एक जिम्मेवार नागरिकले मतदानलाई केवल अधिकारका रूपमा नहेरी असल र कुशल नेतृत्व छनोट गर्ने दायित्वको रूपमा हेर्न जरुरी छ ।
What you should know
सामान्यतया मत भनेको व्यक्तिको विचार वा अभिव्यक्ति हो । तर निर्वाचनको सन्दर्भमा मत भन्नाले जनताले आफ्नो प्रतिनिधिप्रति विश्वास गरी उनीहरूलाई आफ्नो प्रतिनिधित्व गर्न दिने आधिकारिक समर्पण हो । लोकतान्त्रिक मुलुकमा मतदान भनेको नागरिकको मौलिक अधिकार हुनुका साथै सरकार रोज्न सक्ने अतिशक्तिशाली शस्त्र पनि हो ।
अब्राहम लिंकनले लोकतन्त्रलाई ‘जनताको, जनताका लागि, जनताद्वारा गरिने शासन पद्धति हो’ भनी परिभाषित गरेका छन् । अर्थात् लोकतान्त्रिक शासन व्यवस्थामा देशको शासन व्यवस्थामा जनताको प्रत्यक्ष सहभागिता हुन्छ, जसलाई अंगीकार गर्दै नेपालको संविधानले सार्वभौमसत्ता जनतामा निहित हुने व्यवस्था गरेको छ । लोकतान्त्रिक मूल्यमान्यतालाई अंगीकार गरेको नेपालको शासन व्यवस्थामा मतदाताको मतले सरकार चयनमा प्रत्यक्ष भूमिका खेल्छ ।
यतिबेला देश निर्वाचनमा होमिएको छ । राजनीतिक दलहरू एकता, पुनर्मिलन, पुस्तान्तरण लगायतका निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय रूपमा लागेका छन् । अर्कोतर्फ, जुन सरकार आए पनि हाम्रो अवस्था सुध्रिने होइन भन्ने नैराश्यता पनि छ ।
मतदाताले आफ्नो राजनीतिक आस्था, विश्वास वा उम्मेदवारमा देखेको आशाका आधारमा मतदान गरी सो उम्मेदवारलाई विजय गराई संसद्मा पठाउनुपर्छ ।नेपालले संसदीय शासन व्यवस्था अवलम्बन गरेको छ, जहाँ जनताद्वारा चुनिएका सांसदहरूले कानुन बनाउनुका साथै सरकार गठन पनि गर्छन् । साथै नेपालमा दुई किसिमबाट प्रतिनिधिसभाको निर्वाचन हुन्छ– प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली । प्रत्यक्ष निर्वाचन प्रणालीमा प्रत्येक निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दलहरूका वा अन्य स्वतन्त्र उम्मेदवारहरूबीच प्रत्यक्ष रूपमा प्रतिस्पर्धा हुन्छ, जसमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजय हुन्छ । समानुपातिक निर्वाचन प्रणालीमा समग्र देशलाई एक निर्वाचन क्षेत्र मानी निर्वाचनमा सहभागी दलहरूलाई मत दिइन्छ, जसमध्ये जम्मा खसेको मतको ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउने दलले बन्दसूचीमा पठाएका उम्मेदवारहरूमध्येबाट दललाई प्राप्त मतको आधारमा निर्वाचन आयोगले समानुपातिक संसद्को सूची प्रकाशन गर्दछ ।
निर्वाचनमा सबैले आफ्नो विश्वास, आस्था वा प्रतिनिधिको क्षमतालाई मूल्यांकन गरेर मतदान गर्छन् । तर वर्तमान समयमा देशमा भएको भ्रष्टाचार, अनियमितता र बेथितिको कारण जनतामा चरम निराशा छ, जसले गर्दा कतिले निर्वाचनमा मत नै नदिने मानसिकता बनाएका छन् । तर एक जिम्मेवार नागरिकले मतदानलाई केवल अधिकारका रूपमा नहेरी असल र कुशल नेतृत्व छनोट गर्ने दायित्वको रूपमा हेर्न जरुरी छ । किनकि, मतदाताको एक मतले कुनै सही व्यक्ति सही पदमा पुग्न सक्छ । एक मतले योग्य, क्षमतावान र मतको कदर गर्ने व्यक्ति निर्वाचनमा विजय हुन सक्छ । मतदान नगर्ने हो भने एक भोटको अन्तरले कुनै योग्य व्यक्ति पराजित हुन सक्छ ।
यसैलाई प्लेटोले आफ्नो पुस्तक ‘द रिपब्लिक’ मा एउटा ठूलो डुंगाको चालक चुन्ने उदाहरणसँग दाँजेका छन् । लोकतन्त्रमा निर्वाचन गर्दा सधैं योग्यभन्दा वाक्कला भएको वा अरूलाई सजिलै आफ्नो प्रभावमा पर्न सक्ने व्यक्ति विजय हुन्छ । तर योग्यभन्दा ‘पपुलर’ व्यक्तिले चुनाव जितेमा डुंगा नै डुब्न सक्ने भन्दै प्लेटोले लोकतन्त्रको आलोचना गरेका छन् । हुन पनि हो, लोकतान्त्रिक निर्वाचनमा जसले जनतालाई आफ्नो पक्षमा फार्न सक्यो त्यही व्यक्ति विजय हुन्छ । जसले गर्दा अक्षम व्यत्तिले पनि जनतालाई आफ्नो पक्षमा पार्न सके जित्ने सम्भावना हुन्छ तर तबसम्म मात्र, जब मतदाताले हाम्रोलाई होइन, राम्रोलाई भोट दिनुपर्छ भन्ने ठान्छन् । आफ्नो क्षेत्रमा उठेका सबल, सक्षम र योग्य व्यक्तिलाई मत दिनुको सट्टा मत नदिने निर्णय गरियो भने एकजना योग्य उम्मेदवारले हार्नुपर्ने हुन सक्छ ।
यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि एक–एक मतको उत्तिकै महत्त्व रहेको छ । समानुपातिक प्रणालीले समावेशिताको सिद्धान्तबमोजिम पिछडिएका वर्गलाई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्दछ । यसर्थ समानुपातिक प्रणालीतर्फ सही राजनीतिक दललाई भोट दिएमा सही वर्गको प्रतिनिधित्व हुन सघाउँछ । यसबाट समावेशिता र सामाजिक न्यायको सिद्धान्तले न्याय पाउँछ ।
मतदाताले आफ्नो राजनीतिक आस्था, विश्वास वा उम्मेदवारमा देखेको आशाका आधारमा मतदान गरी सो उम्मेदवारलाई विजय गराई संसद्मा पठाउनुपर्छ । उक्त सांसदले मतदाताको प्रतिनिधित्व गर्दै संसद्मा आवाज उठाउँछन्, मतदाताको मुद्दामा सरकारको ध्यानाकर्षण गराउँछन् र सरकारले बाटो बिराउँदा संसद् र जनताप्रति उत्तरदायी र जवाफदेही बनाउँछन् । हामीले छोटो समयमै भिन्नभिन्न प्रकारका शासन व्यवस्था भोगिसकेका छौं । तर पनि नेपाल र नेपालीको अवस्था परिवर्तन हुन नसक्नुको कारण व्यवस्था होइन । सो व्यवस्थामा सही व्यक्ति पुग्न नसक्नु वा नपाउनु हो । त्यसर्थ सही व्यक्तिलाई सही ठाउँमा पठाउँदा देशको परिवर्तन सम्भव छ, जसका लागि कुनै आन्दोलन वा नरसंहार होइन, एक–एक मतको आवश्यकता छ, जुन यही निर्वाचनबाट सम्भव छ ।
दुवै निर्वाचन प्रणालीलाई हेर्दा मतदाताको एक मतले पनि नेपालको शासन व्यवस्थामा ठूलो परिवर्तन गर्न सक्दछ । सही राजनीतिक दल र सही उम्मेदवारलाई मत दिइयो भने मतदाताको आवाजलाई संसद्मा उठान गरी सरकारको ध्यानाकर्षण गराउनका साथै असल सरकार गठनमा समेत प्रत्यक्ष प्रभाव पार्छ । यो नै २३ र २४ भदौका क्रान्तिलाई निष्कर्षमा पुर्याउने सही मार्ग हो । त्यसैले सबैले आफ्नो अमूल्य मतको सदुपयोग गर्नुपर्छ ।
