सन्जिब हुमागाईं लेख्छन् - जनताले सुन्न चाहेको भाषण धेरै गरे पनि देशको वास्तविकताको पूर्ण पहिचान, त्यसमा आमूल परिवर्तनको रणनीति, सोही नीतिमा आम नागरिकलाई गोलबद्ध बनाउने संकल्प र त्यागको भावनालाई सिर्जना गर्ने भाषण सुन्ने सौभाग्य नेपाली जनताले विरलै पाएका छन् ।
What you should know
१३ मे १९४०, तीन दिनअगाडि मात्रै बेलायतको प्रधानमन्त्री बनेका एक ६५ वर्षीय वृद्ध चिन्ता र आशा मिश्रित स्वरमा संसद्को तल्लो सदनमा आफ्नो भाषण सुरु गर्छन् । युद्धका कारण सिंगो युरोपमा आगो लागेको थियो, आतंकित थियो । हिटलरसँग सुमधुर सम्बन्ध बनाएर सुरक्षित हुने बेलायतको अपेक्षामा कालो बादल मडारिरहेको थियो । जर्मनप्रतिको आफ्नो नरम अर्थात् तुष्टीकरण नीति असफल भएको स्वीकार गर्दै निवर्तमान प्रधानमन्त्री नेभिल चेम्बरलेनले राजीनामा दिएको तीन दिन मात्रै भएको थियो ।
जीवनका अनेक राजनीतिक आरोह–अवरोह पार गर्दै, व्यक्तिगत रूपमा डिप्रेसनसँग लड्दै, पहिलो पटक प्रधानमन्त्री बनेका ती पाका राजनीतिज्ञ थिए, पूर्वरक्षामन्त्री विन्स्टन चर्चिल । आफू कर्तव्यनिष्ठ रहेको मात्र होइन, यो ऐतिहासिक अप्ठ्यारोबाट बेलायतलाई मुक्ति दिने उपाय र क्षमता रहेको पुष्टि गर्न उनी संसद्को तल्लो सदनमा नयाँ प्रधानमन्त्रीका रूपमा उभिएका थिए ।
र, उनले भने, ‘मैले यहाँहरूलाई दिन सक्ने भनेको रगत र परिश्रम, आँसु र पसिनाबाहेक केही छैन । हाम्राअगाडि सबैभन्दा ठूलो परीक्षा रहेको छ । म यहाँहरूलाई सोध्न चाहन्छु– हाम्रो उद्देश्य के हुनुपर्छ ? एक शब्दमा उत्तर गर्न चाहन्छु– जित, विजय हो । जस्तोसुकै मूल्य चुकाउनु पर्यो भने पनि, जस्तोसुकै कडा परिश्रम गर्नुपरे पनि, जति लामो र खतराजनक यात्रा भए पनि ‘विजय’ नै हो । विजय हुन सकेनौं भने हाम्रो अस्तित्व पनि रहने छैन ।’
यसअघि पनि राजकीय पदमा धेरै पटक पुगेर अनेकौं असफलताको अनुभव गरिसकेका वयोवृद्ध प्रधानमन्त्रीको भाषण सांसदहरूले सास रोकेर सुने । न त यो मीठा सपनाको भाषण थियो, न त सहानुभूतिको सन्देश । यो त केवल वास्तविकताको चित्र थियो र प्रधानमन्त्रीका रूपमा जितको एक मात्र उद्देश्यका लागि लड्ने, लड्न आह्वान गर्ने प्रतिज्ञा थियो । एक थोपा रगत रहेसम्म, एक थोपा आँसु रहेसम्म देशका लागि लड्ने प्रतिबद्धता थियो । अप्ठ्यारो अवस्थालाई जित्न नेतृत्व र नागरिकको सामूहिक अठोट र मिहिनेतभन्दा ठूलो हतियार केही पनि हुँदैन भन्ने प्रस्ट सन्देश थियो ।
जसरी युद्धको भुमरीमा रहेको बेलायतमा चर्चिलको भाषण सुनेर त्यहाँका नागरिकहरूमा राज्यप्रतिको भरोसा सञ्चार हुन्थ्यो, गहभरि आँसु जम्मा हुन्थ्यो, पीडाले भरिएको अनुहारमा आशाको किरणको परिकल्पनामा मन्द मुस्कान देखिन्थ्यो, हामीलाई पनि त्यस्तै नेतृत्व र भाषण आवश्यक छ । लामो समय युद्ध खेपेको मुलुक जस्तै हामी पनि राजनीतिक, सामाजिक एवं आर्थिक रूपमा धेरै शिथिल छौं ।
हो, आँखाले नै देख्ने धेरै भौतिक, आर्थिक, सामाजिक एवं राजनीतिक प्रगतिहरू भएका छन् । तर, महँगी, शैक्षिक जनशक्तिको तुलनामा ज्यादै न्यून औपचारिक रोजगारीको अवसर, मन्द औद्योगिकीकरण, लामो समयदेखि शिथिल बजार अर्थतन्त्र र सार्वजनिक खर्च जस्ता अर्थतन्त्रका संरचागत समस्याका कारण आम नागरिकहरूको जीवन र भविष्यप्रतिको चिन्ता दिनानुदिन बढ्दो छ । त्यसमा समाजमा देखिएका विविध खाले विसंगति र अराजकताका अगाडि समाज र सिंगो राज्य नै निरीह देखिँदा नागरिकहरूका चिन्ता वृद्धि भएका छन् । एकैछिन आँखा चिम्म गरेर सोचौं, हाम्रा अखबारहरूमा के–कस्ता सामाजिक समाचारहरू नियमित रूपमा छापिने गरेका छन् ? हाम्रा समस्या थपिँदै जाने, हामीभन्दा धेरै पछाडि छन् भनेका देशहरू प्रगतिको पथमा लम्कँदै गएका दृश्यले पनि धेरै प्रश्न सोध्न बाध्य बनाउने नै भयो । त्यसमा जिम्मेवार रहेका ठहर हुने पात्रहरूप्रति आक्रोश बढ्ने भयो । वर्तमान र भविष्यप्रतिको यस्तै चिन्ताको शृंखलाहरूले हामीलाई थकाएको छ ।
तर विडम्बना, हामीले आशा, भरोसाको भाषण गर्न छाडेको पनि धेरै भइसक्यो । जनताले सुन्न चाहेको भाषण धेरै गरे पनि देशको वास्तविकताको पूर्ण पहिचान, त्यसमा आमूल परिवर्तनको रणनीति, सोही नीतिमा आम नागरिकलाई गोलबद्ध बनाउने संकल्प र त्यागको भावनालाई सिर्जना गर्ने भाषण सुन्ने सौभाग्य नेपाली जनताले विरलै पाएका छन् । कसैका विरुद्ध कटाक्ष गर्नु, मबाहेक सबै गलत छन् भनी चित्रित गर्नु र आफूले सबैभन्दा ठूलो त्याग गरेको र अहिले आफू नै राजनीतिको प्रमुख पीडित पात्र रहेको प्रमाणित गर्न केन्द्रित हुने भाषण नेता र कार्यकर्ता दुवैमाझ लोकप्रिय रहेका छन् । भन्ने र ताली पड्काउने दुवैलाई हेक्का छैन, आमनागरिकहरूले अरू नै, आफ्ना दैनिक जीवनका कठिनाइ समाधानका भाषण सुन्ने मृगतृष्णामा छन् ।
झन् अहिले त, दिनरात नभनीकन सामाजिक सञ्जालमा यो देशमा भाषण धेरै भयो, अब भाषण नगरौं भनेर कटाक्ष गर्ने बलियो जमात रहेको छ । यहाँ कालजयी भाषणको तयारीको अपरिहार्यतामाथि नै प्रश्न गर्ने नेता र त्यस्ता भाषणलाई नै अर्थहीन ठान्ने जमातको गजबको बलियो गठबन्धन रहेको छ । तर सत्य के हो भने विक्षिप्त रहेका नागरिकको मनमा मलम लगाउने राज्यको नेतृत्व वा नेतृत्वमा पुग्ने आकांक्षा राख्ने पात्रहरूले नै हो र त्यसको माध्यम उनीहरूका युगान्तकारी भाषण, भाषणभित्रका तथ्यपरक, आत्मीय, आशा जगाउने शब्दहरूको सँगालोले नै हो ।
यहाँ हाम्रो समाजको ज्ञान परम्परालाई पनि कदापि नजरअन्दाज गर्न सकिँदैन । मौखिक परम्पराको हाम्रो ज्ञान र सभ्यतासँग गहिरो सम्बन्ध रहेको छ । श्रुति परम्परा हाम्रो ज्ञानको प्रसारणको प्रमुख माध्यम थियो भन्ने वेद, उपनिषद्, त्रिपिटक, सूत्र, लोककथा, भजन, मन्त्र, कथा–पुराण आदिको विकासक्रमबाट प्रस्ट छ । सुन्नु, सुनेर सिक्नु, सुनाउनु, सुनाएर सिकाउनु हाम्रो सभ्यता हो । अब प्रश्न गरौं, हामी आज के सुन्दै छौं ? के सिक्दै छौं ? के सुनाउँदै छौं ? के सिकाउँदै छौं ? के त्यसले हाम्रो आजका समस्याबाट निकास दिन्छ ? अनि, हामी आफ्ना समस्याको बारेमा सकारात्मक छलफल गर्नै नसक्ने गरी थला परेका हौं ?
होइनौं । पटक्कै होइनौं । श्रुति हाम्रो गौरवको परम्परा हो । तर यो परम्परालाई हामीले शंका, घृणा, नैराश्यता जस्ता नेपालीलाई फाइदा नपुर्याउने क्षेत्रमा दुरुपयोग गरिरहेका छौं । अनावश्यक शक्ति खर्च गरिरहेका छौं । यो सबै गलत अभ्यास र बाटोबाट नेपाललाई टाढा राख्दै, नेपाल र नेपालीलाई सिंगै बुझ्ने, कम्तीमा भाषणमा भए पनि आफ्नै नागरिकलाई काखापाखा नगर्ने र आजका हाम्रा आर्थिक, सामाजिक एवं राजनीतिक समस्यालाई चिर्दै निश्चित राष्ट्रिय लक्ष्यमा डोर्याउने अभिभावकको टड्कारो खाँचो छ, यहाँ । लोकतन्त्रमा निर्वाचन आफू त्यस्तो पात्र भएको प्रमाणित गर्ने स्वर्णिम अवसर हो ।
अब, चर्चा गरौं, देशको नेतृत्व गर्न आकांक्षा गर्ने हाम्रो नेतृत्वले आगामी दिनमा त्यस्तो युगान्तकारी भाषण गर्दा ध्यान दिनुपर्ने न्यूनतम विषय के हुन् ? धेरै विषय छन्, तर देशको सिंगो चित्र, समस्या र समाधानको मार्गचित्र, देशको राष्ट्रिय स्वार्थको तथ्यपरक गन्तव्यको विश्वसनीय चित्र र त्यागको भावना न्यूनतम आवश्यकता हुन् ।
१. सिंगो देश अटाउने विनम्र भाषण
प्राचीन ग्रिक दार्शनिक एरिस्टोटलले नेतामा हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण गुण प्रोनासिस अर्थात् व्यावहारिक बुद्धिमत्ता हो भनेका छन् । उनका गुरु प्लेटोले त झन् नेतामा दार्शनिक विचार हुँदा मात्रै असल शासन गर्न सक्ने तर्क गरेका थिए । हाम्रा नेताहरूका भाषणमा पनि जीवन, जगत्, समाज, हाम्रा विविधता, सामाजिक, आर्थिक एवं राजनीतिक समस्याका बारेमा बुझाई प्रस्ट होस् । उनीहरूका भाषण व्यावहारिक हुन् । कुनै पनि विषयका बारेमा आफ्नो धारणा बनाउँदा तथ्यमा आधारित हुन्छन् र आवेग, आवेश, आग्रह वा पूर्वाग्रहबाट सदासर्वदा टाढा रहन्छन् भन्ने प्रस्ट आभास र प्रत्याभूति व्यक्त होस् ।
त्यस्ता नेताको भाषणमा २०४६ सालमा सुरु भएको लोकतान्त्रिक अभ्यासले सामाजिक एवं आर्थिक न्यायको विषयमा के कति प्रगति गर्न सक्यो ? के–कति सकेन र त्यसका कारण के हुन् भन्ने प्रस्ट ठम्याइ होस् । त्यसैको आधारमा निदानको मार्गचित्र प्रस्तुत होस् । त्यस्तो बृहत् चित्रले मात्र सुधारको गोरेटोको सम्भावनालाई कोर्छ । त्यस्तो प्रस्टताले मात्रै प्रशासनिक सुधारको कठिन मार्गको वैधता सिर्जना गर्छ । ती सबै पक्षले भरिएको नेताको भाषणमा मात्र सिंगो देश अटाउँछ, आम नागरिक अटाउँछन् । सबल राष्ट्रियताको आधारशिला मजबुत हुन्छन् । राज्य सशक्तीकरणबाट दिगो लक्ष्यले वैधता पाउँछ । नागरिकमा विश्वास र त्यागको भावना जागृत हुन्छ । राजनीति नागरिक न्यायमा केन्द्रित हुँदा अर्थसामाजिक विकासले गति लिन्छ र कालान्तरमा सर्वाङ्गीण विकास सम्भव हुन्छ ।
नेताका भाषणमा विद्यालय भवन वा शिक्षकभन्दा पनि कम विद्यार्थी भएका सामुदायिक विद्यालयका समस्या मात्रै होइनन् समुदायमा शिक्षा प्रदान गर्ने पवित्र उद्देश्यका साथ खोलिएको तर सँगसँगै विद्यार्थी घटेर आफ्नो लगानी कसरी उठाउने भन्ने चिन्तामा रहेका संस्थागत विद्यालयका समस्या पनि समावेश हुन् । राज्यले रोजगारी सिर्जना गर्ने समाजवादी अर्थतन्त्रको परिकल्पनाको अभ्यास गर्दै गर्दा यही देशमै केही गर्छु भन्ने अठोटका साथ व्यवसाय सुरु गरे पनि अपेक्षित सफलता हासिल गर्न नसकेका हरेकले आफू थप जटिल समस्यामा नपर्ने र राज्य उनीहरूको उत्थान एवं प्रगतिको सारथि बन्न हरबखत तत्पर रहेको प्रत्याभूति गर्न सकुन् ।
आफ्नो थर, आर्थिक वा सामाजिक भूमिकाकै कारणले समाजमा असहिष्णु व्यवहार खप्न नसकेर विदेशको भूमिमा एक्लै गएर काम गर्छु भन्दै देश छोड्ने निष्कर्ष निकालेका युवादेखि आफ्ना बाबुले क्याम्पसमा भर्ना गरिदिएको नै राम्रो ज्वाइँ पाउनलाई मात्रै हो र मेरो पढाइ नसकिँदै विवाह गरिदिन्छन् भन्ने थाहा हुँदैहुँदै पनि हरेक दिन बिहान उठेर क्याम्पस जाने हाम्रा नानीहरूका पीडा सम्बोधनका खाका हुन् । घरको आयआर्जनमा टेवा पुर्याउन विद्यालय जाने उमेरमा खेतबारीको काम वा ज्याला मजदुरी गरेर पढ्ने, लेख्ने र सिक्ने अवसरबाट वञ्चित भएका तर अहिले हातमा केही सीप भए उन्नत जीवन जिउन सक्थे भन्ने आशाको त्यान्द्रोमा अडिएका युवादेखि लाखौं खर्च गरेर अध्ययन सकेको सीपयुक्त युवाले पनि काम खोज्न चिनेकै मान्छे हुनुपर्ने अवस्थाबाट आजित तर राज्य, समाज र निजी क्षेत्रलाई हाँक्न तत्पर क्षमतावान् युवासम्मलाई नयाँ युगको उदय हुन गइरहेको अनुभूति दिलाउने खाका समावेश भएको होस् ।
आफ्नो सिंगो जीवन राजनीति, समाज सेवा भनेर सकाएर, आफ्ना छोरा–छोरी कसरी हुर्किएसम्म पनि पत्तो नपाई समाज र राजनीतिको रूपान्तरणमा नै जीवन अर्पेका लाखौं आमाबुबादेखि जीवनभर एकै पेसामा काम गरेर पनि पेसा गर्न छाडेको दोस्रो दिनबाट आयआर्जनको कुनै स्रोत नभएका कर्मनिष्ठ, राजनीतिक संक्रमणको युगमा यो देशको आर्थिक, सामाजिक र राजनीतिक विकासमा अतुलनीय योगदान पुर्याएको पुस्ताप्रतिको राज्यको जिम्मेवारीका बारेमा प्रस्ट मार्गचित्र होस् । यस्ता धेरैधेरै राष्ट्रिय समस्यालाई यसरी एकीकृत रूपमा प्रस्तुत गरियोस् कि त्यो दिन साँझ नेपालका ५६ लाखभन्दा धेरै घरधुरीमा एकै पटक, एकै आवाज गुन्जियोस् कि ‘आजचाहिँ नेताले हाम्रा कुरा गरे, देशका कुरा गरे ।’
नेताको भाषण आत्मविश्वासले भरिएका हुन् । तर उनको आत्मविश्वासको एक मात्रै आधार मैले सिंगो राष्ट्रिय समस्यालाई बोकेका कारण देशमा मालिक अर्थात् नागरिकहरूको पूर्ण साथ रहन्छ भन्ने लोकतान्त्रिक आत्मविश्वास होस् । उनी सधैं नागरिकप्रति विनम्र हुन् । म यहाँ स्वेच्छाले सेवा गर्न आएको र नागरिकले इच्छा गर्दासम्म मात्रै यो सेवा गर्न पाइन्छ भन्नेमा पूर्ण हेक्का राखुन् । नागरिकप्रति कृतज्ञता व्यक्त गर्नु र नागरिकलाई स–सानो समस्या पर्दासमेत त्यस्ता दुःखको प्रमुख कारण आफू नभए पनि नागरिकसँग क्षमायाचना गर्नु उनको खासियत होस् । अनि हामी नागरिकलाई के चाहिन्छ ?
२. प्रस्ट ‘आर्थिक’ लक्ष्य र रणनीतिक खाका
जनता अब उधारो कुरा सुन्न तयार छैनन् । आर्थिक अवस्थाले अब धेरै लामो भविष्यका बारेमा सोच्ने वा यस्तै हो, हुँदै जान्छ भन्ने छुट दिन सक्ने अवस्थामा नै छैनन् । जनताको एक मात्रै बुझाइ छ, आर्थिक वृद्धिबिना कुनै पनि क्षेत्रमा ठोस सुधार हुन नसक्ने मात्रै होइन, अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचानमा समेत तात्त्विक परिवर्तन नहुनेमा दृढ छन् । जसरी राष्ट्रिय अर्थतन्त्रको समस्यालाई पहिचान गर्दै सन् १९९२ मा अमेरिकी राष्ट्रपतिका उम्मेदवार बिल क्लिन्टनले आफ्नो क्याम्पको नारा ‘इट्स इकोनमी, स्टुपिड π’ राखेर गल्फ युद्ध लगायतका कारण शिथिल अमेरिकी अर्थतन्त्रलाई चलायमान गराउने योजना बनाएका थिए, हामीलाई पनि त्यस्तै आर्थिक नाराहरू चाहिएको छ । आफ्नो नाममा ‘नमिक्स’ लाई जोडेर ‘आबे–नमिक्स’ बनाएका जापानी प्रधानमन्त्री सिन्जो आबे जस्तै साहसी नेता आवश्यक छ ।
अतः यो संख्यामा कुरा गर्ने समय हो । वास्तवमा, २१ औं शताब्दी आफैंमा संख्याको शताब्दी हो । दैनिक जीवनमा समेत हामी हाम्रा वरिपरिका सबै विषयमा संख्यामा नै कुरा गरिरहेका हुन्छौं ं। यहाँ फेसबुकमा के लेखियो होइन, कति लाइक र कमेन्ट आयो भन्ने विषयले थप अर्थ राख्छ । सन् १९५० देखि आर्थिक प्रगति गरेका देशहरूलाई हेर्यो भने १५–२० प्रतिशत नयाँ आर्थिक वृद्धि क्षेत्र विकास गर्दा मात्रै तीव्र आर्थिक विकास गर्न सकेका छन् । यदि यसैलाई आधार मान्ने हो भने हाल ६१ खर्ब आसपास रहेको हाम्रो अर्थतन्त्रलाई ४ वर्षभित्र १०० खर्बको अर्थतन्त्रमा पुर्याउनुपर्ने हुन्छ ।
यसको ठोस उत्तरबिना नागरिकको मृगतृष्णा मेटिनेवाला छैन । हाम्रा नेताहरूको भाषणमा त्यसको मार्गचित्र प्रस्तुत हुनुपर्छ । जब आर्थिक लक्ष्य निर्धारण हुन्छ, त्यसलाई हासिल गर्न कस्तो कस्तो भौतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी आदि सँगै कस्तो परराष्ट्र नीति र सम्बन्ध राख्नेसम्मका रणनीति, विकासको मोडल मूर्त रूपमा निर्धारण हुन्छन् । अनि मात्रै साँचो अर्थको राष्ट्रिय बहस सुरु हुन्छ । हाम्रा नेताहरू अर्थतन्त्रलाई केन्द्रबिन्दुमा राखेर गर्ने भाषणले नै जन्माउनेछ, आधुनिक लोकतान्त्रिक युगको युगान्तकारी भाषण ।
फेरि, विश्व इतिहासबाट सिक्न आवश्यक छ । त्यस्ता योजना वा भाषण त्यसबेला युगान्तकारी हुन्छन्, जब आर्थिक संरचनाको बारेमा प्रस्ट बुझाइ हुन्छ । जसरी ग्रामीण क्षेत्रको विकासबिना कोरियाको औद्योगिकीकरण सम्भव नभएकामा कोरियाको युगान्तकारी विकास गरेका पार्क जंग ही प्रस्ट थिए, जसरी सानो भूगोल र प्राकृतिक स्रोतको अभाव तर व्यापारको सम्भावनालाई यथार्थतामा रूपान्तरण गर्दा मात्रै सिंगापुरको अस्तित्व जोगिनेमा ली कुआन यु प्रस्ट थिए, हाम्रा नेताहरूले पनि वृद्धि र विकासको बहस गर्दा आजको, अहिलेको, आँखा अगाडिका यथार्थमा उभिनुपर्छ ।
