शेरबहादुर देउवा : एक केस स्टडी 

अब कांग्रेसीजनले आफैमाथि प्रश्न गर्नुपर्छ, समयको यो असंगत कथा छोडेर नयाँ बाटो हिँड्ने कि आफ्नै हिसाबकिताबमा अल्झेर च्याँखे दाउमा फसिरहने ?

पुस २७, २०८२

जनकराज सापकोटा

Sher Bahadur Deuba: A Case Study

What you should know

नेपाली कांग्रेस यतिबेला समयको सबैभन्दा पेचिलो समयको दोबाटोमा आइपुगेको छ ।

नदीको धारिलो घुम्तीजस्तो यो मोडको एक किनारमा छन्, उमेरको उपल्लो विन्दुमा पुगेका पार्टी सभापति शेरबहादुर देउवा र उनको समूह अनि अर्को किनारमा छन्, पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा । 

बुढानीलकण्ठस्थित निवासमै लछारपछारमा परेपछि नेपाली सेनाले आकस्मिक रेस्क्यु गरेर जेनतेन देउवा दम्पतीले ज्यान जोगाएको घटना धेरै पुरानो भइसकेको छैन । त्यो दिन उनीहरुमाथि जे भयो त्यो असाध्यै अप्रिय घटना थियो । तर त्यस्तो घटना किन र कसरी निर्माण भएको थियो र त्यसमा जिम्मेवार कोको थिए भन्नेबारे समय क्रममा समीक्षा हुँदै जाने नै छ । तर प्रश्न यो छ कि, त्यो दिनको घटना केवल केही उद्वेलित मान्छेहरुको सामूहिक आक्रोश मात्रै थियो कि समाजको सतहमुनि वर्षौंदेखि थिग्रिएको छटपटीको प्रस्फुटन ! अनुशासन हराएका केही मान्छेको गतिविधि मात्रै थियो कि वर्षौंदेखि सत्ता र सत्ता वरपर बसेर उनीहरुले उत्पादन गरेको समाजको एउटा अनुहार ! 

समयको त्यही घुम्तीपछि कांग्रेसको नेतृत्वमा बसेकाहरु मात्रै नभएर सिंगो पार्टी नै प्रश्नहरुले घेरिएको छ भन्ने स्पष्ट भयो । यतिबेला त्यही प्रश्नको उत्तर दिनुपर्छ भनेर एकथरी कस्सिएर भृकुटीमण्डपमा भेला भएका छन् भने अर्कोथरी त्यो दिन केही भएकै थिएन जसरी वा त्यो घटना केवल देशीविदेशी तत्वको चलखेल मात्रै हो भनेर नजरअन्दाज गर्न मग्न छ । उनीहरु भने देउवा क्याम्पमा भेला भएका छन् र लोकतन्त्रको पुरानो राग अलापेर त्यसमा लय नमिलेको धुन भर्न मग्न छन् । 

भदौ २४ को घटनाबाट जेनतेन देउवा त तंग्रिए । तर कांग्रेस पार्टी त्यो दिनपछि झनै ठूलो विचलनको खाडलमा जाकिएजस्तो भयो । भलै कार्यवाहक सभापति तोकेपछि एकथरी कांग्रेसीजनले लामो सास फेर्दै अब पार्टी परिवर्तनको उभार आउने भयो भनेर आशातीत देखिएका थिए । तर उनीहरुको यो मधुरो आशा धेरै दिन टिकेन । सिंगापुरबाट फर्केपछि देउवा वृद्ध कायासहित सकीनसकी पार्टी बैठक र भेटघाटमा सक्रिय मात्रै रहेनन्, निर्णय प्रक्रियामा पनि आफ्नै सक्रियता देखाउन थालेपछि पुलकित हुन थालेका कांग्रेसीजनमाथि मध्यपुसमा चिसो पानी खन्याएजस्तो भयो । 

देउवा भनेका फगत एक व्यक्ति र कांग्रेसका सभापति मात्रै हुन् कि उनी एउटा प्रवृत्ति पनि भन्ने कुराको व्याख्या समय क्रममा हुँदै जाला । तर यतिबेला कांग्रेसभित्र जे जस्तो रडाको भइरहेको छ, त्यसका उनी एक्लो जिम्मेवार हुन् भन्नेमा कुनै सन्देह छैन । पार्टीका निकै कठिन दिन गुजारेर यहाँसम्म आइपुगेका देउवा जेन-जी विद्रोहपछिको बदलिँदो समयबारे न जानकार भएजस्तो देखिन्छन् न त समयको गतिलाई कांग्रेसले बुझ्नुपर्छ भन्ने सामान्य चेत नै उनले स्वीकार गरेजस्तो देखिन्छ । बरु उनी त वर्षौंदेखि आफू वरपर भएकहरुको स्वार्थका हिसाबकिताबमा सही धस्काएर ‘लोकतन्त्र’ जोगाउन यत्नशील छन्  । 

जेन-जी विद्रोहपछि जे जसरी वर्षौंदेखि सत्ताको म्युजिकल चेयर चलिरहेको थियो, त्यसमा सामेल एमाले र माओवादी नभएर कांग्रेसमाथि पनि धारिलो प्रश्न तेर्सिएको थियो । त्यो प्रश्नको उत्तर सभापति देउवाले स्वास्थ्य सुधार भएपछिका समयमा देलान् भन्ने अपेक्षा एकथरीको थियो । तर त्यस्तो भएन बरु उनले त्यो दिनलाई कुनै बिर्सनुपर्ने सपनाको सूचीमा राखेजसरी पुरानै पाइलाहरु चाल्न उद्यत देखिए । भलै उमेरको जतिसकै सिँढी चढून् उनले ती तमाम प्रश्नको उत्तर नदिई धर पाउने छैनन् । उनी पार्टीभित्र सर्वस्वीकार्य हुन वा एउटा झुन्डबाट घेरिएको अवस्थामा हुन् । 

यतिबेला कांग्रेसभित्र हुर्किएका अनेक असंगत प्रवृत्ति नै सिंगो पार्टी हो कि भनेजस्तो देखिएको छ । कहिलेकाहीँ त तिनै असंगत दृश्यहरु नै पार्टीको छायाका रुपमा प्रकट हुन्छन् अनि पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई गिज्याउँछन् । अनियमितता र भ्रष्टचारका अनेकन दाग बोकेकाहरुलाई पनि कांग्रेसले आफैमा वरण गरेर लोकतन्त्रको गीत गाउँदै हिँड्नुपर्ने असंगत समयको कथा अब कहिले र कसरी मेटिन्छ अनि त्यसको अग्रसरता कसले लिन्छ भन्नेमै कांग्रेसको भविष्य छिपेको छ ।

तर राजनीतिको यति सामान्य कुरा बुझ्ने विषयमा पनि कांग्रेस कलहमा फस्नुपर्ने स्थितिको निर्माण हुन वर्तमानको सबैभन्दा भद्दा मजाक हो । अनि त्यो मजाकको केन्द्रमा बसेर जसरी पार्टी सभापतिले केही थाहा नपाएजस्तो गरिरहेका छन् त्यो भने इतिहासको कुरुप घटावलीमध्येको एक हो । अब कांग्रेसीजनले आफैमाथि प्रश्न गर्नुपर्छ, समयको यो असंगत कथा छोडेर नयाँ बाटो हिँड्ने कि आफ्नै हिसाबकिताबमा अल्झेर च्याँखे दाउमा फसिरहने ? 

प्रश्न यति मात्रै छैन । टेरामक्स प्रकरणमा विशेष अदालतमा विचाराधीन मुद्दा खेपेका मोहन बस्नेत हुन् वा विशेष अदालतमा अकूत सम्पत्ति आर्जनको विचाराधीन मुद्दा बोकेका सन्तोष चालिसे । भृकुटीमण्डप ठेक्का प्रकरणमा मुछिएर विशेष अदालतबाट मतियार ठहर भएका टेकबहादुर गुरुङ हुन् कि स्काउटको जग्गा विवादमा मुछिएर अनेक प्रश्नहरुको घेरामा परेका दीपक खड्का । यी र यस्तै अनेक पात्र र प्रवृत्तिलाई पार्टीले हुर्काइराख्ने हो कि यस्ता पात्रहरुबारे पार्टी थप स्पष्ट हुने भन्ने पेचिलो प्रश्न पनि यतिबेला कांग्रेसीजनमा आइपरेको छ । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक जीवनकै सबैभन्दा पेचिलो कदम उठाएका छन् । एकातिर पार्टीभित्रैको विद्रोहमा सामेल हुनुपरेको छ । अर्कोतिर पार्टीमाथि उठेका यावत् प्रश्नहरुको उत्तर पनि खोज्नुपरेको  छ । संस्थापनका नेताहरुले लगाएको लान्छनाको प्रतिवाद गर्नुपरेको छ । समयको गति नापेर त्यसलाई पक्रिएर हिँड्नुपरेको छ  । 

महामन्त्रीद्वय सफल हुन्छन् कि असफल । यसको उत्तर अंकगणितले मात्रै दिँदैन । समय र समाजको चेतको मिटरले नापेर हेरेर मात्रै यसको उत्तर भेटिन्छ । तर यतिबेला महामन्त्रीले बदलिँदो समयले खोजेका उत्तर दिन कस्सिएका छन् । उनीहरुको प्रयत्नले कस्तो आकार लिन्छ भन्नेमा नेपाली लोकतन्त्रको अनुहार कस्तो हुन्छ भन्ने प्रश्नको उत्तर छिपेको छ । उमेरको उपल्लो विन्दुमा पुगेका र पार्टीले हिँडेको जोखिमपूर्ण समयमा सभापतिका रुपमा देउवाले कस्तो भूमिका खेलेका थिए भन्ने कुराचाहिँ इतिहासको कालखण्डमा गतिलो केस स्टडीका रुपमा रहनेछ । संघर्षको कथा बुझाउने केस स्टडी होइन लोकतन्त्रको मानमर्दन गर्ने हठी पात्रको रुपमा । 

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully