पुराना र नयाँ भनिएका दलहरूले यतिखेर धमाधम आ–आफ्ना घोषणापत्र तयार गदैगर्दा यो देशको वास्तविक ऐना हेरिरहेका होलान् कि नाइँ ? कर्णाली र सुदूरपश्चिमका नागरिकलाई तिनको कष्टकर जीवनबाट मुक्तिका लागि के–कस्ता खाका कोर्लान् ?
What you should know
संसार आज विज्ञान र प्रविधिको विकास उत्कर्षमा पुग्दा भइरहेका कतिपय आविष्कार हामीलाई अविश्वसनीय लाग्छन् । सायद धेरैलाई त्यस्तै अविश्वसनीय लाग्छ होला, जुम्लाको तिला गाउँपालिका–९ की रमिता थापाले बाटोमै दुई फिट जमेको हिउँमाथि बच्चा जन्माएको समाचार । अझ ढुंगाले नाल काटेर आमा र बच्चा सकुशल घर पुगेका थिए । यो सत्य घटना हो । हामी वर्षौंदेखि यस्ता घटनालाई सुन्न र हेर्न अभ्यस्त छौं ।
उहिले गाउँमा हाम्रा हजुरआमा, आमाहरू भन्नुहुन्थ्यो– ‘यसलाई त मैले घाँस काट्न जाँदा वनपाखामै जन्माएकी हुँ, यसलाई बारीमा कोदो रोप्दारोप्दै जन्माएकी हुँ । यसरी जन्मिएर पनि बाँचेका छोराछोरीहरूलाई ‘भाग्यले बाँचेका’ भनिथ्यो ।
यस्ता ‘यथार्थ’ किस्सा सुनेको पनि पाँच दशक नाघ्यो । समयले धेरै कोल्टे फेर्यो । देशका कैयौं गाउँले सडक, बिजुली, स्वास्थ्यचौकी र अस्पताल पाए । सुरक्षित मातृत्व र ‘बर्थिङ सेन्टर’ जस्ता सुविधा पाए । जसले गर्दा आमा र बच्चाहरूको मृत्युदरमा कमी आयो । तर दुर्भाग्य, कर्णाली र सुदूरपश्चिमका गाउँहरूको अवस्था आज पनि धेरै सुधार हुन सकेको छैन । त्यसैले त, आज पनि तिलाजस्ता गाउँका सुत्केरी आमाहरूलाई पैदल हिँडेर ‘बर्थिङ सेन्टर’ पुर्याउन पनि पाँच घण्टा लाग्ने गरेको छ ।
पञ्चायत गयो, प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो तर कर्णालीको मुहार फेरिन सकेन । र त आज त्यहाँका आमाहरू सुत्केरी बेथा लाग्दा सहजै स्वास्थ्यचौकी पुग्न नसकी घण्टौं लगाएर हिँड्दै र स्ट्रेचरमा बोकिएर कठिन यात्रा गरिरहन विवश छन् । समयमै स्वास्थ्यचौकी पुग्न नसकी बाटोमै बच्चा जन्माउन विवश छन् । यसरी जन्मेका बच्चाहरू कतिले बाँचेर जिन्दगी देख्न पाउँछन् होला ? अनि सुरक्षित प्रसूति सेवाको अभावमा अत्यधिक रक्तस्राव भएर वा साल अड्केर मृत्युसँग जुध्दै कति गर्भवती र सुत्केरी आमाको जीवनले निरन्तरता पाउँछ होला ?
कर्णाली र सुदूरपश्चिमको जनजीवन प्रत्यक्ष नियाल्ने अवसर नपाए पनि आमसञ्चारका माध्यमले खबर ल्याइरहन्छन् । त्यसैले यहाँनिर भन्नैपर्ने छ, धेरै केही नभए पनि सरकारले पक्कै पनि ती ठाउँमा स्वास्थ्य स्वयंसेविका र मातृशिशु कार्यकर्ताहरू खटाएकै होला । केही नभए पनि गाउँमा सुढिनी तालिम लिएका महिला होलान् । उनीहरूको पनि सहज उपस्थिति नहुँदाको अवस्थामा र अस्पताल जाँदाजाँदै पनि यदि बाटोमै बच्चा जन्मिए के–कस्तो सावधानी अपनाउने ? भन्ने सामान्य जानकारी र चेतना विस्तार गरिएको देखिएन । नत्र बाटोमा बच्चा जन्मेपछि ढुंगाले नाल काट्नुपर्ने अवस्था आउन नदिन साथमा नयाँ ब्लेड वा शुद्धीकरण गरेका औजार (चक्कु वा छुरी), नयाँ धागो, सफा कपडा लिएर हिँड्न सल्लाह दिनुपर्थ्यो । कमसेकम यति भए पनि बच्चामा संक्रमण हुन पाउँदैन भन्ने ज्ञान त्यहाँका महिलाहरूलाई हुन सके नवजात शिशुको ज्यान जोगिन सक्थ्यो ।
यो राज्यसत्ता र नेताहरूले विकासको बहस गर्दा केरुङ–काठमाडौं रेलमार्ग, चीन र भारत जोड्ने रेलमार्ग, कर्णलीलाई चीनसँग जोड्ने राजमार्गका कुरा गरिरहँदा कर्णालीका गाउँहरूलाई सहज रूपमा सदरमुकाम जोड्ने र गाउँका बासिन्दालाई बिरामी पर्दा सहज रूपमा अस्पताल र स्वास्थ्यचौकी पुग्न सक्ने सडक बनाउने कुरा किन बहसमा आउँदैनन् ? किन बन्न सक्दैनन्, आफ्नै जिल्लाका नागरिकलाई जिल्ला अस्पताल र स्वास्थ्यचौकी पुग्ने बाटोहरू ? त्यसका दुःख त्यहीँकै नेता र यो देशका शासकहरूलाई किन दुख्दैन ?
कर्णालीको जनजीवन, त्यहाँका आमाहरू र बालबालिकाहरूको अवस्थालाई केन्द्रमा राखेर लेखिएका डाक्टर नवराज केसी (जो कर्णालीमै बसेर सेवा दिइरहेका छन्) का पुस्तक ‘शून्यको मूल्य’ र ‘स्वस्पर्श’ पढ्दा कैयौं पटक रोएकी छु । आखिर म पनि त गाउँमै जन्मेर गाउँमै हुर्केकी हुँ । यतिसम्म कष्टकर त थिएन जीवन । मैले जान्दा मेरो गाउँमा स्वास्थ्यचौकी थियो । बिस्तारै अनेक सुविधा पुगे, विकास पुग्यो । अहिले मेरो गाउँका कुनाकुनामा सडक पुगेको छ । तर किन पछि पर्यो हुम्ला, जुम्ला, कालीकोट र मुगु ? के नागरिक चेतना नभएरै हो ?
त्यसो हो भने संसद्मा गफ हाँक्ने जनप्रतिनिधिहरूले आफूहरूलाई भोट हाल्ने आमाहरूका दुःख किन देखेनन् ? सिटामोल र जीवनजल नपाएर छटपटाउँदै मर्न विवश नागरिकका दुःख किन देखेनन् ? किनकि सधैं सत्ताकै जोड–घटाउमा यिनीहरूको समय बित्यो ।
देशको कायापलट गर्न भनी अघि सरेका नवपुस्ताको विद्रोहमा ज्यान गुमाउने र अपांग हुने अधिकांश युवा र किशोरकिशोरीहरू यस्तै दुर्गम र सुदूरबाट आएका थिए । राज्यको सेवासुविधाबाट वञ्चितिमा परेका, हेपिएका, पेलिएका र उकासिन नसकेकाहरूको विद्रोह थियो त्यो । तर त्यो सहादतको लाभ फेरि पनि कसले उठाउने हुन् भन्न सक्ने अवस्था छैन ।
पुरानो सत्ता ढालेर हुन लागेको निर्वाचन नजिकिँदै गर्दा हरेक पुराना र नयाँ भनिएका दलहरूले यतिखेर धमाधम आ–आफ्ना घोषणापत्र तयार गर्दागर्दै यो देशको वास्तविक ऐना हेरिरहेका होलान् कि नाइँ ? कर्णाली र सुदूरपश्चिमका नागरिकलाई तिनको कष्टकर जीवनबाट मुक्तिका लागि के–कस्ता खाका कोर्लान् ? कि फेरि पनि कर्णालीवासीहरू भोट माग्न जानेहरूले बाँडेका तिलस्मी सपनाहरूमै मक्ख पर्लान् कि फेरि कुनै रमिताहरूले बाटोमै बच्चा जन्माउन नपरोस्, कुनै गर्भवती जनकलाहरूले सुत्केरी बेथा लागेर रक्तस्राव हुँदा अस्पताल जान नपाएर ज्यान गुमाउनु नपरोस् भनेर उनीहरूलाई औंला ठड्याउने हिम्मत गर्लान् ?
