व्यक्तिगत वा पार्टीगतजस्ता साँघुरो हितका लागि राष्ट्रिय झन्डाको दुरुपयोग गर्नेले देश हितको वकालत गर्ने नैतिक बल राख्दैनन् ।
What you should know
देश र नागरिकको पहिचानलाई प्रतिनिधित्व गर्ने सबैभन्दा सर्वोच्च माध्यम झन्डा नै हो । झन्डाले नै सम्बन्धित देशको इतिहास बोल्न सक्छ ।
नागरिकको जीवनदर्शन र आकांक्षा बोल्न सक्छ । यसमा प्रयोग भएका रङ, चिह्न, यसको आकार सबैको विशिष्ट अर्थ हुन्छ । झन्डालाई नागरिकले देशप्रतिको माया, गौरव, भावना र अपनत्व दर्शाउने सर्वोच्च माध्यमका रूपमा प्रयोग गर्छन् । त्यसैले पनि झन्डालाई राष्ट्रिय एकताको प्रतीकका रूपमा लिने गरिन्छ । किनकि, व्यक्तिगत र सामूहिक विचार, आस्था, आकांक्षा र उद्देश्यमा विभाजित भए पनि झन्डाको हकमा भने नागरिक एकताबद्ध हुन्छन् । झन्डा समातिरहेका नागरिकले राष्ट्रिय हितको भावना बोक्ने ठानिन्छ । उनीहरूबाट असल नागरिकको भूमिका निर्वाह हुने अपेक्षा पनि गरिन्छ । यद्यपि, एकताको प्रतीक ठानिएको झन्डाको दुरुपयोग बढ्दै जान थालेको छ । संकीर्ण स्वार्थ बोकेर हुने गरेको झन्डाको दुरुपयोगलाई निरुत्साहित गरिनुपर्छ ।
‘राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९’ मा कार्यविधिमा राष्ट्रपतिदेखि सर्वसाधारण नागरिकले झन्डाको प्रयोग गर्ने विधिका विषयमा उल्लेख छ । त्यस्तै राष्ट्रिय झन्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन निषेध पनि गरिएको छ । झन्डाको प्रयोगका सम्बन्धमा सबै विधि लेखिरहन सम्भव हुँदैन । किनकि नागरिक स्वयंले राष्ट्रिय भावनाद्वारा उत्प्रेरित भएर सम्मानपूर्वक प्रयोग गर्नुपर्छ । देशलाई माया गर्ने हरेक नागरिकले ख्याल गर्नुपर्छ, आफूले कुन उद्देश्यका निम्ति झन्डा प्रयोग गरिरहेको हो ? आफूले जुन स्थानमा झन्डा प्रयोग गरेको हो, त्यसप्रति सबै नागरिकले समान रूपमा गौरव गर्न सक्छन् ? यस्तो अवस्था होइन भने, त्यतिबेला झन्डाको दुरुपयोग भइरहेको छ भन्ने बुझ्नुपर्छ । व्यक्तिगत वा पार्टीगतजस्ता साँघुरो हितका लागि राष्ट्रिय झन्डाको दुरुपयोग गर्नेले देश हितको वकालत गर्ने नैतिक बल राख्दैनन् ।
नेपालको संविधानको धारा ८ मा राष्ट्रिय झन्डाको व्यवस्था गरिएको छ । ‘सिम्रिक रङको भुइँ र गाढा नीलो रङको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झन्डा नेपालको राष्ट्रिय झन्डा हो’ भनिएको छ । संविधानकै अनुसूची–१ मा झन्डा बनाउने तरिका प्रस्ट्याइएको छ । त्यस्तै, झन्डाको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन यसको प्रयोगसम्बन्धी कार्यविधि पनि तयार गरिएको छ । गृह मन्त्रालयले सूचनाद्वारा पनि यसको प्रयोग जानकारी गराइरहेको हुन्छ । यी सबै व्यवस्थाको औचित्य एउटै हो, झन्डाको आकार निश्चित परिभाषाद्वारा सुनिश्चित होस् । यसको दुरुपयोग नहोस्, बरु सम्मानका साथ प्रयोग हुन सकोस् । र, अपेक्षा गरिएजस्तै राष्ट्रिय एकताको प्रतीक बनोस् । गौरवको साझा चिनारी बनोस् । झन्डाको सामुन्ने उभिएर नागरिकले राष्ट्रिय हित सोच्न सकोस् ।
झन्डाको प्रयोगसम्बन्धी बहस यतिबेला किन जरुरी छ भने अहिले जताततै प्रयोग भइरहेको देखिन्छ । हुलहुज्जत र हिंसात्मक तथा कानुनले वर्जित गरेका दण्डनीय गतिविधिमा संलग्न हुनेहरूले पनि झन्डा नै ओढिरहेका छन् । राजनीतिक दलका विरोध प्रदर्शन, प्रचारप्रसार तथा गतिविधिमा समेत राष्ट्रिय झन्डाको प्रयोग भइरहेको देखिन्छ । २३ भदौको जेन–जी आन्दोलन मात्र होइन, २४ भदौको लुटपाट र आगजनीका क्रममा पनि राष्ट्रिय झन्डा भिरेका मानिसहरूले उत्पात मचाएका थिए । संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, सिंहदरबार, सञ्चारगृह, औद्योगिक प्रतिष्ठान तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र विध्वंस गर्ने व्यक्तिहरूले समेत राष्ट्रिय झन्डा भिरिरहेका थए । कतिपयले यस्ता गतिविधिलाई उत्सवका रूपमा मनाउँदै राष्ट्रिय झन्डा फहराइरहेका थिए । यी घटनाले नै राष्ट्रिय झन्डाको कसरी दुरुपयोग भइरहेको छ भन्ने प्रस्ट पार्छ । अहिले निर्वाचनका बेला पनि दलविशेषको पक्षमा प्रचारप्रसार गर्न राष्ट्रिय झन्डाको प्रयोग भइरहेको छ ।
राजनीतिक कार्यक्रम तथा कानुनद्वारा दण्डनीय भनी तोकिएका गतिविधिले समाजलाई विभाजित गर्छ । हुन त मुलुकी अपराध संहिता, २०७४ को दफा १५१ मा राष्ट्रिय झन्डाको अपमान गरे कारबाही हुने उल्लेख छ । सरकारले कानुनको पालनामा ध्यान दिनुपर्छ । रोक्नुपर्छ । सायद त्यसैले गृह मन्त्रालयले आइतबार सूचना जारी गरेको छ । मुलुकको गौरवसँग जोडिएका विषयमा कानुनी व्यवस्था स्वतः आकर्षित त हुन्छ नै, यसका लागि नागरिकस्तरबाट पनि विवेक अपरिहार्य हुन्छ ।
![[Editorial] Don't turn the national flag into a party flag](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/flag-29122025081139-2512026041854-1000x0.jpg&w=1001&h=0)