शासकले जनताको खुट्टा बेचेर जुत्ता किन्नु गर्वको कुरा हो ? यो देश समृद्ध भएको मानक हो ? हरेक घरमा जुत्ता छन् तर ती जुत्ताभित्र खुट्टा छैनन् । ती धेरैजसो रित्तै छन्, खाली छन् ।
What you should know
संसारको सबैभन्दा छिटो पाइला चाल्न सक्ने जन्तु कमिला प्रजाति हो। यसले एक सेकेन्डमा ५० पाइला चाल्छ। र, एक पाइलामा सबैभन्दा टाढा पुग्न सक्ने जन्तु चितुवा हो। यसले एकै पटकमा झन्डै ३० फिटको दूरी पार गर्छ। मान्छे यी दुवै प्रजातिको छेउछाउमै आउँदैन। तर पनि मान्छे चराभन्दा पनि टाढा–टाढा र माथि–माथि पुग्छ। चरा जति टाढा पुगे पनि, जति माथि उडे पनि, गुँडमा फर्कन्छ, माटोमा फर्कन्छ, घर फर्कन्छ। किनकि यी सबैका गन्तव्य हुन्छन्।
तर मान्छे उडेपछि ? तपाईंको खुट्टा आजसम्म कहाँ–कहाँ पुग्यो ? आजसम्म कति दूरी पार गर्यो ? तपाईंले जीवनमा पहिलो पटक वामे सर्दा उठाएको खुट्टाको याद छ ? तपाईंले खुट्टा उठाउँदा तपाईंको हात कसले समाएको थियो ? तपाईंलाई थाहा छ त्यो उठाएको खुट्टामुनिको जमिन कस्तो थियो ? तपाईंलाई थाहा छ तपाईं पहिलो चोटि उठ्दा तपाईंलाई समाउने हात कस्तो थियो ? कसको थियो ? कत्रो थियो ? त्यो चिसो थियो वा न्यानो ? तपाईंले आफैँले आफ्नै खुट्टामा टेकेर पहिलो चोटि हेरेको टाढा कति टाढा थियो ? पहिलो चोटि आफ्नो खुट्टाले घरअगाडि आँगन डिलमा उभिएर हेर्दा कति टाढासम्म देख्नुभयो ? पहिलो दिन कति पाइला हिँड्नुभयो ? तपाईंले पहिलो चोटि आफ्नो खुट्टा उठाउँदा तपाईंका आमा र बाबाको हर्षका आँसु याद छन् ? खुसीले हाँस्दा गाला सोरिएर जवान बा–आमाको तनक्क तन्किएको त्यो अनुहार याद छ ? त्यो समाउने हात अहिले कहाँ छ ? याद छ ? अहिले तपाईंले आफ्नै खुट्टामा उभिएर टाढाबाट ती बा–आमालाई हेर्दा, बा–आमाका झरिरहेका आँसु र पहिलाका आँसुमा के फरक छ ? ती बा–आमाको खुसीले हाँस्दा तनक्क तन्किएर चाउरिएको त्यो अनुहार र अहिले बुढो भएर दुःखले चाउरिएको यो अनुहारमा के फरक छ ?
लाखौँ वर्ष पहिले मान्छे चारवटा खुट्टाले हिँड्थ्यो। जब मान्छेको चार खुट्टाबाट दुई खुट्टा हराएर दुईमा आयो, अनि मान्छेका दुःखका दिन सुरु भए। ती हातहरू आफ्ना लागि मात्र होइन, सिंगो अस्तित्वका लागि झन् अभिशाप बने। किनकि दुईवटा हातहरू अचानक खाली भए, जुन पहिले थिएनन्। खाली हुनु भनेको भर्ने अवसर हो तर भरिएपछि रित्तिनु नासिनु हो। खाली हुनु र नासिनु फरक कुरा हुन्। मान्छे त्यो खाली हात भर्ने दौडमा यति धेरै रित्तियो कि ऊसँग अब केही बाँकी छैन। ऊ खाली, नाङ्गो, कर्कश, कुरूप अनि क्रूर बन्दै गयो। अवसर, सन्तुष्टि र दुःख खोज्दै चारवटा खुट्टाले भन्दा दुईवटा खुट्टाले मान्छेले धेरै यात्रा गर्न थाल्यो, भागदौड गर्न थाल्यो, उफ्रिन थाल्यो, हावामा उड्न थाल्यो। अनि मान्छेको खुट्टा माटोबाट हराउँदै गयो। अनि मान्छे देशबाट हराउँदै गयो, चेतना समाजबाट हराउँदै गयो।
सम्पन्न देशमा पुगेपछि मान्छेको जवानी हराउँछ, जीवन हराउँछ, परिवार हराउँछ, संस्कृति हराउँछ, सभ्यता हराउँछ, सम्बन्ध हराउँछ, खुट्टाबाट विस्तारै माटो हराउँछ, सपना हराउँछ, देश हराउँछ, शरीरबाट आत्मा हराउँछ, र अलिकति आफ्नो र देशको ऋण पनि हराउँछ। तर गरिब देशबाट मान्छेका खुट्टाहरू हराउँछन्।
हरेक नेपालीहरू हराएका हारलाई हराउन र नहराएको जीतलाई जित्न माटोबाट विदा हुन्छन्। अनि कोही समयमा हराउँछन्, कोही भूगोलमा हराउँछन्, कोही चेतनामा हराउँछन्, कोही अवचेतनामा। केही नभेटिने गरी देशभित्रै हराएका छन्। केही नोटमा, केही सत्ताको कोटमा, केही नेताको कर्कश भाषणमा, केही आफ्नै खुट्टाहरू खोज्दै जाँदा आफैँ शरीरैसहित बेपत्ता भएका छन्।
देशले जनताको खुट्टा बेचेर जुत्ता किन्नु गर्वको कुरा हो ? यो देश समृद्ध भएको मानक हो ? हरेक घरमा जुत्ता छन्, तर ती जुत्ताभित्र खुट्टा छैनन्।ती हराएका खुट्टाहरू यसरी हराएका छन्, जसरी खडेरीमा अचानक ठूलो पानी पर्छ र ह्वार्र बगेर टाढा पुग्छ। विस्तारै परेको पानीले जमिन भिजाउँछ र तल पर्खेर बस्छ, तर ह्वार्र परेको ठूलो पानी एकैछिनमा बगेर जान्छ, तल जमिनभित्र बस्दैन। त्यसलाई आफ्नो पैतालामुनिको जमिन थाहा हुँदैन। आफू मुनि सधैँ सुख्खा नै हुन्छ। हाम्रो यो देशको सुख्खा चेतनाले मोलिला खुट्टाहरू माटोमा बर्सिएर हराउन बाध्य बनाएका छन्। अब तिनीहरू त्यस माटोमा फेरि भेटिने छैनन्, किनकि ती पानी नदीमा मिसिइसके, बगिसके, नदी बनिसके—आफ्नो नभेटिने अस्तित्व खोज्दै।
भनिन्छ, सम्बन्ध टक्टक्याएर पखाल्न सकिन्छ, तर त्यस सम्बन्धको स्पर्श र स्मरण कहिल्यै पखाल्न सकिँदैन। त्यो तपाईंको अन्तस्करणमा लुकेर कुरिकुरी गरिरहन्छ, बाँचुञ्जेल। तर यी खुट्टाहरूले त स्मरण र स्पर्श पनि पखाल्दै छन्। कोही डाँडामा गएर तातो घाममा टक्टक्याउँदै छन्, कोही खोलामा चिसो पानीले पखाल्दै छन्।
राजधानीमा एकजना नेताले ठूलो कर्कश स्वरमा—पर डाँडामा आमाको एकजोडी बूढो जुत्ता चिच्याएर रोइरहेको आवाज ढाकिने गरी, गैरी खेतको हिलोमा भासिएर चिच्याएर रोइरहेको बाबाको एकजोडी बूढो जुत्ताको आवाज ढाकिने गरी, अनि भर्खरै व्याएको गाईको बाछोले आमा खोज्दै चिच्याइरहेको आवाज ढाकिने गरी—पाँचौँ तलामा बसेर बिना तर्क र पोइन्टको पावर लगाएर चिच्याइ–चिच्याइ ‘पावर पोइन्ट प्रेजेन्टेसन’ दिँदै छन्, देश कति सम्पन्न बनायौँ भनेर। कोसौँ टाढा एक लाख ऋण तिर्न करोड खर्च गरी अरबको तातो बालुवामा भासिएको खुट्टाले सुनिरहेको (मुस्लिमहरूको प्रार्थना) को आवाज पनि ढाकिने गरी चिच्याएर भन्दैछन्, ‘नेपाल र नेपाली धेरै सम्पन्न भइसके, गाउँ सहर भइसक्यो, नत्र हेर्नुस् त—कसैको खुट्टा खाली छ ? कोही खाली खुट्टा हिँडेको छ ? सबैको खुट्टामा जुत्ता छ, पछाडि टन्न सामान बोकेको झोला छ।’ उहाँले चारैतिर हेरेर अझ ठूलो स्वरमा फेरि झन् धेरै वान्ता गर्नुभयो, ‘हेर्नुस्, आज सबै बच्चाहरू विद्यालय जाँदा झोला बोकेर जान्छन्, यस्तो पहिले थियो ?’
तर पावर लगाएर चिच्याइ–चिच्याइ कराएको उहाँको ‘पावर पोइन्ट प्रेजेन्टेसन’मा न त पोइन्ट छ, न त प्रेजेन्ट छ, न त नेपालीको फ्युचर नै। अत्यन्तै पट्यार लाग्दो कर्कश स्वर मात्र छ, अनि उराठ लाग्दो अरबको मरुभूमि जस्तो प्रश्नै–प्रश्न छ। के उहाँले देखेका ती जुत्ताभित्र खुट्टाहरू छन् ? देशले जनताको खुट्टा बेचेर जुत्ता किन्नु गर्वको कुरा हो ? यो देश समृद्ध भएको मानक हो ? हरेक घरमा जुत्ता छन्, तर ती जुत्ताभित्र खुट्टा छैनन्। ती धेरैजसो रित्ता छन्, खाली छन्।
गाउँमा खेत छन्, खाली छन् । घर छन्, खाली छन् । गोठ छन् तर खाली छन् । बाआमाका आँखा छन्, सपना खाली छन् । ओठ छन् तर आवाज खाली छन् । सास छन् तर आशा खाली छन् । काख छन् तर खाली छन् । कोख छन् तर खाली छन् । अनि त्यो सहरको सम्पन्न भएको हरेक नेपालीले बोकेको ठूलो झोलाभित्र समृद्धि, सम्पत्ति अनि पैसा होइन—कर्जा छ । अलिकति आफ्नै कर्जा, अनि अलिकति राष्ट्रको कर्जा । दुवै कर्जाले त्यो झोला ठूलो अनि गह्रौँ छ । अनि उसको त्यो उड्ने खुट्टा तलतल धसिँदै गएको छ । हरेक विद्यार्थीले बोकेको ठूलो, सुकिलो झोलाभित्र किताब छैन, पासपोर्ट छ ।
कोरोनाको महामारीपछि विश्व भर्चुअल र डिजिटल युगमा अझ आक्रामक रूपमा अघि बढ्यो । अनि केही समयका लागि भए पनि यसले उग्र राष्ट्रवाद, पुरातनवादी सोच, भ्रष्टाचार र अराजकतालाई छोपिदियो । तर सीमान्तकृत र निम्न वर्गीय झन् तल झरे अनि पुँजीपति झन् माथि । त्यसपछिको युग झन् भ्रामक, आक्रामक सामाजिक सञ्जाल र (मिस)इन्फर्मेशनको भर्चुअल युगमा रूपान्तरण भयो । कोरोना अगाडि र पछाडिको युगमा त्यत्तिकै फरक छ, जति सानो कुवाबाट पानी खानु र ठूलो झरनाबाट पानी खानुमा हुन्छ । जसरी हामी अञ्जुलीबाट कुवाको पानी खान्छौँ—कुवाबाट थोरै पानी निकाल्दा पनि हाम्रो अञ्जुलीबाट धेरै पानी पेटभित्र पुग्छ । अहिलेको ज्ञान भने माथिबाट झरेको ठूलो झरनाबाट अञ्जुलीले पानी खाएजस्तो छ । पानीको प्रवाह यति धेरै छ कि अञ्जुलीमा पानी अडिँदैन, मुखमा पुग्नुअघि नै त्यही झरनामा बगेर जान्छ । शरीर पूरै भिज्छ तर घाँटी भिज्दैन । अहिलेको चेतना झरनामा अञ्जुलीबाट पानी पिएजस्तो छ । बाहिरबाट मानिस ज्ञानले निथ्रुक्क भिजेको जस्तो देखिन्छ तर भित्र चेतनाको आन्द्रा सुक्दै गएको स्पष्ट देखिन्छ ।
यसबीचमा जङ्गली जनावरहरू, चराचुरुङ्गीहरू, प्रकृति र बोटबिरुवा घर फर्किए । ओजोन तहहरू घर फर्किए । नदी–नालाहरू घर फर्किए । खुट्टाविनाको जुत्ता सुनसान सहरमा हिँडे र प्रकृतिले पनि सास फेर्दै घर फर्कियो । पहिलोपल्ट हामीले त्यसलाई सुन्न सक्यौँ । त्यतिबेला हाम्रो कान पनि घर फर्किएको थियो । तर सबै घर फर्किँदा पनि अझै फर्किएनन्—जुत्ताबाट विच्छोडिएका खुट्टाहरू । माटोबाट हराएका खुट्टाहरू । जनयुद्धमा घर छोडेका खुट्टाहरू । सिटामोल किन्न गएका खुट्टाहरू । एयरपोर्टबाट उडेका खुट्टाहरू । अनि ती नफर्किएका खुट्टाहरू फर्किने आशमा कुर्दाकुर्दै भकारी भर्ने गैरी खेतहरू बगर भए । लैनो गाईहरू बहर भए । मेरो देश यसरी नै सहर भयो—कर्कश सहर ।
अहिले समाजमा सामाजिक–राजनीतिक कर्कशता यति भयानक छ कि चिच्याउँदा पनि कसैले सुन्दैन । पपुलिज्मको कर्कशता, भ्रष्टाचारको कर्कशता, भाषणको कर्कशता, दण्डहीनताको कर्कशता, अराजकताको कर्कशता, असंवेदनशीलताको कर्कशता, असहिष्णुताको कर्कशता, वेवत्वकरणको कर्कशता, दानवीकरणको कर्कशता । चेतना र इमान्दारिताविनाको स्वतन्त्रता, समवेदना विनाको राजनीति, संस्कृति विनाको अराजक विकास र विध्वंस मात्र । अहिलेको सामाजिक सञ्जाल अनि राजनीतिज्ञका वक्तव्य यति असंवेदनशील, यति सस्ता र अराजक छन् कि बरु सडक पेटीको छेउमा सामान बेच्न बसेकाहरूले चिच्याइ–चिच्याइ, उफ्रिँदै, खुट्टा उचाल्दै प्रचार गर्ने शैली नै सभ्य देखिन्छ । यस्तो लाग्छ—चारवटा खुट्टाबाट दुईवटा खुट्टा हुँदै अहिले मानिस खुट्टाविहीन हुँदैछन् ।
हुन त भनिन्छ, आफ्नो पैतालामुनि के छ भनेर थाहा पाउन खुट्टा उचाल्नै पर्छ । नत्र मानिस द्रष्टा, साक्षी र दृश्य स्वयं हुन सक्दैन । आफ्नो पैतालामुनि के छ, उसले देख्न सक्दैन । तर माटोबाट खुट्टा उचाल्न जति सजिलो छ, बिसाउन उति गाह्रो । जसरी हतियार बिसाएर पनि युद्ध बिसाउन गाह्रो हुन्छ । विरासत बिसाए पनि अहंकार बिसाउन गाह्रो हुन्छ । पटक–पटक समाज परिवर्तन गर्न भनेर उचालिएका धेरै खुट्टाहरू देशकै माटोमा विलाए । उनीहरूलाई जुत्ता बेच्नेहरूले सत्ता चलाए, उद्योग चलाए, भ्रष्टाचार चलाए, अराजकता र कर्कशता चलाए । तर देशको भविष्य परिवर्तन गर्न उठेका ती खुट्टाहरू केही देशी अनि केही विदेशी माटोमा विलाए । देश र जनताको खुट्टा परिवर्तन गर्छु भन्ने जुत्ता बेच्ने ठेकेदारहरू भने भाषण र भ्रष्टाचारमै विलाए । हराएका र विलाएका यी खुट्टाहरू खोज्न हिँडेको एउटा जेन–जीको जुत्ताबाट फेरि उसकै खुट्टा हरायो । देशको राजधानीमा एउटा जुत्ताले आफ्ना खुट्टा फर्कने आशमा धेरै दिन दोबाटोमा बसेर कुरिरह्यो, तर त्यो खुट्टा कहिल्यै घर फर्किएन । यसरी हराउने र बटुल्ने यात्रामा भेटिनेभन्दा हराउने खुट्टाहरू बढ्दै गए ।
एक दिन यी सबै हराएका खुट्टा एकैसाथ बज्रने छन् र यति कर्कश सुनिने छन् कि त्यसबेला कोरोनामा घर फर्किएको कानले पनि सुन्ने छैन । उसले पनि बोल्ने छ । यस ब्रह्माण्डमा आएका हरेक चीजले आफ्नो अस्तित्व र न्यायको प्रश्न गर्छ—ढिलो या चाँडो—र त्यस प्रश्नको घेराबाट कसैले उम्कन सक्ने छैन ।
आज हरेक घरबाट झिनो आश लिएर खुट्टा खोज्न जुत्ताहरू घर छोडेर निस्किन्छन् । एउटी आमा मध्यदिनको उराठलाग्दो घाममा चिसा भइसकेका चारवटा खुट्टा लिएर आँगनको डिलमा गएर डाँको छोडेर चिच्याउँछिन् । एउटा बूढा बा चार खुट्टा टेक्दै तल खोलाको डिलमा गएर भतभती पोलेको आफ्नो खुट्टा चिसो पानीमा डुबाएर डाँको छोडेर चिच्याउँछन् । न बाबाको आवाज माथि डाँडामा बसेकी आमाले सुन्छिन्, न आमाको आवाज बाबाले । न यी दुवैले चिच्याएको आवाज बालुवामा पग्लिँदै गएको आफ्नो सन्तानका खुट्टाले सुन्छन् । चारखुट्टे लैनो गाईको भरखर व्याएको बाच्छी गोठमा ड्वाँ–ड्वाँ कराउँछ, तर लैनो गाईको थुनबाट दूध आउँदैन—उसको कोख त कुर्दाकुर्दै उहिल्यै रित्तिसकेको छ । भोकले कराइरहेको त्यो बाच्छोको आवाज देशले सुन्दैन । देश त पहिल्यै सहर भइसकेको छ । अब यो कर्कश समृद्ध सहरमा कसैले कसैको आवाज सुन्न सक्दैन ।
समाजको कर्कशता यति धेरै छ कि सत्ता–लिप्साको कर्कशता, पपुलिज्मको कर्कशता, भ्रष्टाचारको कर्कशता, दण्डहीनताको कर्कशता, शून्य चेतनाको कर्कशतामा सभ्यताको आवाज, न्यायको आवाज, मानवीय संस्कृतिको आवाज, शालीनताको आवाज, विज्ञता र बौद्धिकताको आवाज विलीन भइसकेका छन् । अब चिच्याउनलाई स्वर बाँकी छैन । र त्यो चिच्याहट चिरेर जो–सुकैले आफूलाई सुनाउन नसक्ने स्थिति छ । अब साना स्वर सुनिँदैनन्, साना मानिस देखिँदैनन् । किनकि मानिस अब आफूलाई सुनाउन आफैँभन्दा पनि लामो जिब्रो निकाल्ने भइसकेको छ । आफू देखिन घाटी तन्काउँदै–तन्काउँदै ऊ जिराफजस्तो देखिन थालेको छ । यिनको कर्कशताको डरले बाँकी खुट्टाहरू पनि हराउन थाले अनि घर फर्किन लागेका खुट्टाहरू बाटोमै हराए ।
कुनै दिन हराएका र विलाएका यी सबै खुट्टाहरू फर्किने छन् । त्यो सबै खुट्टाको आवाजले निकाल्ने ध्वनिलाई अहिलेको भाषण र कोलाहलको कर्कशताले दबाउन सक्ला ? त्यतिबेला कोरोनामा घर फर्किएको कानले सुन्ला कि बोल्ला ? त्यतिबेला मस्जिद, चर्च र गुम्बाहरूमा घण्टी बज्दा—घण्टीबाट दया र करुणा मात्रै बज्ला कि घृणा पनि ? त्यो वर्षौँदेखि कुरिरहेका बूढा बा–आमा, जसले आफ्ना बच्चालाई चारखुट्टाबाट दुईखुट्टामा उभिन सिकाए—आज आफैँ चारखुट्टामा उभिएर प्रश्न सोधिरहेका छन् । पहिलोचोटि दुईखुट्टाले टेकेको आँगन, गैरी खेतको बाँझो माटो, गाईको बाछो, बगर भएको गैरी खेत, अनि घरको कुनामा वर्षौँदेखि कुरिरहेका ती जुत्ताहरूका निरीह आँखाले देशका शासकका आँखामा टुलुटुलु हेर्दै प्रश्न सोधिरहेका छन् ।
