आजका धेरै विवाहित जोडी सन्तान नजन्माउने निर्णय लिइरहेका छन्, जुन व्यक्तिगत स्वतन्त्रता, आर्थिक अवस्था, करिअरको प्राथमिकता र सामाजिक–सांस्कृतिक परिवर्तनसँग प्रत्यक्ष जोडिन्छ ।
एक अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुँदा एक हूल मानिस विवाह र सन्तानबारे चर्चा/परिचर्चामा मग्न थिए । एक महिलाले भनिरहेकी थिइन्, ‘पहिले आफ्नो करिअर बनाउने हो । हामीले बच्चा नपाउने निर्णय गरिसक्यौं । यसमा परिवारको पनि पूर्ण सहमति छ ।’ अर्की महिलाले आपत्ति जनाइन्, ‘ओहो ! के भनेको ? विवाहपछि त बच्चा जन्माउनुपर्छ है । बच्चा भए पो जीवन सुन्दर हुन्छ त ।’
विवाह सामाजिक संस्था हो । विवाहबाटै अन्य सामाजिक संस्था, परिवार–नाता–सम्बन्धको विकास हुन्छ । त्यसैले धेरैले नेपाली समाजमा यसको अनिवार्यताको महसुस गर्छन् । समाजशास्त्रीय रूपमा हेर्ने हो भने जब कुनै केटा वा केटीको विवाह हुन्छ, त्यसपछि उनीहरूमा सामाजिक जिम्मेवारी बढ्छ । त्यो वहन गर्न उनीहरू निरन्तर प्रयास गर्छन् । सामाजिक लोकाचारका लागि पनि उनीहरू आफ्नो भूमिका निभाउन बाध्य हुन्छन् ।
विवाहलाई सन्तान उत्पादन वा वंश परम्परा वृद्धिसँग जोडेर हेरिन्छ, तर पछिल्लो समय यो परम्परामा केही परिवर्तनका संकेत देखिन थालेका छन् । आजका धेरै विवाहित जोडी सन्तान नजन्माउने निर्णय लिइरहेका छन् । यो निर्णय व्यक्तिगत स्वतन्त्रता, आर्थिक अवस्था, करिअरको प्राथमिकता वा सामाजिक–सांस्कृतिक परिवर्तनसँग जोडिएको विषय हो । र, यो विवाहित जोडीको अधिकारको कुरा पनि हो ।
नेपालमा मात्रै होइन, विश्वका विभिन्न देशमा पनि प्रजनन दर निकै कम भइरहेको छ । आधुनिकीकरण, व्यक्तिगत स्वतन्त्रता, एकल परिवारको विकास, रोजगारीका लागि आफ्नो ठाउँ छाडी अन्यत्र स्थानमा जानुपर्ने बाध्यता, पारिवारिक दबाब आदिले पनि प्रजनन दरमा कमी आएको छ ।
नेपाली समाज अझै सामाजिक–सांस्कृतिक परम्परागत लहरमै अघि बढिरहेको छ । हाम्रो धर्म–संस्कारले यसलाई पृष्ठपोषण गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैले पनि हाम्रो समाजमा विवाहपछि बच्चा जन्माउनु सामाजिक अपेक्षा मानिन्छ । सहरीकरण, आधुनिकीकरण, शिक्षामा विकास, अवसरको खोजी, महिला सशक्तीकरण, जीवनशैलीमा परिर्वतन केही कारण हुन्, जसले विवाहित जोडीलाई बच्चा नजन्माउन प्रेरित गरिरहेको छ । नेपालको सन्दर्भमा काठमाडौं, पोखराजस्ता सहरी क्षेत्रमा बसोबास गर्ने शिक्षित दम्पतीमा यो प्रवृत्ति बढी छ ।
बढ्दो महँगी, बेरोजगारी, राजनीतिक अस्थिरता, आर्थिक समस्याले पनि यी विषयमा प्रभाव पार्ने गरेको छ । करिअरमा निरन्तरता, आत्मनिर्भरताको चाहना र व्यक्तिगत स्वतन्त्रताले पनि विवाहित महिला बालबच्चा जन्माएर घरमै सीमित हुन नचाहने अध्ययनमा भेटिन्छ । विश्वका अन्य देशमा पनि यस्तो प्रवृत्ति बढेको छ ।
उनीहरू लिभिङ–रिलेसनमा बस्ने र विवाह गरे भने पनि बालबच्चा नजन्माऊने निर्णयमा बढी अडिग छन्, जसकारण विकसित मुलुकमा दक्ष जनशतिको कमी भइरहेको छ । प्रजनन दर कम हुनाले त्यसको प्रत्यक्ष असर उद्योग कलकारखानामा पर्ने गरेको छ । त्यसैले कोरियाको भिसा, अमेरिकी डीभी वा क्यानडाको पीआरको चर्चा बढी हुन्छ । नेपाल चाहिँ सस्तोमा श्रमदाता बेच्ने मुलुकका रूपमा छँदै छ । जापान, दक्षिण कोरिया जस्ता एसियाली मुलुकमा जन्मदर निकै कम भई यसले गम्भीर सामाजिक समस्या ल्याएको छ ।
नेपाली परिवेशमा सामाजिक दृष्टिकोणले हेर्दा विवाहपछि बच्चा नजन्माउने निर्णयले पारिवारिक संरचना र सामाजिक सम्बन्धमा परिर्वतन ल्याउँछ । परम्परागत सोच भएका समाजमा यस्ता दम्पतीलाई दबाब, आलोचना वा अपूर्णता, शारीरिक कमजोरीसँग जोडेर हेरिन्छ । ग्रामीण परिवेशमा त यस्ता जोडीलाई टिक्नै गाह्रो हुन्छ । वास्तवमा बच्चा जन्माउने वा नजन्माउने निर्णय पूर्ण रूपमा दम्पतीकै व्यक्तिगत विषय हो । यसमा अरूले दबाब दिनु हुँदैन, तर व्यक्तिका गतिविधिले समाजमा पनि असर पार्ने हुनाले सामाजिक छलफलको विषय भने बन्छ ।
बच्चा नजन्माउने दम्पतीको विभिन्न पक्षको चर्चा गर्दा ती दम्पती आर्थिक रूपमा स्थिर रहन्छन् र मानसिक तनाव कम हुन्छ । प्रोफेसनल करिअर निरन्तर अघि बढ्छ । यसका केही नकारात्मक पक्ष पनि छन् । दीर्घकालीन रूपमा जनसंख्या असन्तुलन हुन्छ । जन्मदर कम हुनेबित्तिकै दक्ष जनशक्तिको अभाव हुन्छ र आवश्यक जनशक्तिका लागि अन्य मुलुकको भर पर्नुपर्छ ।
विश्वका अन्य देशमा सन्तानविहीन दरको प्रतिशत हेर्ने हो भने अमेरिकामा करिब १५ प्रतिशत महिला बच्चा जन्माउन चाहँदैनन् । जापानमा यसको प्रतिशत २०, जर्मनीमा २३, दक्षिण कोरियामा ३०, इन्डोनेसियामा ८.२, पपुवा न्युगिनीमा १५.६ छ । विश्वका उच्च मानव विकास भएका देशहरू टर्की, अमेरिका, जर्मनीमा सन्तानविहीन प्रवृत्ति बढी देखिन्छ ।
नेपालको ‘डेमोग्राफिक हेल्थ सर्भे’– २०२२ अनुसार, विवाहित महिलामध्ये ५३ प्रतिशतले बच्चा जन्माउन नचाहेको बताएका छन्, ५६ प्रतिशत पुरुषको पनि उत्तर उही छ । यसको आधारमा इच्छित जन्मदर १.७ रहेको छ । नेपालमा कुल प्रजनन दर सन् १९९६ मा ४.६ थियो भने यो दर घटेर २०२५ सम्म आइपुग्दा १.७६ भएको अनुमान गरिएको छ ।
सामान्यतया नेपालमा पनि पहिलो सन्तान छोरा वा छोरी जे भए पनि धेरैजसो दम्पती एकै सन्तानमा सीमित रहेको देखिन्छ । विवाहित दम्पतीले बच्चा जन्माउन नचाहनुका मुख्य कारण हुन्– आधुनिक जीवनशैली, आर्थिक बोझ र व्यक्तिगत करिअरको प्राथमिकता ।
