म तपाईंको क्षेत्रको मतदाता हुँ । आफ्नो निर्वाचन क्षेत्रका उम्मेदवारलाई प्रश्न गर्न चाहन्छु । मेरो क्षेत्रका नागरिक प्रश्न गर्न चाहन्छन् । खोइ हामीलाई त्यो मञ्च ?
What you should know
प्रधानमन्त्रीका रूपमा प्रस्तावित उम्मेदवारबीच खुला छलफलको आयोजना हुनुपर्ने आवाज उठिरहँदा केपी शर्मा ओलीले आफू उक्त छलफलका लागि तयार रहेको सार्वजनिक गरे ।
तर, तपाईं बालेन्द्र शाहले ओलीलाई हत्यारा करार गर्दै आफू छलफलमा नबस्ने र बसेमा उक्त हत्यामा आफू पनि संलग्न भएको ठानिने भन्दै सार्वजनिक सुनुवाइमा नबस्ने उद्घोष गर्नुभएछ ।
भावी प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्ताव गर्नुपर्ने र वरिष्ठ नेता मान्नुपर्ने सौदाबाजी नै गरेर तपाईं रास्वपा पार्टी प्रवेश गर्नुभयो । तपाईंले झापा–५ नै यसकारण रोज्नुभयो कि तपाईं केपी ओलीलाई हराउन चाहनुहुन्छ । तपाईं निवर्तमान प्रधानमन्त्रीलाई हराएर निकट भविष्यमा प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा पालिरहनुभएको छ ।
नेपाली कांग्रेसले गगनकुमार थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको छ । अन्य पार्टीका अध्यक्षहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । तिनका पार्टीले बहुमत ल्याए वा प्रधानमन्त्री बन्ने अवसर आए पार्टी अध्यक्ष नै प्रधानमन्त्री हुँदा हुन् ।
यति धेरै उहापोहपछि हुँदै गरेको निर्वाचनमा आफूलाई राष्ट्रको प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका व्यक्तिबीच सार्वजनिक सुनुवाइ हुनु वा त्यसको माग गरिनु कुनै अतिरिक्त अभिलाषा होइन । यो जनस्तरबाट गरिएको एक वैध अपेक्षा हो, जसलाई तपाईंले अस्वीकार गर्नुभयो ।
तपाईंले अस्वीकार मात्रै गर्नुभएन, अर्को पक्षलाई उसैको फेसबुक स्टाटसमुनि गएर आरोप पनि लगाउनुभयो । तपाईंले लगाएको आरोप फगत आरोप होइन, गम्भीर फौजदारी आरोप हो । जोविरुद्ध तपाईं निर्वाचनमा उभिनुभएको छ, उही व्यक्तिविरुद्ध यस्ता गम्भीर आरोप लगाउँदा चुनावको माहोल बन्छ कि बिग्रन्छ ?
तपाईंले प्रधानमन्त्रीका रूपमा प्रस्तावित उम्मेदवारबीचको छलफल त अस्वीकार गर्नुभयो । तर, तपाईंका क्षेत्रका मतदाताले त आफ्ना उम्मेदवारलाई एकै ठाउँमा एकै पटक सुन्न चाहेका होलान् नि ! झापा–५ का बासिन्दा तथा मतदाताले आफ्नो क्षेत्रका उम्मेदवारलाई सार्वजनिक रूपमा एउटै मञ्चमा प्रश्न सोध्न पाउँछन् कि पाउँदैनन् ?
तपाईं काठमाडौं महानगरका मतदाताले पाँच वर्षका लागि जिताएर पठाएको नगर प्रमुख पद बीचैमा छोडेर सौदाबाजीसहित पार्टी प्रवेश गरी उम्मेदवार बन्नुभएको छ । म तपाईंको क्षेत्रको मतदाता, तपाईंलाई मैले प्रश्न गर्ने मञ्च खोइ ? म मेरो निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई प्रश्न गर्न चाहन्छु । मेरो क्षेत्रका बासिन्दा, नागरिक प्रश्न गर्न चाहन्छन् । खोइ हामीलाई त्यो मञ्च ? खोइ हामी नागरिकका आवाजको सुनुवाइ ?
झापा–५ का जनताले बालेन्द्र शाहलाई किन भोट दिने ? मैले तपाईंलाई किन भोट दिने ? यसको उत्तर ‘केपी ओलीविरुद्ध उठेको भएर’ मात्रै त हुँदैन होला !
‘कुनै अमूक पार्टीले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको छ अनि झापा–५ का मतदाताले तपाईंलाई भोट दिनुपर्छ’ यो पनि यसको जवाफ नहोला नै ।
प्रश्न गरेर आएको पुस्ता हो तपाईं । तपाईंलाई प्रश्न सोध्ने पहिलो हक अहिलेलाई झापा–५ ले राख्छ । चुनावपछिको प्रधानमन्त्री हो भने तपाईंलाई प्रश्न सोध्ने अर्को हक तमाम नेपाली मतदाता तथा नागरिकले राख्छन् ।
केपी ओलीलाई ‘...७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ’ भन्ने तपाईंका पार्टी सभापति पनि हजारौं अदना नागरिकले एक–एक पैसा गरी जम्मा गरेको नागरिकको बचत संगठित रूपले गिरोह बनाएर अपचलन गरेको र अनधिकृत रूपमा सम्पत्ति कमाएको आरोपले डामिएका व्यक्ति हुन् । उसो भए तपाईं पनि ‘नागरिकहरूको बचत सहकारीका ठालुहरूले अपचलन गर्न पाउनुपर्छ’ भन्ने मानिस हो ।
तपाईंको पार्टी सभापतिलाई तपाईंहरूकै सरकार (तपाईंले नै प्रस्ताव गरेको असंवैधानिक व्यक्ति सरकार प्रमुख र तपाईंकै सिफारिसमा मन्त्री तथा सल्लाहकार भएका मानिसहरू भएको) ले सिंगो फौजदारी न्याय प्रणालीलाई दाउमा लगाएर गलत थिति बनाउँदै उन्मुक्ति दिने निर्णय गर्यो । यी सबैमा तपाईं कर्ता हो कि मतियार मात्रै ?
आफ्ना नाममा रहेका जमिनका सिमानासमेत नचिनिने गरी सामूहिक खेती गर्न र सामूहिकतामा बाँच्ने अभ्यास गरिरहेको झापा–५ सहकारी कृषि खेतीको अनुपम नमुना हो । यस्तो ठाउँमा उम्मेदवारी दिनुभएका तपाईंले तपाईंका सभापति जोडिएको सहकारी प्रकरणलाई कसरी प्रतिरक्षा गर्नुहुन्छ ?
सहकारीका बचतकर्ताको बचत कसरी फिर्ता हुन्छ ? वर्तमान सरकार प्रमुख र राज्यका महान्यायाधिवक्तालाई दबाब तथा प्रभावमा पारेर गर्न लगाइएको मुद्दा संशोधनको अभ्यासले पार्ने दूरगामी प्रभाव कस्तो रहन्छ ? थाहा छ तपाईंलाई ?
तपाईंले खोला किनारका सुकुम्बासीका टहराहरूमा चुहुँदो झरीमा डोजर चलाएको झापा–५ ले पनि देखेको छ । यो सुकुम्बासी बहुल क्षेत्र हो । तपाईंको सुकुम्बासीप्रतिको दृष्टिकोण के हो ? तपाईंको राजमा सुकुम्बासी मानिसले बस्न र बाँच्न पाउँछ कि पाउँदैन ?
अवसर खोज्दै मानिस देहातबाट बजार पस्छ, गाउँबाट सहर । एउटा जिल्लाबाट अर्को जिल्ला जान्छ । देशको राजधानी पस्छ । जसरी अवसरकै खोजीमा तपाईंका अभिभावक राजधानी आइपुगे, उसरी नै अन्य नागरिक पनि राजधानी आएका हुन् । तपाईंका अभिभावकसँग दह्रो विकल्प थियो, जसले तपाईंहरूको जीवन सहज बनायो । गतिलो विकल्प नहुनेहरूले आश्रय खोज्ने ठाउँ हो सहर, सडक । तपाईंले तिनलाई पनि निर्ममतापूर्वक लखेट्नुभयो । अब अवसर कहाँ खोज्ने ? यो प्रश्न सोध्न मिल्छ कि मिल्दैन ?
तपाईंलाई आदर्शीकरण गरिरहेको पुस्ता छ अहिले । तपाईंको एक फेसबुक स्टाटस ब्रह्म वाक्य र नारा हो तिनका लागि । ‘उमेरले गर्दा म सहभागी हुन मिल्दैन, तिमीहरू जाऊ र आन्दोलन गर, मेरो नैतिक समर्थन छ’ भन्नुभयो । उनीहरू ‘बालेन दाइले पनि भन्यो, अब जानुपर्छ’ भनी प्रदर्शनमा सहभागी भए । उनीहरूले नै मुठभेडको स्थिति ल्याए वा घुसपैठ भयो ? गरियो ? जे नहुनु पर्थ्यो, त्यही भयो । त्यतिका कलिला भाइबहिनीको मृत्यु भयो । आँखा अगाडि गोली लागेर ढलेका विद्यार्थी देखेका मानिसहरू विरोधमा उत्रिए । तर, त्यो विरोध मात्रै रहेन, विध्वंस बन्न पुग्यो । त्यसमा तपाईंकै वरिपरि रहेका कतिपय व्यक्तिहरू सहभागी भएको देखियो । तिनै व्यक्तिको निर्देशन र सहभागितामा राज्यका तीन वटै अंगमाथि विध्वंसको आगो झोसियो । राज्यको चौथो अंगका रूपमा रहेको पत्रकारिता क्षेत्रका ठूला मिडिया हाउसहरूमा नराम्रोसँग आक्रमण गरियो । नेता, कार्यकर्ता, कर्मचारी, व्यापारीका निजी सम्पत्ति जले । उपप्रमुख सुनिता डंगोलको निवास जल्दा तपाईंको निवास केही भएन, गरिएन । सडकले तपाईंलाई खोज्यो । तपाईं कतै देखिनु भएन ।
तपाईंले नै ‘संसद् विघटन’ भन्नुभयो । असंवैधानिक व्यक्तिलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्नुभयो । ‘सेनासँग वार्ता गर’ भन्नुभयो । जलिरहेको सर्वोच्च अदालतको आगो निभाउन ललितपुर महानगरको दमकल आयो । जलिरहेको सर्वोच्च, सिंहदरबारको आगो निभाउन तपाईं प्रमुख भएको महानगरका कुनै दमकल आएनन् ।
तपाईंले कुनै दिन भन्नुभएको थियो कि– ‘तेरो सिंहदरबार जलाइदिन्छु’ । त्यो भीडले सिंहदरबार पनि जलायो । र, तपाईं अहिले त्यही सिंहदरबारभित्रको सबैभन्दा ठूलो कुर्सीमा विराजमान हुने सपना देखिरहनुभएको छ । के तपाईंलाई यी सबै कृत्यहरूको कारणी भएको आरोप लगाउन मिल्छ ? के यी सबैको जरिया तपाईं नै हो भनेर सोध्न मिल्छ ? यी सबै क्षतिको कहीँ न कहीँ तपाईं पनि हिस्सेदार हो भन्न मिल्छ ?
अघिल्लो आमनिर्वाचनमा तपाईंले प्रदेशतर्फ कुनै भोट हाल्नु भएन । अनि तपाईं संघीयताको प्रवर्द्धन गर्नुहुन्छ भनेर कसरी पत्याउने ? अस्ति जनकपुरमा भाषण गर्दा ‘अधिकार लिन काठमाडौं जाने होइन, अधिकार तपाईंसँगै छ, काठमाडौं त घुम्न जाने’ भन्नुभयो । संघीयताले स्थानीय निकाय तथा प्रदेशलाई कुनै न कुनै रूपमा काठमाडौंसँग जोड्छ नै । जति अधिकार सम्पन्न भए पनि काठमाडौंसँग सम्बन्धविच्छेद हुँदैन नै । काठमाडौं घुम्न मात्रै जाने गरी तपाईं कस्तो प्रदेश तथा स्थानीय तहको परिकल्पना गर्दै हुनुहुन्छ ?
तपाईं झापा–५ का लागि पर्यटक हो, जसले झापा चिनेको छैन, झापाका नागरिक चिन्दैन, झापाका समस्या चिन्दैन । जमिनले के चाहिरहेको छ ? यहाँका मतदाताहरूको अपेक्षा के छ ? तपाईं कसरी यी मतदाताको अपेक्षा सम्बोधन गर्न सक्नुहुन्छ ? प्रधानमन्त्री हुने रहर गरेर झापा ओर्लिनेबित्तिकै अपरिचित मान्छेलाई आफ्नो मत दिन यहाँका मतदाता कसरी तयार हुन्छन् ? पर्यटकलाई ‘आफ्नो’ कसरी मान्ने ?
राज्यको पैसा खर्च गरेर दरबारमार्गका सडकपेटीमा ग्रेनाइट लगाएजस्तो विकासको मोडेल झापामा नबिक्न पनि सक्छ भन्ने हेक्का तपाईंलाई छ कि छैन ?
सडकमा जीवनयापनको उपाय खोजिरहेको निमुखो नागरिक लखेटिएको छ तपाईंको सहरबाट । नदीको किनारमा फोहोर र बाढीको त्रासका बाबजुद बाँचिरहेको नागरिक तर्सिएको छ तपाईंसँग । त्यस्तै नागरिक मेरो क्षेत्रमा पनि छन् । त्यो नागरिकले तपाईंलाई कसरी पत्याउँछ र भोट हाल्छ ? ती नागरिकको विश्वास तपाईं कसरी जित्नुहुन्छ ? भोट माग्ने होइन, आर्जन गर्ने हो । तपाईं ती भुइँमान्छेहरूसँग कसरी भोट माग्नुहुन्छ ? कसरी आश्वस्त बनाउनुहुन्छ ?
मैले तपाईंलाई किन र केका लागि भोट दिने ?
के तपाईं मेरो भोट आर्जन गर्न सक्नुहुन्छ ???
(विमली अधिवक्ता हुन्)
