घरेलु काम महिलालाई नै किन ? 

हामीले समानता र न्यायको नारा लगाइरहँदा घरेलु श्रमिक बनेर घर धानिरहेका हाम्रा आमा, दिदी, बहिनी, श्रीमतीका फुटेका खस्रा हातमा मलम लगाइदिएका छौं ?

माघ ९, २०८२

सुशीला शर्मा

Why is domestic work reserved for women?

What you should know

‍गाउँघरतिर डुल्दै थिएँ । खेतबारी र करेसामा धान–गहुँ–सागसब्जीसँग साक्षात्कार गरिरहेका महिलाहरू देखें । श्रम गरिरहनुलाई नै दिनचर्या बनाएका र कोहीसँग केही गुनासो नगरीकन आफ्नो कर्म गरिरहेका किसान महिलाप्रति एक प्रकारको गर्वबोध भएर आयो ।

डेरामा बसेर घरेलु अनि हेरचाहको काममा धेरै भिज्नु नपरेको मजस्ता महिलाले बिनाज्यालाको हेरचाहको काम र निरन्तर घोटिएर गरिरहनुपर्ने कामबारे कसरी मनन गर्न सकौंला र ? तर, महिलाले त्यसरी किसान भई उब्जनी गरेको उत्पादनको लाभ आत्मनिर्भर हुन या केही ‘नगद’ आफ्नो नाममा पार्न पाएका छन् कि छैनन् ? महत्त्वपूर्ण प्रश्न हो । 

आमा, सासू, बुहारी, नन्द, आमाजू, जेठानी, देवरानी जो–जो छन्– उनीहरूका ढाड–कम्मर दुखेको बारे, महिनावारीमा धेरै रगत बगेको बारे, तल्लो पेट दुखेको बारे या यस्तै–यस्तै स्वास्थ्य समस्यालाई हामीले ‘मध्यनजर’ गरेका छौं त ? अझ विशेषगरी पुरुष सदस्यले यस्ता घरायसी कामलाई कुन रूपमा हेर्छन् ? ‘मेरी आमाले बनाएको खानामा जादु छ,’ ‘मेरी श्रीमतीको हातै मीठो’ भनेर तिनलाई फुर्क्याउँछौं मात्रै कि ‘लगातारको एकतमासे घरेलु कामबाट विश्राम लिन मन छ ?’ भनेर पनि कहिल्यै सोध्छौं ?

पहाडी जीवनको घाँसदाउरा, मेलापात कस्तो दैनिकी हो भने हातखुट्टाले थाम्न थालेदेखि सुरु भएका यी घरायसी र हेरचाहका काम जीवनका ७० औं वसन्त नाघिसक्दा पनि गरिरहेकै हुन्छन् महिला । एक आमा आफ्नो घुँडा संवेदनशील अवस्थामा पुग्दा पनि गाईभैंसीलाई घाँस काट्न वन जान्छिन् । तिनी घाँसको भारी बोक्दा लडेपछि अस्पताल पुग्दा पनि घाइते ज्यानभन्दा ‘बाख्रा–भैंसीले घाँस खान पाए कि पाएनन् ?’ भनेर चिन्तित भएको देखेको छु मैले । महिलाहरू सन्तान र परिवारका सदस्यको मात्रै होइन, बस्तुभाउ, रुखबिरुवादेखि माटोसम्मको हेरचाह गर्छन् । 

हामीले समानता र न्यायको नारा लगाइरहँदा घरेलु श्रमिक बनेर घर धानिरहेका हाम्रा आमा, दिदी, बहिनी, श्रीमतीका फुटेका खस्रा हातमा मलम लगाइदिएका छौं ? या ‘ल आज म तपाईंलाई/तिमीलाई तेल मालिस गरिदिन्छु’ भनेका छौं ? हामीले झिना–मसिना, अनुत्पादक अनि ‘थाङ्ने’ मानेका काम गर्ने महिला सदस्य नहुने हो भने परिवारको स्थिति के हुन्छ होला ? सोचनीय छ । 

श्राद्धमा खाना पकाउने, दसैं–तिहारमा मासु अनि सेल पकाउने, आ–आफ्ना रीतिथितिअनुसार भोजन तयार गर्ने र लगातार ती कार्यमा संलग्न हुने हाम्रा आमाहरूले भात–भान्सेकै रूपमा आफूलाई समर्पित गरेका हुन्छन् । अरू कुनै पेसा, व्यवसाय, राजनीतिमा कसले कति लगनशीलता र दक्षताका साथ काम गर्‍यो भनेर हेर्ने समाज–समुदाय हुन्छन् र सोहीअनुसारको सम्मान, पदवी ती व्यक्तित्वले पाइरहेका हुन्छन्– तिनमा पुरुषकै संख्या बढी हुन्छ ।

तर, घरेलु काम गर्ने महिलाले त्यस्तै ‘सम्मान’ कति पाए ? मस्यौरा वा गुन्द्रुक बनाउने, विभिन्न मौसमी तरकारीका चाना बनाएर बर्खायाम या सब्जीको खडेरीलाई जोहो गर्ने महिलाको कामको मूल्य र महत्त्व कतै सुनिँदैन । यस्ता घरेलु उत्पादन बिक्री–वितरण नै सुरु गरेका व्यवसायी महिलाको त्यो कामको मूल्य र महत्त्व कति छ ? त्यो पनि हामी केलाउँदैनौं । केही नगण्य घरेलु उत्पादकको मात्रै नाम देख्न, सुन्न पाइन्छ । 

विश्वमै बाल हेरचाह, ज्येष्ठ हेरचाह, घरायसी कामलाई लिंगीय दृष्टिकोणले हेरिन्छ । परम्परागत र पितृसत्तात्मक अवधारणाअन्तर्गत हेरचाह कार्यलाई ‘महिलाको काम’ भनिन्छ । यस्ता हेरचाहको काममा व्यस्त हुनुपरेपछि अवश्य पनि महिलाको शिक्षा, आर्थिक अवसर र कमाउने क्षमतालाई सीमित गर्छ ।

जबकि पुरुषको कमाउने भूमिकामा झन् सुदृढीकरण हुँदै जान्छ । हेरचाह कार्यमा महिला अभ्यस्त छन् तर ज्यालामै पनि महिला–पुरुषमा अन्तर हुन्छ । हेरचाहकै ज्यालादारी काम गरिरहेका महिलाले दैनिक तीन, चार वटा घरमा काम गर्दा पनि मासिक पन्ध्रदेखि बीस हजार रुपैयाँसम्म कमाउन सकिरहेका हुँदैनन् । 

विश्वव्यापी रूपमा महिला र किशोरीले पुरुषको तुलनामा दिनमा २.५ गुणा बढी घण्टा बेतलबी हेरचाह कार्यमा बिताउँछन् । यो असमानताले महिला तथा किशोरीलाई जीवनैभर आफ्ना अधिकार र अवसरहरू पूर्ण रूपमा प्राप्त गर्नबाट रोक्छ । सबैभन्दा सीमान्तकृत महिला, गरिबीमा जकडिएका महिला र अल्पसंख्यक समूहका महिलाले बेतलबी हेरचाह कार्यको सबैभन्दा ठूलो हिस्सा बोक्छन् । एक तथ्यांकअनुसार विश्वका ८० प्रतिशत तलबी घरेलु कामदार नै महिला छन् । 

हेरचाह तथा घरेलु काम एक आधारभूत मानवअधिकारको मुद्दा हो । घरेलु हेरचाहको कार्य सम्पूर्ण रूपले महिलाकै जिम्मामा छोडिँदा नै लैंगिक असमानता, गरिबी र बेरोजगारी बढिरहेका त छैन ? राज्यले नीति निर्माण तहदेखि नै यो विषयलाई केलाउनुपर्छ ।

प्राकृतिक रूपले नै शिशुलाई गर्भ अवस्थादेखि नै हेरचाह गर्नुपर्ने जिम्मेवारी पाएका महिला पुरुषजत्तिकै सक्षम छन् । तिनलाई अतिरिक्त सेवा मिल्नुपर्ने हो तर यथार्थमा ‘यो महिलाको भागमा परेपछि झेल्नुपर्छ, खप्नुपर्छ’ भन्ने मानसिकता पुरुष मानसमा परेको हुन सक्छ । मुख्य प्रसंग ‘नेचर’ र ‘नर्चर’ मा महिलाको योगदानलाई महत्त्वका साथ हेरिनुपर्छ । 

महिलाले जुगौंदेखि गरिआएका हेरचाहजनित कामहरू केही पुरुषले लैंगिक रूपमा सचेत देखिएर गरिहाले भने पनि त्यो आफ्नो जिम्मेवारी र समानतालाई लिएर गरेको हो भन्ने महसुस गर्न बिर्सन्छन् । उनीहरू भन्छन्, मैले त श्रीमतीलाई, आमालाई या दिदीबहिनीलाई फलानो काम गरिदिएर सहयोग गर्ने गरेको छु । प्रसिद्ध हास्य अभिनेता हरिवंश आचार्य सचेत नागरिक हुन् ।

उनले पनि कुनै मिडियामा अन्तर्वार्ता दिँदा ‘आफूले सधैं खाएको थाल आफैंले माझ्ने’ गरेका गर्वका साथ सुनाएका थिए । उनको आशय थियो– कमसेकम भान्सामा खाना खानेले कम्तीमा एउटा थाल माझिदिए अलिकति भए पनि महिलाको बोझ कम हुन्छ ।

पुरुषले घरायसी या हेरचाहका काम गर्दा ‘मेरो आफ्नै काम हो’ नभन्ठान्ने हुनाले पनि उनीहरू आफ्नो काम ‘पर्फेक्ट हुनुपर्छ’ भन्ने सोच्दैनन् । आचार्यकै कुरा काट्दै उनकी श्रीमतीले ‘उहाँले गरेको काम आफूले दोहोर्‍याएर गर्नुपर्ने’ खुलासा गरेबाट पनि पुरुषको घरेलु कामप्रतिको उत्साह र प्रतिबद्धता झल्किन्छ । 

घरेलु र स्याहारका काममा जसरी महिला दत्तचित्त भएर व्यवस्थित रूपले सक्रिय हुँदै आए, त्यो सयौं वर्षदेखिको काम–हस्तान्तरणको अभ्यासका रूपमा विशिष्ट हुन गयो । उसैगरी पुरुषले पनि लगाव र जिम्मेवारीबोधसहित घरेलु र स्याहारका काममा हातेमालो गर्दै अघि बढे अवश्य पनि लैंगिक सन्तुलनमा मद्दत पुग्नेछ । नत्र हाम्रा पाठ्यपुस्तकमा पनि चित्रसहित उल्लेख गरिएका ‘आमा घरको काम गर्नुहुन्छ वा बाबा जागिर खान जानुहुन्छ’ भन्ने निरन्तरता समाजमा सदा रहनेछ । 

घरबाहिरका पेसाका रूपमा हेर्ने हो भने पुरुषले कुक, रुम ब्वाई, वेटरलगायतका कार्यमा दक्षताका साथ आफूलाई अब्बल बनाएका छन् । जुन पेसाबाट उनीहरूलाई तलब आउँछ र समाजले पनि मान्यता दिन्छ– त्यस्ता जुनै पेसामा ‘फिट’ हुन सक्ने पुरुष घरायसी र हेरचाहका काममा निम्छरो पक्कै होइनन् । अधिकांश पुरुष वर्ग घरेलु हेरचाहका काममा पारिवारिकस्तरमा आफूलाई दक्ष बनाउनै चाहँदैनन्, केही नगण्य पुरुषबाहेक ।

हाम्रो समाजले नै पुरुषलाई घरेलु काममा ‘प्रिफर’ गर्दैन । यदि कोही पुरुष परिवारका काममा सहज रूपमा संलग्न भयो भने हाम्रा बा, आमा, श्रीमती, दिदीबहिनी नै अप्ठ्यारो महसुस गर्छन् । उनीहरूलाई लाग्छ– छोरा मान्छे भएर यसरी घरेलु काममा अल्झिँदा उसको बाहिरी सम्बन्ध बिग्रिन्छ । हाम्रा सिकाइ, अभ्यास र सामाजिक मूल्य मान्यताले नै पनि पुरुषलाई भान्सामा गएर खाना पकाउँदा, पकाएका भाँडाकुँडा माझ्दा हीनताबोध महसुस गराउँछ । 

महिलाको आर्थिक, सामाजिक, राजनीतिक र पेसागत गतिशीलतालाई अब्बल बनाउन सामुदायिक बाल हेरचाह केन्द्र, महिला छलफल र अध्ययन केन्द्रलगायत हेरचाहजनित अनौपचारिक र बेतलबी कामलाई सम्बोधन गर्ने संस्थाहरू स्थापना हुनु जरुरी छ । हेरचाह कार्यलाई रोजगारीमा जोडेर सामाजिक सुरक्षाका कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ । 

अब घरेलु र हेरचाहका काममा पुरुषले पनि बराबरीको भागीदारी देखाउने कि ?

सुशीला शर्मा शर्मा कान्तिपुरमा लैंगिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully