नेता कि ‘इन्फ्लुएन्सर’ ? 

जब ‘पपुलिस्ट’ नेताहरूले वैचारिक मार्गभन्दा जनताको आवेग, उत्तेजना र आक्रोशलाई सत्ताको सिँढीका रूपमा प्रयोग गर्न थाल्छन्, तब वैचारिक धरातल कमजोर हुँदै ध्रुवीकरणको अवस्था सिर्जना हुन्छ । जब राजनीति विचारको प्रतिस्पर्धा नभई आवेग र ‘हामी वा उनीहरू’ भन्ने कठोर ध्रुवीकरणमा फस्छ, तब लोकतन्त्रको आधारभूत मर्म नै समाप्त हुन्छ ।

माघ ४, २०८२

शिशिर विक

Leader or 'influencer'?

What you should know

नेपाली राजनीति यतिबेला वैचारिक निष्ठा र सैद्धान्तिक धरातलबाट विमुख हुँदै सामाजिक सञ्जालद्वारा निर्मित छविको प्रभावमा परेको देखिन्छ । २००७ सालको क्रान्तिदेखि गणतन्त्र प्राप्तिका लागि भएका ऐतिहासिक आन्दोलनहरू सामाजिक न्याय र रूपान्तरणको स्पष्ट वैचारिक जगमा उभिएका थिए । तर, पछिल्लो समय स्थापित दलहरूले जनआकांक्षा पूरा गर्न नसक्दा र राजनीतिक नेतृत्व वैचारिकीबाट स्खलित हुँदा समाजमा लोकप्रियतावाद हाबी हुन थालेको छ ।

पुराना दलहरूको अक्षमताबाट उब्जिएको आक्रोशलाई पुँजीकृत गर्दै गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिहरू आफ्नो स्थापित छविको सहारामा छोटो बाटोबाट राजनीतिमा उदाएका छन् ।

राजनीतिक समस्याको गहिरो समाधान खोज्नुभन्दा व्यक्तिगत परिचयमा सफल पात्रहरूको पछाडि लाग्ने मध्यम वर्गको प्रवृत्तिले गर्दा नीतिगत राजनीति ओझेलमा परेको छ । जसरी किसानले बालीमा लाग्ने रोगको पूर्वानुमान गरी रोकथाम गर्छ, त्यसरी नै बौद्धिक वर्ग र नागरिक समाजले पनि यस्तो छवि–केन्द्रित राजनीतिको आलोचनात्मक समीक्षा गर्न जरुरी छ ।

केवल लोकप्रियताको पछि लाग्ने प्रवृत्तिले लोकतन्त्रको जग कमजोर बनाउनुका साथै सीमान्तकृत समुदायको आवाजलाई थप दबाउन सक्छ । समृद्ध लोकतन्त्रका लागि यथास्थितिवादी होइन, स्पष्ट वैचारिकीसहितको राजनीति आवश्यक हुन्छ । नयाँ पुस्ताले तत्कालीन नेतृत्व मात्र होइन, त्यसले दीर्घकालीन रूपमा पार्ने प्रभावको पनि गम्भीर समीक्षा गर्न आवश्यक छ ।

'इमेज’ राजनीतिको विकास

नेपालमा २०४६ सालको परिवर्तनपछि कांग्रेसले उदार पुँजीवाद, एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले वैज्ञानिक समाजवादजस्ता राजनीतिक विचार र दृष्टिकोणलाई अगाडि सारेका थिए । राष्ट्रिय स्वाधीनताको रक्षा, आत्मनिर्भर अर्थतन्त्र, महिला, दलित र उत्पीडित समुदायको मुक्तिका राजनीतिक एजेन्डाहरू कम्युनिस्ट पार्टीहरूले उठाउँदै आएका थिए ।

जनताकै बलमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना त भयो, तर संविधान निर्माणपछिको कालखण्डमा दलहरू वैचारिक रूपमा स्खलित हुँदै सत्तास्वार्थको अप्राकृतिक गठबन्धनमा लिप्त भए । यही राजनीतिक शून्यता र नेतृत्वप्रतिको अविश्वासले नेपाली राजनीतिमा ‘इमेज’ वा छविमा आधारित लोकप्रियतावाद (पपुलिज्म) लाई मलजल गर्‍यो ।

यसको प्रस्थानविन्दु केपी ओलीको उदयबाट सुरु भएको देखिन्छ । भारतीय नाकाबन्दीको प्रतिरोध गर्दा सामाजिक सञ्जालले उनलाई ‘राष्ट्रवादी हिरो’का रूपमा स्थापित गरिदियो । यही ‘इमेज’को जगमा ओलीमा शक्ति र अहम् बढ्दै गयो । अन्ततः उनी पार्टीभित्र ७० वर्षे उमेर हद र दुई कार्यकालको लोकतान्त्रिक नीति कुल्चँदै निरंकुश बन्न पुगे । यसले के पुष्टि गर्छ भने, कुनै खास घटना वा सञ्जालले बनाएको ‘इमेज’को बलमा उदाउने नेताहरू बिस्तारै ‘डेलिभरी’ भन्दा दम्भ र प्रतिगमनतर्फ मोडिने खतरा रहन्छ ।

वर्तमान सन्दर्भमा रवि लामिछाने र बालेन शाहजस्ता पात्रहरूको उदय पनि पुराना दलप्रतिको वितृष्णाकै परिणाम हो । उनीहरूले जनताका तत्कालीन भावनालाई त समेटेका छन्, तर ती पात्रहरूसँग पनि जनताका आधारभूत समस्या समाधान गर्ने ठोस राजनीतिक विचार र दीर्घकालीन दृष्टिकोणको अभाव देखिन्छ ।

केवल ‘इमेज’ र लोकप्रियताको सहारामा चल्ने राजनीतिले जनतालाई पुनः धोका दिने सम्भावना बलियो रहन्छ । तसर्थ, नवयुवाहरूले सतहको लोकप्रियता र विज्ञापनले बनाएको छविलाई मात्र हेरेर भ्रमित हुनु हुँदैन । विचार र नीतिबिनाको ‘इमेज’ राजनीति अन्ततः लोकतन्त्रका लागि खतरनाक हुन सक्छ । राजनीतिको कसी केवल लोकप्रिय छवि नभई जनताको जीवनमा आउने ठोस परिवर्तन र वैचारिक स्पष्टता हुनुपर्छ ।

गैरराजनीतिक व्यक्तिको आगमन र प्रभाव

नेपाली राजनीतिमा पछिल्लो समय कलाकार, पत्रकार र पूर्वप्रशासकजस्ता गैरराजनीतिक व्यक्तिहरूको आकर्षण बढ्दो छ । मध्यम वर्गले यस्ता ‘इमेज’वादी र ‘पपुलिस्ट’ पात्रहरूलाई रुचाए पनि उनीहरूमा ठोस राजनीतिक वैचारिकी, स्पष्ट दृष्टिकोण र दीर्घकालीन योजनाको अभाव देखिन्छ । राजनीति केवल भौतिक विकास र प्राविधिक डेलिभरी मात्र होइन, यो त मानवीय विकास र सामाजिक न्यायसँग जोडिएको गम्भीर विषय हो ।

संरचनागत जटिलता बुझ्न नसक्ने र केवल लोकप्रियताको पछि लाग्ने शक्तिले जनताका वास्तविक समस्या हल गर्न सक्दैनन् । समानुपातिक सूचीमार्फत राजनीतिमा कब्जा जमाउन खोज्ने यस्ता प्रवृत्तिले दीर्घकालीन रूपमा लोकतन्त्रलाई कमजोर बनाउन सक्छन् । त्यसैले, नयाँ पुस्ताले केवल बाहिरी चमकधमक र छविका भरमा नभई, देशको संकट समाधान गर्न सक्ने स्पष्ट विचार र कार्यक्रम बोकेका नेतृत्वलाई चिन्नु आवश्यक छ । लोकप्रियतामुखी कामले क्षणिक प्रशंसा दिलाए पनि वास्तविक परिवर्तनका लागि राजनीतिक चेत र स्पष्ट दृष्टिकोण नै अनिवार्य सर्त हुन् । यस्तो गम्भीर बहसले मात्र सही नेतृत्व स्थापित गर्न मद्दत पुग्दछ ।

सामाजिक सञ्जाल केन्द्रित राजनीति

नेपाली राजनीतिमा पछिल्लो समय बलियो संगठन र वैचारिक संघर्षभन्दा सामाजिक सञ्जालको उपस्थितिलाई शक्तिको मुख्य स्रोत मान्ने ‘इन्फ्लुएन्सर’ शैली हाबी भएको छ । फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता माध्यमबाट भावनात्मक र लोकरिझ्याइँका मुद्दा उठान गरी मतदाता प्रभावित पार्ने यो नयाँ प्रवृत्तिले प्रत्यक्ष जनसंवाद र नेतृत्वको उत्तरदायित्वलाई ओझेलमा पारेको छ । गहन नीतिगत बहसभन्दा ‘स्टन्ट’ र भीडतन्त्रलाई प्रश्रय दिँदा युवाहरूको आलोचनात्मक चेतमा ह्रास आएको छ ।

विभिन्न दलद्वारा साइबर आर्मी र आईटी सेलको परिचालनले सामाजिक सञ्जालमा चरित्र हत्या र व्यक्तिगत गालीगलौजलाई बढावा दिँदै स्वस्थ राजनीतिक बहसलाई पूर्णतः निषेध गरेको छ । कतिपय नेताले स्थापित कानुन र प्रक्रियाभन्दा माथि भीडको उत्तेजित भावनालाई राख्नुले विधिको शासनमा ठूलो चुनौती थपेको छ । सन् २०२५ को सामाजिक सञ्जाल प्रतिबन्ध र त्यसपछिको युवा आन्दोलनले यस राजनीतिको उत्कर्ष र जोखिमलाई स्पष्ट पारेको छ । अन्ततः इन्फ्लुएन्सर राजनीतिले क्षणिक लोकप्रियता दिए पनि यसले लोकतान्त्रिक मूल्य, संस्थागत स्थिरता र दीर्घकालीन समाधानभन्दा बढी सामाजिक ध्रुवीकरण र अस्थिरता निम्त्याउने गम्भीर खतरा बढाएको देखिन्छ ।

‘इमेज’वाद ः लोकतन्त्र कमजोर बनाउने प्रक्रिया

‘इमेज’वादी वा छवि केन्द्रित प्रवृत्तिले लोकतान्त्रिक मूल्य र समावेशितालाई गम्भीर संकटमा पारेको छ । पुराना दलहरूको असफलतालाई मात्रै अस्त्र बनाएर उदाएका यस्ता नेताहरूसँग स्पष्ट वैचारिक मार्ग र नीतिगत योजनाको अभाव देखिन्छ । एक जना पत्रकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रश्न गरे, ‘समानुपातिकमा सुदूरपश्चिम, कर्णाली र वास्तविक उत्पीडित समुदायभन्दा कलाकार, उद्योगपति र पत्रकारलाई टिकट किन दिइयो ?’ त्यसको जवाफमा सभापति लामिछाने भन्छन्– ‘जब पुराना राजनीतिक दलहरूले आफ्नो काम गर्न सक्दैनन्, तब खेलाडी, कलाकार, पत्रकार र सामाजिक अभियन्ता राजनीतिमा आउँछन् ।’

उनको जवाफमा प्रस्ट रूपमा लोकरिझ्याइँ शैली प्रस्तुत हुन्छ । यसले उत्पीडित क्षेत्र र समुदायको प्रतिनिधित्वलाई नजरअन्दाज गर्दै पुराना दलमाथि मात्र दोषारोपण गर्छ । यसले के प्रस्ट देखाउँछ भने छवि केन्द्रित राजनीतिज्ञसँग आफ्नो स्पष्ट वैचारिक मार्ग छैन, उनीहरूको उदय र मुख्य अस्त्र नै पुराना राजनीतिक दललाई गाली गर्नु मात्र हो ।

सामाजिक सञ्जालको ‘इको चेम्बर’ र ‘अल्गोरिदम’ले नागरिकको आलोचनात्मक चेतलाई नियन्त्रण गर्दै आफू अनुकूलको भ्रमलाई मात्र सत्य स्थापित गराएको छ । सामाजिक सञ्जाल र छवि केन्द्रित नेताहरूको अल्गोरिदम र अभिव्यक्तिले आम मानिसको विचार, आवेग र आक्रोशलाई दिशानिर्देशित गर्ने काम गर्दछन् । जब ‘पपुलिस्ट’ नेताहरूले वैचारिक मार्गभन्दा जनताको आवेग, उत्तेजना र आक्रोशलाई सत्ताको सिँढीका रूपमा प्रयोग गर्न थाल्छन्, तब वैचारिक धरातल कमजोर हुँदै ध्रुवीकरणको अवस्था सिर्जना हुन्छ ।

जब राजनीति विचारको प्रतिस्पर्धा नभई आवेग र ‘हामी वा उनीहरू’ भन्ने कठोर ध्रुवीकरणमा फस्छ, तब लोकतन्त्रको आधारभूत मर्म नै समाप्त हुन्छ । यस्तो राजनीतिले संवाद र सहमतिलाई कमजोरी ठान्दै समाजलाई विभाजनतर्फ धकेल्छ । राज्यका संस्था निष्पक्ष रहनुको सट्टा शक्ति केन्द्रको कब्जामा पुग्दा सार्वजनिक विश्वास क्षीण हुँदै जान्छ । अन्ततः, भावनात्मक उक्साहटको राजनीतिले दीर्घकालीन स्थिरता र राष्ट्र निर्माणको प्रक्रियालाई कमजोर बनाउँदै लोकतन्त्रलाई सहकार्यबाट विमुख गराएर भीडतन्त्रतर्फ उन्मुख गराएको देखिन्छ ।

डिजिटल लोकप्रियता, ‘लाइक’ र ‘भ्युज’ले आज नेताको छवि त निर्माण गरिरहेका छन्, तर ती सूचकहरूले नेतृत्वको क्षमता, नीतिगत समझ र सार्वजनिक जवाफदेहितालाई मापन गर्न सक्दैनन् । नेपालमा बढ्दो ‘इमेज’ राजनीतिले विचार र कार्यक्रमभन्दा व्यक्तित्व, भावनात्मक प्रस्तुति र अनलाइन प्रभावलाई केन्द्रमा राख्दै लोकतन्त्रलाई सतही प्रतिस्पर्धामा सीमित गरिरहेको छ । यस्तो प्रवृत्तिले हामी साँच्चिकै नेता छान्दै छौँ कि केवल ‘इन्फ्लुएन्सर’ भन्ने गम्भीर प्रश्न खडा गरेको छ । अब ‘लाइक’ भन्दा माथि उठेर दीर्घकालीन दृष्टि, संस्थागत प्रतिबद्धता, संवाद गर्न सक्ने क्षमता र सार्वजनिक उत्तरदायित्व बोकेको नेतृत्व छान्ने समय आएको छ । किनकि लोकतन्त्रको भविष्य छविमा होइन, सार्थक र वैचारिक रूपले स्पष्ट नेतृत्वमा निर्भर हुन्छ ।

शिशिर विकले जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully