परराष्ट्र सेवामा उत्साहजनक महिला अनुहार

मन्त्रालयका दृष्टिकोण, योजना, पहलकदमी, अडान, अवधारणामा नयाँपन आउन सक्छ । यसले हाम्रो परराष्ट्र सेवालाई अझै बढी चुस्त र उद्देश्यमूलक बनाउन सक्छ । जसबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि अझै चम्किन सक्छ ।

पुस २९, २०८२

सम्पादकीय

An inspiring female face in the Foreign Service

What you should know

बृहत् कार्यक्षेत्र रहेका सीमित मन्त्रालयअन्तर्गत परराष्ट्र पनि पर्छ । अन्तर्राष्ट्रिय समुदाय र स्वदेशलाई जोड्नका लागि समन्वयकारी भूमिका खेल्ने मन्त्रालय यही हो । त्यसैले पनि यसलाई देशको ‘अन्तर्राष्ट्रिय अनुहार’ का रूपमा व्याख्या गरिन्छ । विदेशमा रहेका नेपालीले अप्ठ्यारो भोग्नुपर्दा यही मन्त्रालयको सम्झना गर्छन् ।

देशलाई नै अप्ठ्यारो पर्दा पनि यही मन्त्रालयको भूमिका खोजिन्छ । दुईपक्षीय सम्बन्ध विस्तारदेखि आफ्नो विषयमा अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न पनि यही मन्त्रालयको प्रभावकारी भूमिका निर्णायक साबित हुन्छ । यति संवेदनशील र रणनीतिक मन्त्रालय लामो समयदेखि पुरुष कर्मचारीको दबदबाबाट चल्दै आएको थियो ।

जसले लैंगिक रूपमा एउटा पुरुष मानसिकतालाई विरासतका रूपमा बलियो बनाउँदै लगेको थियो । अब भने त्यो स्थिति तोडिँदै जान थालेको छ । परराष्ट्र सेवामा महिलाको उपस्थितिले फड्को मार्दै गएको छ । साथै, उनीहरूले पाएको जिम्मेवारी र कार्यसम्पादनले पनि प्रशंसा पाएको छ । यसले परराष्ट्र सेवामा नयाँ अवधारणा स्थापित हुने विश्वास बढेको छ ।

२०७५/७६ मा परराष्ट्रमा महिलाको उपस्थिति संख्या जम्मा ५७ थियो भने अहिले एक सय पुगिसकेको छ । जसमा सहसचिव ५, उपसचिव २३, शाखा अधिकृत ४५ र नायब सुब्बा २७ जना छन् । पुरुषतर्फ २ सय ५३ जना कर्मचारी कार्यरत रहेको परराष्ट्र मन्त्रालयको तथ्यांकमा उपलब्ध छ ।

समग्रमा, १०० जना महिला र २ सय ५३ जना पुरुषको अनुपात नमिल्दो नै देखिन्छ । तर, महिलाको संख्या बढ्दै गएको भने छ । यसर्थ हामी सही दिशातिरै अघि बढेका छौं भन्न सकिन्छ । २०६२/६३ को जनआन्दोलनपछि राज्यले अनुसरण गरेको समावेशी नीतिको उल्लेखनीय उपलब्धिका रूपमा यसलाई हेर्न सकिन्छ ।

राजनीतिक अंगहरू विशेषतः संसद् र पार्टीका केन्द्रीय समितिमा महिला उपस्थिति एकतिहाइ देखिए पनि कर्मचारीतन्त्रमा उल्लेखनीय फड्को देखिएको थिएन । परराष्ट्र मन्त्रालयमा पनि एकतिहाइ नै त पुगिसकेको छैन, तर त्यसको छेउछाउ भने पुगेको देखिन्छ । लैंगिक रूपमा सरोबरी उपस्थिति कायम गराउने अबको प्रयत्न हुनुपर्छ ।

परराष्ट्र मन्त्रालयको संवेदनशीलतालाई यसको कार्यक्षेत्रले नै प्रस्ट पार्छ । देशले लिएको परराष्ट्र नीतिको व्यावहारिक कार्यान्वयनकर्ता मन्त्रालय यही हो । दुईपक्षीय वा बहुपक्षीय सम्बन्धलाई चलायमान र मित्रतायुक्त बनाउने औजार पनि यही हो । कूटनीतिक सम्बन्ध विस्तार गर्न र देशका बारेमा अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक धारणा बनाइराख्न मिहिनेत गर्नुपर्ने प्रारम्भिक मन्त्रालय पनि यही हो ।

त्यति मात्रै होइन, अन्तर्राष्ट्रिय जगत् नै प्रभावित हुने र आफ्नो प्रत्यक्ष–अप्रत्यक्ष सरोकारका संवेदनशील विषयमा देशका तर्फबाट धारणा सार्वजनिक गर्ने मन्त्रालय पनि यही हो । जस्तो कि, हालै अमेरिकाले भेनेजुएलामाथि हमला गर्दै त्यहाँका राष्ट्रपतिलाई उठाएर आफ्नो देश ल्याएपछि परराष्ट्र मन्त्रालयमार्फत धारणा सार्वजनिक गरिएको छ ।

यो देशको धारणाका रूपमा अभिलिखित छ । आफ्ना मुद्दाहरूलाई अन्तर्राष्ट्रिय जगत्लाई स्मरण गराइराख्ने मन्त्रालय पनि यही हो । यी लगायतका बृहत् र संवेदनशील कार्यक्षेत्र भएको मन्त्रालय पुरुष अवधारणा र कार्यसम्पादनबाट अघि बढिरहेको थियो । यसमा नयाँपन चाहिएको थियो ।

दशकौंदेखि पुरुषप्रधान मानसिकताबाट सञ्चालित हुँदै आएको नेपालको परराष्ट्र सेवा कति सशक्त ठहरियो, विमर्शको विषय हो । किनकि, नेपालको कूटनीतिक उपस्थिति कमजोर हुँदै गएको भनेर विश्लेषण हुन थालेको लामै भइसक्यो । नागरिकले पनि यसको सेवा उन्नत नभएको अनुभूत गरेकै छन् ।

यद्यपि, यसका लागि सो मन्त्रालय स्वयं कति जिम्मेवार छ र कति समग्र सरकार तथा राजनीतिक पार्टीहरू भन्ने पनि अलग विमर्शको विषय हो । तर परराष्ट्र सेवाले काबिल जनशक्ति र नवीन सोच खोजेको पक्कै हो । महिला कर्मचारीको बढ्दो उपस्थितिले परराष्ट्र सेवामा नयाँ धारणा र आयाम थपिन सक्छन् । किनकि, परराष्ट्र सेवामा महिलाको उपस्थिति लैंगिक कारणले मात्रै होइन, जिम्मेवारी बहनका कारणले पनि अर्थपूर्ण छ ।

यसै कारणले पनि मन्त्रालयका दृष्टिकोण, योजना, पहलकदमी, अडान, अवधारणामा नयाँपन आउन सक्छ । यसले हाम्रो परराष्ट्र सेवालाई अझै बढी चुस्त र उद्देश्यमूलक बनाउन सक्छ । जसबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि अझै चम्किन सक्छ ।

कर्मचारी मात्रै होइन, मन्त्रालयको नेतृत्वमा पनि महिला अनुहार बढाउन आवश्यक छ । यस मन्त्रालयले पाएको महिला मन्त्रीको संख्या पनि असाध्यै न्यून रहँदै आएको छ । नेपालको लामो शासकीय अभ्यासमा अहिलेसम्म केबल चार जना मात्रै महिला परराष्ट्रमन्त्री भएका छन्– सहाना प्रधान, सुजाता कोइराला, विमला राई पौड्याल र आरजु राणा ।

त्यसैले मन्त्रालयको नेतृत्वका रूपमा महिला दृष्टि र योजना अभिव्यक्त हुन सकेको छैन । परराष्ट्र सेवामा बढ्दो महिला उपस्थितिले परराष्ट्र नीति कार्यान्वयनमा महिला कार्यदक्षता देखिएको छ । तर यतिले मात्रै पुग्दैन । नीति तय गर्न र कतिपय सन्दर्भमा नीतिगत ‘डिपार्चर’ नै लिनका लागि भने मन्त्रालयको नेतृत्वमा पनि महिला चाहिन्छ । यसका लागि राजनीतिक दलको जिम्मेवारीबोध र महिला नेताहरूको अग्रसरता अपरिहार्य छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully