कहिले सरकारको हस्तक्षेप, कहिले प्राध्यापकको आन्दोलन र कहिले विद्यार्थी संगठनको अराजकताले यो संस्थाको छवि सालैपिच्छे खस्किँदै गइरहेको छ ।
What you should know
कुनै पनि संस्थाको उन्नतिका लागि सम्बन्धित सबै पक्षको सहयोग, समर्पण र समर्थनको अग्रणी भूमिका रहन्छ । विश्वविद्यालय पनि त्यस्तै हो । सरकार, विश्वविद्यालयको नेतृत्व, प्रशासन, प्राध्यापक, विद्यार्थीलगायतका सबै पक्षको योगदानबाट मात्रै विश्वविद्यालयले प्राज्ञिक र शैक्षिक गतिविधिमा अब्बल छवि निर्माण गर्न सक्छ ।
त्रिभुवन विश्वविद्यालयको नियति भने ठीक उल्टो छ । कहिले सरकारको हस्तक्षेप, कहिले प्राध्यापकको आन्दोलन र कहिले विद्यार्थी संगठनको अराजकताले यो संस्थाको छवि सालैपिच्छे खस्किँदै गइरहेको छ । यतिबेला नेकपाको भ्रातृ संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गरेको छ । त्रास सिर्जना गरेको छ । जसले विश्वविद्यालयको प्राज्ञिक र प्रशासनिक वातावरण पुनः बिथोलिएको छ ।
यतिबेलाको सन्दर्भमा अखिल क्रान्तिकारी भए पनि त्रिभुवन विश्वविद्यालयभित्र सबैजसो ठूला दलका भ्रातृ संगठनको प्रवृत्ति करिब उस्तै छ । र, यो विश्वविद्यालयको गरिमा खस्किनुमा उत्तिकै जिम्मेवार छन् । त्यसैले विश्वविद्यालयमा सुधारका लागि सबै दलहरूको साझा प्रतिबद्धता अपरिहार्य छ । दलहरूले लेख्दै गरेको घोषणापत्रमा यो विषय समेटिनुपर्छ ।
प्रथमतः विद्यार्थी र यसका संगठनले आफ्ना माग तथा सरोकार व्यक्तिगत तथा सामूहिक रूपमा उठाउन सक्छन् । त्यसो गर्न पाउनुपर्छ । तर, हाम्रा विद्यार्थी संगठनमा रचनात्मक क्षमता भने अत्यन्तै कमजोर देखिएको छ । तालाबन्दी, तोडफोड, धम्की र आक्रमण, खुँडाखुकुरी नै उनीहरूको परिचय बनेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन विभागको शुल्क घटाउन माग राख्दै अखिल क्रान्तिकारीले गत असारमा ३४ दिनसम्म आन्दोलन गरेपछि सहमति भएको थियो । सहमति कार्यान्वयन नभएको भन्दै तालाबन्दी गरिएपछि विश्वविद्यालयले प्रहरी प्रशासनको सहयोग लिएको थियो । त्यसरी तालाबन्दी खुलाइएपछि क्रान्तिकारीले अभद्र व्यवहार फ्रदर्शन गरेका छन् । शुक्रबार बिहानै त्रान्तिकारीका कार्यकर्ताले उपकुलपति र रजिस्ट्रारको कुर्सीमा अपशब्द प्रयोग गरी पर्चा टाँसेका थिए ।
क्रान्तिकारीका त्रिवि समिति अध्यक्ष दिनेश ऐरले सार्वजनिक रूपमै पदाधिकारीलाई भौतिक आक्रमण गर्ने चेतावनी दिएका थिए । सोमबार मात्रै रेक्टर खड्ग केसीको कार्यकक्ष बाहिरको नेमप्लेट फालिएको थियो । ताला खुले पनि धम्कीका कारण पदाधिकारीले विश्वविद्यालयको कार्यकक्षमा पुगेर काम गर्न पाएका छैनन् । उनीहरूले फरक–फरक डिन कार्यालय र विभागलगायत त्रिविका अन्य निकायमा बसेर दैनिक कार्यसम्पादन गर्दै आएका छन् ।
माघ २०८१ मै सकिएको स्नातक तहको भर्ना खुलाउनुपर्ने माग गर्दै कांग्रेस निकट नेविसंघले गत जेठ–असारमा उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा ताला लगाएको थियो । मंसिर २०७८ मा एमाले निकट अनेरास्ववियुले उपकुलपति धर्मकान्त बास्कोटालगायत पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको थियो । केही वर्षयताको रेकर्ड हेर्ने हो भने कांग्रेस, एमाले र नेकपा (तत्कालीन माओवादी) निकटका विद्यार्थी संगठनबाट पटक–पटक तालाबन्दी र तोडफोड भएको छ । यस्तो प्रवृत्ति केन्द्रीय प्रशासन र क्याम्पसमा मात्रै होइन, आंगिक क्याम्पसमा पनि विस्तारित छ । यसबाट केही पक्षमा गम्भीर क्षति पुगेको छ ।
पहिलो, उच्च शिक्षाका झन्डै ८० प्रतिशत अर्थात् करिब पाँच लाख विद्यार्थी अध्ययन गर्ने मुलुककै जेठो विश्वविद्यालय सधैं तालाबन्दी, अवरोध र तनावबाट चलिरहन अभिशप्त भएको छ । दोस्रो, विश्वविद्यालय प्रशासन तथा प्राध्यापक सधैं त्रासमा बस्न बाध्य भएका छन् । कहिले आक्रमण र कहिले चेतावनीका कारण उनीहरूले निर्धक्क भएर प्राज्ञिक र शैक्षिक गतिविधिमा संलग्न हुन पाएका छैनन् । तेस्रो, उच्च शैक्षिक र प्राज्ञिक वातावरणमा अध्ययन गरेर खारिएको जनशक्ति उत्पादन हुँदा विद्यार्थी स्वयं, परिवार, समाज र देशले जुन स्तरको बौद्धिक जनशक्ति र पोषण पाउने सम्भावना रहन्थ्यो, त्यो खुम्चिएको छ ।
प्रथमतः विद्यार्थी र यसका संगठनले आफ्ना माग तथा सरोकार व्यक्तिगत तथा सामूहिक रूपमा उठाउन सक्छन् । त्यसो गर्न पाउनुपर्छ । तर, हाम्रा विद्यार्थी संगठनमा रचनात्मक क्षमता भने अत्यन्तै कमजोर देखिएको छ । तालाबन्दी, तोडफोड, धम्की र आक्रमण, खुँडाखुकुरी नै उनीहरूको परिचय बनेको छ । जबकि, विश्वविद्यालय पढिरहेका विद्यार्थीबाट रचनात्मक र प्रभावकारी आन्दोलनको अपेक्षा गरिन्छ । विज्ञान र प्रविधि तथा एआईले फड्को मारेको यो युगमा विद्यार्थीहरू भने हातमा रड बोकेर हिँड्न तयार देखिन्छन् । त्रिविका विद्यार्थी र संगठनले विश्वका प्रतिष्ठित विश्वविद्यालयमा विद्यार्थी संगठनले के गर्छन्, त्यहाँको शैक्षिक वातावरण कस्तो हुने गर्छ, विद्यार्थीका माग र मुद्दा कसरी उठाइन्छन् भन्ने अध्ययन गर्न जरुरी छ । अब्बल अभ्यासलाई अनुकरण गर्न जरुरी छ ।
विश्वविद्यालयमा अराजकता बढ्नुमा विद्यार्थी संगठन मात्रै जिम्मेवार छैनन्, उनीहरूलाई सोधिने प्रश्न र दिइने सुझाव मात्रै पनि पूर्ण हुँदैनन् । यो प्रश्न तिनका माउ दलसँग पनि जोडिएको छ । राजनीतिक दलहरूले खोजेको विश्वविद्यालय कस्तो हो ? त्यो कसरी सम्भव छ ? यसबारे दलहरू बोल्नुपर्छ । खासगरी लाखौं विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयप्रति उनीहरूको प्रस्ट धारणा आउनैपर्छ । यसका केही पक्षमा उनीहरूले आफ्ना धारणा राख्न सक्छन् ।
पहिलो, विश्वविद्यालय सञ्चालनको ढाँचा कस्तो हो ? दोस्रो, यसको प्राज्ञिक र शैक्षिक भूमिका कस्तो बनाउने हो ? तेस्रो, विश्वविद्यालयमा शान्तिपूर्ण पठनपाठनको सुनिश्चितता गर्नेतर्फको प्रतिबद्धता । दलहरूले आफ्ना भ्रातृ वा आफू निकटका विद्यार्थी संगठनले गर्ने तालाबन्दी, तोडफोड र कुटपिटप्रति शून्य सहनशीलता राख्ने र संलग्न विद्यार्थीलाई पार्टी संगठनबाट हटाउने र प्रशासनिक कारबाहीका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । भ्रातृ संगठनलाई संरक्षण गरेर विश्वविद्यालयलाई अराजकताको केन्द्र बनाइरहने दलहरूप्रति नागरिक समाजले प्रश्न उठाउनुपर्छ । जवाफदेही बनाउनुपर्छ ।
