नेपाली कांग्रेसमा महिला नेतृत्व

राजनीतिक नेतृत्वमा महिलाको ५० प्रतिशत सहभागिता भावनात्मक, प्रतीकात्मक वा लैंगिक न्यायको नारा मात्रै होइन, लोकतन्त्रको गुणस्तर सुधार गर्ने दीर्घकालीन रणनीति हो

पुस १७, २०८२

निर्मला क्षेत्री

Women's leadership in the Nepali Congress

What you should know

नेपाली कांग्रेस लोकतान्त्रिक इतिहासको एक राजनीतिक दल मात्रै होइन, स्वतन्त्रता, नागरिक अधिकार, संवैधानिक शासन र समावेशी लोकतन्त्रका लागि बलिदानीपूर्ण संघर्षको संस्थागत प्रतीक हो ।

फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणाली लोकतन्त्रलाई संख्यात्मक प्रतिनिधित्वको सीमित घेराबाट निकालेर गुणात्मक, न्यायपूर्ण र समावेशी प्रतिनिधित्वतर्फ उन्मुख गराउने संवैधानिक औजार हो । यसको मूल उद्देश्य हो– ऐतिहासिक रूपमा राज्यसत्ताबाट बहिष्कृत, उपेक्षित वा सीमान्तकृत वर्ग, समुदाय र समूहलाई निर्णय तहसम्म पुर्‍याउनु । लोकतन्त्रको सार्थकता त्यतिबेला मात्रै स्थापित हुन्छ, जब संसद् र सरकार समाजको वास्तविक सामाजिक, सांस्कृतिक र भौगोलिक संरचनाको प्रतिबिम्ब बन्छ ।

नेपाली कांग्रेसले समानुपातिक बन्दसूचीमार्फत उम्मेदवार छनोट गर्दा अपनाएको मापदण्डले पार्टीको वैचारिक आत्मा, नैतिक उचाइ र भविष्यको राजनीतिक संस्कार निर्धारण गरेको छ । विशेषतः पार्टी र लोकतन्त्रका लागि दशकौं योगदान दिएका, तर राज्यका कुनै लाभदायी पद नपाएका, आन्दोलनमा सक्रिय रहे पनि अवसरबाट वञ्चित व्यक्तित्वलाई प्राथमिकता दिनु कांग्रेसको नैतिक पहिचानसँग प्रत्यक्ष जोडिएको कदम हो । समानुपातिक सूची अवसरको पुनरावृत्ति होइन, न्यायको पुनःस्थापना हुनुपर्छ । यही कारण विगतमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकालाई पुनः बन्दसूचीमा नदोहोर्‍याउने नीति अत्यन्त सकारात्मक र दूरदर्शी सुधार हो । यसले नयाँ नेतृत्व, नयाँ सामाजिक अनुभव, फरक दृष्टिकोण र नयाँ राजनीतिक ऊर्जा संसद्मा प्रवेश गराउने ढोका खोल्छ ।

संविधान र नेपाली कांग्रेसको विधानको भावना अनुरूप जातीय, क्षेत्रीय, लैंगिक र भौगोलिक सन्तुलनसहितको समावेशिता कांग्रेसको वैचारिक मेरुदण्ड हो । तर, समावेशिता केवल सूचीको अंकगणित वा कोटाको व्यवस्थापनमा सीमित हुनु हुँदैन । यो नीति निर्माण, बजेट विनियोजन र निर्णय प्रक्रियामा वास्तविक पहुँच र प्रभावको सवाल हो । सहिद परिवारलाई प्राथमिकता दिनु इतिहासप्रतिको सम्मान मात्र होइन, लोकतन्त्रप्रतिको ऋण–स्वीकृति पनि हो ।

राजनीतिक नेतृत्वमा महिलाको ५० प्रतिशत सहभागिता कुनै भावनात्मक, प्रतीकात्मक वा केवल लैंगिक न्यायको नारा होइन, लोकतन्त्रको गुणस्तर सुधार गर्ने व्यावहारिक, संरचनात्मक र दीर्घकालीन रणनीति हो । नेपाली कांग्रेसले आगामी महाधिवेशनबाटै संगठनका सबै तहमा ५० प्रतिशत महिला सहभागिता कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय लिनुपर्छ । यो कदम लैंगिक समानताको घोषणा मात्र होइन, कांग्रेसलाई अन्य दलभन्दा स्पष्ट रूपमै फरक देखाउने, लोकतान्त्रिक अभ्यासमा अग्रणी बनाउने र जनविश्वास पुनः आर्जन गर्ने नयाँ राजनीतिक सुरुवात पनि हो । आज अधिकांश दलले महिलालाई संवैधानिक बाध्यताकै कारण समेटिरहेका हुन्, तर कांग्रेसले स्वैच्छिक, नीतिगत र संस्थागत प्रतिबद्धतामार्फत ५० प्रतिशत सहभागिता लागू गर्न सके, त्यसले राजनीतिक संस्कृतिमा गुणात्मक परिवर्तन ल्याउनेछ । यसले महिलालाई उपस्थितिका लागि मात्र होइन, नेतृत्व र नीति निर्माणका समान साझेदारका रूपमा स्थापित गर्नेछ ।

‘नेपालमा ३३ प्रतिशत महिला कोटा नेपाली राजनीतिक इतिहासको एक ऐतिहासिक उपलब्धि थियो । तर, समयसँगै यही न्यूनतम सीमा अधिकतमजस्तो व्यवहार हुन थालेको यथार्थ स्वीकार गर्नुपर्छ । यसले महिलालाई निर्णय संरचनाको ‘अतिथि’ वा केवल संख्या पूरा गर्ने साधनमा सीमित गर्ने जोखिम पैदा गर्‍यो । ५० प्रतिशत महिला सहभागिता भने साझा शक्ति संरचनाको अवधारणा हो । त्यहाँ महिलाहरू नीति बनाउने, बहसको नेतृत्व गर्ने, संगठन सञ्चालन गर्ने र राज्यको दिशा तय गर्ने प्रक्रियामा बराबरी साझेदार हुन्छन् । यो नेपाली कांग्रेसको पुनर्जागरणका लागि विकल्प होइन, अनिवार्य सर्त हो ।

नेपालको जनसंख्याको ठूलो हिस्सा युवा पुस्ता पनि हो । उनीहरू विगतका आन्दोलनको गौरवभन्दा बढी भविष्यका अवसर खोजिरहेका छन् । यदि राजनीतिक दलले यो पुस्ताको आकांक्षा सम्बोधन गर्न सकेनन् भने लोकतान्त्रिक राजनीतिबाट उनीहरूको दूरी बढ्दै जान्छ । नेपाली कांग्रेसले युवालाई ‘भोलिका उत्तराधिकारी’ होइन, आजका निर्णयकर्ताका रूपमा स्वीकार गर्नुपर्छ । निर्वाचनमा युवा प्रतिनिधित्वलाई प्राथमिकता दिनु, नीति अनुसन्धान प्रतिष्ठान र युवा ‘थिंक ट्यांक’ स्थापना गर्नु, डिजिटल संवाद, तथ्य–आधारित बहस र खुला परामर्श संयन्त्र विकास गर्नु– पार्टीको दीर्घकालीन संगठनात्मक लगानी हुन् । यसले कांग्रेसलाई समय अनुकूल, नवप्रवर्तनमुखी र भविष्यप्रति उत्तरदायी राजनीतिक शक्तिमा रूपान्तरण गर्ने अस्त्र बन्छ ।

कांग्रेसको दीर्घकालीन चुनौती व्यक्तिवाद, गुटीय राजनीति र अपारदर्शी निर्णय संस्कार हो । अब ‘को सभापति ?’ भन्दा ठूलो र गम्भीर प्रश्न हो– ‘निर्णय कसरी हुन्छ ?’ भन्ने । उम्मेदवार छनोटका मापदण्ड सार्वजनिक र पारदर्शी बनाउने, आन्तरिक निर्वाचन डिजिटल प्रणालीमार्फत गर्ने, पार्टी वित्तीय अडिट रिपोर्ट सार्वजनिक गर्ने, नीति निर्माणमा क्षेत्रीय र लैंगिक सन्तुलन कायम गर्ने— यी सुधार कांग्रेसको नैतिक पुनर्निर्माण र संस्थागत विश्वसनीयताका आधार हुन् । संस्थागत अनुशासनबिनाको पार्टी दीर्घकालीन रूपमा जनविश्वसनीय रहन सक्दैन ।

महिलाको ५० प्रतिशत सहभागिता, युवाको निर्णायक भूमिका, समावेशी समानुपातिक प्रतिनिधित्व र संस्थागत पारदर्शिता— यी अलग–अलग एजेन्डा होइनन् । यी सबैले नेपाली कांग्रेसको पुनर्जागरणको एकीकृत र दीर्घकालीन कार्यदिशा बनाउँछन् । यो पुनर्जागरण सत्तामा पुग्ने रणनीति मात्र होइन, लोकतन्त्रको नवीकरण र संस्थागत सुदृढीकरणको प्रक्रिया हो । जब कांग्रेसले आफ्ना ऐतिहासिक मूल्यहरूलाई वर्तमान सन्दर्भमा पुनर्व्याख्या र व्यवहारमा रूपान्तरण गर्छ, तब मात्रै जनताको विश्वास पुनःस्थापित हुन्छ ।

राष्ट्र, लोकतन्त्र र नेपाली कांग्रेसको नियति एकअर्कासँग गाँसिएको छ । महिलाको मत, युवाको दृष्टि र संस्थागत नैतिकतामा आधारित कांग्रेसले मात्रै नेपाललाई स्थायित्व, समृद्धि र न्यायको दिशामा अगाडि बढाउन सक्छ । यही हो– कांग्रेसको भविष्य, नेपाली लोकतन्त्रको दिगो र सुदृढ आधारको बाटो ।

– क्षेत्री कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागकी सचिव हुन् ।

निर्मला

Link copied successfully