दैलेखको ग्यासको व्यावसायिक उत्खनन प्राविधिक रूपमै सम्भावना देखिए र नेपालको आर्थिक उन्नतिमा ठूलै भरथेग हुने स्थिति आउनेमा मतैक्य हुन सक्दा सरकार अघि बढ्नुपर्छ ।
What you should know
हरेक क्षेत्रमा आयातको बाध्यताका कारण नेपालको वार्षिक व्यापार घाटा उच्च छ । यस्तो पृष्ठभूमिमा आयात प्रतिस्थापन गराउन सघाउने हरेक वस्तु तथा सेवा नेपालका लागि खुसीका स्रोत हुन् । दैलेखमा भेटिएको प्राकृतिक ग्यासले आयात प्रतिस्थापनको बलियो सम्भावना देखाएको छ । भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि भएको हो ।
यसअघि ११२ अर्ब घनमिटरसम्म ग्यासको भण्डारण हुन सक्ने प्रारम्भिक प्रतिवेदन सार्वजनिक भए पनि चाइना जिओलोजिकल सर्भले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनअनुसार ग्यासको परिणाम निश्चित भएको हो । यद्यपि, जमिनमुनि ग्यास हुने, त्यसको व्यावसायिक उत्खननको सम्भावना हुने र उत्खनन नै सुरु हुने प्रक्रिया र सम्भावनाका बीच अनेकौं चरण र जटिलता छन् । त्यसैले दैलेखको ग्यासको व्यावसायिक उत्खनन प्राविधिक रूपमै सम्भावना देखिए र नेपालको आर्थिक उन्नतिमा ठूलै भरथेग हुने स्थिति आउनेमा मतैक्य हुन सक्दा सरकार अघि बढ्नुपर्छ ।
पेट्रोलियम पदार्थको उत्खननका लागि चैत २०७२ मा चीन र नेपालका प्रधानमन्त्रीबीच द्विपक्षीय समझदारी भएको थियो । दैलेखमा पेट्रोलियम पदार्थ उत्खननका लागि चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेले विभिन्न चरणमा सर्भे गरेको थियो भने चीनकै सीएनपीसी सिबु इन्जिनियरिङ कम्पनीले २८ वैशाख २०८० देखि करिब डेढ वर्ष ड्रिलिङ गरेर अध्ययन गरेको थियो । विभिन्न चरणको कामपश्चात् ग्यासको परिणाम टुंगो लागेको हो । यद्यपि, त्यहाँ धैरै मात्रामा मिथेन ग्यास भएको र ग्यास कस्तो अवस्थामा छ र कुन प्रविधिले निकाल्न मिल्छ भन्ने निर्क्योल गर्न ‘वेल टेस्ट’ नै गर्नुपर्ने हुन्छ । चिनियाँ टोलीको प्रतिवेदन आएपछि सरकारले ‘वेल टेस्टिङ’ लगायत दोस्रो चरणको काम गरिदिन चिनियाँ सरकारलाई अनुरोध गरेको छ । अब ‘वेल टेस्ट’ लगायतका बाँकी प्रक्रियाका लागि दुवै देशका सरकारबीच थप सम्झौता भई काम अघि बढ्नुपर्ने हुन्छ । त्यसैले यतिबेला सरकारको दृढ प्रतिबद्धता र कूटनीतिक क्षमता पनि परीक्षणमा छ ।
दैलेखमा भेटिएको ग्यासको व्यावसायिक उत्खननसम्म पुग्नका लागि केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । पहिलो, ‘वेल टेस्टिङ’ तथा गुणस्तर परीक्षण गरिनुपर्छ । त्यसले ग्यास कुन कुन प्रयोजनका लागि उपयोग हुन सक्छ भन्ने निश्चित गर्नेछ । यसक्रममा लागत अध्ययन पनि गरिनुपर्छ । व्यावसायिक आर्थिक अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन तथा पूर्वाधार विकास गरिनुपर्छ । यसका लागि ठूलो आर्थिक लगानी गर्नुपर्ने निश्चित छ । तर ग्यासको सहज उत्खनन र उपभोग हुँदा प्राप्त हुने आर्थिक लाभको तुलनामा लगानी न्यून हुन पुग्यो भने सरकार अघि बढ्नुपर्छ । त्यसका लागि सरकारका नीतिहरू प्रस्ट, प्रभावकारी र व्यावहारिक हुनुपर्छ । ग्यास उत्खनन र वितरण प्रणाली निर्माणका लागि नेपाल अनुभवहीन देश हो । त्यसैले यसक्रममा आउने जटिलताका विषयमा अनभिज्ञ छ । ती सबै पक्ष ख्याल गरेर अघि बढ्नुपर्छ ।
आशा गरौं, दैलेखमा घरायसी प्रयोजनका लागि समेत प्रयोग गर्न सकिने गुणस्तरको ग्यास उत्खनन र प्रशोधन हुनेछ । त्यतिबेला विभिन्न कोणबाट नेपाल लाभान्वित हुनेछ । पहिलो, नेपालीले आफ्नै देशमा प्रशोधन भएको ग्यास प्रयोग गर्न पाउनेछन् । यसले बेलाबखत हुने ग्यासको अभाव र आयातमा हुने अवरोधको समस्या भोग्नु पर्दैन । दोस्रो, यातायात, विद्युत् उत्पादनदेखि रासायनिक मल उत्पादनका लागि पनि सहयोग पुग्छ । प्रशोधनयोग्य ग्यास, गुणस्तर र पूर्वाधार निर्माणलगायतका पक्ष प्रस्ट हुँदै गएपछि बाँकी फाइदा पनि खुल्दै जान सक्छन् । वा, अहिले सम्भावना देखिएकामध्ये सीमित पक्षमा मात्रै लाभ लिन पनि सकिन्छ ।
मुख्यचाहिँ, आयात प्रतिस्थापन र त्यसमार्फत बचत हुने रकम नै हो । खाना पकाउने ग्यास आयातमा मात्र नेपालबाट बर्सेनि ५० अर्ब रुपैयाँभन्दा बढी विदेश जाने गरेको छ । ग्यास आयात गर्नु नपर्दा विदेशी मुद्रा सञ्चितिमा योगदान पुग्नेछ । व्यापार घाटा न्यूनीकरणमा पनि योगदान पुग्नेछ । यसरी आफ्नै भूमिमा उपलब्ध स्रोतको उपयोग गर्दा नेपालको आत्मविश्वास पनि अभिवृद्धि हुनेछ । जसको लाभ अन्य क्षेत्रमा पनि पुग्नेछ । त्यस्तै, दशकौंसम्म नेपालले उपभोग गर्न सक्ने ग्यासको उत्खनन र वितरणको चक्र सुरु हुँदा कुल गार्हस्थ्य उत्पादनमा पनि ठूलो वृद्धि हुनेछ । त्यस्तै, ठूलो संख्यामा स्थानीय रोजगारी उपलब्ध हुनेछ । नेपालबाट दैनिक सरदर दुई हजार व्यक्ति वैदेशिक रोजगारीमा विदेश जाने गरेका छन् । देशमै रोजगारी खोजिरहेकाहरूको संख्या ठूलो छ । ग्यास उत्खननको एउटा आयोजनाले रोजगारीको सम्पूर्ण माग पूरा गर्न नसक्ने भए पनि केही योगदान भने अवश्य गर्नेछ । साथै, आयोजना पूरा हुँदा पूर्वाधार विकासमा पनि टेवा पुग्नेछ ।
