नयाँ पार्टीसँग कति आशा गर्ने ?

‘समावेशी राजनीति’ को नारा बोकेर अघि बढेका नयाँ शक्तिहरूमा पनि निर्णय गर्ने तहमा उही सीमित अनुहारहरू देखिन थालेका छन् । समानुपातिक प्रतिनिधित्वको नाममा पहुाच भएका, चिनजान भएका र आर्थिक–सामाजिक रूपमा सबल वर्गकै वरिपरि घुम्ने प्रवृत्ति दोहोरिन थालेको छ ।

पुस १७, २०८२

नीराजन खड्का

How much should we expect from the new party?

What you should know

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपालका कुलमान घिसिङबीचको एकताले राजनीतिक वृत्तमा हलचल ल्याएको छ । वैकल्पिक शक्तिहरू मिलेर चुनावमा जानुपर्छ भनेर आवाज उठाउनेहरू उत्साहित बनेका छन् । सामाजिक सञ्जालमा यसबारे व्यापक अन्तरक्रिया भइरहेको देखिन्छ ।

नेपालको राजनीतिमा ‘नयाँ शक्ति’ भन्ने शब्दले ठूलो आशा बोकेको छ । पुराना दलहरूका कमजोरी, नैतिक पतन र शक्ति दुरुपयोगको विकल्पका रूपमा नयाँ शक्तिहरू बलियो बन्नुपर्छ भन्ने आवाज अहिले व्यक्त भइरहेको छ ।

पुराना राजनीतिक दलप्रति आक्रोशित नागरिककै कारण २३ र २४ भदौमा जेन–जी विद्रोह भएको थियो, जसले २४ घण्टामै ठूला दलहरू मिलेर बनेको बलियो सरकार ढालेकों थियो । त्यसपछि नै वैकल्पिक शक्तिहरूको आवश्यकता झन् बढी अभिव्यक्त हुन थाल्यो । यो एकता त्यसकै प्रतिविम्ब हो ।

तर प्रश्न उठ्छ– नयाँ भनिएकाहरूको शक्ति केन्द्रमा को छ ? नयाँ भनिएका शक्तिहरूले पनि पुरानै प्रवृत्तिका केही आधारभूत समस्यालाई आत्मसात् गरिरहेका त छैनन् ? किनकि, सहरमा बस्ने राजनीतिक नेतृत्व र पहुँचवालाहरूको हालीमुहाली झनै मजबुत बन्दै गएको छ । सामाजिक सञ्जाल, डिजिटल मिडिया र सार्वजनिक मञ्चमा उनीहरूको आवाज बुलन्द छ । तर गाउँहरूको यथार्थ फरक छ ।

आज पनि धेरै गाउँले देशको राजनीति र सूचना बुझ्न रेडियोमै निर्भर छन् । ‘डिजिटल नेपाल’ को नारा गाउँसम्म पुग्न सकेको छैन, जसले गर्दा सहर र गाउँबीचको दूरी झनै गहिरो बनेको छ । फेरि मनमा प्रश्न उठ्छ– ‘नयाँ शक्ति’ भनिएकाहरूको एकताको खबर नेपालका गाउँसम्म पुगे होलान् कि नाई ? उनीहरूले आफ्नो प्रतिनिधित्वको महसुस गरे कि नाई ?

‘समावेशी राजनीति’ को नारा बोकेर अघि बढेका नयाँ शक्तिहरूमा पनि निर्णय गर्ने तहमा उही सीमित अनुहारहरू देखिन थालेका छन् । समानुपातिक प्रतिनिधित्वका नाममा पहुँच भएका, चिनजान भएका र आर्थिक–सामाजिक रूपमा सबल वर्गकै वरिपरि घुम्ने प्रवृत्ति दोहोरिन थालेको छ । आमनागरिक, किसान, मजदुर, दलित, महिला र सीमान्तकृत समुदायहरू नीति निर्माणको केन्द्रमा छैनन् । यदि नयाँ शक्तिहरूले पुरानै बाटो पछ्याए भने ‘नयाँ’ भन्ने शब्द केवल चुनावी नारा मात्र बन्ने त होइन ?

यो लेख लेखिरहँदा विघटित संसद्को एउटा झल्को स्मरण भइरहेको छ । संसद्मा कागजको चिर्कटो बोकेर गएकी एक जना सदस्यले पढ्न अलि अप्ठ्यारो मान्छिन् । त्यतिबेला उनको आलोचना भएको थियो । प्रश्न उठ्छ– यो देश पढ्न जान्नेहरूका लागि मात्र हो ? जसका लागि समानुपातिक प्रणाली बनाइएको हो, उनीहरूको प्रतिनिधि त्यहाँ पुग्दा उडाउनुपर्ने कुरा के थियो ? नेपाली समाज आज जुन रूपमा अघि बढिरहेको छ, त्यसले विभिन्न नयाँ विभेदका अंशहरू जन्माइरहेको छ । सामाजिक सञ्जालमा लोकप्रिय नभएकालाई मान्छे नै नगन्ने जुन संस्कार बसिरहेको छ, भोलि यसको निर्माताहरू पनि यसका सिकार बन्नेछन् ।

त्यसैगरी, नैतिकताको प्रश्न झन् जटिल बन्दै गएको छ । पुराना दलहरूमा नैतिकता खोज्दै सडकमा उत्रिएका नागरिकहरूले नयाँ शक्तिहरूका गतिविधिलाई पनि निगरानी गर्नुपर्नेछ । आलोचना सहन नसक्ने, असहमतिको आवाजलाई ‘पुरानो सोच’ भन्दै खारेज गर्ने प्रवृत्ति देखापरेमा त्यो लोकतान्त्रिक चेतनाका लागि घातक हुन्छ ।

शक्ति केन्द्रमा पुगेपछि पारदर्शिता, जवाफदेहिता र आत्मालोचनाको संस्कार कत्तिको मजबुत रहन्छ– यहीँबाट नयाँ शक्तिहरूको वास्तविक परीक्षा सुरु हुन्छ । पुरानामा नैतिकता खोज्नेहरू अहिले निवार्चनको जिम्मेवारी पाएको सरकारका मन्त्री छन् । के उनीहरूले नैतिकता देखाउन पर्दैन ? उनीहरूले नैतिकता नदेखाउँदा पनि नेपाली जनता उनीहरूको साक्षी बसिदिनुपर्ने हो ?

नेपाली राजनीतिलाई साँच्चै रूपान्तरण गर्ने हो भने एकता केवल अनुहारको होइन, विचार र संरचनाको हुनुपर्छ । सहर–केन्द्रित उत्साहलाई गाउँ–गाउँसम्म पुर्‍याउने स्पष्ट रणनीतिबिना वैकल्पिक शक्तिहरूको यात्रा अपूरो रहन्छ । यदि रवि, बालेन र कुलमानको एकता जनताको दैनिकी, पीडा र आशासँग जोडिन सक्यो भने त्यो ऐतिहासिक मोड बन्न सक्छ ।

नत्र भने नयाँ शक्ति पनि पुरानै शक्तिको नयाँ संस्करण बन्ने जोखिमलाई नकार्न सकिँदैन । त्यसैले रवि, बालेन र कुलमानहरूले पनि बुझ्नुपर्छ, सम्झौता केवल खोस्टा बराबर हो, यही निभाउने मान्छे जिम्मेवार छैनन् भने । उनीहरूको एकताको रंगमञ्च पछिल्लो हप्ता जसरी मञ्चन गरिएको छ, नेपथ्यमा कतै समयले हेरिरहेको छ र भोलि त्यही समयले उनीहरूलाई प्रश्न गर्ने छ– कुन नयाँ ? 

आज जुन अनुहार देखिँदै छन्, त्यहाँ विरलै सीमान्तकृतलाई प्रतिनिधित्व गर्नेहरू होलान् । वैकल्पिक शक्तिलाई पपुलिजमको बन्दी बनाउन नदिनका लागि हामीले प्रश्न गरौं । उम्मेदवार सामाजिक सञ्जालको लाइकले मापन नगरौं, योग्यतामा मात्र पनि मापन नगरौं । विविधता भएको मुलुक हो, सबै समुदाय र सबै जातजातिको प्रतिनिधित्व सुनिश्चित गराऔं । 

देशको माया लागेर, विकासको आशामा नयाँ नेपालको सपना देख्ने र त्यसलाई साकार पार्ने विश्वास बोकेका युवाले पनि नेतृत्वलाई प्रश्न गर्न डराउन हुँदैन । पद क्षणिक हुन्छ तर जिम्मेवारी इतिहासजत्तिकै भारी हुन्छ । आजको समय नयाँहरूको हो भन्ने सत्य हो तर यहीँ एउटा सत्य पनि बिर्सन हुँदैन, हरेक नयाँ शक्ति एक दिन पुरानो बन्छ । आज जसलाई भरोसा गरिएको छ, उनीहरू पुराना बन्दै जाँदा पनि युवाहरूले धैर्य गर्न सक्छन् ? शक्ति केन्द्रमा पुगेपछि पनि उनीहरूले नयाँ सोच, नयाँ साहस र नयाँ न्याय जोगाइराख्न सक्छन् ? नयाँ शक्ति स्वयं पुरानो बन्दै जाँदा पनि नयाँ आशाको दियो बनेर बलिरहन सक्छ कि सक्दैन ? यही नै निर्णायक प्रश्न हो । 

वर्गीय विभेद गहिरिँदै गएको नेपाली समाजमा हाम्रो नेतृत्वले साँच्चै हाम्रो आवाज बोल्छ ? हाम्रो पीडा, हाम्रो सपना र हाम्रो संघर्षलाई प्रतिनिधित्व गर्छ ? पछाडि पारिएका समुदायले गर्वका साथ यो मेरो नेतृत्व हो भन्न सक्छन् ? यदि उत्तर ‘हो’ भने, नयाँ नेपालको बाटो खुला छ । होइन भने परिवर्तनका नाममा केवल पात्र मात्र फेरिन्छन् ।

नीराजन खड्काले जेन-जीको प्रतिनिधित्व गर्छन्।

Link copied successfully