै होइन, अरू बेला पनि सञ्चारमाध्यमले पत्रकार आचारसंहिता पालन नगरेका प्रशस्तै उदाहरण भेटिन्छन् ।आयोगले यसै साता पत्ता लगाएका कुल ३०२ हानिकारक सूचनाहरू निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ र प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइसकेको छ । निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न, गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई कानुनको दायरामा ल्याउन आयोगमा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रसमेत स्थापना गरिएको छ ।  

सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिने भ्रामक सूचना तथा कसैको छविमा आँच आउने खालका श्रव्यदृश्य सामग्रीले मतदाताहरूमा अन्योल उत्पन्न गरेको छ । कतिपय सञ्चारमाध्यम तथा पत्रकारहरूले पत्रकारिताका मूल्य–मान्यताविपरीत गैरपेसागत आचरण गर्ने, तथ्यगत परीक्षण एवं आधार र प्रमाणबेगर सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा उत्तेजना र अफवाह वा भ्रम फैलाउने किसिमका सूचना सामग्री सम्प्रेषण गरेका छन् । साथै परिस्थितिलाई उत्तेजक बनाउन नियोजित रूपमा गलत, मिथ्या एवं तथ्य तोडमरोड गरी सामग्री प्रकाशन गर्ने, पेसागत आचरणविपरीत एवं गैरकानुनी कार्य हो भनेर जान्दाजान्दै सञ्चारमाध्यम एवं सञ्चारकर्मीहरू सचेत नहुनु विडम्बना हो । 

यसैबीच नेपाल प्रेस काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमबाट पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता पालना भए, नभएको विषयमा विशेष अनुगमन प्रक्रिया थालनी गरेको जनाएको छ । निर्वाचनको समयमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले राजनीतिक दल तथा उम्मेदवारबारे आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोप–प्रत्यारोप, होच्याउने, मिथ्या सूचना, दुष्प्रचार, चरित्र हत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटना हुन सक्ने र कुनै राजनीतिक दलका नेताहरूबाट अर्को राजनीतिक दल तथा दलका नेताहरूविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पिच) आउन सक्ने भन्दै काउन्सिलले त्यस्ता सामग्रीलाई स्थान नदिन र कसैको पक्ष वा विपक्ष हुने एवं राजनीतिक दल वा उम्मेदवारको चरित्र हत्या हुने सामग्री सम्प्रेषण हुन नदिन सञ्चारमाध्यम र पत्रकारलाई सजग गराएको छ ।

निर्वाचनको समयमा मात्रै होइन, अरू बेला पनि सञ्चारमाध्यमले पत्रकार आचारसंहिता पालन नगरेका प्रशस्तै उदाहरण भेटिन्छन् । प्रेस काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएका छन् । आचारसंहिता उल्लंघनको गम्भीरताका आधारमा १३६ वटा मिडिया र २७ वटा गैरमिडियालाई काउन्सिलले निर्देशन दिई सचेत गराएको छ । 

उम्मेदवारका हरेक क्रियाकलापको पहरेदारी गर्दै नागरिकको पक्षमा वकालत गर्ने जिम्मेवारी पनि सञ्चारमाध्यमको हो । सञ्चारमाध्यमले पस्कने सूचना नै नागरिकका लागि ज्ञान र विवेकको भण्डार तथा निर्णय गर्ने आधार हो । पत्रकार आचारसंहिता, २०७३ अनुसार पत्रकार तथा सञ्चारमाध्यमले नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवर्द्धनका निम्ति सदैव सत्य–तथ्य सूचना प्रवाह गर्नुपर्छ । पत्रकार तथा सञ्चारमाध्यमले नागरिकको सुसूचित हुन पाउने अधिकारको रक्षा र प्रचलनका लागि सदैव सक्रिय एवं समर्पित रहनुपर्ने तथा मर्यादित र विश्वसनीय पत्रकारिता गर्नुपर्छ । पत्रकार तथा सञ्चारमाध्यमले सूचना वा जानकारीको संकलन–सम्प्रेषण सभ्य र शिष्ट रूपमा गर्नुपर्ने पेसागत अभ्यासमा सामाजिक शिष्टता र पाठक, श्रोता वा दर्शकको मर्यादाको सम्मान गरी शिष्ट एवं मर्यादित भाषा र कार्यशैलीको प्रयोग गर्नुपर्छ । सत्य–तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्ने तथा सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारी सत्य–तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनुपर्छ ।  

पत्रकार तथा सञ्चारमाध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताविरुद्ध एवं विभिन्न जातजाति, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिबीचको सुसम्बन्ध र सामाजिक सद्भावमा खलल पार्ने, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन । त्यस्तै जातीय, लैंगिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु नहुने पत्रकार आचारसंहितामा उल्लेख छ । नागरिकलाई त्रसित पार्ने, धम्क्याउने, अनुचित आर्थिक फाइदा उठाउने, व्यक्तिगत स्वार्थपूर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानि पुर्‍याउने नियत राख्नु पत्रकारिताको पेसागत मर्यादा प्रतिकूलका कार्य हुन् । 

आगामी निर्वाचनलाई निष्पक्ष बनाउन र मतदातालाई विवेकपूर्ण तवरले जनउत्तरदायी प्रतिनिधि छनोट गर्न सघाउ पुर्‍याउने शक्ति सञ्चारसँग छ । उम्मेदवारका हरेक क्रियाकलापको पहरेदारी गर्दै नागरिकको पक्षमा वकालत गर्ने जिम्मेवारी पनि सञ्चारमाध्यमको हो । सञ्चारमाध्यमले पस्कने सूचना नै नागरिकका लागि ज्ञान र विवेकको भण्डार तथा निर्णय गर्ने आधार हो । राज्यका हरेक गतिविधि र जनप्रतिनिधिका हरेक क्रियाकलापको साक्षी रहन पाएका जनताले मात्रै राज्यप्रति अपनत्व कायम राख्न सक्छन् । सरकारप्रतिको विश्वास दरिलो बनाउन सक्दछन् । त्यसका लागि हरेक व्यक्तिलाई सूचनाको हकको व्यवस्था हुनुपर्छ भने सञ्चारमाध्यमलाई स्वतन्त्र रूपले सूचना तथा सन्देश प्रवाहको हक हुनुपर्छ । त्यसैले सूचनाको हक र स्वतन्त्र प्रेसलाई मानवअधिकार र सुशासनको अभिन्न अंगका रूपमा हेर्न थालिएको छ । सूचनाकै कारण हरेक व्यक्ति संसारको जुनसुकै भागमा भएको कुनै पनि वैज्ञानिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकास तथा घटनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएको छ । सबल र स्थिर राष्ट्र, शान्ति सुव्यवस्था र अमनचयन तथा आर्थिक, सामाजिक न्याय र समावेशी विकासका लागि अपरिहार्य अवयव हो सूचना । यसबाटै देशले आर्थिक वृद्धि, स्रोतसाधन तथा अवसरको न्यायोचित वितरण तथा सामाजिक न्याय, सुशासन, पारदर्शिता, विधिको शासन, उत्तरदायित्वपूर्ण शासन तथा मानवअधिकारको संरक्षण तथा संवर्द्धन गर्न सक्षम हुन्छ ।

देशभर चुनाव प्रचार भएका बेला नागरिकलाई सत्यतथ्य समाचार सामग्रीको खाँचो रहन्छ । सो खाँचो पूरा गरिदिने अभिभारा सञ्चारमाध्यमको भएकाले सबै सञ्चारमाध्यम आचारसंहिताको पालना गर्ने र गराउने भूमिकामा अडिग हुनुपर्छ । निर्वाचनका क्रममा नागरिकलाई सही सूचना दिने र निर्वाचन सफल पार्न सरकारलाई सघाउ पुर्‍याउँदै सामाजिक उत्तरदायित्वसहितको खबरदारी गर्न सक्नुपर्छ । 

यसका लागि सञ्चारमाध्यमले निर्वाचन आचारसंहितासँगै पत्रकारको आचारसंहितालाई समेत ध्यान दिँदै निष्पक्ष ढंगले पत्रकारिताको धर्म निर्वाह गर्नुपर्छ । र, पत्रकार स्वयंले ‘आचारसंहिता पालना गरेको छु कि छैन ?’ त्यो आत्ममूल्यांकन गर्नु जरुरी हुन्छ । पत्रकारले कुनै पनि पार्टीका उम्मेदवार वा विचारधारालाई पक्षपोषण गर्ने तथा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत कुनै उम्मेदवारको पक्षमा बहस–पैरवी गर्नु अशोभनीय मात्र होइन, कानुनविपरीत हुन्छ ।

तारा वाग्ले पत्रकार हुन् । उनी महिला, बालबालिकाको अधिकार र सार्वजनिक प्रशासन लगायतका बिषयमा लेख्ने गर्छिन् ।

Link copied successfully