कुनै समय विश्वकपमा सहभागिता जनाउनु नै ठूलो विषय रहेको नेपालका लागि तेस्रो पटकको सहभागितासँगै केही सनसनीपूर्ण नतिजाको अपेक्षा गरिएको छ ।
What you should know
काठमाडौँ — शनिबार श्रीलंकाको कोलम्बोमा पाकिस्तान र नेदरल्यान्ड्सबीचको खेलसँगै ट्वान्टी–२० विश्वकपको दसौं संस्करण सुरु भएको छ । २० राष्ट्र सहभागी प्रतियोगितामा ‘समूह सी’ मा रहेको नेपालले भने आइतबार बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डसँग खेल्दै छ । विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो ।
यसअघि २०१४ र २०२४ मा नेपालले विश्वकप खेलिसकेको छ । विश्वकपअघिको अभ्यास खेलमा गरेको प्रदर्शनमार्फत नेपालले आफू लयमा रहेको प्रस्ट पारेकाले प्रतियोगितामा पनि बलियो प्रभाव देखाउन सक्ने सम्भावनालाई बढोत्तरी दिएको छ । कुनै समय विश्वकपमा सहभागिता जनाउनु नै ठूलो विषय रहेको नेपालका लागि तेस्रो पटकको सहभागितासँगै केही सनसनीपूर्ण नतिजाको अपेक्षा गरिएको छ । न्यून पूर्वाधार र कमजोर लगानीलाई चिर्दै आफ्नो सामर्थ्य विस्तार गरिरहेको नेपाली क्रिकेट टिमको हरेक जित यो खेलसँग मात्रै सम्बन्धित हुनेछैन । बरु नेपाली समाजले आशा गर्ने क्षेत्रहरू खुम्चिँदै गइरहेको पृष्ठभूमिमा हरेक जितले समाजलाई उत्प्रेरित गर्नेछ । आत्मबल भर्नेछ ।
क्रिकेटमा नेपाल एसोसिएट राष्ट्र हो र पूर्ण सदस्य बन्ने लक्ष्य राखिरहेको छ । त्यसैले नेपालका लागि बलिया प्रतिपक्षीसँगको खेलको बढी महत्त्व छ । यसले हाम्रो क्षमतालाई निखार्न र परिपक्व नतिजा हासिल गर्न बलियो आधार निर्माण गर्छ । यसर्थ, जारी विश्वकपले हामीलाई बहुआयामिक लाभ दिन्छ । मुख्यतः यसले नेपाली टिमलाई थप अन्तर्राष्ट्रिय पहिचान दिन्छ ।
राम्रो प्रदर्शन गर्ने खेलाडीहरूले ठूला लिगमा अवसर पाउन सक्छन् । बलिया टिमसँग खेल्दै गएपछि खेलाडीमा आत्मविश्वास अभिवृद्धि हुन्छ । त्यसले अन्ततः टिमकै प्रदर्शनका लागि सकारात्मक योगदान पुर्याउँछ । त्यस्तै, राष्ट्रिय टिमको सफलताले नयाँ पुस्तालाई क्रिकेटप्रति आकर्षित तुल्याउँछ । २०१४ मा नेपालले विश्वकप खेलेको देखेरै क्रिकेटप्रति आकर्षित भएका धेरै खेलाडी छन् । यसले टिममा निरन्तर पुस्तान्तरको आधार तयार पार्छ । जब टिमले परिपक्व र सनसनीपूर्ण नतिजा ल्याउँछ, अवसरहरू बढाउँछ, नयाँ पुस्ता तयार गर्छ, घरेलु प्रतियोगिताका लागि पनि बलियो आधार तयार हुँदै जान्छ ।
नेपालमा अहिले क्रिकेट लोकप्रिय खेल हो । दुई संस्करणको एनपीएलले नेपालमा क्रिकेट ठूलो आर्थिक गतिविधिको माध्यम हुने पुष्टि गरेको छ । फ्रेन्चाइजहरूले टिम, खेलाडी, प्रशिक्षक लगायतमाथि ठूलो लगानी गरेका छन् । त्यसले खेलाडीलाई आर्थिक सुरक्षा त दिएको छ नै, नयाँ खेलाडीको विकास गर्न पनि भूमिका खेलेको छ । त्यस्तै क्रिकेटमा पूर्वाधार विकासका लागि पनि अवसर/बाध्यता सिर्जना गरेको छ ।
जस्तो कि, दोस्रो संस्करणको एनपीएलअघि त्रिवि मैदानमा फ्लडलाइट जडान गरियो र रातमा पनि उज्यालोमा खेलाइयो । यो नै सम्पूर्ण उपलब्धि होइन तर खेलको माहोल बढ्दै जाँदा लगानी गर्न व्यावसायिक घराना अघि सर्ने रहेछन्, राज्यले पूर्वाधार निर्माणमा तदारुकता दिँदो रहेछ, व्यापारिक गतिविधि बढ्दो रहेछ र दर्शकले पनि सक्रिय सहभागिता जनाएर खेलको उन्नतिमा योगदान जनाउने रहेछन् भन्ने पुष्टि हुन्छ । विश्वकपमा नेपालले गर्ने उन्नत प्रदर्शनले नेपाली क्रिकेटको आर्थिक र पूर्वाधारजन्य विकासमा पनि योगदान पुर्याउने निश्चित छ ।
नेपाली क्रिकेटको अहिलेसम्मको मिहिनेतले एउटा स्तरमा पुर्याएको छ । तर यतिले मात्रै पुग्दैन । ‘इन्टरनेसनल क्रिकेट काउन्सिल’ को पूर्ण सदस्य राष्ट्र बन्ने नेपालको लक्ष्यलाई साकार तुल्याउनका लागि भौतिक पूर्वाधारमा प्रशस्तै लगानी गर्नुपर्छ । सानाठूला मैदानहरू बनाउनुपर्छ । तल्ला तहदेखि नै प्रतियोगिताहरू आयोजना गर्नुपर्छ । एक दिवसीय मान्यता पाएका कारण पछिल्ला केही वर्ष नेपालले विभिन्न देशसँग खेलिरहने अवसर पाएको छ । खेलाडीलाई व्यस्त राख्न सजिलो भएको छ ।
एनपीएलले खेलाडीलाई आर्थिक सुरक्षाका लागि ठूलो योगदान दिएको छ । क्रिकेटको माहोल बढाउन भूमिका खेलेको छ । तर, जति तलैदेखि प्रतियोगिता हुनेछ, जति बढी प्रशिक्षणको अवसर प्रदान हुनेछ, उति नै प्रभावशाली खेलाडीको पहिचान र विकासमा योगदान पुग्नेछ । त्यसले नेपाली क्रिकेटको सर्वपक्षीय विकासमा उति नै ठूलो योगदान पुग्नेछ । यो क्रिकेटमाथि लगानी बढाउने समय हो । यसका लागि राज्य र निजी क्षेत्र अग्रसर हुनुपर्छ । जसले केही समयपछि सबै पक्षलाई प्रतिफल दिनेछ ।
यतिबेला अन्य खेलमाथि पनि राज्यको लगानी आवश्यक छ । कुनै समय नेपालमा पुरुष फुटबलको पनि जगजगी थियो । लिग हुन्थे । सफलता–असफलता जे जस्तो भए पनि नेपाली फुटबल क्षेत्र तरंगित भइराख्थ्यो । दर्शकको माया अधिक थियो । दशरथ रंगशालामा हुने प्रतियोगितामा दर्शकहरूले टिकट नपाएको कैयौं घटना छन् । क्षमताभन्दा बढी दर्शक पसेको उदाहरण पनि छन् । तर आज नेपाली फुटबल मृतप्रायः छ ।
किनकि लिग छैन । खेलाडीको करियर र आर्थिक सुरक्षा छैन, जसकारण उनीहरू रोजगारीका लागि विदेशिनुपरेको छ । राज्य होस् वा फुटबलसँग सम्बन्धित संस्था, उनीहरूसँग फुटबलको विकासका लागि कुनै योजना छैन । संस्थाहरू त दलीयकरण र भद्दा राजनीतिक अभ्यासका कारण थला नै परिसकेका छन् । नयाँ खेलाडीको उत्पादन, दर्शकको चासो, आर्थिक सम्भावना, प्रशिक्षण सबै पक्ष शिथिल हुँदै गइरहेको छ । यस्तो वातावरणमा फुटबलको विकास सम्भव हुँदैन । त्यसैले फुटबललाई नवजीवन दिने हो भने कमजोरीको सुधार र चामत्कारिक विकासका लागि दृढ संकल्प अपरिहार्य छ ।
अन्य खेलको विकास र खेलाडीको सुरक्षा सधैं चिन्ताको विषय रहिआएको छ । केही प्रतिभाशाली खेलाडीले आफ्नो लगावका कारण केही समय खेल्दैमा सम्बन्धित खेलको दिगो विकास हुन सक्दैन । नेपालमा कुनै समय फस्टाएका कैयौं खेलहरू ओझेल पर्दै जानुमा केही कारण छन् । जस्तो कि, प्रशस्त भौतिक पूर्वाधार, खेलाडीको आर्थिक र करियर सुरक्षा, प्रोत्साहन, नयाँ खेलाडीको प्रवेश र प्रशिक्षण, बलिया र प्रभावकारी नेतृत्वदायी संस्था, आन्तरिक प्रतिस्पर्धा, ‘एक्स्पोजर’का अवसर उपलब्ध छैन । त्यसैले नेपालले योजनाबद्ध रूपमा यी सबैमा सुधार गर्दै जानुपर्छ । अनि मात्रै क्रिकेटलगायत सबै खेलले नेपाललाई निरन्तर खुसी दिनेछ । खेलको प्रगति हुन सके, खेलबाट पनि प्रगति हुनेछ ।
