यस पटकको चुनावले वास्तवमा नेपालको लोकतन्त्रका लागि अति महìव राख्छ । जनता अब नेतातन्त्रमा मात्र विश्वास गर्दैनन्, न त सनातनी राजनीतिमा । लोकतन्त्रका गुणको रक्षासँगै उनीहरू प्रभावकारी, समावेशी, विकासमुखी र समतामा आधारित व्यवस्था चाहन्छन् ।
What you should know
परिस्थितिको आकलन गर्न नेता असक्षम हुँदा समयले आफ्नो बाटो तय गर्छ । त्यसैले आजको राजनीतिक उतारचढावमा नेतृत्वले सही निर्णय गर्दा धेरै जोखिम कम गर्न सकिन्छ । लोकतन्त्रका नाउँमा नेता गैरउत्तरदायी र स्वार्थी भए विद्रोह हुन्छ । यस्तो विद्रोह सकारात्मक र नकारात्मक दुवै हुन सक्छ ।
आजको राजनीतिक सन्दर्भ पनि सनातनी राजनीति र परिवर्तनउन्मुख राजनीति बीचमा परेको छ । किनभने राष्ट्रिय राजनीति अझै अस्पष्ट छ । तर यस अस्पष्टताभित्र परिवर्तनको बीउ भने रोपिएको छ । कस्तो परिवर्तन, कस्तो संस्कार निर्माण आदि विषयको खोजी गर्न आगामी चुनावपछि आउने सरकार र दलहरूलाई छोडिएको छ । यदि अब नयाँ भनिने नेता पनि पुरानै शैली र गराइमा अडिए अर्को विद्रोहको सम्भावना रहनेछ । वर्तमान संविधान, चुनाव प्रणाली र धेरै दलहरूको उपस्थितिले राजनीतिक जटिलता बढाउनेछ । यसको समाधान गर्न सर्वदलीय समझदारी र परिवर्तनका साझा अवधारणा बनाउनुपर्नेछ । यस्तो सोच नयाँ र पुराना सबै दलहरूले बनाई व्यवस्थापकीय र राष्ट्रिय समस्या हल गर्नतिर लाग्नुपर्नेछ ।
जस्तोसुकै कारणले जेन–जी आन्दोलन भए पनि यसले राजनीतिलाई नयाँ धरातलबाट हेर्न बाध्य पारेको छ । समावेशीकरणको क्षेत्र विस्तृत भएको छ, किनभने युवा पिँढीले पनि आफ्नो ठाउँ खोजेको छ । अर्को, परिवर्तनको चाहना हो । सरकारमा हुँदा वा बाहिर गर्ने कार्यक्षमता, उत्तरदायित्व हुनुपर्ने बाध्यता, जनमुखी एजेन्डामा प्रतिबद्धता, शासनतन्त्रको स्वच्छता आदिमा नेतृत्वको सूक्ष्म अवलोकन हुनेछ । त्यसैले वास्तविक हाँक त चुनावपछि बन्ने सरकार र दलका नेतालाई आउनेछ । यसले नेपालको लोकतन्त्रलाई समय र सन्दर्भ सुहाउँदो तरिकाले परिमार्जन गर्नुपर्नेछ । जेन–जी विद्रोहले संरचनागत परिवर्तन (स्ट्रक्चरल) गर्न नसकेको भए पनि आममानिसमा पुरानो शैली र गराइको शासनतन्त्र जहिले पनि धराशायी हुन सक्छ भन्ने भावना जगाएको छ । यसले नेतृत्वलाई सधैं खबरदारी गर्ने परिपाटी बसाउने वातावरण बनाएको छ । यस्तो मनोवैज्ञानिक अवस्था एकाएक आएको होइन । तर नेपालमा राजनीतिक दलका नेता संवेदनशील हुन नसक्दा र बढी कुर्सीमुखी राजनीति हाबी हुँदा जनआक्रोश बढेको र समग्र नागरिकमा निराशा व्याप्त भएको हो ।
आगामी चुनावका सिलसिलामा एकाएक यतिका धेरै दल निर्वाचन आयोगमा दर्ता भएकामा पनि भविष्यप्रति शंका उठेको छ । जुन केही मात्रामा सही छ । चुनावको लहर चल्दा दल वा व्यक्ति छिचिमिरा जसरी आउनु अनौठो होइन । प्रायःजसो मानिस आत्मकेन्द्रित र स्वार्थप्रेरित नै हुन्छ । उसले आफ्नो अवस्था र परिवेश बुझ्दैन । कतिपयले नयाँ दल खोलेका छन् । किनभने आजको राजनीतिले मानिसलाई डर, त्रासबाट मुक्ति दिएको छ । पहिलेजसरी त्याग, बलिदान र समर्पणको राजनीति आज छैन । जेलमा नसडिने भएकाले सुविधाको राजनीति गर्न सबै उत्सुक हुन्छन् ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यमले राजनीतिक नायक तुरुन्तै बनाउने भएकाले मौका सबैलाई दिएको छ । तर यस्ता दल र नेताको अवधि कति हो भन्न गाह्रो छ । उनीहरूको अस्तित्व रक्षा गर्ने सिद्धान्त, संगठन, नेतृत्वको गरिमा कति हो, त्यसले उनीहरूको टिक्ने सम्भावना तय गर्छ । पुराना दलहरू जसले लोकतन्त्र यहाँसम्म ल्याउन ठूलो लडाइँ लडे, उनीहरूलाई पनि अस्तित्व रक्षाको समस्या परेको छ । बढी बाँच्न र टिक्न गाडीलाई सर्भिसिङमा लगी चुस्त पारेझैं दललाई पनि नवीनीकरण (रिन्युवल) गरिनुपर्छ । यसो नहुँदा दल चलायमान हुन सक्दैन । त्यसको आवश्यकता महसुस भने नेताले नै गर्नुपर्छ । नत्र दलभित्रैबाट विद्रोह हुन्छ ।
नेपाली कांग्रेसको लामो पृष्ठभूमि छ र यो नै नेपालको उदार लोकतन्त्रको एजेन्डा बनाउने दल हो । पछि अरू यस अभियानमा सरिक भए र आज गणतन्त्रसम्म पुग्न सकिएको छ । तर कांग्रेसको नयाँ पिँढीले यसको नवीनीकरणको आवश्यकता अनिवार्य भएको ठानी नयाँ नेतृत्व चयन गरेको छ र आज यस दलले नयाँ आशा र विश्वास जगाएको छ । यसका नयाँ नेता तुलनात्मक रूपमा युवक, गतिशील र वर्तमान अवस्थासित राम्ररी परिचित छन् । यो सकारात्मक विद्रोह हो ।
दल पुराना कहिल्यै हुँदैनन्, यदि उनीहरूले सही बाटो लिए भने । बेलायत वा अमेरिका वा अन्य कतिपय देशमा तिनै दलहरूले सयौं वर्षसम्म पालैपालो शासन चलाइरहेछन् । तर ती देशमा पनि हामीकहाँजस्तै विभिन्न दल छन् र आवश्यकता पर्दा मिलिजुली सरकार बनाउन सरिक हुन्छन् । तर आजका सन्दर्भमा दलको बनावट, नेतृत्व, सिद्धान्त र ती सिद्धान्तलाई जनस्तरमा पुर्याउने भूमिकामा दलको नवीनीकरणले काम गर्छ ।
पुराना दलमा नेकपा एमालेलाई अस्तित्व रक्षाको समस्या परेको छ । नेतृत्वको एकल वर्चस्व र आत्मकेन्द्रित सोचले यसलाई गति दिने आधार कमजोर बन्दै गएको छ । दलभित्र तानातानी भए पनि यो परिणाममुखी हुन नसक्दा दल अझ खुम्चिने अवस्थामा पुग्ने सम्भावना बढेको छ । खड्गप्रसाद शर्मा ओलीको नेतृत्व टिक्न सके पनि यसमा आजको सन्दर्भ बुझ्ने र सच्याउनेतिर पार्टी नेतृत्व नदेखिँदा यो दल रूढिवादी अवधारणामै रुमलिएको छ । यसपल्टको चुनावमा यसले कस्तो परिणाम हासिल गर्छ, त्यसले एमालेको लोकप्रियता घटेको वा बढेको दर्शाउनेछ ।
ओलीको नेतृत्वको असफलता गत भदौमा भएको जेन–जी आन्दोलनले देखाएको छ । सरकारको नेतृत्व लिने व्यक्तिले ‘मलाई केही थाहा थिएन वा मैले गोली चलाएको हो र ?’ भन्दा उत्तरदायित्वबाट पन्छिएको ठहर्दैन ? एमालेको महाधिवेशन पनि ओलीको नेतृत्वलाई स्थायित्व दिनुमा नै सीमित रह्यो न कि यस दललाई गतिशील पार्न । ओलीबाहेक अरूले बोल्नै नपाउने र उनको नेतृत्वको अनुमोदन मात्र गर्नुपर्ने आदेशले यस दलको लोकतान्त्रिक चरित्र कस्तो छ भन्ने पनि उजागर गरेको छ । त्यसको तुलना नेपाली कांग्रेसको विशेष अधिवेशनसित गर्न मिल्दैन । किनभने कांग्रेसको निर्णयका आधार तलैबाट बन्दै आएको र अत्यन्त सौहार्द र लोकतान्त्रिक परिपाटीमा सम्पन्न भएको पाइन्छ । यसले कांग्रेसलाई नयाँ ऊर्जा दिएको छ । नयाँ नेतृत्वले कस्तो भूमिका गर्ला र नयाँपनको अनुभूति जनतालाई गराउला, त्यो भविष्यले बताउला । तर के भन्न सकिन्छ भने यो दलको नेताको कार्यशैली पहिलेको जस्तो त पक्कै पनि हुँदैन ।
नेपाली कम्युनिस्ट पार्टीमा नयाँपन देखिएको छैन । पुष्पकमल दाहाल र माधव नेपालको सहकार्यले नयाँ पिँढीलाई कति उत्साहित पार्न सक्ला, त्यसमा यस दलको भविष्य अडेको छ । नयाँ भनिएका दल राष्ट्रिय स्वतन्त्र पार्टी र हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टी वा कुलमान घिसिङको उज्यालो पार्टी आदिको एकैखाले मूल्यांकन हुन नसके पनि भोलि कति टिकाउ होलान् भन्ने आधार मुख्य हुन्छ । रास्वपाले यसअघिको चुनावमा प्रत्यक्ष र समानुपातिक गरी २१ संसदीय सिट पाएको हो तर यस्तो भोट कुनै संगठन, सिद्धान्त वा पृष्ठभूमिले पाएको नभई पुराना दलका नेताका कमजोरी र शासनतन्त्रको दुरुपयोग भएका कारण र अति बढी लोकप्रियतावादले यस दलको एकाएक तरक्की भएको हो ।
अहिले रास्वपामा बालेन्द्र शाह पनि प्रवेश गरेकाले मतदाताको ध्यान तान्न केही हदसम्म सफल भएको छ । तर, यस्तो आकर्षण कति टिक्ला भन्न सकिने आधार छैन । बालेन लहरलाई रोक्ने अब एउटै आधार कांग्रेसको गगन थपा र विश्वप्रकाश शर्माको चुनावी अभियानले निर्धारित गर्नेछ । अहिले कांग्रेसको नयाँ नेतृत्वले जनतामा उत्साह पैदा गरेको र त्यस्तो उत्साहलाई मतमा परिवर्तन गर्ने वातावरण बनाउन सक्दा रास्वपाको नयाँ पिँढीमा केही आकर्षण देखिए पनि अबका एक महिनामा केही गुणात्मक परिवर्तन होला भन्ने अनुमान गर्न सकिन्छ । यसै सन्दर्भमा पार्टी सभापति गगन थापा भन्छन्, ‘नेपाली कांग्रेस पार्टीको सोच बदलिएको छ, संकल्प बदलिएको छ, यसको शैली बदलिन्छ र यसको अब काम बदलिन्छ । यसले दिने परिणाम पनि बदलिएर नयाँ आउँछ । कांग्रेसले नयाँ पुस्ताको आह्वानलाई स्वीकार गरेर नयाँ सोच र जोसका साथ उभिएको छ ।’
राजनीतिको नयाँ परिवेशमा रास्वपाको प्रधानमन्त्रीको प्रस्ताव त्यति सजिलै सफल होला जस्तो लाग्दैन । बालेन्द्रमा न त संगठनको नेतृत्व छ, न हालसम्म भावी कार्ययोजना र प्रतिबद्धता । रास्वपाको एउटै आधार भनेको वैकल्पिक शक्ति बनी पुराना दलहरूलाई निस्तेज पार्नु हो । यस पटकको चुनावको नतिजाले केही संकेत गरे पनि पार्टीको स्थायित्वका लागि अरू धेरै पक्षले काम गर्ने भएकाले यस्ता दलको स्थायित्वमा प्रश्नचिह्न लागिहाल्छ ।
मधेशी दलहरूको स्थिति राम्रो छैन । चुनावका बेला एक हुने प्रयास गरे पनि जनमानसमा उनीहरूप्रतिको वितृष्णाले काम गरिराखेको छ । जनविश्वास फर्काउन यी दलहरूलाई निकै प्रयास गर्नुपर्छ । यसपल्टको मधेशी मत विभाजित भए पनि केही प्रतिशत मत कांग्रेसको नयाँ नेतृत्वको पक्षमा जाने वातावरण बन्न गएको आभास हुन्छ । कांग्रेसको चुनावी अभियान, मधेशीलाई प्रभावित पार्ने प्रतिबद्धता र घोषणाले पनि निकै फरक पार्छ । त्यसमा पनि नेतामाथिको नयाँ अवधारणा र भरोसा हो ।
बालेन्द्रको सक्कली चेहरा र पहिचान भर्खरै खुल्दै छ । उनको न त कुनै राजनीतिक पृष्ठभूमि छ, न कुनै सैद्धान्तिक धरातल । उनी काठमाडौंका मेयरको पदमा एक पटक चुनाव जितेका र केही समय मेयरको भूमिकामा रहेका मात्र हुन् । जनताको मूल्यांकन गर्ने क्षमतामा धेरै कुरा भर पर्छ तर चुनावमा जित–हार भए पनि उनको वा अन्य यस्तै नेताको राजनीति कति टिक्ला भन्न सकिन्न । सामान्यतया यस्ता धेरै लहर बिस्तारै हराएका उदाहरण पाइन्छन् । बालेन्द्र दलको नेता पनि होइनन् । उनी एकाएक माथिबाट उदाएका व्यक्ति हुन्, जसको राजनीति अझै प्रस्ट छैन ।
अरू धेरै साना दलले जुवामा च्याँखे थापेका छन् । केही समानुपातिक भोट आउला कि भन्ने आशा पनि होला । यी बिस्तारै बिलाएर जान्छन् । राजनीतिक क्षेत्र बाँकी मुख्य केही दलका लागि मात्र रहने भएकाले नेपालको राजनीतिका आगामी दिन कांग्रेस, एमाले, रास्वपा, नेपाली कम्युनिस्ट पार्टी र केही छरिएका मधेशी दल र अन्य एक–दुई सिट जित्ने दलहरूमा सीमित हुनेछ । त्यसैले चुनावपछिको राजनीतिलाई एक पटक सबै दलले सुधारका सम्भावनाको गहिरो अध्ययन गरी संविधानलाई नयाँ सन्दर्भमा रूपान्तरण गरी अघि बढे मात्र राजनीतिक स्थायित्व र सर्वमान्यता मिल्न सक्छ ।
अहिलेका सन्दर्भमा नेपालको राजनीतिमा अधिक तरलता देखिने मुख्य कारण विकल्पका रूपमा आएका नयाँ दलका नेताको अधिक लोकप्रियतावादका आधारमा आफ्नो स्थान बनाउने खेल, नेताको आफैंलाई बढी मूल्यवान ठान्ने (ओभर एस्टिमेट), पुराना दलका नेताले यतिका वर्ष चलाएको राजनीतिक धन्दा र जन वितृष्णाले जस्तोसुकै भए पनि परिवर्तन खोजेको पाइन्छ । आज यस्तो खोजमा स्थापित नेता र दललाई पनि अप्ठ्यारोमा पारेको छ । झापा–५ मा केपी शर्मा ओलीलाई बालेन्द्र शाहले टक्कर दिँदै छन् तर त्यस क्षेत्रमा बालेन्द्रको पकड कति छ, आकलन गरिहाल्ने बेला भएको छैन ।
यस क्षेत्रको जनसंख्याको बनावटले पनि परिणाम निर्धारण गर्छ । हर्क साम्पाङको भूमिका पनि यहाँका मिश्रित मतदातालाई प्रभाव पार्न सक्छ, जहाँ जनजातिको पनि केही मात्रामा बाहुल्य छ । यदि हर्कले बालेन्द्रविरोधी अभियान चलाए त्यसले परिणाम फरक पार्न सक्छ । सायद यसको फाइदा ओलीतिर जाने सम्भावना रहन्छ । ओलीको आफ्नै पकड क्षेत्र भएकाले बालेन्द्रभन्दा उनको सम्भावना बढी हुन सक्छ । यदि बालेन्द्र प्रधानमन्त्रीकै लागि मात्र रास्वपा पसेका भए उनले झापा पुगी बढी जोखिम नमोलेको भए राम्रो हुन्थ्यो होला । सायद मधेशको कुनै अर्को क्षेत्रबाट उनी उम्मेदवार भएको भए कुरा अर्कै हुन्थ्यो ।
यस पटकको चुनावले वास्तवमा नेपालको लोकतन्त्रका लागि अति महत्त्व राख्छ । जनता अब नेतातन्त्रमा मात्र विश्वास गर्दैनन्, न त सनातनी राजनीतिमा । लोकतन्त्रका गुणको रक्षासँगै उनीहरू प्रभावकारी, समावेशी, विकासमुखी र समतामा आधारित व्यवस्था चाहन्छन् । यसका लागि अब जनप्रतिनिधि चुस्त र जनमुखी हुनुपर्नेछ ।
