सडकको आन्दोलनलाई आफ्नो व्यक्तिगत करिअर बनाउने र सहिदको रगतमाथि टेकेर सत्ताको विलासिता उपभोग गर्नेहरूलाई यो पुस्ताले माफी दिने छैन ।
What you should know
नेपाली राजनीतिको इतिहासमा भदौ २३/२४ को आन्दोलन केवल क्यालेन्डरको कुनै सामान्य मिति वा सडकको भीड थिएन । त्यो त दशकौंदेखि गुम्सिएको कुण्ठा, कुशासनको पिँजडा र राजनीतिक सिन्डिकेटको पर्खाल भत्काउन निस्किएको ज्वालामुखी थियो । त्यो विद्रोह नेपाली राजनीतिको दुश्चक्र तोड्ने, असक्षम–भ्रष्ट नेतृत्वलाई कठघरामा उभ्याउने र सत्ताको बागडोर साँचो अर्थमा नयाँ पुस्तालाई सुम्पिने एउटा ऐतिहासिक महाअभियान थियो ।
तर, इतिहास निर्माण गर्ने त्यो स्वर्णिम अवसरको डिलमा उभिएर आज पछाडि फर्किंदा जुन दृश्य देखिंदै छ– त्यो निकै पीडादायी, विडम्बनापूर्ण र हृदयविदारक छ ।
एक सचेत नागरिक र परिवर्तनको अग्रदूत मानिएको जेन–जीको आँखाबाट नियाल्दा आज हामी गम्भीर प्रश्नको घेरामा उभिएका छौं, आखिर हामी कहां चुक्यौं ? यो प्रश्न केवल राजनीतिक होइन, यो नैतिक र अस्तित्व रक्षाको हो । यो आन्दोलनको सबैभन्दा ठूलो सौन्दर्य र शक्ति यसको स्वतःस्फूर्तता थियो ।
कुनै दलको ह्विपबिनै, कुनै नेताको आदेशबिनै सडकमा ओर्लिएको त्यो जनसागर आफैंमा एक विस्मयकारी परिघटना थियो । तर, कालान्तरमा त्यही शक्ति नै हाम्रो सबैभन्दा ठूलो कमजोरी सावित भयो । आन्दोलनको राप र ताप सेलाउन नपाउँदै जेन–जी जसरी विभिन्न गुट, उपगुट र स्वार्थ–समूहमा विभाजित भए, त्यो नै हाम्रो रणनीतिक पराजयको प्रस्थानबिन्दु बन्यो ।
निःसन्देह, कुनै एक संगठित संरचनाले नेतृत्व नगरेको आन्दोलनमा विचारको विविधता हुनु र फरक–फरक स्थानमा उभिनु अस्वाभाविक होइन । लोकतन्त्रमा मतभिन्नता स्विकार्य हुन्छ । सुरुवाती चरणमा साझा स्वार्थका मुद्दामा देखिएको अभूतपूर्व एकताले जुन आशा जगाएको थियो, त्यसलाई हामीले संस्थागत गर्न सकेनौं । जब नेतृत्व लिने र आन्दोलनलाई निकास दिने समय आयो, तब वैचारिक स्पष्टताभन्दा व्यक्तिगत महत्त्वाकांक्षाको लडाइँ सुरु भयो । साझा एजेन्डामा सामूहिक सौदाबाजी गर्नुको सट्टा, आ–आफ्नो डम्फु बजाउँदै हिँड्दा आन्दोलनको मूल मर्ममाथि नै प्रहार भयो । हामीले बिर्सियौं कि भीड जतिसुकै ठूलो भए पनि त्यसलाई सही दिशा दिने कम्पास भएन भने त्यो भीड केवल अराजकतामा परिणत हुन्छ ।
सबैभन्दा उदेकलाग्दो र दुःखद पक्ष त तब सतहमा आयो, जब आफूलाई जेन–जीका स्वघोषित मसिहा ठान्ने पात्रले नै विकल्पहीन बाटो रोजे । हिजो सडकमा घाँटी सुक्ने गरी जुन दल, जुन प्रवृत्ति र जुन नेताहरूको विरुद्धमा रगत उम्लिने नारा लगाइएको थियो, आज तिनै दलको दैलोमा केन्द्रीय सदस्यको पद थाप्न र चुनावी टिकटको दौडमा लामबद्ध हुन हाम्रा साथीहरूलाई कुनै संकोच लागेन ।
व्यवस्था बदल्न निस्केकाहरू अवस्था बदल्न नपाउँदै पदको ‘बार्गेनिङ’मा लिप्त हुनु भनेको आन्दोलनको भावनामाथि गरिएको भद्दा मजाक हो । यो प्रवृत्तिले समाजमा एउटा गम्भीर प्रश्न उब्जाएको छ– के विद्रोहको उद्देश्य पुराना र चाउरी परेका अनुहारको भीडमा केही नयाँ र चिल्ला अनुहार थप्नु मात्रै थियो ? के हामीले लडेको लडाइँ केवल कुर्सी साटासाटका लागि थियो ? जब क्रान्तिकारी भनिनेहरू नै यथास्थितिवादीको मतियार बन्छन्, तब विश्वासको संकट गहिरो भएर जान्छ ।
वैकल्पिक र नयाँ भनिएका दलहरूले जेन–जीका नाममा जसरी अवसरको वितरण गरे– त्यो झनै विभेदकारी, अन्यायपूर्ण र सामन्ती सोचबाट ग्रसित देखियो । यहाँ जेन–जीको परिभाषालाई नै संकुचित बनाइयो । नयाँ दलहरूको व्यवहार हेर्दा लाग्छ, उनीहरूको नजरमा जेन–जी आरक्षण वा अवसर भनेको केवल सम्भ्रान्त वर्गका लागि सुरक्षित कोटा हो ।
के नेपालमा राजनीति गर्न, नेतृत्व लिन र देश बनाउन विदेशी विश्वविद्यालयको महँगो डिग्री र बलियो पुर्ख्यौली सम्पत्ति नै अन्तिम योग्यता हो ? समान पहुँच, समानता र भ्रष्टाचार अन्त्यका लागि दूरदराजका गाउँ–बस्तीबाट आएका, धूलो–मैलोमा हुर्किएका र सडक संघर्षमा प्रहरीको लाठी खाएका भुइँमान्छेका छोराछोरीलाई किनारा लगाउने काम भयो ।
जसरी सुकिला–मुकिला, अंग्रेजी फरर बोल्ने र पहुँचवालालाई काखी च्याप्ने काम भयो, यसले नयाँ दलहरूको नियतमाथि गम्भीर प्रश्न खडा गरेको छ । यो प्रवृत्तिले सामाजिक न्यायको धज्जी मात्रै उडाएको छैन, राजनीतिलाई पुनः हुनेखाने वर्गको निजी बिर्ता बनाउने चेष्टा गरेको छ । के गरिब, मजदुर र किसानका छोराछोरीले सधैं सडकमा टायर मात्रै बाल्नुपर्ने ? अनि सत्ताको तर मार्न चाहिँ डिग्रीधारी सम्भ्रान्तहरू मात्रै आउनुपर्ने ? यो कस्तो नयाँ राजनीति हो ?
आजको यो स्वार्थप्रेरित लुछाचुँडी र पदको लोभ देख्दा ती महान् सहिदप्रति गहिरो आत्मग्लानि हुन्छ, जो परिवर्तनको सपना आँखामा सजाएर सदाका लागि अस्ताए । हामी, जो बाँचेका छौं– आज ऐनामा आफ्नै अनुहार हेर्दा आफैंलाई प्रश्न गर्न बाध्य छौं, के साथीहरूले यसैका लागि आफ्नो अमूल्य जीवन आहुति दिएका थिए ?
सडकमा रगत बगाउने, अंगभंग हुने र जेलनेल भोग्ने वास्तविक योद्धाहरू आज पनि सडकमै अलपत्र छन् । उनीहरूको घाउमा मल्हम लगाउनु त परको कुरा, तिनलाई चिन्ने पनि कोही छैन । तर, तिनै सहिदको रगत र घाइतेको पसिनालाई भर्याङ बनाएर आन्दोलनको क्रेडिट लिँदै पदमा पुग्नेहरूले एक पटक पछाडि फर्केर हेर्ने कष्टसमेत गरेनन् । कतिपय अवस्थामा त एकान्तमा सोच्दा यस्तो लाग्छ, बेकारमा बाँचेछौं, बेकारमा सडकमा गएछौं । यो केवल एक व्यक्तिको हतासा होइन, हजारौं युवाको सामूहिक नैराश्यता हो । केन्द्रीय समितिमा आफ्नो नाम चढाउँदै गर्दा सडकका वास्तविक योद्धाहरूको चुलो बल्यो कि बलेन ? यो हेक्का कुनै पनि नयाँ नेतालाई भएन ।
यो कुनै कुण्ठा वा गुनासो मात्रै होइन, चेतावनी हो । जेन–जीको नाम भजाएर वा भावनाको व्यापार गरेर वा जुनसुकै दलको जुनसुकै सिट र पद ओगटेका ती अनुहार हामीले बिर्सेका छैनौं । सडकको आन्दोलनलाई आफ्नो व्यक्तिगत करिअर बनाउने र सहिदको रगतमाथि टेकेर सत्ताको विलासिता उपभोग गर्नेहरूलाई यो पुस्ताले माफी दिने छैन ।
समय बलवान् छ र इतिहास निर्मम हुन्छ । जेन–जीको आन्दोलन अहिले केही सुस्ताएको वा दिशाहीन जस्तो देखिएला, तर यो मरेको छैन । खरानीभित्रको आगोझैं यो अझै जीवित छ । जसले आज अवसरवादको बाटो रोजेका छन् र वर्ग उत्थानका लागि आन्दोलन बेचेका छन्, याद गर्नुहोस्– भोलिको इतिहासले तिनीहरूसँग एक–एक हिसाब माग्नेछ । हामीले लडेको लडाइँ अधुरो छ, तर अन्त्य भएको छैन । अबको हाम्रो बाटो हुनेछ— निर्मम समीक्षासहितको संगठित र वैचारिक यात्रा ।
