विषाक्त पुरुषत्वले नमान्ने महिला नेतृत्व

आफू मात्रै शक्तिकेन्द्रित भइरहने र अरूको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति नै विषाक्त पुरुषत्वको असली उदाहरण हो।

माघ २, २०८२

सुनिता मैनाली

Toxic masculinity defies female leadership

What you should know

पितृसत्ताले पुरुषप्रति विशेष अपेक्षा राख्छ । ती अपेक्षा पूरा गराउन पुरुषलाई त्यहीअनुसारको तालिम दिइन्छ अर्थात् समाजीकरण गरिन्छ । यो समाजीकरणले परिवार, समाज र राजनीतिलाई हेर्ने दृष्टि, सोच्ने तौरतरिका, कुनै पनि परिस्थिति वा घटनालाई बुझ्ने प्रक्रिया साथै महिला र उनीहरूको पहिचान, शारीरिक अखण्डता र उत्पादनलाई कसरी हेर्ने भन्ने विषय निर्धारण गर्छ ।

यस्तो समाजीकरण पुरुषहरूको वर्चस्व जोगाइराख्न अत्यन्तै महत्त्वपूर्ण हुन्छ । शक्तिकेन्द्रित यस्ता अपेक्षाले पुरुषलाई विषाक्त पुरुषत्वको दलदलमा फसाउँछ किनकि विषाक्त पुरुषत्व पितृसत्तालाई जोगाइराख्न प्रयोग गरिने मुख्य हतियारमध्ये एक हो ।

यो प्रवृत्तिले पुरुषलाई असीमित शक्ति दिँदा असमान शक्ति सम्बन्धका कारण महिला तथा अन्य पछाडि पारिएका समुदायमाथि असर पर्छ । तर, सबैभन्दा बढी असर पुरुष वर्गलाई नै पर्छ । यसै सन्दर्भमा दक्षिण एसियाली महिलावादी कमला भासिनले एक टेलिभिजन कार्यक्रममा भनेकी थिइन्– विषाक्त पुरुषत्वले पुरुषलाई कठोर, निरंकुश र हिंसात्मक बनाउँछ र उनीहरूको मानवीयता नै हराउँछ ।

सामाजिक न्यायका अभियन्ता तथा लेखक बेल हुक्सले भनेकी छन्– पितृसत्ताले पुरुषबाट माग गर्ने पहिलो हिंसा महिलामाथिको हिंसा होइन, बरु पितृसत्ताले सबै पुरुषलाई मानसिक रूपमा आफ्नै अस्तित्वमाथि क्षति पु‍र्‍याउने कार्यमा संलग्न हुन बाध्य बनाउँछ । 

त्यसैले यो कुनै एक पुरुषकेन्द्रित आलोचना मात्रै होइन, संरचनागत विभेद कायम राख्न पितृसत्तात्मक व्यवस्थाले कसरी पुरुष वर्गलाई समाजीकरणमार्फत विषाक्त बनाउँछ भन्ने विश्लेषण हो । 

महिलावादी लेखक केट मिलेटले पितृसत्तालाई एक राजनीतिक संस्था भनेकी छन् । किनकि यो सत्ता र निर्णय–निर्माणसँग जोडिएको हुन्छ । सत्ता कसले सञ्चालन गर्ने ? नीति–नियम कस्तो हुने ? यसको निर्धारण यही राजनीतिक संस्थाका सञ्चालकले गर्छन् । विशेषगरी धर्म, परम्परा, कथन, मिथक आदि स्रोतका आधारमा समाजीकरणका ‘कक्षा’ सञ्चालन गरिन्छ र यही पितृसत्तात्मक भट्टीबाट सत्ता सञ्चालक उत्पादन हुन्छन् । यो प्रक्रिया व्यक्ति, परिवार र समाज हुँदै राज्यस्तरसम्म फैलिएको हुन्छ । 

अर्की महिलावादी इतिहासकार उमा चक्रवर्तीका अनुसार, धर्ममा आधारित सामाजिक कानुनहरूले महिलालाई नैतिकता र शुद्धताको प्रतीक बनाउँछन् भने पुरुषलाई नियन्त्रक र सत्ताधारीका रूपमा स्थापित गर्छन् । यही कानुनमार्फत समाजीकरण हुँदै सत्ता सञ्चालक वर्ग निर्माण हुन्छ । 

समाजवादी दार्शनिक फ्रेडरिक एंगेल्सले भने पुरुष वर्चस्वलाई व्यक्तिगत सम्पत्तिको स्वामित्वसँग जोडेका छन् । उनका अनुसार, पुरुष वर्चस्व प्राकृतिक वा जैविक होइन, बरु निजी सम्पत्तिको उदयसँगै पैदा भएको सामाजिक संरचना हो । जब समाज सामूहिक स्वामित्वबाट निजी सम्पत्तितर्फ सर्‍यो तब पुरुषहरूले आफ्ना सम्पत्ति आफ्नै सन्तानमा हस्तान्तरण गर्न महिलाको यौनिकता र प्रजननमाथि नियन्त्रण गर्न थाले । यही प्रक्रियाले पितृसत्ता र विषाक्त पुरुषत्वलाई संस्थागत गर्‍यो भन्ने तर्क पनि सुनिन्छ । 

हामीले विषाक्तताको स्रोत र वृद्धि प्रक्रियाबारे चर्चा गर्‍यौं । अब कुरा गरौं– वर्तमान राजनीति र आफूलाई सत्ता सञ्चालक ठान्ने वा ठान्न चाहने व्यक्तिहरूको मनोवृत्ति र उनीहरूभित्रको विषाक्तताबारे । हामी कस्ता नेताको परिकल्पना गर्छौं ? नेताको आकृतिमा कस्तो पात्र देख्छौं ?

यदि नैतिकवान, सबैलाई सम्मान गर्ने, समावेशी, विविधता स्विकार्ने र विशेषगरी ऐतिहासिक विभेदमा पिल्सिएका समुदायको प्रतिनिधि र आवाज बन्न सक्ने नेता भए परिवर्तन सम्भव होला । तर, जुन समाजमा नेतृत्वदायी पद र भूमिकामा पुरुषले नै कब्जा जमाई महिलाको स्थान अतिक्रमण गरेका छन्, माथि वर्णित समाजीकरणको प्रक्रियामा रूपान्तरण नआएसम्म हामीले चाहेको नेता प्राप्त गर्न सकिन्छ त ?

आजको समाजीकरण यस्तो छ जहाँ महिलाहरू जात, वर्ग, लैंगिक पहिचान, यौनिक झुकाव, पहुँच र शारीरिक अवस्थाका आधारमा निरन्तर बहिष्करण, विभेद र हिंसामा परिरहेका छन्, जबकि पुरुषहरू केवल लिंगकै आधारमा शासक र हिंस्रक बनाइँदै छन् । यस्तो समाजीकरण, जहाँ सत्ता मोहभन्दा माथि कोही उठ्न सक्दैन । 

भर्खरै समानुपातिक प्रणालीमार्फत पनि आसेपासे, पैसावाला र पहुँचवालालाई लाजै नमानी चुनियो । भुइँमान्छेको संघर्षबाट आएको व्यवस्थामाथि टेकेर उनीहरूलाई नै विस्थापित गरियो । आफू मात्रै शक्तिकेन्द्रित भइरहने र अरूको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति विषाक्त पुरुषत्वको दरिलो उदाहरण हो । 

केही दिनअघि ‘कान्तिपुर’ दैनिकले केही नेताका हिंसात्मक अभिव्यक्तिहरू सार्वजनिक गरेको थियो । ती अभिव्यक्तिमा काट्ने, मार्ने, जलाउनेजस्ता प्रतिशोध र घृणाले भरिएका भरमार शब्दहरू थिए । युवा नेता बालेन शाहको सिंहदरबार जलाउने फेसबुक स्टाटस, एमालेका नेता महेश बस्नेतको ‘कि मलाई खुकुरीले रेट, कि रेटिन तयार होऊ’ भन्ने अभिव्यक्तिले हजारौं युवालाई आक्रोशित बनायो । र, यस्ता अभिव्यक्ति पुरुषका लागि स्वाभाविक हुन् भन्ने भाष्यलाई झन् बलियो बनायो । 

अझ आफ्नो रिस पोख्दा महिलाद्वेषी अभिव्यक्ति युवा पुस्ताकै मुखबाट सुनिए । उदाहरणका लागि आफूलाई जेन–जी अभियन्ता दाबी गर्ने सुदन गुरुङले ‘हामी चुरा लगाएर बसेका छैनौं’ जस्ता महिलालाई होच्याउने अभिव्यक्ति दिएका थिए । यसले देशको वर्तमान अवस्था र महिलाको स्थिति किन यस्तो छ भन्ने स्पष्ट पार्छ । नेताहरूको सोच र अभिव्यक्तिअनुसारै राजनीतिक वातावरण बन्छ र समाजमा विद्यमान मान्यता तथा हाम्रो समाजीकरणले पुरुष नेताको व्यवहार निर्धारण गरेको हुन्छ ।

झन् अचम्मको कुरा के छ भने चाहे वृद्ध होस् या युवा, शिक्षित होस् वा अशिक्षित– महिलाप्रतिको व्यवहार र दृष्टिकोणमा खासै तात्विक भिन्नता देखिँदैन । सामाजिक सवालहरू बुझ्ने र विश्लेषण गर्ने तौरतरिकामा पनि ठूलो दूरी छैन । त्यसैले समाज रूढिवादी नै रहने तर नेता परिवर्तनकारी चाहिने हाम्रो चाहना र यथार्थबीच ठूलो खाडल छ । यस्तो सोच भएका युवा तथा परम्परागत भनिएका नेताहरूले कस्तो विकास गर्लान् ?

विषाक्त पुरुषत्व समाजले निर्माण गरेको यस्तो सोच र व्यवहारको ढाँचा हो, जहाँ आक्रामकता, हिंसा र प्रभुत्वलाई ‘पुरुषत्व’ को प्रतीक मानिन्छ । यसले भावनात्मक संवेदनशीलता, हेरचाह र सहानुभूतिलाई कमजोरी ठान्छ ।

महिला तथा लैंगिक र यौनिक अल्पसंख्यकमाथि नियन्त्रणलाई स्वाभाविक ठान्छ र शक्ति, अधिकार तथा निर्णय गर्ने स्थानलाई पुरुषको स्वाभाविक हकझैं प्रस्तुत गर्छ । र, महिलाको नेतृत्व स्विकार्दैन । महिला सहभागितालाई भोट र चुनावमा सिट बढाउने प्रयोजनका लागि मात्रै हेरिन्छ । पितृसत्तात्मक राज्य व्यवस्थामा महिलाहरू सहज तरिकाले नेतृत्वमा पुग्दैनन् । जटिल र बाध्यात्मक अवस्थामा महिला नेतृत्व भूमिकामा विरलै रहे पनि त्यो अपवादका रूपमा मात्रै छ । किनभने अहिलेसम्म पनि महिलाको नेतृत्वको अधिकार संस्थागत हुन दिइएको छैन । 

यो सोच महिलाको शरीरमाथिको नियन्त्रणमा मात्रै सीमित हुँदैन । यसले लोकतान्त्रिक व्यवस्था र सार्वभौमिकतामाथि पनि आक्रमण गर्छ । शक्तिकेन्द्रित, उपनिवेशवादी र विस्तारवादी नीति अँगाल्छ । विश्वभरै विषाक्त पुरुषत्वले लैंगिक हिंसा, सैन्यकरण, अधिनायकवादी नेतृत्व र प्राकृतिक दोहनमुखी आर्थिक मोडेललाई पोषण गरिरहेको छ । युद्ध सम्मान र शक्तिका नाममा लडिन्छन् । गाजा, भेनेजुएलालगायत विश्वका धेरै देशमा कथित शक्ति राष्ट्रहरूले यही अभ्यास गरिरहेका छन् । विषाक्तता लोकतन्त्रमाथिकै खतरा हो । त्यसैले पितृसत्ता विश्वव्यापी छ– यो सिधै सत्तासँग सम्बन्धित छ । 

हालैको जेन–जी आन्दोलनमा सबैको सहभागिता र बलिदान हुँदाहुँदै पनि केही व्यक्तिलाई केन्द्रमा राख्नु, महिलाको योगदानलाई छायामा पार्नु, राजनीतिक निर्णय प्रक्रियामा महिलाको सहभागिता शून्य बनाउनु, सामाजिक सञ्जालमा पुरुषमय देवत्वकरणमार्फत घृणात्मक अभिव्यक्तिलाई बढावा दिनु र वैचारिक बहसलाई शून्यतामा पु‍र्‍याउनु, यी सबै विषाक्त पुरुषत्वका प्रभावहरू हुन् ।

यस्तो अवस्थामा संविधानप्रदत्त अधिकारहरू कसरी सुनिश्चित होलान् ? अहिलेसम्मका बलिदान र संघर्षले ल्याएका उपलब्धि कसरी जोगिएलान् ? र, जेन–जी आन्दोलनले देखेको समानता, समृद्धि र भ्रष्टाचारमुक्त समाज कसरी निर्माण होला ?

आज संसारैभर बढिरहेको हिंसा, असमानता, पर्यावरणीय विनाश, राजनीतिक अस्थिरता र भ्रष्टाचारलाई महिलावादी दृष्टिकोणबाट हेर्दा यी संकटहरू अलग–अलग वा संयोगवश उत्पन्न भएका होइनन् । यी सबै संकट पितृसत्तात्मक शक्ति संरचनाभित्र सामान्यीकृत विषाक्त पुरुषत्व र नेतृत्वसँग गहिरो रूपमा जोडिएका छन् । 

तसर्थ, नेताहरू सच्चिनु जरुरी छ । चुनावका चर्का नारामा मात्रै सीमित नरही आफ्नाभित्र रहेको विषाक्त पुरुषत्वको पहिचान गरी आत्मआलोचनासहित स्व–रूपान्तरणको यात्रामा आजैबाट लाग्नु आवश्यक छ । नसच्चिए हिंसात्मक प्रवृत्तिका व्यक्तिलाई मतदान गर्नु हाम्रो अर्को ठूलो गल्ती हुनेछ । 

कल्पना गरौं– पितृसत्ता भत्किएको त्यो दिन, जहाँ सबै नागरिकले समानताको सास फेर्न सक्नेछन । यो सम्भव छ, यदि हामीले समाज रूपान्तरणको अभियान सशक्त रूपमा चलायौं र सही व्यक्तिलाई निर्वाचित ग‍र्‍यौं भने । त्यसैले आजको समयको अपरिहार्यता हो– महिलावादी नेतृत्वको सर्वस्वीकार्यकता । किनभने यस्तो नेतृत्व रूपान्तरणकारी हुनेछ, जसले सबै प्रकारका असमान शक्ति–सम्बन्धमाथि चुनौती दिनेछ अनि देशमा जनमुखी लोकतन्त्र र सुशासन कायम गर्छ ।

सुनिता मैनाली मानवअधिकारकर्मी हुन् ।

Link copied successfully