नेपालको चुनावमा झूटो वाचा र अभिनय मात्रै छैन, प्रतिस्पर्धीको छवि धुलिसात बनाउने प्रतिस्पर्धा पनि सामेल छ । र, त्यही शैली चुनावको विशिष्ट अस्त्र बनेको छ ।
What you should know
काठमाडौँ — दशमा चुनावी माहोल छ । राजनीतिशास्त्रीहरू चुनावलाई उत्सव भन्छन् । उत्सव अर्थात् खुसी, उमंग र सामूहिक आनन्द व्यक्त हुने विशेष अवसर । यसमा मानिसहरू दैनिक जीवनको दौडधुप र थकानबाट बाहिर निस्किएर नाच–गान, मेला महोत्सव, कला–संस्कृति र आपसी मेलमिलापमार्फत रमाउँछन् । तर, हाम्रो चुनावी माहोल हेर्दा यस्तो उत्सवको छवि जति कल्पनामा छ, त्यति वास्तविकतामा छैन ।
यहाँ उत्सवभन्दा बढी राजनीतिक नाटक र अभिनय मञ्चन गरिन्छ । नेपालको चुनावी प्रतिस्पर्धामा केवल झूटो वाचा र अभिनय छैन, प्रतिस्पर्धीको छवि धुलिसात बनाउने प्रतिस्पर्धा पनि सामेल छ । र, त्यही शैली चुनावको विशिष्ट अस्त्र बनेको छ ।
प्रचार, मिडिया फुटेज, सामाजिक सञ्जाल पोस्ट र जनमत मोड्ने विभिन्न रणनीति समावेश गरेर हाम्रो देशलाई उज्यालो बनाउँछु भन्ने नेताहरूले आफ्ना प्रतिस्पर्धीलाई कमजोर देखाउन तिनको असफलता उजागर गर्ने र जनताको विश्वासमा शंका जगाउने कार्य धैर्यपूर्वक गरिरहेका छन् । यसरी, चुनावी मैदान केवल योजना कार्यान्वयन र विकासको विषय होइन, प्रतिस्पर्धीलाई ध्वस्त पार्ने रणनीति र छवि–युद्धको रंगमञ्च पनि बन्न गएको छ ।
उनीहरूले देखाएको यस्तो व्यवहारमाथि प्रश्न उठाउनेहरूको मुख थुन्न ‘चुनाव प्रतिस्पर्धा हो, लडाइँ हो’ भन्ने कुतर्क सधैं अघि सारिँदै आएको छ । ‘एभ्रिथिङ इज फेयर इन लभ एन्ड वार’ भन्ने भनाइलाई उनीहरू ढालझैं प्रयोग गरिरहेका छन् । तर, राजनीति न प्रेम हो, न युद्ध नै । राजनीति त देश र जनताप्रतिको गम्भीर जिम्मेवारी हो । यहाँ जित–हारभन्दा ठूलो विषय नैतिकता हो, चालभन्दा ठूलो विषय दायित्व हो । जहाँ जिम्मेवारी हुन्छ, त्यहाँ लाञ्छना, अभिनय र भ्रमको कुनै स्थान हुँदैन ।
‘प्रतिस्पर्धा चुनावको अपरिहार्य सर्त हो’ भन्दा ‘यो समाजलाई अझ गतिशील बनाउन प्रयोग गरिने सरल र पारदर्शी माध्यम हो’ भनेर बुझ्नुपर्ने हो देशको बागडोर सम्हाल्न तत्पर मस्तिष्कहरूले । उनीहरूले बुझ्नुपर्ने हो— प्रतिस्पर्धा चाहे व्यक्ति होस् वा समाज— दुवैलाई अगाडि बढाउने ऊर्जा हो, एक प्रकारको इन्जिन हो । चुनावी मैदानमा उत्रिएका प्रत्याशीहरू त्यो इन्जिन चलाउने इन्जिनियर हुनुपर्ने हो । चुनावी उत्सवमा ‘अब देशले मुहार फेर्छ’ भन्ने उत्साह हुनुपर्ने हो । र, जनताको मुहारमा आशाको किरण सल्बलाउनुपर्ने हो । तर, जब–जब म
यो माहोल नियाल्छु, देख्छु— चुनावी प्रत्याशीहरूको बुझिनसक्नु भाषा र भाव–भंगिमाभित्र निराशामा जेलिएका जनताका मलिन अनुहार । उनीहरू चरम अन्योलको अवस्थाबाट गुज्रिरहेका छन् । र, तिनको उदेकलाग्दो गतिविधि देखेर छुटेका रोदन–मिश्रित खित्का नै आजको चुनावी माहोलको वास्तविक स्वर बनेको छ ।
भनाइ छ— राजनीति फोहोरी खेल हो । तर, अहिले हाम्रो देशको चुनावी परिदृश्यले देखाउँछ— यो भनाइ फेरिएर नेपालमा ‘राजनीति एउटा रमाइलो खेल’ बनेको छ । विकासको गति शंखेकिराझैं सुस्त छ । नेताहरू स्वयं सत्ता नामक रूखमा च्याप्प टाँसिएका शंखेकिराझैं भए । देशका साधन–स्रोतमा प्वाल
परिरह्यो, तर परिणाम देखिने गरी कुनै परिवर्तन आएन । यही असन्तुष्टिको विस्फोटले फागुन–२१ को चुनाव निम्त्याएको हो । तर, प्रश्न अझै बाँकी छ— ती शंखेकिरा झार्ने नुन कहाँ छ ? कि अझै धेरै शंखेकिरा थपिँदै भविष्यका पुस्तालाई केवल देश नामक ठुटो हस्तान्तरण गर्ने तयारी हुँदै छ ?
एन मक्लिनटकले आफ्नो निबन्ध ‘प्रोपगान्डा टेक्निक्स इन टुडेज एड्भरटाइजिङ’ मा भनेअनुसार, राजनीतिज्ञहरूले विभिन्न प्रचार–प्रविधि प्रयोग गरेर जनताको सोचलाई प्रभावित गर्छन् । कहिलेकाहीं यो ब्रेनवास जस्तो पनि हुन्छ र ती जनमत आफ्नो पक्षमा मोड्ने उद्देश्य पूरा गर्छन् । सायद अहिले त्यस सूचीमा अर्को प्रविधि थपिएको छ— अभिनय कला प्रदर्शन । यस कलामा केही नेताहरू चुनाव क्षेत्रमा जान्छन्, उखु बोक्छन्, ट्र्याक्टर चलाउँछन्, साइकल चढ्छन्, जेरी पकाउँछन् र ती सबै दृश्यलाई भिडियो बनाएर सामाजिक सञ्जालमा प्रसारण गर्छन् । पहिरन, केश–विन्यास र बोलीसमेत अब प्रचारको हतियार बनेको छ । नेताहरू आन्दोलनामा घाइते युवाको रगत लत्पतिएको जुत्ताको छाप भएको सारीमा देखा पर्छन्, कहिले भारतीय महिला नेताको जस्तो केश–विन्यास गर्छन् र सारीमा सजिन्छन् । कहिले टाउकोमा गम्छा बाँधेर आफू त्यही समुदायको हुँ भन्ने भ्रम छर्छन् ।
यिनका अभिनयको दर्शक भइरहँदा मेरो मनमा प्रश्नहरूले निरन्तर घोचिरहन्छन्— यदि कुनै विशेष भाषाको नक्कल गर्दा त्यो भाषा बोल्ने समुदायको अपमान हुन्छ भने केवल चुनाव जित्ने उद्देश्यले कुनै धर्म, जात वा समुदायको जस्तो पहिरन लगाउनु सम्मान हो कि अपमान ? यस्तो व्यवहार कुनै स्ट्यान्ड–अप कमेडियनको तल्लो स्तरको हास्य सिर्जना गर्ने प्रयासभन्दा फरक देखिँदैन ।
राजनीति जिम्मेवारीको क्षेत्र हो, कि अभिनयको रंगमञ्च ? चुनावी मैदानमा उत्रिएका प्रत्याशीको व्यवहार, पहिरन र क्रियाकलाप नियाल्दा देखिन्छ—उनीहरूले जनतालाई केवल भ्रममा राख्ने, अभिनयमार्फत मात्रै जित सुनिश्चित गर्ने अभ्यास गरिरहेका छन् । यसले उनीहरूको वास्तविक क्षमता वा जनताको समस्याप्रति गम्भीरता देखाउँदैन । विदेशी नेताको नक्कल गर्दै आफ्नो छवि सुदृढ पार्ने अभ्यास पनि अब सामान्य दृश्य बनेको छ । यसरी, नेताहरूको चुनावी अभियान केवल प्रदर्शन र सामाजिक सञ्जाल पोस्टसम्म सीमित हुने गरेको छ । जबकि जनताको वास्तविक समस्या भने नसुल्झिएरै रहन्छ ।
हामीले बुझ्नुपर्छ— नेतृत्वको अर्थ केवल अभिनय र प्रचारमा सीमित छैन । नेतामा योजना बनाउने, स्रोत जुटाउने र कार्यान्वयन गर्न सक्ने क्षमता हुनु जरुरी छ । जनताको विश्वास वाचा र दृश्यबाट मात्रै बनेको हुँदैन, बरु वास्तविक काम र परिणामले बनाउँछ । यस्तो नेता, जसको स्मरणशक्ति बलियो छ, मनोबल दृढ छ अनि जनताको सेवा गर्नु आफ्नो धर्म र कर्तव्य ठान्छ, ऊ नै देश विकासमा स्थायी योगदान पुर्याउन सक्षम हुन्छ ।
हामीलाई चाहिएको छ, सपना होइन–यथार्थमा आधारित योजना, राजनीतिक शोभा होइन–परिणाममुखी कार्य, नक्कली अभिनय होइन–जनताको सेवा गर्ने प्रतिबद्धता † यही आधारमा हामी देशको भविष्य निर्माण गर्न सक्छौं । यस नाटकको माहोलमा म यथार्थमा टेकिएको, यथार्थकै भूमिमा यथार्थकै बाली फलाउने नेताको खोजीमा छु । तपाईंहरू पनि सायद यस्तै चाहना बोकेर यो चुनावी उत्सवमा सहभागी हुन खोज्दै हुनुहुन्छ पक्कै ।
‘देश चलाउँछु, आफू निर्वाचित भएको क्षेत्रका समस्या समाधान गर्छु’ भन्नुपर्ने समयमा हाम्रा नेताहरू के गरिरहेका छन् ? यही प्रश्नले हरेक सचेत नागरिकलाई निसासिने बनाएको छ । अब समय आएको छ– नागरिकले मात्र होइन, कार्यकर्ताले पनि आफ्ना नेतासँग पहिलो प्रश्न सोध्ने— हाम्रो निर्वाचन क्षेत्रमा समस्या के–के छन् ? त्यसको समाधान के हो ? स्रोत कहाँबाट आउँछ ? स्रोतबिनाका सपना कसैलाई चाहिँदैन । हामी सपनाको महलमा होइन, यथार्थको खुला आँगनमा जीवन जिउन चाहन्छौं । हामी विकासको सास फेर्न चाहन्छौं ।
अब हामीलाई न कुनै जादुगर चाहिएको छ, न कुनै मसीहा । हामीलाई चाहिएको छ—यथार्थमा टेकेर बनाइएका योजना, ती योजना पूरा गर्न सकिने स्रोत र दृढ मनोबल भएको यस्तो नेता, जसले आफ्ना वाचा बिर्संदैन । उसले सधैं सम्झिरहोस्— ऊ जनताको शासक होइन, सेवक हो । र, जनताको सेवा गर्नु उसको उपकार होइन, कर्तव्य हो ।
अन्ततः चुनावी माहोलले हामीलाई केवल मनोरञ्जन दिने होइन– सोच्न, प्रश्न गर्न र जिम्मेवारीसाथ मतदान गर्न प्रेरित गर्नुपर्छ । देश निर्माण नेताको मात्रै काम होइन, यो जनताको सक्रिय भागीदारी र सचेत चेतनामा निर्भर छ । हामी सबैले यही सोच बोकेर चुनावी प्रक्रिया र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने अवसर लिनुपर्छ । हामीले अब नाटक होइन, यथार्थ देखाउने, योजना कार्यान्वयन गर्ने र जनताको सेवा गर्ने नेतालाई मात्रै चुनावमा अवसर दिनुपर्छ । त्यसपछि मात्रै हाम्रो देशले यथार्थमै उज्यालो भविष्यतर्फ कदम चाल्न सक्छ ।
