महिलाहरू जाडोले अझ बढी काँपिरहेका हुन्थे किनकि सदियौंदेखि उनीहरूका शरीर मात्रै होइन, आवाज पनि समाजले चिस्याउँदै आएको छ ।
What you should know
शीतलहरले तराई आक्रान्त भएका खबरहरू सञ्चारमाध्यमका हेडलाइन बनिरहेका छन् । जनजीवन ठप्प र मृत्युका खबर ! समाचारहरूले मेरो स्मृतिमा परालको धूवाँसँगै जाडोलाई चुनौती दिने अटेरी गाउँका दृश्य उदाए— साना बालबालिकादेखि वृद्धवृद्धासम्म चोक–आँगनमा पराल बालेर घुर तापिरहेको दृश्य, पातला लुगा, कालो कम्बल, धूवाँले कालो–सेतो भएका अनुहार...।
महिलाहरू जाडोले अझ बढी काँपिरहेका हुन्थे किनकि सदियौंदेखि उनीहरूका शरीर मात्रै होइन, आवाज पनि समाजले चिस्याउँदै आएको छ ।
हेटौंडामा तुलनात्मक रूपमा न्यानो हुन्छ । बिहान केहीबेर हुस्सुको बर्को ओढे पनि हेटौंडाले बिस्तारै बर्को फुकाउँदै जान्छ । यहाँको तातोले बेरेको मेरो शरीर तराई झर्न चाहँदैनथ्यो । जिन्दगीका स्थायी तथा भैपरि आउने कर्तव्यको चक्रमा शरीरले चाहेको स्वतन्त्रता कहाँ दिन्छ र ! जानु त थियो नै थप कर्तव्य पूरा गर्न !
एक बिहान ७ बजे हामीले हेटौंडा छोडेका थियौं । रातोमाटे कटेर चुरियामाईको मन्दिर पुग्दा नपुग्दै हुस्सुकै संसार भेटियो, ठ्याक्कै हाम्रो समाज जस्तै— धूवाँले छोपेको, देखे पनि नदेखेजस्तो, कहिल्यै स्पष्ट हुन नदिइएको जस्तो ।
पथलैया कटेपछि त बाटै नदेखिने गरी हुस्सु बाक्लियो । हामी त्यस दिन गन्तव्यसम्म ढिलो गरी पुग्यौं । कहिलेकाहीं म सोच्थें— कतिपय महिलाको जीवनयात्रा पनि यस्तै हुस्सु जस्तै त हुन्छन्– लुकाइएका, नदेखिने, बुझ्नै नसकिने !
बाटो छेउका खाना खाने होटलमा पनि चुलोछेउ उभिएर आगो तापिरहेकाहरू छन्, जो शीतलहरको मात्रै नभई देशकै राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक विषयवस्तुमा तर्कवितर्क गर्न भ्याउँथे ।
त्यस दिन हाम्रो टिम यौन स्वास्थ्य सेवा शिविर सञ्चालन गर्न चन्द्रनिगाहपुर पुगेको थियो । अत्यधिक चिसोले होला, मानिस कम थिए । मैले एचआईभी काउन्सिलिङ कक्षमा एक जना महिला पठाएको पाएँ । चौबीस–पच्चीस वर्षकी जस्तो देखिने उनी सामान्य पोसाकमा थिइन् । पछ्यौराले ढाकिएको शरीर, सुन्निएका आँखा तर मनभित्रको पीडा लुकाउने असफल प्रयासमा उनी छिन् भन्ने भान हुन्थ्यो ।
पहिलो नजरमै मलाई उनी हाम्रो संस्थाले तोकेको लक्षित समुदाय अर्थात् ‘यौनकर्मी हुन्’ भन्ने लागेन । लामो समयदेखि यौनकर्मी महिलासँग काम गर्दै आएको अनुभवले अन्य धेरै व्यवहारमा समेत मैले सिकेको थिएँ— महिलाहरूको पहिचान, श्रेणी, चरित्र, सम्मान— सबै समाजले बनाएका खोल हुन्, वास्तविकता कहिलेकाहीं ती खोलभित्र लुकेर रोइरहेको हुन्छ ।
‘म तपाईंको काउन्सिलर हुँ तपाईंले आफ्ना कुरा निर्धक्क मलाई भन्न सक्नुहुनेछ’ भन्दै मैले मेरो परिचय टुंग्याएँ । म उनलाई हेरिरहें, उनको अनुहार घोप्टिएको थियो । धेरैबेरको मौनतापछि उनले पहिलो वाक्य निकालिन्, ‘मेरो छोरी कति बाँच्छे, मिस ?’
यो केवल एक आमाको प्रश्न थिएन– अपराधग्रस्त महिला, मौन पीडित र एक्लो लडाकुको आवाज थियो ।समाजले बनाएको सहनशीलताको मापदण्डले रुनुलाई कमजोरी भन्छ, तर मेरो चेतनाले भन्छ— रुन दिनु प्रतिरोधको पहिलो थेरापी हो । काउन्सिलिङको तालिममा समेत ‘रुन दिनुपर्छ’ भन्ने सिकाइएको हुन्थ्यो । मैले पनि रुन दिएँ । आँसु पुछ्न पटकपटक उनको हातमा ‘नेपकिन’ थमाएँ । म पनि एक सन्तानको आमा, मेरो सन्तानको म एक्लो अभिभावक ! त्यतिबेला मैले थप बुझें— आमा हुनुको प्रेम, धर्म र कर्तव्य समाजमा सबैभन्दा ठूलो छ ।
नेपाली सेनामा कार्यरत उनका श्रीमान्ले लामो बिदाबाट फर्केको रात आफू एचआईभी संक्रमित भएको सत्य श्रीमतीमाथि थोपरे । जिम्मेवारीबाट पन्छिँदै केही दिन परिवारसँग बसेर काठमाडौं फर्किए । श्रीमतीलाई न त जानकारी, न तयारी ।
कतिपय ज्ञान स्त्रीको जीवनमा लागू हुन पाउँदैन, जबसम्म पीडा आफ्नै घरभित्र छिर्दैन । उनको चिन्ता आफूभन्दा ज्यादा छोरीमा थियो— महिलाहरू आफ्नो शरीर बिरामी हुँदा पनि पहिलो चिन्ता सन्तानकै गर्छन् । उनीहरू पतिको स्वार्थ, परिवारको प्रतिष्ठा, समाजको मानभन्दा सन्तानको जीवन ठूलो ठान्छन् । यही मातृत्व नै वास्तविक स्त्री शक्ति हो । संक्रमणको कुरा घरमा कसैलाई थाहा हुन पाएन । आमाबुबालाई थाहा हुनुपूर्व उनका श्रीमान्ले घर छोडे । आफू दुईबाहेक अर्को तीनलाई जानकारी दिन उनीहरू डराउँथे । किनकि रोगभन्दा ठूलो लाञ्छना, संक्रमणभन्दा घातक सामाजिक बहिष्कारको अन्त्य हुने
छनक कतै देखिँदैनथ्यो । समाजले रोगसँग भन्दा स्त्रीसँग लडाइँ गर्छ— उनलाई मौन गराउँछ, दोषारोपण गर्छ, पाप भन्छ । पुरुषले जतिसुकै गल्ती गरे पनि त्यो दोष स्त्रीमा टाँसिन्छ— शरीरमा, चरित्रमा, इज्जतमा ।
उनको जीवन दुई तहको दबाबमा अडिएको थियो— एकातिर समाजले तोकेको मातृत्वको अपेक्षा, अर्कोतिर अदृश्य तर लगातारको डर । श्रीमान् घर आउने–जाने आफ्नै तालमा थिए । उनी भने एउटै घरभित्र बस्दा पनि निरन्तर परीक्षण, आशंका र मौनतासँग बाँधिएकी थिइन् । छोरी हुर्कनु र एचआईभी संक्रमणबाट समेत मुक्त हुनु उनका लागि ठूलो युद्ध जितेजस्तै थियो ।
यो समाजका लागि एउटी छोरी पर्याप्त थिएन । ‘अर्को बच्चा’ नजन्माएसम्म उनको स्त्रीत्व अपूर्ण ठहरिन्थ्यो । पटक–पटकको परीक्षणले आफू संक्रमित नभएको प्रमाणित गरिसकेको भए पनि न्यून सम्भावनाको भयले उनको शरीर मात्रै होइन चेतनालाई समेत थिचिरहेको थियो । यही भयका कारण उनी अर्को गर्भधारण गर्न चाहँदैन थिइन् । यो निर्णय कमजोरी होइन, आत्मरक्षाको चेतनासम्पन्न निर्णय थियो । तर परिवार, आफन्त र छरछिमेकका लागि यो निर्णय ‘अहंकार’ वा ‘कर्तव्यबाट भाग्ने’ व्यवहार जस्तै देखिन्थ्यो ।
उनको समस्या केवल एचआईभीको होइन, सूचना र जिम्मेवारीको असमान वितरणको हो । आफूलाई संक्रमण भएको सत्य परिवारलाई बताउनुपर्ने आग्रह उनले गरिरहिन्, तर श्रीमान् मौन रहे । पुरुषको मौनता यहाँ शक्ति बनेर उभियो र महिलाको बोल्ने चाहना कमजोरी ठहरियो । यदि पूर्ण ज्ञान सार्वजनिक हुन्थ्यो भने दबाब कम हुन सक्थ्यो भन्ने झिनो आशा उनमा थियो । समाजको दण्डको डरले उनी आफैं अघि बढ्न सकिनन् ।
उनीसँगको भेटघाटपश्चात् मेरो मनमा पनि कैयौं प्रश्न उठिरहन्थे । मेरो पहिलो प्रश्न थियो— किन महिलाको शरीर समाजको निर्णयको थलो बन्ने गर्छ ? आमा बन्ने वा नबन्ने अधिकार महिलाको हो, समाजको होइन । मलाई कहिलेकसो यो पनि लाग्थ्यो– घटेका सबै घटनाको बेलिविस्तार उनले परिवारसमक्ष गर्नुपर्छ । तर, मभित्र यो कुरा हाबी हुन पुग्यो, ‘मौनता तोड्नु साहस हो, तर त्यो साहस एक्लै महिलाबाट मात्रै अपेक्षा गर्नु स्वयं अन्याय हो ।’
उनी मसँगको काउन्सिलिङमा आइरहिन् । नियमित जाँच गराइरहिन् । मलाई लाग्थ्यो, मसँग बोल्दा उनी केही राहत महसुस गर्थिन् । हाम्रो संवाद—क्लिनिकल काउन्सिलिङभन्दा बढी स्त्री–सिस्टरहुडमा बदलियो ।
मैले आफू कार्यरत संस्थासँगको सहकार्य टुंग्याए पनि हामी निरन्तर संवादमा रहन्थ्यौं । आज पनि म उनलाई सम्झन्छु । मेरो स्मृतिमा उनी सधैं बाँचिरहनेछिन् । साँच्चै, शीतलहरको त्यो कठोर मौसमभन्दा बढी कठोर त नारीलाई छोप्ने मौनताको, पीडाको, असमानताको ‘सांस्कृतिक शीतलहर’ रहेछ, जो वर्षौंसम्म तातिँदैन, वर्षौंसम्म देखिँदैन ।
यो कथा उनको व्यक्तिगत पीडा होइन, हजारौं नारीको सामूहिक जीवित–इतिहास हो । नारीहरूले रोगसँग मात्रै होइन समाज, मौनता, आरोप, संरचना, पितृसत्ता र लाञ्छनासँग पनि लड्नुपर्ने बाध्यता छ । उनले आफूलाई मात्रै नभई सन्तानलाई प्राथमिकतामा राखिन् । उनी गोप्य पीडा बोकेर बाँचिरहेकी थिइन् ।
यसरी गोप्य पीडा बोकेर बाँच्नु भनेको नारीको कर्तव्य होइन, समाजले थोपरेको दमन मात्रै हो । एचआईभीले होइन, यो समाजले उनको जीवन र आत्मविश्वासलाई संक्रमित बनाएको थियो । आउँदा कति वर्षसम्म नारीहरूले यो संक्रमणको सिकार हुनुपर्छ ? यकिनसँग भन्न सकिँदैन ।
एचआईभी प्रभावित महिलाको सामाजिक जीवन असाध्यै चुनौतीपूर्ण हुन्छ । त्यहाँ हुन्छन्– भेदभाव र सामाजिक बहिष्कारका शृंखला अनि मनोवैज्ञानिक दबाब र आर्थिक कठिनाइ । तर, आत्म–जागरणले तिनलाई जीवनको गहिरो अर्थबोध गर्न सघाउँछ । साहस, उपचार र जागरुकताले उनीहरूमा नयाँ उत्साह थप्छ ।
स्त्रीलाई ‘लुकाउ, सह, चुप बस’ भन्ने समाजमा प्रतिरोध गरेर बोल्नु नै क्रान्तिको सुरुवात हो भनेर हामीले हाम्रा छोरीहरूलाई सिकाउने मात्रै होइन, स्वयंले बोल्न पनि बियाँलो गर्नु हुँदैन ।
