पुरस्कारको राजनीति

संगठनको नेतृत्ववर्गले पुरस्कारको मनोविज्ञान चिर्दै नीति–नियमको परिधिमै रहेर कर्मचारीको उत्कृष्टता, योगदान, सेवाका आधारमा पुरस्कार वितरण गर्नुपर्छ ।

माघ ४, २०८२

दुर्गा कँडेल (छत्कुली)

The politics of awards

What you should know

पुरस्कार उत्प्रेरणाको कारक मानिन्छ । पुरस्कारले मानिसलाई अझै बढी उपलब्धि हासिल गर्न हौसला प्रदान गर्छ । भनिन्छ– केही पाउने आशाले पनि मानिसले फरक ढंगबाट काम गर्छ । पुरस्कार कसलाई दिने वा पाउने विषयमा कतिपय अवस्थामा सूचक तथा मापदण्ड तर्जुमा गरिएको हुन्छ । कतिपय अवस्थामा चाहिँ नेतृत्वलाई जसलाई बुझाउन मन लाग्यो, उसैलाई थमाउने प्रचलन पनि छ । यथार्थमा पुरस्कार सकारात्मकताको प्रतीक हो ।

पुरस्कारले व्यक्ति तथा संस्थामा थप जिम्मेवारी थप्छ, उसको भूमिकामा अझै दायित्वबोध गराउँछ । पुरस्कारको उद्देश्य प्रोत्साहन, प्रेरणा, कदर अनि समाज–संस्था तथा व्यक्तिलाई सकारात्मक बाटोमा अगाडि बढाउनु हो ।

पुरस्कार कुनै विशेष उपलब्धि, सफलता, प्रतियोगिता वा असाधारण योगदानकै लागि प्रदान गरिने भौतिक स्वरूप हो । उत्कृष्टता र उपलब्धि, प्रोत्साहन, कदर मूल्यांकनका लागि पनि पुरस्कार दिइन्छ । जीवित साथै मरणोपरान्त पनि प्रदान गरिने पुरस्कार उपलब्धिका आधारमा, क्षेत्रका आधारमा, स्वरूपका आधारमा पनि वितरण गरिन्छ ।

कुनै पनि संस्था निश्चित उद्देश्यका साथ आफ्नो भिजन तथा मिसन पूरा गर्न अगाडि बढेको हुन्छ । कतिपय संस्थाको भिजन तथा मिसन घोषित नहुन पनि सक्छ तर निश्चित उद्देश्यचाहिँ हुन्छ । चाहे त्यो राजनीतिगत संगठन होस् चाहे अरू नै संघसंगठन किन नहोस् ! संस्थागत उद्देश्य हासिल गर्न विभिन्न किसिमका मानवीय र भौतिक सामग्रीको प्रयोग गरिन्छ । भौतिक सामग्रीलाई जीवन्तता दिने काम मानव संसाधनले गरेको हुन्छ । मानिस तथा कर्मचारीको कार्यसम्पादन हेरेर कामको मूल्यांकन गरी पुरस्कृत गरिनुपर्छ, जसले उसलाई दायित्वबोध गराउँछ ।

पुरस्कार वितरणका आदर्श, मूल्य र मान्यता यति वैज्ञानिक छन् कि त्यसको कार्यान्वयन गर्ने हो भने पुरस्कार प्राप्त गर्नेलाई मात्रै उत्प्रेरणा जाग्ने होइन, नपाउनेलाई पनि ‘कामको मूल्यांकन हुन्छ’ भनेर काम गर्न उत्प्रेरणा दिन्छ । पुरस्कारको विधि–प्रक्रिया–आदर्श–मूल्य–मान्यता एकातिर र वितरण अर्कोतिर भयो भने न पुरस्कार पाउने कर्मचारीले जिम्मेवारीबोध गर्छ, न नपाउनेलाई नै ‘कामको मूल्यांकन हुन्छ र काम गरेर मात्रै पुरस्कार पाइन्छ’ भन्ने आशा जाग्छ ! पुरस्कार सम्मानजनक विषय हो र हुनुपर्छ । पुरस्कारले दायित्वबोध गराउन सक्नुपर्छ भने पुरस्कारका लागि छनोट गर्ने वर्गलार्ई पनि ‘मैले गरेको निर्णय ठीक छ, ठीक ठाउँमा पुरस्कार गयो’ भनेर उसको अन्तरआत्माले भनेको हुनुपर्छ । तब मात्रै त्यो पुरस्कारको ओझ बढ्छ र जीवन्त रहन्छ । पुरस्कारले व्यक्तिको आत्मसम्मान बढाउँदछ, झन् जिम्मेवार, नरम, भद्र तथा उदाहरणीय व्यक्तित्वका रूपमा उभिन मद्दत गर्छ ।

तर, विडम्बना अहिले वितरण हुने अधिकांश पुरस्कार काम र सम्मानका आधारमा होइन, बरु स्वार्थ, चाकडी, नातावाद, कृपावाद, रङ, डर, धम्की र झूटका आधारमा वितरण गर्ने गरिएको देख्न, सुन्न र अनुभूत गर्न पाइन्छ ।

पुरस्कारले कर्मचारीलाई थप जिम्मेवार बनाउने र भार पनि थपिने हुनाले कतिपय मानिस ‘त्यसको ओझलाई म निभाउन सक्दिनँ कि ?’ भनेर चिन्ता व्यक्त पनि गर्दछन् । जो साँच्चिकै त्यो प्राप्त गर्न लायक हुन्छन्, तर उमाथि कसैको कृपा हुँदैन र उसले पुरस्कार पाउँदैन । त्यसरी पुरस्कार पाउनेहरू ‘देख्यौ म को हुँ ?’ भने जसरी मैमत्त हुन्छन् ।

वितरण गर्ने निकायले पुरस्कार उपलब्धि, योगदान, सिर्जनात्मकता, उत्कृष्टता, साहस, निष्ठावान, सेवा, प्रेरणा तथा उदाहरणीयताका आधारमा प्रदान गर्नुपर्नेमा यी सबैबाहेकका आधार, काम र विधिबाहिर गएर प्रदान गर्छ । पुरस्कार जे जसरी वितरण भए पनि त्यसको प्रत्यक्ष लाभकर्ता प्राप्त गर्ने व्यक्ति नै हो । के त्यसरी प्राप्त गरेको पुरस्कारले आत्मसम्मान होला ? उसको मनले भन्छ कि भन्दैन होला– मैलेभन्दा बढी योगदान अरू कसैले गरेको छ, मभन्दा ऊ पुरस्कारका लागि लायक थियो ।

अब पुरस्कार वितरणका मापदण्ड बदलिएका छन्, तसर्थ पुरस्कारका लागि धेरैले आफूलाई उम्मेदवारका रूपमा उभ्याइएको देखिन्छ । र, होडबाजीमा दौडिरहेको पाइन्छ तँछाड–मछाड गरेरै । जिम्मेवारी पूरा गर्न तँछाड–मछाड होइन, पुरस्कारको लाममा दौडिन्छन् । जिम्मेवार निकायमा रहनेहरूले पनि त्यस्तै दौडको होडबाजीमा अगाडि आउनेलाई नै पुरस्कार घोषित गर्न आतुर हुने प्रवृत्ति बढ्दो छ । यस्तो प्रवृत्तिले अन्य कर्मचारीमा कामप्रतिको लगाब घटाउँछ । र, समग्र उत्पादकत्वमा ह्रास आई संस्थागत उद्देश्य हासिल गर्न नसकिने हुन्छ । अर्कोतिर जो होडबाजीमा हिँड्छ– ऊ यति पोख्त हुन्छ कि ‘स्पेसलाइजेसन’ को सिद्धान्त उसैमा कार्यान्वयन नहोला भन्न सकिँदैन ।

आजका संगठनमा रहने नेतृत्ववर्गले पुरस्कारमा लोभिएको मनोविज्ञान चिर्दै नीति–नियमको परिधिमै रहेर कर्मचारीको उत्कृष्टता, योगदान, सिर्जनात्मकता, सेवा, साहस आदि आधारमा पुरस्कार वितरण गर्नुपर्छ । त्यसले नै संगठन र समाजमा सकारात्मक प्रभाव पार्नेछ । जिम्मेवार तहमा रहनेहरूको ध्यान यसतर्फ जानु जरुरी छ । यसले पुरस्कार प्राप्तिका लागि भाग लिनेहरूको आत्मसम्मान पनि बढाउँछ, साँच्चिकै उत्प्रेरणा जगाई कर्मचारीको झन् ठूलो प्रगतिको ढोका खुल्छ ।

जुन संगठनमा काम गर्ने र नगर्नेबीच भिन्नता छुट्याइन्छ, उचित दण्ड र पुरस्कारको व्यवस्था गरिएको हुन्छ, त्यो संगठनको दीर्घ जीवनको कामना गर्न सकिन्छ । तसर्थ कुराको काम होइन, कामका कुरा गरी संगठनसँगै आफ्नो विकासतर्फ सम्पूर्ण कर्मचारी लाग्न सके संस्थागत उद्देश्य हासिल गर्न सहज हुनेछ ।

दुर्गा कँडेल राष्ट्रिय वाणिज्य बैंककी उपकार्यकारी अधिकृत हुन्

Link copied successfully