कांग्रेसको अपरिहार्य विभाजन

सार्वजनिक रूपमै धक नमानी भन्न सकिने के हो भने ‘देश बनाउाछु’ भन्ने त धेरै छन्, तर कसरी बनाउने भनेर एउटा भिजनमा प्रस्टता भएका नेता अहिलेको समयमा गगन मात्र छन् ।

माघ २, २०८२

विष्णु सापकोटा

The inevitable split in Congress

What you should know

व्यवहारिक हिसाबमा फुटेकै भए पनि प्राविधिक भाषामा अहिलेलाई कांग्रेस विभाजित भएको छ मात्र भन्दा पनि भयो । पुस मसान्तमा के भएको हो, सबैलाई थाहा छ र यस घटनालाई कानुनी रूपमा के भन्ने भनेर निर्वाचन आयोग र सम्भवतः अदालतको व्याख्यालाई पर्खनुपर्छ भन्ने पनि धेरैलाई थाहा छ ।

नेपालको सार्वजनिक विमर्शको वृत्त कहिलेकाहीं नहुनुपर्ने ठाउँमा बढ्ता विनयी हुन्छ जस्तो लाग्छ मलाई । जता पनि विनयी हुन खोज्दाको जोखिम के हुन्छ भने मान्छेहरू सबैतिर सतही हुन्छन् । उनीहरूले विषयलाई इतिहासको आलोकमा, एउटा राजनीतिक दृष्टिकोण बनाएर हेर्न जान्दैनन् । 

त्यसैले कतिपय विनयी–सतहीहरूले भनेका छन्, ‘जे भए पनि नेपाली कांग्रेस विभाजित हुनु राम्रो भएन ।’ रुखो शब्दमा भन्ने हो भने यसो भन्नु कुनै दृष्टिकोण नै होइन । किनकि यसले त्यसो भए कांग्रेसमा के हुनुपर्थ्यो त भनेर केही भन्दैन । आज मैले ३० पुसको कांग्रेस घटना किन नेपाली समाज र राजनीतिक आन्दोलनले लिएको एक लिनैपर्ने ‘डिपार्चर’ थियो भनेर यस विषयलाई हेरिनुपर्ने हाम्रो सामाजिक दृष्टिकोण के हुनुपर्छ भनेर चर्चा गर्नेछु । र, यो घटना कांग्रेसबाहिरका अरू राजनीतिक मोर्चाका वर्तमान स्थिति र बृहत् नेपाली समाजको बहावसँग कसरी जोडिन्छ भनेर केही विचारहरू राख्नेछु ।

त्यस क्रममा मैले शेरबहादुर देउवा र उनको वरिपरिका दुई/चार जनामाथि व्यक्तिगत टिप्पणी पनि गर्नेछु, केपी ओलीको एमालेलाई यो सबैको अर्थ के हुनेछ भनेर छुनेछु, बालेन शाह र रवि लामिछानेले अहिले के सोचेको हुनुपर्छ भनेर केही भन्नेछु र निर्वाचन आयोगले यस विषयलाई कसरी हेर्नुपर्छ भनेर राजनीतिक सल्लाह दिनेछु ।

यस विषयमा दृष्टिकोण बनाउनका लागि पहिले छोटकरीमा २३ र २४ भदौलाई कसरी बुझ्ने भन्ने महत्त्वपूर्ण हुन्छ । भदौ विद्रोहमा हाम्रो समाज किन त्यत्रो आवाज निकालेर विस्फोट भएको थियो भने नेपाली समाजको ऊर्जावान् नयाँ पुस्ता र राजनीतिको दृष्टिकोणका हिसाबले वृद्ध र ‘डेलिभरी’ का हिसाबले अशक्त पुस्ता बस्न त एउटै देशमा बस्थे तर उनीहरूले बाँच्ने र बुझ्ने समय फरक थिए ।

राजनीतिक दलका पुराना पुस्ताका नेतृत्व तहमा बसेका व्यक्तिको भन्दा समाजको चेतना निकै अगाडि बढेको थियो । एकातिर बौद्धिक चेतनामा ‘ब्याक्वार्ड’, अर्कोतिर देशका सम्पूर्ण बेथिति र कुशासनका सूत्रधार, तैपनि देश फेरि यिनै मुठ्ठीभर दुई–चार जनाका कब्जामा रहने स्थिति । त्यसलाई बदल्नुपर्छ भनेर भएको त होइन त्यो स्वःस्फूर्त सामाजिक विस्फोट ? अनि, कुनै ठूलो रूपान्तरणका लागि एउटा ‘डिपार्चर’ लियो भने न गन्तव्यमा पुगिने हो । कांग्रेसको यो विद्रोह त्यही बृहत् रूपान्तरणका लागि एउटा प्रस्थानबिन्दु हो ।

एउटा राजनीतिक संगठन र अभियानका रूपमा कांग्रेसले लिएको जेन–जी विद्रोहको मागको यो संस्थागत अपनत्व हो । समाज र उसका अपेक्षा बदलिएका थिए, हाम्रो दलीय दृष्टि र क्षमता बदलिएको थिएन भनेर स्वीकार गरेको हो ।

कांग्रेसमा अहिले यो विद्रोह नभएको भए शेरबहादुर मात्र होइन, हाम्रा राजनीतिक संगठनहरू अझै पनि केपी ओली र पुष्पकमल दाहालहरूकै लायक छन् भनेर धेरैले स्विकारेको अर्थ लाग्ने थियो । विशेष महाधिवेशनले नयाँ नीति र नेतृत्व नचुनेको भए, वैकल्पिक शक्तिका रूपमा उदाउन प्रतिस्पर्धामा उत्रेका बालेन शाह र रवि लामिछानेलाई थप निखारिनुपर्ने केही आवश्यकता नै हुने थिएन । 

अब शेरबहादुरबाट सुरु गरेर क्रमशः अगाडि बढौं । उनीसँग अब के बाँकी छ ? नेपाली कांग्रेसको सात दशकको इतिहासमा उनी जति कलंकित, अयोग्य प्रधानमन्त्री र सभापति कहिल्यै कोही भएको थियो ? उनको पालामा जति यो देशमा बेथिति प्रजातन्त्रकालमा अरू कसको समयमा भएको थियो ? उनको आफ्नै क्षमताले भन्दा पनि गिरिजाप्रसाद कोइरालासँग भाग नपाएर रिसाएकाहरूको समूह एकत्रित हुँदाहुँदै इतिहासको दुर्घटनाले मात्र उनी नेपाली कांग्रेसको सभापति बनेका होइनन् ?

यो सबै भएर पनि, उनी अझै पनि केही महिनाका लागि कांग्रेसको सभापति पदमा झुन्डिन पर्नुको कारण माघ ६ गते आफूले भनेअनुसार निर्वाचनको टिकट दिन पाउनुबाहेक अरू केही थियो ? अनि आफैंले टिकट बाँड्नुको अर्थ आगामी निर्वाचनबाट कांग्रेसका तर्फबाट आफैं प्रधानमन्त्रीको उम्मेदवार हुने लोभबाहेक अरू केही थियो ? र, उनी कांगेसको सभापति भइराख्नुपर्ने एउटा मात्र राजनीतिक कारण अहिलेसम्म बाहिर कतै आएको थियो ? के पाउन बाँकी थियो यो देशले उनीबाट ? उनी अझै पनि फेरि प्रधानमन्त्री भएर यो देशका लागि एउटा यस्तो केही गर्छु भनेर भनेको कसैले कतै सुनेको थियो ?

यी सबै प्रश्न देउवालाई हुँदै होइन । उनी त प्रश्नका लायक पनि छैनन् । यी प्रश्न ३० पुसमा सानेपामा उपस्थित शेरबहादुरका पूर्णबहादुर खड्का र विमलेन्द्र निधिलगायतका उच्चस्तरीय शिष्य, शेखर कोइराला र उनको देउवासेवी समूहका लागि हो । जाँगर छ भने माथिका प्रश्नहरू फेरि एक पटक पढ्नुहोस् । किन पढ्नुहोस् भने यो विषय तपाईंले गरेको राजनीतिभन्दा अझ गहिरो, तपाईंहरूका निजी आत्मसम्मानसँग जोडिएका छन् ।

तपाईं किन राजनीतिमा हुनुहुन्छ र त्यसो गर्दा तपाईंले कतै अञ्जानमा देश र लोकतन्त्रका लागि काम गर्छु भन्दाभन्दै थाहै नपाई त्यसको उल्टो त गर्नुभएको छैन भन्नेसँग जोडिएको छ । होइन भने, बहुमत प्रतिनिधिले विशेष महाधिवेशन मागेका छन् भन्ने जान्दाजान्दै तपाईं त्यस प्रक्रियाको विरुद्ध उभिनु भएपछि तपाईंहरू कसको सेवामा हुनुहुन्थ्यो भनेर समाजले तपाईंहरूको व्यक्तित्वको पतन भएको मूल्यांकन गरेको छैन र ?

हो, ठीक यही कारण नै विशेष महाधिवेशन अगाडि बढ्नैपर्ने थियो । यदि पुरानो संस्थापनसँग कुनै सम्झौता भएर महाधिवेशनले नयाँ नेतृत्व नचुनेको हुन्थ्यो भने, आगामी पाँच वर्ष पनि प्रस्ट रूपमा त्यो कांग्रेस देउवाको अधीनस्थ हुन्थ्यो । अस्ति सानेपामा जम्मा भएका, स्वतन्त्र चेत गुमाइसकेका र त्यस्तो भएको थाहै नपाएको जमातले फेरि पनि कांग्रेसभित्रको नयाँ आवाज र भिजनलाई दबाउने नै थियो ।

त्यसैले मैले गरेको तर्क के हो भने, त्यस्तो देउवा अधीनस्थ कांग्रेस सग्लो रहँदा देशलाई पनि र लोकतान्त्रिक सुशासनका लागि पनि झनै हानिकारक हुने थियो । अब रह्यो पूर्णबहादुरको कुरा । यिनको एउटा मात्र योग्यता भनेको यिनको अयोग्यता थियो । त्यही कारण देउवाले ढुक्कसँग यिनलाई कार्यवाहक दिएका थिए किनकि देउवालाई थाहा थियो त्यसो गर्दा उनले केही दिएकै हुँदैनथ्यो ।

पचासको दशकमै, तिनै देउवाको मन्त्रिमण्डलमा गृहमन्त्री भएदेखि सत्ता दृश्यमा रहिरहेका यिनीसँग कांग्रेसको नेतृत्व किन गर्ने भन्नेमा केही भिजन थियो होला ? सुन्नको लायक नभएर पो हो कि, मैले त सुनेको छैन । यदि गगन थापा र विश्वप्रकाश शर्माले देउवासँग सम्झौता गरेर यी पूर्णबहादुरलाई सभापति मानेको भए, सारमा त्यो पनि कुनै रूपान्तरणको प्रस्थानबिन्दु हुनै नै थिएन ।

जहाँसम्म शेखर कोइरालाको विकल्प थियो, उनी व्यक्तिगत मिजासमा भलाद्मी छन्, जुन राम्रो हो । तर दुर्भाग्यवश उनी राजनीतिक भिजन र क्षमताका हिसाबमा पनि भलाद्मी मात्र छन् । न त्यहाँ कुनै दृष्टिकोण छ, न त कुनै जुझारुपन । उनको एउटा मात्र राम्रो के हो भने उनी कोइरालाका अरू दुई शशांक र सुजाताभन्दा सद्दे छन्, तर त्योभन्दा बढी मैले राजनीतिक रूपमा केही देख्दिनँ । उनको जुन ‘प्राइम’ थियो, त्यो यसअघि देउवासँग प्रतिस्पर्धा गरेको बेला थियो ।

विशेष महाधिवेशनताका उनले प्रदर्शन गरेको हानिकारक दोधार र अन्त्यमा देउवासँग भएको विलयबाट अब उनी भूतपूर्वमा गइसके । नेतापुत्रमध्ये आफ्नै इतिहास भएका विमलेन्द्र निधि थिए तर अहिलेका निधिलाई सुन्दा पहिले समाजले चिनेको व्यक्ति यी होइनन् नै भन्ने लाग्छ । कांग्रेस जस्तो थियो, त्यसरी नै रहनु, तिनै अनुहारबाटै अनुत्साह जगाउने वृद्ध संस्थापनको नियन्त्रणमा देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी जड भएर रहनु समग्रमा देशकै लागि नराम्रो हुने थियो ।

नयाँ नेतृत्वको कांग्रेसले जेन–जी समूहकै ठूलो पंक्तिमा आशा सञ्चार गरिसकेको छ । अरू अरू पुस्तामा पनि त्यो आशा सरेको छ । आशा जागृत हुनु मात्रको पनि नेपाली समाजमा अहिले ठूलो अर्थ छ । कम्तीमा एउटा प्रतिबद्ध र उत्साही प्रयास देशलाई कुनै सुन्दर गन्तव्यमा पुर्‍याउँछु भनेर स्टेसनबाट प्रस्थान गरेको छ । 

त्यसो भए, गगन–विश्वको विद्रोहबाट बनेको कांग्रेसले अरू पार्टीका लागि के अर्थ राख्छ त ? सुरुवात एमालेबाट गरौं । वास्तवमा अध्यक्षमा पहिलो पटक निर्वाचित भएर आएपछि ओलीले एमालेमाथि जे गरे, त्यो एक नेपाली वाम राजनीतिकै मात्र दुखान्त नभएर देशकै पनि हुन गयो । लोकतान्त्रिक पद्धतिबाट एउटा मध्यवामपन्थी पार्टी प्रतिस्पर्धामा रहिरहनु नेपाल जस्तो अर्थ–सामाजिक व्यवस्थाको देशका लागि सकारात्मक नै हुने थियो होला । त्यसैले, कुनै पनि ‘सेन्सिबल’ नागरिकका लागि एउटा प्रमुख वाम दल यस्तो नेतृत्वमा पुग्नु र उसले जे–जस्ता विसंगतिलाई बोकेर हिँडेको छ, त्यो देख्नु पीडादायी छ ।

त्योभन्दा बढी पीडादायी त पञ्चायतकालमा त्यत्रो जोखिम उठाएर देश बदल्छु भनेर हुंकारका साथ हिँडेका कमरेडहरू अहिले ओलीमा ‘राजनेता’ देखेर खुम्चिएको परिदृश्य छ । त्योभन्दा पनि थप विडम्बना भनेको त एमालेमा भविष्यका गगन र विश्वहरू समेत अहिलेसम्म देखिन सकेका छैनन् । तर गगन र विश्वको विद्रोहले एमालेभित्र सुषुप्त रूपमा ‘हुनुपर्ने त हाम्रोमा पनि यस्तै हो’ भन्नेहरूको संख्या ठूलै छ जस्तो लाग्छ ।

कांग्रेसको विद्रोह र नयाँ नेतृत्व चयनले ओली र उनको वरिपरिकालाई पिरोलिसकेको छ । शेरबहादुर–पूर्णबहादुरको कांग्रेससँग पो प्रतिस्पर्धा गर्न सजिलो थियो, अब छैन । उनीहरूको आशा अझै केमा होला भने निर्वाचन आयोगले पुरानै कांग्रेसलाई मान्यता दिओस् ताकि चुनावमा पनि सजिलै तालमेल गर्न सकियोस् । ओलीले कसरी आफूलाई नै ‘राज्य हुँ’ जस्तो गर्थे भन्ने भदौसम्म देखिएकै थियो ।

संवैधानिक रूपमा स्वायत्त भए पनि हाम्रा आयोगहरू आफूलाई नियुक्ति दिनेहरूप्रति कसरी मरणोपरान्त बफादार रहन्छन् भन्ने यसअघिका निर्वाचन आयोगकै केही पदाधिकारीबाट देखिएको छ । ओली र देउवा मिलेर आयोगमा पार्न खोज्ने अनुचित प्रभावका बारे नेपाली समाजले चनाखो गरी हेरी नै राख्नेछ जस्तो लाग्छ । सकारात्मक के भएको छ भने भर्खर महाधिवेशन सकेको एमालेमा महाधिवेशन पहिलेभन्दा पछि बढी उकुसमुकुस छँदै थियो ।

गगन–विश्वको पुस्ता र उनीहरूको क्षमतासँग प्रतिस्पर्धा गर्ने वैचारिक र डेलिभरीको क्षमता अहिलेको एमाले नेतृत्वसँग छैन भन्ने बुझेका पार्टीभित्रका बचेखुचेका जुझारु पंक्ति केही सशक्त भएर आउन सक्छन्, जुन एमाले स्वयंका लागि राम्रो हो ।

सबैभन्दा रोचक त एकातिर बालेन शाह र रवि लामिछाने र अर्कोतिर गगन थापा नेतृत्वको नयाँ पुस्ताको कांग्रेसको परिदृश्य छ । नेपाली समाजको ठूलो पंक्ति यो देखेर उत्साहित भएको हुनुपर्छ । निरंकुश शासनका बेला लोकतान्त्रिक अधिकारको लडाइँमा धेरै नेता भएर ननिस्कन सक्छन् । तर लोकतान्त्रिक ‘फ्रेमवर्क’ भएको अधीर समाजमा बेलाबेलामा थरीथरीका नेताहरू विकल्प भएर उदाउन सक्छन् । जनताको ठूलो हिस्साले तिनीहरूमा आशा देख्न सक्छ ।

बालेन शाह प्रधानमन्त्री भए भने यो देशलाई कसरी सुशासन र समृद्धितर्फ लैजाने हुन् भन्ने कसैलाई केही थाहा छैन । तर हाम्रो समाजको यथार्थ के हो भने बालेन आए हुन्थ्यो भन्ने धेरै छन् । अर्कोतिर, सार्वजनिक रूपमै धक नमानी भन्न सकिने के हो भने ‘देश बनाउँछु’ भन्ने त धेरै छन्, तर कसरी बनाउने भनेर एउटा भिजनमा प्रस्टता भएका नेता अहिलेको समयमा गगन मात्र छन् । सायद बालेनलाई पनि त्यो थाहा छ, रवि लामिछाने र स्वर्णिम वाग्लेहरूलाई त पहिल्यै थाहा थियो ।

यी दुइटा पक्षको स्वस्थ प्रतिस्पर्धाले समाजलाई राम्रो के हुन सक्छ भने राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसमा पनि खास गरी उसका प्रधानमन्त्रीका उम्मेदवार बालेन आफ्नो भिजन र ‘कन्टेन्ट’ सहित चुनावी अभियानमा जाऊन् । त्यसो नगरी उनले किन सुख नपाउलान् भने, गगन नेतृत्वको कांग्रेससँग अब ‘कन्टेन्ट’ छ, व्यक्तित्वमा विश्वसनीयता छ र देउवाको इतिहासको भारी छैन । त्यसैगरी, गगनले रास्वपाबाट सिक्नुपर्ने भनेको कसरी आफ्नो नेतृत्वको कांग्रेस पुरानो सडेगलेको पार्टी होइन भनेर ‘ब्रान्डिङ’ गर्ने ? किनकि अहिलेसम्म बालेन एक ब्रान्ड मात्र न हुन् । 

निष्कर्षमा, नेपाली कांग्रेसको विद्रोह एउटा पार्टीको विषय त हो तर यसको सन्दर्भ नेपाली समाजले खोजेको नयाँ राजनीतिक प्रस्थानबिन्दु हो । नयाँ समाजलाई नयाँ समयचेतअनुसार डोर्‍याउने राजनीतिक संगठन भइदिऊन् भन्ने आकांक्षा हो । यस घटनाले पैदा गरेका तरंगले बृहत् समाजलाई छोएको छ । ती तरंगहरू अझ बढी अन्यत्र पनि झंकृत हुनुपर्नेछ । त्यो एमालेमा हुनुपर्नेछ, कुनै मुद्दामा रास्वपामै हुनुपर्नेछ । यो विद्रोह जुन सन्दर्भमा भयो, यसको अर्थ त्यसको समयमा खोजिनुपर्छ । एउटा दलको सन्दर्भ भए पनि, यसलाई समाज अघि बढ्न खोजेको एउटा राजनीतिक उकुसमुकसको अभिव्यक्ति भनेर बुझिनुपर्छ ।

अब रह्यो निर्वाचन आयोगबाट गगन नेतृत्वको कांग्रेसले मान्यता पाउला कि के गर्ला भन्ने । त्यसमा मेरो सुझाव के छ भने, यदि बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित थिए भने, त्यसमा दायाँबायाँ अरू केही हेरिनु हुँदैन । महाधिवेशन सुरु भइसकेपछिको केन्द्रीय समितिको बहुमत हेर्नेतर्फ लाग्नु राजनीतिक बेइमानी हुनेछ ।

हाम्रा दलका विधानमा छिद्र होलान्, दलसम्बन्धी कानुनमै ‘ग्रे एरिया’ होलान् । यदि कहीँ प्रस्टता छैन र व्याख्या गर्ने खण्ड आइपर्‍यो भने आयोगले सामाजिक स्वीकार्यता र मुद्दाको वैधता कता छ, त्यो हेरेर गर्नुपर्छ । ‘सानो’ पदबाट समाजको ठूलो रूपान्तरणलाई योगदान दिने सौभाग्य जीवनमा कहिलेकाहीं कसै कसैलाई प्राप्त हुन सक्छ ।

विष्णु सापकोटा

Link copied successfully