परिवर्तनको भ्रम कि विकल्पको खोज ?

के हामीले राजनीति बदलेका छौं ? कि अनुहार, नाम र नारा फेरिएको भ्रममै बाँचेका छौं ?

पुस २९, २०८२

रीता परियार

The illusion of change or the search for alternatives?

What you should know

समाज अविरल अघि बढिरहन्छ । समय स्थिर हुँदैन, चेतना रोकिँदैन र जनताको आकांक्षा एकै ठाउँमा थामिएर बस्दैन । समाजसँगै मानिसको सोच, बुझाइ र चाहना पनि क्रमशः विकसित हुँदै जान्छ ।

यही प्राकृतिक–सामाजिक विकासक्रमको अनिवार्य परिणाम हो– राजनीतिक परिवर्तन । त्यसैले समाजको चाहनाअनुरूप राजनीति बदलिनु स्वाभाविक मात्रै होइन, अपरिहार्य हो । राजनीतिक दलका एजेन्डा समयानुकूल हुनुपर्छ, नीति–कार्यक्रम परिमार्जित हुनुपर्छ र सबैभन्दा महत्त्वपूर्ण पक्ष, नेतृत्व पुस्ता पनि बदलिनुपर्छ । तर, नेपाली राजनीति हेर्दा प्रश्न उठ्छ– के हामीले साँच्चै राजनीति बदलेका छौं ? कि केवल अनुहार, नाम र नारा फेरिएको भ्रममै बाँचेका छौं ?

विडम्बना यहीँ छ । समाज २१ औं शताब्दीमा प्रवेश गरिसकेको छ । प्रविधि, शिक्षा, सूचना र विश्वसँगको सम्पर्कले नेपाली समाजको चेतना तीव्र गतिमा बदलिएको छ । तर, राजनीतिक दल र तिनका नेतृत्व भने अझै त्रेतायुगकै सोच, संस्कार र अहंकारमै अड्किएको छ– न छ नेतृत्वमा पुस्तान्तरण, न सोचमै नवीनता । पार्टीका घोषणापत्रहरू वर्षौं पुराना भाष्यको पुनरावृत्तिझैं लाग्छन् । राजनीतिक संस्कार पनि उही– सत्ता, स्वार्थ र मात्र संरक्षण ।

पुराना राजनीतिक दलका असफलताबारे कति कुरा गर्ने ? जनताले दशकौंसम्म सहेर हेरे, मौका दिए, विश्वास गरे । तर, परिणाम के ? राजनीतिक स्थायित्व आएन, सुशासन आएन, सामाजिक न्याय आएन । विकास नारामै सीमित रह्यो, लोकतन्त्र गुट–उपगुटमै सीमित भयो र गणतन्त्र आम नागरिकका लागि अनुभूतिभन्दा बढी भाषणमै सीमित ।

तर, यति हुँदाहुँदै पनि पुराना दलको नेतृत्वमा आत्मसमीक्षा छैन । गल्ती स्विकार्ने साहस छैन । नेतृत्व हस्तान्तरणको कुनै गम्भीर प्रयास छैन । उही अनुहार, उही शैली, उही दाबी– हामीबिना देश चल्दैन । आज नेपालको राजनीति यही कहावतको जीवन्त उदाहरण बनेको छ । पुराना दल र तिनका वृद्ध नेताहरू परिवर्तनका अवरोध बनेका छन् । उनीहरूका लागि राजनीति सेवा होइन, जीवनभरको पेसा बनिसकेको छ ।

यही निराशाको भूमिबाट नयाँ राजनीतिक दलहरूको उदय भयो । परिवर्तन, सुधार, सुशासन, जवाफदेहिता– यी शब्द बोकेर आएका नयाँ दल प्रारम्भमा जनताको आशाको केन्द्र बने । पुरानाबाट आजित जनताले नयाँलाई विकल्प ठाने– सायद अब केही फरक हुनेछ । तर, यो समयमा गम्भीर प्रश्न उठ्न थालेको छ– के साँच्चै यी दल नयाँ हुन् ? कि पुरानै मानसिकताको नयाँ आवरण मात्रै ? अझै ‘पुरानो रक्सी नयाँ बोतलमा’ भन्ने उक्ति सान्दर्भिक होला ।

नयाँ दलले आफूलाई पुरानाभन्दा फरक देखाउने नाटक गरिरहेका छन् । तर, व्यवहार हेर्दा उही मिलेमतो, उही भागबन्डा, उही सत्ताको सौदाबाजीमा संलग्न छन् । संविधान चिथोरिने गरी सत्ता गठबन्धन, सिद्धान्तभन्दा पद महत्त्वपूर्ण र एजेन्डाभन्दा कुर्सी प्राथमिक– यी सबै प्रवृत्ति नयाँ भनिने दलमा पनि देखिन थालेको छ ।

एजेन्डा कहाँ छ ?

सबैभन्दा गम्भीर प्रश्न यही हो– नयाँ राजनीतिक दलको एजेन्डा के हो ? तीसँग देश बनाउने स्पष्ट दृष्टि कहाँ छ ? आर्थिक विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, संघीयता कार्यान्वयन, सामाजिक न्यायका दीर्घकालीन नीति कहाँ छ ? कि राजनीति भनेकै पुरानालाई हराएर सत्तामा पुग्ने रणनीति मात्रै हो ? जनताले ‘परिवर्तन’ का नाममा ठूलो आशा गरेका छन् । तर, के नयाँ दलसँग साँच्चै कुनै जादुको छडी छ ? ‘खुलजा सिमसिम’ भनेझैं एकै चुट्कीमा देश विकास हुन्छ ? राज्य सञ्चालन यति सजिलो र सतही विषय हो ? तर, राजनीति त नाराले होइन, नीतिले चल्छ– भाषणले होइन, कार्यान्वयनले देश बन्छ ।

विदेश नीति र भू–राजनीतिक यथार्थ

नेपाल गम्भीर भूराजनीतिक चपेटामा छ । दुई ठूला शक्ति राष्ट्रबीच अवस्थित सानो देशका रूपमा नेपाललाई सन्तुलित, विवेकशील र दूरदर्शी विदेश नीति आवश्यक छ । कूटनीति केवल फोटोसेसन र भाषण होइन– रणनीति, निरन्तरता र राष्ट्रिय हितको सवाल हो । नयाँ दलसँग यसबारे स्पष्ट खाका छ ? कि सामाजिक सञ्जालमा आक्रोश पोख्नु र पुरानालाई गाली गर्नु नै राजनीति हो ? नयाँ दलहरूले याद राख्नुपर्छ– खाली पुरानालाई गाली गरेर नयाँ भइँदैन र राजनीति सस्तो लोकप्रियताको खेल होइन ।

आज राजनीति ‘ट्रेन्ड’ पछ्याउने, ‘भ्यु’–‘लाइक’ गणना गर्ने र भावनात्मक उत्तेजनाबाट सस्तो समर्थन बटुल्ने खेल बन्दै गएको छ । तर, देश त यसरी चल्दैन । राजनीति केवल भागबन्डाको हो भने नयाँ र पुरानाबीच फरक के ?

यहाँ मिडियाको भूमिकामाथि पनि प्रश्न उठाउनैपर्छ– नयाँ दलसँग गम्भीर प्रश्न सोध्ने को ? पत्रकारिता केवल ‘को कोसँग भेट्यो ?’, ‘को कता मिल्यो ?’ को समाचारमै सीमित किन ? ‘नयाँ पार्टीको एजेन्डा के हो ?’ भनेर सोध्नु आवश्यक छैन र ? राजनीतिक दललाई जवाफदेही बनाउने दायित्व मिडियाको पनि हो । र, आलोचनात्मक पत्रकारिताबिना लोकतन्त्र खोक्रो हुन्छ ।

नेपाललाई न पुरानो कुहिएको सत्ता चाहिएको छ, न नारा मात्रै बेच्ने खोक्रो नयाँपन । देशलाई त चाहिएको छ– नयाँ दृष्टि, नैतिकता, क्षमता र जिम्मेवारी बोध भएको राजनीति र नेता । नेता, जो पदभन्दा नीति प्राथमिकतामा राखून् अनि दल, जो सत्ताभन्दा सिद्धान्तमा अडिग रहून् । परिवर्तन भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ । नत्र ‘नयाँ’ शब्द चाँडै जनताका लागि अर्को निराशा बन्नेछ ।

आजको प्रश्न ‘नयाँ’ कि ‘पुरानो’ भन्ने होइन, बरु हो– के हामी साँच्चै जिम्मेवार, परिपक्व र भविष्यदृष्टि भएको राजनीति गर्न तयार छौं ? यदि छैनौं भने अनुहार फेरिन्छ तर नियति फेरिँदैन ।

रीता परियार

Link copied successfully