आजको सूचना प्रविधिको युगमा हुर्किएको नयाँ पुस्ता अघिल्ला पुस्ता जस्तो आश्वासनमा भुल्नेवाला छैन । वैश्विक चेतना र डिजिटल साक्षरताले भरिएको यो पुस्ता राजनीतिलाई भावनाभन्दा पनि नतिजाको कसीमा राखेर हेर्छ ।
नेपाली राजनीतिमा वा भनौं समाजमा एउटा उखान निकै चर्चित छ, ‘जुन जोगी आए पनि कानै चिरेको ।’ यो केवल एउटा उखान मात्र होइन, सात दशकदेखि नेपाली नागरिकले भोग्दै आएको एउटा तीतो राजनीतिक यथार्थ पनि हो । हामीले क्रान्ति गर्यौं, व्यवस्था बदल्यौं, संविधान बदल्यौं र अनगिन्ती पटक सत्ताका पात्रहरू पनि फेर्यौं ।
तर, जुन आधारभूत प्रवृत्तिले नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्ने थियो, त्यो भने अझै उस्तै छ । त्यसैले आजको टड्कारो आवश्यकता सत्ताको अनुहार फेर्नु मात्र होइन, शासकीय प्रवृत्तिको आमूल रूपान्तरण गर्नु हो ।
नेपालको आधुनिक इतिहास राजनीतिक प्रयोगहरूको प्रयोगशाला जस्तै बनेको छ । २००७ सालको प्रजातन्त्र, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक परिवर्तनले मुलुकको शासकीय स्वरूपलाई नै उल्ट्याइदियो ।
१० वर्षे सशस्त्र द्वन्द्व र त्यसपछिको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले नेपाललाई नयाँ युगमा प्रवेश गराएको सत्य हो । तर, विडम्बना के रह्यो भने प्रत्येक राजनीतिक मोडमा पात्रहरू त बदलिए, तर ‘शासकीय प्रवृत्ति’ बदलिएन । हिजो राणाहरूले गर्ने ‘हुकुम’ र ‘चाकरी’ को शैली लोकतान्त्रिक नेताहरूमा पनि सर्यो । व्यवस्था बदलियो, तर जनतालाई रैती सम्झिने सामन्ती मानसिकता भने ज्युँदै रह्यो । दरबारबाट निस्किएको शक्ति सिंहदरबारका कोठाहरूमा त पुग्यो, तर नागरिकको घरदैलोसम्म पुग्न सकेन ।
यसै प्रवृत्तिका विरुद्धमा २३ र २४ भदौमा सडकमा देखिएको जनलहर केवल एउटा सामान्य प्रदर्शन मात्र थिएन । यो वर्षौंदेखि जकडिएको भ्रष्टाचार, कुशासन र दलीय सिन्डिकेटका विरुद्धको एउटा ठूलो नागरिक विद्रोह थियो । भदौमा सडकमा उत्रिएका जेन–जी तथा नागरिकहरूले कुनै एउटा दललाई सत्तामा पुर्याउन वा कसैलाई कुर्सीबाट झार्न मात्र नारा लगाएका थिएनन् । उनीहरूले वर्षौंदेखि जरा गाडेर बसेको सेटिङको राजनीति, नातावाद र दण्डहीनताको प्रवृत्तिमाथि प्रहार गरेका थिए ।
२३ र २४ भदौको आन्दोलनले एउटा स्पष्ट सन्देश दियो– नेपाली नागरिक अब केवल दर्शक मात्र बनेर बस्ने छैनन् । यो आन्दोलनले नेतृत्वलाई चेताएको छ कि अबको राजनीति ‘जे गरे पनि चल्छ’ भन्ने सोचबाट मुक्त हुनुपर्छ । साँचो परिवर्तन भनेको कुर्सीको फेरबदल होइन, बरु सडकमा उठेका यी जायज मागहरूको सम्बोधन र कार्यशैलीमा इमानदारिता हो ।
आजको सूचना प्रविधिको युगमा हुर्किएको नयाँ पुस्ता अघिल्ला पुस्ता जस्तो आश्वासनमा भुल्नेवाला छैन । वैश्विक चेतना र डिजिटल साक्षरताले भरिएको यो पुस्ता राजनीतिलाई भावनाभन्दा पनि नतिजाको कसीमा राखेर हेर्छ । जेन–जी युवाहरू, जो भदौको आन्दोलनमा अग्रपंक्तिमा थिए, उनीहरूले खोजेको परिवर्तन केवल ‘पात्र’ को हेरफेर होइन ।
उनीहरू चाहन्छन्, एउटा यस्तो प्रणाली, जहाँ योग्यताको कदर होस्, जहाँ अस्पताल जाँदा लाइन बस्नु नपरोस् र जहाँ राहदानी बनाउन जाँदा सास्ती खेप्नु नपरोस् । यो पुस्ताले राजनीतिलाई केवल भाषणको विषय बनाउन चाहँदैन, उनीहरू सेवा प्रवाहमा दुरुस्तता खोजिरहेका छन् । यदि राज्यले आफ्नो प्रवृत्ति नबदल्ने हो भने, यहाँ भएका जति युवाले पनि कि त देश छोड्नेछ, कि त विद्रोहको नयाँ बाटो रोज्नेछ । त्यतिबेला शान्ति र समृद्धि केवल सपनामा मात्र सीमित रहनेछ ।
हाम्रो देशमा सरकार परिवर्तन हुनुलाई नै परिवर्तन सम्झिने एउटा घातक भ्रम छ । एउटा अनुहार हटेर अर्को अनुहार सत्तामा आउनु मात्र लोकतन्त्रको सफलता होइन । साँचो अर्थमा परिवर्तन तब हुन्छ, जब राज्य सञ्चालन गर्ने विधि, शैली र आचरणमा सुधार आउँछ । अहिले पनि सत्ताबाहिर हुँदा सुशासनका ठूला कुरा गर्नेहरू सत्तामा पुग्नेबित्तिकै उही नातावाद कृपावाद र स्वार्थको द्वन्द्वमा रुमल्लिन्छन् । जबसम्म सत्तामा बस्नेहरूले आफूलाई ‘शासक’ होइन, ‘सेवक’ सम्झने प्रवृत्तिको विकास गर्दैनन् र राज्यका अंगहरूलाई पारदर्शी बनाउँदैनन्, तबसम्म पात्र परिवर्तन हुनुको कुनै अर्थ रहँदैन । नेतृत्वले बुझ्नुपर्छ कि जनताले अब उनीहरूको कुरा होइन, काम र व्यवहार हेरेर मूल्यांकन गरिरहेका छन् ।
अब सबैको ध्यान आगामी २१ फागुनमा हुने निर्वाचन र त्यसपछिको राजनीतिक दिशामा केन्द्रित छ । २३ र २४ भदौको आन्दोलनले व्यक्त गरेको जनआक्रोश र नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्ने एउटै माध्यम भनेको अबको निर्वाचनपछिको महसुस गर्न सकिने परिवर्तन हो ।
यो निर्वाचनपछि आउने नेतृत्वका लागि दुई वटा विकल्प छन्, कि त पुरानै ‘भागबन्डा’ र ‘कुशासन’ को प्रवृत्तिलाई निरन्तरता दिने, कि त भदौको आन्दोलनले मागेको प्रवृत्ति परिवर्तनको बाटो रोज्ने । २१ फागुनपछिको सरकारले यदि साँचो अर्थमा सुशासन दिन सकेन भने जनतामा रहेको बाँकी विश्वास पनि डगमगाउन सक्छ । अबको नेतृत्वले हिजोका गल्तीहरू नदोहोर्याई, विधिको शासनलाई शिरोधार्य गर्नैपर्छ ।
निष्कर्षमा, परिवर्तन एउटा निरन्तर प्रक्रिया हो । पात्र परिवर्तन हुनु एउटा स्वाभाविक राजनीतिक घटनाक्रम मात्र हो, तर प्रवृत्ति परिवर्तन हुनु एउटा ऐतिहासिक उपलब्धि हो । हामीले पात्र र व्यवस्था त धेरै बदल्यौं, अब हाम्रो लडाइँ कुसंस्कार र गलत कार्यशैलीविरुद्ध हुनुपर्छ ।
परिवर्तन केवल सत्ताको बागडोर सम्हाल्ने व्यक्तिको फेरबदलमा होइन, नागरिकले महसुस गर्ने न्याय, समानता र सुशासनमा झल्किनुपर्छ । पात्र त आउँछन् जान्छन्, तर एउटा असल पद्धति र निष्कलंक प्रवृत्तिले मात्र देशलाई समृद्धिको बाटोमा लैजान सक्छ । फागुन २१ पछि आउने नेतृत्वले यो कुरा मनन गरोस्, जनता अब नयाँ अनुहार मात्र होइन, नयाँ संस्कार र सेवाको नयाँ प्रवृत्ति चाहन्छन् ।
