दुनियाँभरका विभिन्न रूप र रङका पपुलिस्ट दलहरूले व्यक्तिगत लोकप्रियतालाई हतियार बनाएर चुनावी फाइदा लिन खोज्छन् तर दीर्घकालीन सुशासनका लागि आवश्यक नीतिगत ढाँचा कदापि निर्माण गर्दैनन् ।
What you should know
समकालीन वैश्विक चुनावी राजनीतिमा तथ्यभन्दा भाष्यले (न्यारेटिभ्स) बढी शक्ति देखाइरहेको छ । भाष्यको प्रस्तुतीकरणले नै जनमत, भावना र मत परिवर्तन गर्न सक्छ । यसखाले भाष्यको राजनीति र लोकप्रियतावादबीच गहिरो अन्तरसम्बन्ध छ ।
लोकप्रियतावादी नेताहरूले सधैं एउटा सरल, भावनात्मक र शक्तिशाली कथा निर्माण गर्छन्– ‘हामी शुद्ध जनता भर्सेस उनीहरू भ्रष्ट अभिजात वर्ग ।’ राजनीति भनेको केवल सत्ता प्राप्ति होइन, यो भाष्यको माध्यम पनि हो, जसले अर्थ बनाउँछ, पहिचान निर्माण गर्छ, सामाजिक विभाजनलाई आकार दिन्छ र जनतामा भावनात्मक प्रतिध्वनि उत्पन्न गर्छ ।
भाष्य केवल कथा मात्र होइन, यो एउटा शक्तिशाली राजनीतिक हतियार हो । यसले वास्तविकतालाई चयनात्मक रूपमा प्रस्तुत गरेर जनमानसको सोच्ने तरिका परिवर्तन गर्छ । अमेरिकी सञ्चार सिद्धान्तकार वाल्टर फिसरले न्यारेटिभ पाराडाइमको अवधारणा अघि सार्दै भनेका छन्, ‘मानिसहरू तथ्य र तर्कभन्दा बढी कथाको तर्कबाट प्रभावित हुन्छन् । त्यस्ता कथाहरू आन्तरिक तार्किकता र जनजीवनसँग मेल खाने भावनामा केन्द्रित हुन्छन् । संज्ञानात्मक भाषाविद् जर्ज ल्याकोफका शब्दमा ‘संज्ञानात्मक फ्रेम वा भाष्यले तथ्यलाई जित्छ ।’ इतिहासलाई एउटा भाष्य मान्ने विचारक हाइडेन ह्वाइटले राजनीतिमा ‘वास्तविकता’ ले नभई ‘भाष्य’ ले शासन गर्ने चेतावनी दिएका छन् ।
लोकप्रियतावादी राजनीतिकर्मीहरूले मूलतः ‘हामी नै एकमात्र सच्चा प्रतिनिधि हौं’ भन्छन्, विरोधीहरूलाई वैध प्रतिपक्षभन्दा बढी शत्रु ठान्छन्, व्यक्ति पूजाको पराकाष्ठाका रूपमा एक जनालाई महानायक (सुपर हिरो) मान्छन् । ठ्याक्कै यही संक्रामक रोगबाट यतिबेला नेपाल प्रताडित छ । ‘राष्ट्रियता’, ‘मातृभूमि’, ‘जनता’ ‘विकास’ र समृद्धिजस्ता खाली र अमूर्त शब्दहरूलाई प्रयोग गरेर विभिन्न कारणले असन्तुष्ट बनेका व्यक्ति र समूहलाई एकत्रित गर्दै धमिलो पानीमा माछा मार्ने बृहत् उद्यम चलाइएको छ ।
लोकप्रियतावादी राजनीति सफलताको मुख्य कारण नै उसले निर्माण गरेको भाष्य हो । त्यसका लागि सबैभन्दा बलियो पहिलो अस्त्र हो– नोस्टाल्जिया । अर्थात् ‘पहिले सबै राम्रो थियो, अहिले भ्रष्टाचारले देश बिग्रियो ।’ अर्को ‘भिक्टिमहुड न्यारेटिभ’ मार्फत ‘हामी सदैव पीडित छौं’ भनिरहनु हो । ‘स्ट्रङलिडर मिथ’ अर्थात् ‘म मात्रै जनताको रक्षक हुँ ।’ अर्को अति सरलीकरण सूत्र हो– जटिल समस्याको सरल समाधान प्रस्तुत गर्ने सतही शैली । सबै क्षेत्रको राजनीतीकरणले देश खोक्रो बन्यो, सबै समस्याको जड विदेशी षड्यन्त्र हो, विगत स्वर्ण युग थियो, अहिले ध्वस्त भयो लगायतका लोमहर्षक र बहकाउपूर्ण बञ्चना प्रयोग गरेर सत्ताको रोटी सेक्ने उद्यम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि नेपाली कथित वैकल्पिक शक्ति भनिएकाहरूसम्ममा सवार भइरहेको छ ।
नेपालका सन्दर्भमा भाष्यको राजनीति सनातनी धन्दाका रूपमा सुसुप्त र प्रकट रूपले नै प्रदर्शित हुँदै आएको छ । ‘राजा आऊ देश बचाऊ’, ‘लोकतन्त्र बचाऊ’, ‘मधेशको अधिकार’, ‘हिन्दु राष्ट्र’ जस्ता भाष्यहरूले पटक–पटक जनतालाई ठग्दै आएका छन् । यिनै पुराना भाष्यलाई अब (अ)सामाजिक सञ्जालमार्फत प्रज्वलित गराइँदै छ । केपी ओलीको ‘अहंकारपूर्ण राष्ट्रियता’, प्रचण्डको ‘क्रान्तिकारी परिवर्तन’, र बालेन्द्र शाहको ‘स्वच्छ छवि र व्यवस्था परिवर्तन’ जस्ता भाष्यहरूले हाम्रो राजनीतिका प्रतिनिधिमूलक पहली मान्न सकिन्छ । भलै शाह पछिल्ला उपक्रमका विस्फोटक नमुना पात्र किन नहुन् । यसखाले उहापोहमा लोकतन्त्रलाई खतरा केवल सत्ता परिवर्तन हुने कुराले होइन, भाष्यको एकाधिकारको स्थानान्तरणले चुनौती दिँदै छ । पपुलिज्मलाई क्षणिक कथा र पातलो राजनीतिक हावा मानिन्छ, जसलाई पपुलिस्टहरूले यसको राजनीतिक उपयोगिताका लागि भरपूर अपिल गर्छन् ।
अरूको धारणालाई कास्टिङ गर्ने
लोकप्रियतावादको मूल विशेषता नै जनताको असन्तुष्टिलाई भजाएर सत्ता प्राप्त गर्नु हो । नेपालमा पुराना दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले दशकौंदेखि शासन गरे पनि भ्रष्टाचार, अस्थिरता र विकासको अभावले जनतामा निराशा छाएको छ । यस्तो अवस्थामा रास्वपाजस्ता नयाँ दलहरूले ‘पुरानाले बिगारे’ भन्दै आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गर्ने अधिकतम प्रपञ्च गरिरहेका छन् । तर मुख्य प्रश्न उनीहरूले ‘देश बनाउने’ भनेको कसरी बनाउने भन्ने हो ? के बनाउने हो ? राजनीतिक ढाँचा के हो ? यी प्रश्नहरूको जवाफ दिनबाट उनीहरू भाग्छन् । रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर मधेशमा प्रस्तुत गर्दै मधेशी जनताको भावनाको शोषण गर्ने प्रपञ्चको पटाक्षेप भइसकेको छ । तर यो पपुलिस्ट रणनीतिले शाहको राजनीतिक अनुभव र योजनाहीनताकै उपहास गरेको हुनुपर्छ । दुनियाँभरका विभिन्न रूप र रङका पपुलिस्ट दलहरूले व्यक्तिगत लोकप्रियतालाई हतियार बनाएर चुनावी फाइदा लिन खोज्छन् तर दीर्घकालीन सुशासनका लागि आवश्यक नीतिगत ढाँचा कदापि निर्माण गर्दैनन् र दुनियाँभरको प्रयोगमा त्यस्तो देख्न पनि पाइएको छैन । अझ हाम्रोमा त सार्वजनिक बहसबाट खुलेआम भागेर कथित स्वघोषित वैकल्पिक शक्तिका मुखियाले नयाँ उपक्रम रच्दै छन् ।
शाहले तडकभडक र धक्कामुक्की शैलीमा उम्मेदवारी दर्ता गरेपछि विभिन्न जिल्लामा दौडधुप गरे, सयौं समर्थकहरूको साथमा दौडाहा लगाए । तर उनले जनतासँग सार्थक अन्तरक्रिया गरेनन्, कुनै नीतिगत भाषण दिएनन् र केवल ‘देश बनाउन आएको हो’ भन्ने एकांगी रट लगाइरहे । दर्जनौं युट्युबर र सोसल मिडिया प्रभावकर्ताले सञ्जालभरि बमन गरिरहेका छन् । यो नै पपुलिज्मको सतहीपनाको पराकाष्ठा हो । जनतालाई भावनात्मक रूपमा उत्तेजित गर्ने प्रयासले वास्तविक समस्याहरू जस्तै– आर्थिक विकास, रोजगारी, शिक्षा र स्वास्थ्यका लागि ठोस योजना प्रस्तुत गर्नबाट भागिरहेका छन् । यसले मतदाताहरूलाई क्षणिक आकर्षित गर्न पनि सक्छ तर निर्वाचनपछि साँच्चिकै शासन गर्ने तहमा पुगेमा गम्भीर समस्या निम्त्याउँछ किनकि बिनायोजना सत्ता सञ्चालनको दुर्भाग्य कस्तो हुन्छ भन्ने बुझ्न हाम्रो देश नै उत्कृष्ट उदाहरण बन्दै आएको छ ।
पपुलिस्ट अपिलले मतदाताहरूमा भ्रम सिर्जना गर्छ– उनीहरूले नयाँ अनुहारमा आशा राख्छन् तर निर्वाचित भएपछि पुरानै समस्या दोहोरिन सक्छ भन्ने भुसुक्कै बिर्सन्छन् । यो प्रवृत्तिले राजनीतिलाई व्यक्तिगत लोकप्रियता र महत्त्वाकांक्षाको जादुमयी खेल बनाएर संस्थागत विकासलाई झन् कमजोर बनाउँछ । बालेन्द्रको पहिलो प्रहरको अभियानले यसलाई प्रमाणित गरेको छ । जनतासँग अन्तरक्रिया नगरी केवल नारा दिएर सत्ता प्राप्त गर्न सम्भव छ भन्ने बाटोमा उनी उन्मत्त अश्व दौडमा मस्त छन् । मतदाताहरूले यस्ता दलहरूलाई समर्थन गर्दा उनीहरूको नीति, दृष्टिकोण र कार्यान्वयन क्षमताको मूल्यांकन गर्नुपर्छ । अन्यथा, पुरानो (स्थापित) व्यवस्थाको विकल्प खोज्ने क्रममा नयाँखाले भुङ्ग्रोमा तड्पिनुबाहेक केही पनि हात लाग्दैन । बालेन्द्रको दल रास्वपाको मधेश नीति मुख्य रूपमा चुनावी अपिल र व्यक्तिगत निर्जातीय कुण्ठामा केन्द्रित छ । मधेशका विशिष्ट मुद्दाहरू जस्तै– पहिचान, भाषा, भूमि सुधार, हरूवाचरुवा/कमैया मुक्ति वा मधेशकेन्द्रित दलहरूको माग (जस्तै स्वायत्त मधेश प्रदेश) का बारेमा बालेन्द्र मण्डलीको चर्को विरोधभाव छँदै छ ।
राजनीतिशास्त्री अर्नेस्टो लक्लाउका अनुसार लोकप्रियतावादले ‘जनता’ लाई शुद्ध, पीडित भइरहेको चित्रण गरेर ‘एलिट’ (पुराना दलहरू, स्थापित शक्ति) लाई भ्रष्ट र दोषी ठहर्याउने प्रखर हर्कतमा नेपाल अब प्रयोगशाला बन्दै छ । यो शैलीले विरोधाभासपूर्ण मोर्चा (एन्टागोनिस्टिक फ्रन्टियर) निर्माण गर्दछ । रास्वपाको भाष्यले यही सीमा बनाएको छ– नयाँ भर्सेस पुराना दलहरू तर ठोस नीति वा कार्यक्रमबिना यो केवल भावनात्मक प्रलापभन्दा बढी बन्दैन भन्ने यथार्थता मतदाताले कति बुझ्न सक्लान्, त्यसका लागि केही समय पर्खिनु नै पर्छ । यसखाले पातलो विचारधारा (थिन–आइडियोलोजी) राष्ट्रवाद वा अन्य रूढ विचारधारासँग जोडिएर आफैंमा खोक्रो बन्नु स्वाभाविक नियति त छँदै छ ।
प्रियतावादी अपिललाई सामाजिक सञ्जालले आम स्व–सञ्चार (मास सेल्फ–कम्युनिकेसन) का लागि सहज बनाउँछ । रास्वपाले यसलाई प्रयोग गरेर बिनामध्यस्थकर्ता जनतासम्म पुग्ने शैलीलाई मुख्य रणनीति र सिद्धान्त बनाएको प्रस्टै छ । यसका लागि उनीहरूले अघिल्लो निर्वाचनदेखि नै भाइरल नारा, लक्षित विज्ञापन इन्फ्लुएन्सहरूद्वारा निर्मित भाष्य फैलाएर सिधा मनोवैज्ञानिक हमला गर्दछ । यसले बहुल र अन्तरक्रियात्मक (संवादपूर्ण) राजनीतिलाई कमजोर बनाउँछ । सामाजिक सञ्जालका एल्गोरिदमले प्रयोगकर्तालाई आफ्नै विचार मात्र देखाएर राजनीतिक ध्रुवीकरण र घृणालाई तीव्र बनाउँछ । रास्वपाले यो भाष्यमा एकाधिकार जमाएर ‘इको च्याम्बर’ सिर्जना गर्ने अभियानमा महारथ हासिल गर्दै आएको छ । यसको अर्थ उनीहरूका समर्थकहरूले मात्र वाहवाही गरिएका कन्टेन्ट देख्छन्, त्यहाँ आलोचना विरलै देखिन्छ । यसले गलत सूचना फैलाउन सजिलो बनाएर राजनीतिक दोहनलाई बढावा दिन्छ ।
रास्वपाले ‘देश बनाउने’ जस्तो एकल ‘सत्य’ लाई एकाधिकार बनाएर अन्य वैकल्पिक विचारहरूलाई कमजोर पार्ने रणनीति अपनाइरहेको छ । यसखाले प्रदर्शनात्मक राजनीति (पर्फमेटिभ पोलिटिक्स) ले उनीहरूको वास्तविक क्षमता र शक्तिभन्दा बढी महत्त्व प्राप्त गरिरहेको छ । अन्य दलको तुलनामा रास्वपा र बालेन्द्र टिमले सोसल मिडियालाई मुख्य हतियार बनाएको तर्फ स्थापित दल र तिनका नयाँ मुखियामध्येका मुखिया गगन थापाहरू कति सजग छन् भन्ने हेर्न बाँकी छ ।
किन कथाहरू ?
कथाहरूले सधैं राजनीतिक प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेका छन् । पुरानो जमानादेखि हालसम्म वक्ताहरू, त्यसपछि ‘स्पिन–डक्टरहरू’ राजनीतिक निर्णयमा मुख्य प्रभावकर्ता थिए र छन् । वर्तमान संसारका लागि विशिष्ट राजनीतिक, प्राविधिक र सोसल मिडिया कारकहरूको संयोजनले कथाहरूले राजनीतिलाई कसरी आकार दिन्छन् र शक्ति प्रयोग गर्छन् भन्ने समझलाई पहिलेभन्दा बढी सान्दर्भिक बनाएको छ ।
समकालीन राजनीतिक सञ्चारमा कथा तर्कको बढ्दो भूमिका ‘मिडियाटाइजेसन अफ पोलिटिक्स’ को लेन्सबाट सबैभन्दा राम्रोसँग देख्न सकिन्छ । मिडियाटाइजेसन भनेको ‘लामो अवधिको प्रक्रिया हो, जसबाट मिडियाको महत्त्व र राजनीतिक प्रक्रिया, संस्था, संगठन र अभिनेताहरूमाथि तिनका स्पिल–ओभर प्रभाव बढेको छ । मिडियाटाइजेसनका राजनीतिक जानकारीको मुख्य स्रोतका रूपमा मिडियाको सापेक्ष महत्त्व बढ्ने, सामाजिक संस्थाका रूपमा मिडियाको सापेक्ष स्वायत्तता, मिडियाले राजनीतिक तर्कभन्दा आफ्नै तर्क पछ्याउने प्रवृत्ति बनाउने र राजनीतिक नेता र संस्थाहरूले राजनीतिक तर्कभन्दा मिडिया तर्कबाट निर्देशित हुने प्रवृत्ति अँगाल्ने चरणमा समकालीन दुनियाँ स्खलित हुनुमा सामाजिक सञ्जाल पम्परागत प्रक्रियापूर्ण मिडियामाथि हाबी भएका कारणले उत्पन्न भइरहेको छ । मिडियाका धेरै उद्देश्य र कामहरू भए पनि सबैभन्दा आधारभूत भनेको संसारका बारेमा कथा भन्नु नै हो । वास्तवमा, यो यति आवश्यक छ कि अन्य सबै कार्यहरू कथा वर्णनको माध्यमबाट मात्र गर्न सकिन्छ । त्यसैले राजनीतिकर्मीहरूले मिडिया तर्क अपनाउँदा राजनीतिमा कथाहरूको भूमिका बढ्छ । यसतर्फ स्थपित दल र राजनीतिकर्मीहरूले राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा छलाङ मारेकै गतिमा आफूलाई रूपान्तरण गर्न सकेनन् भने राजनीतिक मञ्चबाट ओझेल पर्नु उनीहरूको नियति हुनेछ ।
साहित्यमा मिमेसिस भनिने ग्रीक शब्दको अर्थ अनुकरण वा प्रतिनिधित्व हुन्छ । साहित्यमा लेखकले वास्तविक संसार (जीवन, समाज, प्रकृति, मानिसका भावना र घटना) लाई कथा, उपन्यास, नाटक वा कवितामा जस्ताको तस्तै वा यथार्थ रूपमा देखाउने प्रयास गर्दछ । प्राचीन दार्शनिक प्लेटोले मिमेसिसलाई सत्यबाट टाढा भन्दै यो केवल सत्यको प्रतिलिपि मात्र हुने टिप्पणी गरेका थिए । यसले वास्तविकतालाई सुन्दर, व्यवस्थित र अर्थपूर्ण बनाएर प्रस्तुत गरेर चक्मा दिन्छ । त्यसको अझै पराकाष्ठा एन्टिमिमेटिक हो । यसले त कृत्रिमतालाई यथार्थ जस्तै बनाएर सबै सीमा तोड्छ । यसलाई अहिलेको सन्दर्भमा पोस्टमोडर्न कथा अर्थात् (अ)सामाजिक सञ्जालको खहरे भन्नु उपयुक्त हुन्छ ।
भाष्यको एकाधिकार
‘पुरानाले बिगारे’ भन्ने भाष्यमा मात्र ‘फोकस’ गरेर अन्य दलहरूको योगदानलाई पूर्ण रूपमा इन्कार गर्ने शैली नै कथित वैकल्पिक र नयाँहरूको मुख्य अस्त्र बनेको छ । यसखाले अन्धाधुन्ध सुतीखेतीमार्फत जनताको निराशालाई व्यापारीकरण (कमोडिफाई) गरेर मतमा रूपान्तरण गरिन्छ । कार्ल मार्क्सका शब्दमा राजनीति अब ‘कमोडिटी फेटिसिज्म’ अर्थात् राजनीति नै बजारिया वस्तु बन्दै छ । यसले लोकतन्त्रको सार्वजनिक क्षेत्र (पब्लिक–स्फेयर) विकृत बन्दै छ । समाजशास्त्री हब्बरमासका अनुसार बृहत् बहस (डेलिबरेटिभ–डिस्कोर्स) को सट्टा भावनात्मक प्रदर्शन (इमोसनल–पर्फर्मेन्स) ले प्राथमिकता पाउँदै गएर नेपाली समाज चर्को ध्रुवीकरणतर्फ धकेलिँदै छ । यसले गम्भीर भूराजनीतिक भुमरीमा फसाउने टड्कारो खतरा देखाइरहेको छ ।
लोकप्रियतावादी रणनीतिले सञ्जाललाई शक्तिशाली उपकरण बनाएर त्यसकै दुरुपयोगमार्फत राजनीतिक दोहन गर्दछ । सैद्धान्तिक रूपमा यो विश्वव्यापी पपुलिज्म उल्कापातको नेपाली हिस्सा हो । यसले गर्ने नै करिश्मालाई कम्पिटेन्सभन्दा माथि राख्ने हो । अन्ततः देशको नवोदित संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनु त छँदै छ, राजनीतिक परिदृश्यलाई नै ठोस नीति अभावमा भाइरल भ्रम (इलुजन) को दलदलमा लैजाँदै छ ।
भाष्य भनेको केवल बोलाइ/भाषा मात्र होइन, शक्ति र ज्ञानको संयोजन हो । फ्रान्सिस्को फुकुयामा, माइकल फुको, ज्याक डेरिडाजस्ता बौद्धिकले भाष्यलाई शक्ति–ज्ञान मोडेलमार्फत सुन्दर तरिकाले व्याख्या गरेका छन् । भाष्यले नै वास्तविकतालाई प्रतिनिधित्व गर्छ, मान्य/अमान्यतालाई तोक्छ र ‘सत्य’ तथा ‘अर्थ’ लाई सामाजिक रूपमा निर्माण गर्छ । भाष्यले जनता र वास्तविकताको बीचमा, अर्थ र शक्तिबीचमा सम्बन्ध बनाउँछ । यसरी भाष्यको राजनीति केवल संरचना मात्र नभएर राजनीतिक वास्तविकताको उत्पादन बन्छ । यस दृष्टिकोणबाट हेर्दा स्थापित र सुविचारित विचारधाराका आधारमा राजनीति गर्ने खेलाडीहरूले यसमा पारंगत हुनुको कुनै विकल्प पनि छैन ।
विपरीत ध्रुवमा भाष्यको राजनीति र लोकप्रियतावाद आजको डिजिटल युगको सबैभन्दा शक्तिशाली संयोजन बनेको छ । लोकप्रियतावादले सधैं सरल, भावनात्मक र द्वन्द्वात्मक कथा निर्माण गरेर जनताको गहिरो असन्तुष्टिलाई चित्रण गर्छ । तर यसको खतरनाक पक्ष भनेको बहुलवादको हत्या र तथ्यको अधोगति हो । समाजशास्त्री वाल्टर फिसरका शब्दमा ‘मानिस आफैंमा कथा हो ।’ त्यसैले जसले राम्रो कथा भन्न सक्छ, उसले नै राजनीतिमा जित्छ । तर त्यसरी कहिने कथाले सत्यतर्फ लैजान्छ कि विभाजन र अन्धकारतर्फ ?
अब लोकप्रियतावाद परम्परागत रूपले मानिँदै आएको कुनै वाम/दक्षिण/वा केन्द्रको राजनीतिक सोचभन्दा बढी आम राजनीतिक–रणनीति र शैली बनिरहेको छ । जनतालाई खराब र असलमा विभाजन गरेर सरल कथ्यांकन (भाष्य) बाट प्रत्यक्ष भावनात्मक अपिल गरेर स्थापित राजनीतिक मध्यस्थताको अस्विकारोक्तिको चरममा पुर्याउँछ । नोल मेउरो र युटे सुरेलजस्ता विश्लेषकहरूले जनताले स्विकारेका ‘सादा जनताहरू’ र ‘अत्यधिक शक्ति/विशेषाधिकार प्राप्त समूह’ को विभाजनमार्फत सोहीअनुसारको भाष्यलाई सत्ता प्राप्त गर्ने धारणाको उपकरण बनाउने ठहर गरेको निष्कर्ष यतिबेला हाम्रोमा हुबहु प्रयोग भइरहेको प्रतीत हुँदै छ । यसरी लोकप्रियतावादले भाष्यलाई राजनीतिक निर्णय र असहमतिलाई शक्तिको प्रश्नमा बदलिदिइरहेको मान्न सकिन्छ । बारम्बार लोकप्रियतावादले सांस्कृतिक, भाषिक या जातीय विभाजनलाई राजनीतिक स्वार्थसिद्धिका लागि प्रयोग गर्छ । लोकप्रियतावादले सुनियोजित रूपले भाष्यलाई यस्तो बनाउँछ, जहाँ नीतिगत विरोध र मतभिन्नता देखिँदैन, केवल विरोधी पात्र र समूहबन्दी बन्न पुग्छ ।
