उद्योगमा घट्दो उत्पादन, देशमा बढ्दो आर्थिक समस्या

राष्ट्र बैंकको प्रतिवेदनले गत आर्थिक वर्षमा टायर तथा ट्युब उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९०.७ र वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम १.१० प्रतिशत रहेको देखाएको छ ।

पुस २२, २०८२

सम्पादकीय

Declining production in industry, growing economic problems in the country

What you should know

उद्योगहरू कति क्षमता उपयोगमा सञ्चालन भइरहेका छन् भन्ने तथ्यांकले देशको अर्थतन्त्रको स्थिति उजागर हुन्छ । नेपालका उद्योगहरूको उत्पादन तथ्यांक निराशाजनक छ । राष्ट्र बैंकको आर्थिक गतिविधि प्रतिवेदनका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा देशभरका उद्योगको क्षमता उपयोग औसत ४४.५ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योगहरूको क्षमता उपयोग औसत ३.८ प्रतिशत बिन्दुले कम भएको हो । औद्योगिक विकास गरेका सम्पन्न देशहरूमा उद्योगको क्षमता उपयोग ७५–८५ प्रतिशतसम्म हुने गरेको पाइन्छ । तर, हामीकहाँ उद्योगको क्षमता उपयोग आधाभन्दा पनि कम हुँदा अर्थतन्त्रको फैलावटमा अवरोध पुगिरहेको छ ।

त्यसले रोजगारी सिर्जनादेखि विकास निर्माणसम्मै प्रत्यक्ष र अप्रत्यक्ष असर परिरहेको छ । त्यसैले सरकारले उद्योगमैत्री वातावरण बनाउने, बिजुली–सडकलगायतका पूर्वाधारको विकास गर्ने, जनताको क्रयशक्ति बढाउने जस्तो प्रोत्साहनयुक्त कार्यक्रम ल्याउन जरुरी छ ।

राष्ट्र बैंकको प्रतिवेदनले गत आर्थिक वर्षमा टायर तथा ट्युब उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९०.७ र वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम १.१० प्रतिशत रहेको देखाएको छ । वनस्पति घिउ, भटमासको तेल, बिस्कुट, चाउचाउ, बियर, चुरोट, सिन्थेटिक कपडा, प्लास्टिकका सामान, फलामको छड तथा पत्ती, स्टिलजन्य उत्पादन, जीआई पाइप र ट्रान्सफर्मर उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको देखिएको छ ।

तोरीको तेल, प्रशोधित दूध उत्पादन गर्ने उद्योगको क्षमता उपयोग घटेको छ । त्यस्तै, चामल, गहुँको पिठो, पशुदाना, चिनी, चकलेट, प्रशोधित चिया, मदिरा, हल्का पेय पदार्थ, धागो, पस्मिना, गार्मेन्ट, जुटका सामान, इँटा, सिमेन्ट, घरेलु धातुका सामान, आल्मुनियम उत्पादन, बिजुलीका तार र केबुल, टायर तथा ट्युब, चप्पल र बिजुली उत्पादन गर्ने उद्योगको क्षमता उपयोग पनि घटेको प्रतिवेदनमा उल्लेख छ ।

एउटा उद्योगले आफ्नो क्षमताको तुलनामा आधा मात्रै उत्पादन गरिरहनुको अर्थ उत्पादन नै अति कम हुनु त हुँदै हो । क्षमताअनुसार उत्पादन गर्न नसक्दा प्रथमतः लगानीकर्ता स्वयं आफ्नै लगानीप्रति निरुत्साहित हुने स्थिति बन्छ । थप र नयाँ क्षेत्रमा लगानीका लागि प्रोत्साहित हुँदैन ।

न्यून उत्पादनले नाफा पनि कम हुन्छ । साथै, उत्पादनमै कमी आउँदा/गरिँदा प्रतियुनिट उत्पादनको मूल्य बढी हुन आउँछ । त्यसले सम्बन्धित उत्पादनको मूल्य बढी हुन जान्छ । यस्तो स्थितिले बजारमा महँगी बढ्छ । अर्कोतर्फ, जब उद्योगहरू आफ्नै क्षमतामा चल्न सक्दैनन्, त्यतिबेला ती उद्योगले सिर्जना गर्ने रोजगारी कटौती हुन जान्छ ।

बेरोजगारको संख्या बढ्दा मानिसको हातमा पैसा हुँदैन । त्यस्तो स्थितिमा माग घट्छ । त्यतिबेला उद्योगले उत्पादन घटाउनुपर्छ । यसबाट नकारात्मक चक्र विकास हुन्छ । रोजगारी गुम्ने र महँगी पनि बढ्ने स्थितिले नागरिक प्रताडित हुन्छन् ।

उद्योगले उत्पादनसँगै नाफा कम गर्दा उसले तिर्ने राजस्वमा पनि कमी आउँछ । कुल गार्हस्थ्य उत्पादनमा कमी आउँछ । राज्यको आर्थिक क्षमता कमजोर बन्छ र विकास निर्माणका लागि खर्च गर्न सक्दैन । लोककल्याणकारी योजना सार्वजनिक र कार्यान्वयन गर्न पनि सक्दैन । आर्थिक रूपमा कमजोर राज्यबाट नागरिकले पाउनुपर्ने यथोचित सुविधा पाउन सक्दैनन् ।

यस्तो स्थितिमा तल्लो वर्गका मानिसले राज्यको अभिभावकत्व गुमाउँछन् । त्यसबाट नागरिकमा राज्यप्रति असन्तुष्टि बढाउँछ । नागरिकमा असन्तुष्टि र आक्रोश बढ्दै जाँदा आन्दोलन र विद्रोहमार्फत राजनीतिक अस्थिरता निम्तिने हुन सक्छ । हाम्रो देशमा राजनीतिक अस्थिरता नियमित आकस्मिकता हुनुको एउटा कारण नागरिकमा रहेको बेरोजगारी र राज्यबाट पाउनुपर्ने संरक्षणको कमी पनि हो ।

उद्योगहरूमा असुरक्षा छ । राजनीतिक अस्थिरताले उद्योगी व्यवसायीको मनोबल खस्किएको छ । बैंकमा ऋणयोग्य रकम थुप्रिएको र ब्याजदर इतिहासकै न्यून बिन्दुमा पुग्दासमेत कर्जा माग हुन सकेको छैन । उद्योगीले बेहोरिरहेका अनेकौं समस्याको एउटा नतिजा उत्पादनमा आएको न्यूनीकरण हो । तर समस्या उद्योगको चौकुनाको मात्रै होइन ।

किनकि, समग्र अर्थतन्त्रमा देखिएको समस्याको असर उद्योगहरूको क्षमता उपयोगमा पनि परेको हो । वर्षौंदेखि राज्यले सन्तोषजनक ढंगबाट पुँजीगत खर्च गर्न सकेको छैन । राज्यको लगानीमा बनेका ठूला पूर्वाधारको निर्माण गति अत्यन्तै सुस्त छ ।

राज्यले प्रशस्त पुँजीगत खर्च गर्न सक्ने, ठूला आयोजनाको निर्माणलाई तीव्रता दिने हो भने रोजगारी सिर्जना हुन्थ्यो । मान्छेको हातमा पैसा पुग्थ्यो । माग बढ्थ्यो । त्यसले अन्ततः उद्योगहरूको उत्पादन बढाउन दबाब सिर्जना गर्थ्यो । त्यसले उद्योगमा रोजगारी पनि सिर्जना गर्थ्यो । सकारात्मक चक्र निर्माण हुन्थ्यो ।

हामीकहाँ नीति निर्माता तथा कार्यान्वयन गर्ने अंग र उद्योगीबीचको सम्बन्धमा पनि बेलाबखतमा असमझदारी देखिने गरेको छ । त्यसको एउटा उदाहरण हो, डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विवाद । उद्योगले खपत गरेको विद्युत्सम्बन्धी विवाद सल्टिन सकेको छैन ।

परिणामतः बेलाबेलामा उद्योगको विद्युत् लाइन नै काटिने गरेको छ । यस्ता असमझदारीलाई बेलैमा अन्त्य गर्नुपर्छ । सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्छ । ठूला पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ । त्यस्तै, सरकारले सडक पूर्वाधारलाई सहज बनाउनुपर्छ, जसले कच्चा पदार्थ ढुवानी र उत्पादित वस्तुको बजारीकरणमा योगदान पुर्‍याउँछ ।

विद्युत् आपूर्तिको नियमितताले उत्पादन बढाउन सघाउँछ । अहिले उद्योगीले दक्ष कामदार नभेट्ने र युवाले रोजगारी नभेट्ने स्थिति छ । यस्तो किन भने सीपमूलक तालिमको व्यवस्था छैन । राज्य तथा उद्योगीहरूले संयुक्त कार्यक्रममार्फत तालिम दिने र कामदार लिने योजना बनाउन सकियो भने उद्योगीले दक्ष कामदार भेट्छन् र युवाहरू रोजगारीका लागि विदेशिनु पर्ने बाध्यतामा पनि कमी आउनेछ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully