सुविधायुक्त विद्यालयमा काबिल शिक्षकद्वारा गरिएको शिक्षणको लाभ लिन पाउनु सबै विद्यार्थीको अधिकार हो । यसका लागि सरकारको बलियो, व्यावहारिक र कार्यान्वयन निश्चित भएको नीति अनिवार्य छ ।
What you should know
नेपालमा हरेकजसो सामुदायिक विद्यालयको इतिहास सम्बन्धित समुदायमा रहेको शिक्षाको प्यासबाट सुरु हुन्छ । सहजै विद्यालय खोल्न नपाइने राजनीतिक प्रतिकूलताका समयमा समुदायले शासकसँग चलाखी गरेरै विद्यालय स्थापना गर्दै अघि बढेका हुन् । अभिभावकलाई शिक्षाको महत्त्व सम्झाउँदै बच्चालाई विद्यालयसम्म ल्याउनु ठूलै मुस्किल हुन्थ्यो । खरले बेरबार पारेको छाप्रोलाई विद्यालय बनाइन्थ्यो ।
पढेलेखेका व्यक्तिलाई अन्नदेखि दुई–चार पैसा रकम पारिश्रमिकका रूपमा थमाउँदै विद्यालयमा शैक्षिक गतिविधि प्रारम्भ गरिन्थ्यो । गुणस्तर होइन, शैक्षिक गतिविधि नै मुख्य थियो । आज समय धेरै फेरिएको छ । छाप्रोबाटै अघि बढेका सामुदायिक विद्यालय पनि भव्य भवन, योग्य शिक्षक, गुणस्तरीय शैक्षिक गतिविधि जस्ता कारणले अब्बल ठहरिन सकेका छन् ।
कैयौं सामुदायिक विद्यालयले विद्यार्थीका नतिजामार्फत आफूलाई प्रमाणित गरेका छन् । यद्यपि, यो अब्बलता सबै सामुदायिक विद्यालयको साझा कथा होइन । तर, प्रयत्न गरे सामुदायिक विद्यालय अब्बल हुन्छन् र अभिभावक–विद्यार्थीको पहिलो रोजाइ बन्न सक्छन् भन्नलाई अनेक उदाहरण उपलब्ध छन् ।
विराटनगरमा १९९६ मा स्थापित आदर्श मावि (पहिले श्री ३ जुद्ध हाईस्कुल) र २०१६ मा स्थापित पोखरिया मावि, २००३ मा धरानमा स्थापित पब्लिक हाईस्कुल, काठमाडौंमा २०२० मा स्थापित ज्ञानोदय माध्यमिक विद्यालय बाफल, २००३ मा स्थापित विश्व निकेतन मावि त्रिपुरेश्वर, १९१० मा स्थापित दरबार हाईस्कुल, १९९४ मा वीरगन्जमा स्थापित त्रिजुद्ध मावि, २०२० मा स्थापित भरतपुरको नारायणी नमुना मावि, २०२९ मा स्थापित दमौलीको सत्यवती विद्यालय, २००४ मा पोखराको बाटुलेचौरमा स्थापित विन्ध्यवासिनी मावि अहिले अब्बल विद्यालयका रूपमा स्थापित छन् ।
त्यस्तै, २०११ मा दाङको तुलसीपुरमा स्थापित गुरुजजुर मावि, रूपन्देहीमा २०१८ मा स्थापित कालिका मानवज्ञान मावि, २०१६ मा स्थापित शान्ति नमुना मावि, २०१० स्थापित कान्ति मावि, २०३३ मा स्थापित नवीन मावि, २००८ मा सुर्खेतको वीरेन्द्रनगरमा स्थापित जन–नमुना मावि, १९६३ मा बझाङमा स्थापित सत्यवादी पाठशाला, २०३० मा कैलालीको अत्तरियामा स्थापित दुर्गालक्ष्मी नमुना मावि, २०१३ मा कालीकोटमा स्थापित बडिमालिका मावि पनि अब्बल ठहरिएका छन् ।
देशभर यस्ता सामुदायिक विद्यालय अरू पनि छन्, जसले इतिहास मात्रै होइन, सफलताका कथा पनि भन्छन् । विद्यार्थीका भविष्यका सुन्दर रेखा पनि कोर्छन् । इतिहासमा कैयौं शिक्षाप्रेमीका समर्पण र संघर्षबाट ती विद्यालय जन्मिएका थिए । ती नाफा कमाउने उद्देश्यद्वारा होइन, कठोर समयमा गाउँठाउँमा शिक्षाको उज्यालो छर्ने अभिप्रायले स्थापना भएका थिए । अनेकौं उतारचढावपछि उनीहरूले अभिभावक र विद्यार्थीको मन जित्न सकेका छन् ।
कुशल प्राध्यापक र शिक्षकको मिहिनेत, अभिभावकको चासो, समुदायको साथ, मनकारी व्यक्तिको लगानी जस्ता अनेकौं कारणले शैक्षिक प्रगति गर्न सफल भएका छन् । प्रख्यात चिकित्सक, इन्जिनियर, वैज्ञानिक, कुशल व्यवस्थापक, प्रशासक, अर्थशास्त्री, मानवशास्त्री, समाजशास्त्री, कानुनविद्, शिक्षाशास्त्री, कृषिविद्, राजनीतिज्ञलगायत देश र समाज हाँक्ने दक्ष जनशक्ति उत्पादन गर्न सफल भएका छन् । जस्तो कि, तीन साताअघि विद्यालयको स्वर्ण जयन्तीमा पूर्वविद्यार्थीबाट स्वास्थ्य परीक्षणका लागि क्याम्प सञ्चालन गर्दा ८ डाक्टरसहितको मेडिकल टिम नै सत्यवतीको उत्पादन थियो ।
अब्बल सावित भएका सामुदायिक विद्यालयले जादु गरेका होइनन् । उनीहरूको सफलताको कथामा केही साझा सूत्र भने भेटिन्छ । विद्यालयसँग जोडिने प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकजस्ता सबै पक्षले आ–आफ्नो कर्तव्य पूरा गरेका हुन् । शिक्षकहरू आफ्नो जिम्मेवारीप्रति इमानदार रहे । शिक्षण गर्ने कामलाई दिन कटाउने मेलोसँग होइन, विद्यार्थीप्रतिको जिम्मेवारीसँग जोडे । उनीहरू समर्पित भए ।
अब्बल भएका विद्यालयले कक्षाकोठालाई नीरस र एक पक्षीय व्याख्यानसँग होइन, बरु सूचना र प्रविधिको प्रयोगमार्फत पठनपाठनलाई रुचिकर बनाए । साथै, शिक्षण सिकाइ क्रियाकलापलाई उद्देश्यउन्मुख बनाए । समयको मागअनुसार अंग्रेजी भाषामा पठनपाठन पनि गराए । हरेक कक्षालाई उत्तिकै महत्त्व दिए, सम्बन्धित कक्षामा प्राप्त हुनुपर्ने शिक्षण सिकाइ उपलब्धि हासिल गराउन प्रयत्न गरे । त्यसैले क्रमशः गुणस्तर विकास हुँदै गयो ।
आज पनि धेरै सामुदायिक विद्यालयका विद्यार्थीले पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति, प्रविधि, पुस्तकालय, अतिरिक्त क्रियाकलापको अवसर पाएका छैनन् । विद्यालय अर्थात् विद्यार्थीले विषय शिक्षक पाउन सकेका छैनन् । विद्यार्थीले जसोतसो पाठ्यपुस्तक पाउँछन् तर योग्य विषय शिक्षक, शैक्षिक सामग्री र उपयुक्त शैक्षिक वातावरण पाउँदैनन् ।
विज्ञान र प्रविधिको युगमा पनि कालोपाटीमा चक घोटेर गरिने सिकाइ क्रियाकलापले विद्यार्थीलाई रुचि जगाउन सक्दैन । देशभरमा २७ हजार २ सय सामुदायिक विद्यालयमध्ये अधिकांशको अवस्था यही हो ।
विद्यालय शिक्षाका लागि ७३ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पुग्छन्, तर अधिकांशले उचित वातावरण पाउन सक्दैनन् । त्यसका लागि सरकारका नीति, सम्बन्धित विद्यालय प्रशासन र शिक्षक उत्तिकै जिम्मेवार छन् । प्रयत्न गरियो भने सफलता हासिल हुने रहेछ भन्नलाई कैयौं सामुदायिक विद्यालय उदाहरणका रूपमा स्थापित छन् । सुविधायुक्त विद्यालयमा काबिल शिक्षकद्वारा गरिएको शिक्षणको लाभ लिन पाउनु सबै विद्यार्थीको अधिकार हो । यसका लागि सरकारको बलियो, व्यावहारिक र कार्यान्वयन निश्चित भएको नीति अनिवार्य छ ।
