अभिभावकहरू सिकाउनुपर्ने कुरा विद्यालयले नै सिकाइदेओस् भन्ने अपेक्षा राख्छन्, विद्यालयले अस्विकार्य क्रियाकलापमा विद्यार्थी संलग्न गराए भने पनि अभिभावक चुपै रहन्छन् किनकि विद्यालयले यस्ता क्रियाकलापलाई संस्कार र नैतिक शिक्षा सिकाइको लेप लगाएका हुन्छन् ।
What you should know
बोर्डिङले गरिदिन थाले विद्यार्थीको विवाह’ शीर्षकको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । लुम्बिनी प्रदेशको एक निजी विद्यालयले यही डिसेम्बरको दोस्रो साता विद्यालयमा ‘कल्चरल फेस्ट–२०८२’ कार्यक्रम आयोजना गरेको रहेछ । उक्त कार्यक्रममा ‘ब्राह्मण समुदायअन्तर्गतको विवाह संस्कृतिको एक झलक’ भागमा विद्यालयमा अध्ययन गर्ने दुई विद्यार्थीबीच विवाह मण्डप नै खडा गरेर विवाह गराइएको दृश्य हेर्न सकिन्छ । धेरै व्यक्तिले यसको विरोध गरिरहेका छन् ।
विद्यालयहरूले संवेदनशील सामाजिक विषय सिकाउन गरेको प्रयासको यो त एउटा उदाहरण मात्रै हो । विद्यालयहरूले सोह्रश्राद्धका बेला नै दसैंको टीका र जमरा लगाइदिएर दसैं मनाएको, कृष्णअष्टमीको एक हप्ताअघि नै बालबालिकालाई राधा र कृष्ण बनाएर कृष्णअष्टमी मनाएको समाचार र दृश्य अहिले पनि सामाजिक सञ्जालमा बग्रेल्ती पाउन सकिन्छ ।
यस्ता अभ्यासहरू प्रायः सांस्कृतिक वा नैतिक शिक्षाका नाममा वा संस्कार सिकाउने बहानामा गरिएको पाइन्छ । यस्ता अभ्यासले बालबालिकालाई कति नैतिकवान् बनायो ? कति संस्कार सिकायो ? थाहा छैन । ज्ञानको अभावमा या कुनै स्वार्थले प्रेरित भएर विद्यालयहरूले यस्ता कार्यक्रम आयोजना गरेका हुन्छन् ।
अरू विद्यालयभन्दा आफूलाई फरक देखाउने लोभमा वा एउटा विद्यालयले जे गर्यो, त्यसको अनुसरण गर्ने नाममा पनि विद्यालयले संवेदनशील सामाजिक विषयमा विद्यार्थीलाई विभिन्न क्रियाकलाप आयोजना गरी सहभागी गराएका हुन्छन् । बरमझियाको पेडाको व्यापार र हाम्रो विद्यालय चलाउने शैली उस्तै छ । एउटा विद्यालयले विवाह गरायो, अर्कोले व्रतबन्ध गरिदिन बेर छैन । एउटाले जे गर्यो, अर्कोले त्यही गर्नुपर्ने । विद्यालयहरूले ‘आफ्नोपन’ विकास गरेको उदाहरण विरलै पाइन्छ ।
धर्म र विश्वास प्रणालीहरू संवेदनशील सामाजिक विषय हुन् । यस्ता विषय सिकाउँदा शिक्षक र विद्यालय चनाखो हुनुपर्छ । यस्ता विषयलाई अरूभन्दा फरक देखिन, त्यसले पार्ने प्रभावको मूल्यांकन नगरीकन, फगत मनोरन्जनका लागि हचुवाका भरमा सिकाउनु हुँदैन । विद्यालय, शिक्षकको बुझाइको कमजोरी र विद्यालयप्रति अभिभावकको पूर्ण विश्वासका कारण विद्यालयहरूले मनमौजी तरिकाले आफूखुसी विद्यार्थीलाई सिकाइ क्रियाकलापमा संलग्न गराएका हुन्छन् ।
यो अभिभावक र बालबालिकाप्रति गरिएको विश्वासघात हो । यस्ता गतिविधिलाई प्रोत्साहन दिन शिक्षक, अभिभावक र समाजको मनोवृत्तिले पनि काम गरेको हुन्छ । ‘विद्यालय मात्रै सिकाइको थलो हो, सिक्ने भनेको विद्यालय र शिक्षकबाट मात्रै हो, विद्यार्थीले सिक्ने कुरा सबै विद्यालयमा सिक्नुपर्छ’ भन्ने मानसिकता बोक्दा विद्यालयहरूमा यस्ता हर्कत चलिरहन्छन् । विद्यालय चलाउने नाममा अरूभन्दा केही फरक देखिने होडबाजीको सिकार बालबालिका भइरहेका छन् ।
अभिभावकहरू सिकाउनुपर्ने कुरा विद्यालयले नै सिकाइदेओस् भन्ने अपेक्षा राख्छन् । विद्यालयले अस्विकार्य क्रियाकलापमा विद्यार्थीलाई संलग्न गराए भने पनि आम अभिभावक चुपै रहन्छन् किनकि विद्यालयले यस्ता क्रियाकलापलाई संस्कार र नैतिक शिक्षा सिकाइको लेप लगाएका हुन्छन् । विद्यालयले जे गरे पनि ‘ठीक गर्यो’ भन्ने ठान्छन् । यस्ता क्रियाकलाप र अभ्यासले क्षणिक मनोरन्जन प्रदान गर्ने हुनाले कमै मात्रामा यस्ता हर्कतको विरोध गरेको देखिन्छ ।
‘घर–परिवार, समुदाय र सामाजिक संघसंस्थाहरू ज्ञानका भण्डार हुन्, किताब र शिक्षकबाट भन्दा बढी आफू बसेको समाज र घर–परिवारका सदस्यहरूबाट सिक्न सकिन्छ’ भन्ने सोच अभिभावक र शिक्षकहरूमा अझै पनि विकास भएको देखिँदैन । घर–परिवार र समाजलाई सिकाइको केन्द्र बनाउन नसकिएकै कारण सिकाइ विद्यालयको हाताभन्दा बाहिर निस्कन सकेन, जसले गर्दा विद्यालयहरूले सिकाइको बहानामा गर्न हुने र नहुने दुवै क्रियाकलाप गरेको देखिन्छ ।
अब कुरा गरौं, बुटवलको एक विद्यालयले विवाह मण्डप नै खडा गरेर विवाह संस्कार सिकाएको प्रसंगको । विवाहबारे गरिने शिक्षण, विवाहबारे अभिनय र अभ्यास गराएर सिकाउने विषय एउटै होइन । सबै अवधारणा अभ्यास र अभिनय गराएरै सिकाउनुपर्छ भन्ने पनि हुँदैन । विद्यालयहरूले विवाहबारे सिकाउनुपर्छ । विद्यार्थीहरूले पनि यसबारे जान्नुपर्छ । तर, सिकाउने नाममा विद्यालयभित्र धार्मिक अनुष्ठान अभ्यास गर्नु शैक्षणिक रूपमा स्वीकार गर्न सकिँदैन ।
विद्यालयहरू सार्वजनिक र लोकतान्त्रिक स्थान हुन् । विद्यालयहरूको उद्देश्य कुनै विशेष आस्था वा विश्वास प्रणालीलाई प्रवर्द्धन गर्नु होइन । ती संस्थाहरूको उद्देश्य आलोचनात्मक सोच विकास गर्नु, सामाजिक एकता बढाउनु र साझा नागरिक मूल्यहरू निर्माण गर्नु हो । सार्वजनिक संस्थाहरू निष्पक्ष र तटस्थ हुनुपर्छ । हाम्रो जस्तो बहुलवादी समाजमा विद्यालयहरू त झन् धार्मिक रूपमा तटस्थ रहनुपर्छ ।
व्यक्तिगत र स्वैच्छिक धार्मिक अभिव्यक्ति स्विकार्य हुन सक्छ, तर संस्थागत धार्मिक अभ्यास विद्यालय जस्तो स्थानमा स्विकार्य हुँदैन । विद्यालयमा गरिने धार्मिक अभ्यासले सूक्ष्म रूपमा अल्पसंख्यक विद्यार्थीहरूलाई दबाबमा राख्छ । विद्यालय प्रत्येक विद्यार्थीका लागि भावनात्मक रूपमा सुरक्षित स्थान हुनुपर्छ ।
विद्यार्थीलाई अलग्याउने वा कलंकित गर्ने अभ्यासहरू नैतिक रूपमा अस्विकार्य हुन्छन् । धार्मिक शिक्षा दिने उद्देश्यले खोलिएका विद्यालयहरूले उमेर र कक्षा सुहाउँदा यस्ता अभ्यास र अभिनय गराउन सक्छन । तर, फरक उद्देश्य राखेर खोलिएका विद्यालयहरूले यस्ता क्रियाकलाप गर्नु उचित हुँदैन ।
बालबालिकाहरू विकासशील नैतिक व्यक्तिहरू हुन् । उनीहरू वयस्कहरूको जस्तो पूर्ण रूपमा सामाजिक भूमिका निर्वाह गर्न सक्षम भइसकेका हुँदैनन् । सानै उमेरका बालबालिकालाई विवाह जस्तो जटिल सामाजिक भूमिकामा यथार्थपरक रूपमा अभिनय गराउँदा तिनलाई समयभन्दा अगाडि वयस्क भूमिकामा धकेल्छ, जसले सिकाइ र वास्तविक सामाजिक भूमिकाबीच भ्रम सिर्जना गर्छ । बालबालिकालाई समयभन्दा अगाडि वयस्क संसारमा धकेल्नु खतरनाक हुन्छ ।
विवाह भनेको कानुनी, भावनात्मक, सांस्कृतिक र वयस्क जीवनसँग जोडिएको सामजिक संस्था हो । यो केवल ‘अभिनय गरेर देखाउन सकिने’ साधारण सामाजिक भूमिका होइन । विवाहका स्वरूपहरू समाज र संस्कृतिअनुसार फरक–फरक हुन्छन् । विवाहले वयस्कहरूलाई सहकार्य, पारस्परिक सहयोग र जिम्मेवारी बाँड्न मद्दत गर्छ । विवाहसम्बन्धी सोच, भूमिका र अभ्यास समयसँगै परिवर्तन हुँदै आएका छन् । विवाहले व्यक्ति, परिवार, समुदाय र समाजबीच नयाँ सम्बन्धहरू सिर्जना गर्छ ।
विवाहको अर्थ र महत्त्व मानिसहरूले आफ्नो संस्कृति, अनुभव र विश्वासअनुसार फरक–फरक रूपमा बुझ्छन् । विवाहमा आपसी सम्मान, समानता र जिम्मेवारी आवश्यक हुन्छ । विवाह अभिनय गरेर सजिलै बुझिने विषय होइन, यो फगत रमाइलोका लागि गरिने क्रियाकलाप होइन । विवाह संस्कृति, धर्म, कानुनी प्रणाली, परिवार संरचना आदि अनुसार फरक–फरक हुन्छ । विवाहको एउटै मोडेललाई सामान्य रूपमा स्वीकार गर्नु, अन्य वास्तविकतालाई मौन बनाइनु, सबै कुरा वास्तविक बनाउने प्रयास गरिनु सिकाइ र विद्यार्थीको जीवन जोखिममा पार्नु हो । यस्तो अभ्यास बहुलवाद र समावेशिताको विरुद्ध पर्छ ।
संवेदनशील सामाजिक विषय कक्षाकोठा र विद्यालयको हाताभित्र अभिनय गरेर सिकाउनुभन्दा परिवार र समुदायमा हुने कार्यक्रममा सहभागी भएर, अवलोकन गराएर सिकाउन सकिन्छ । कथा, घटना अध्ययन छलफल, दृश्य सामग्री प्रयोग गरेर पनि सिकाउन सकिन्छ । विवाह कसरी गर्ने भन्दा पनि समाजले विवाहलाई किन सम्मान गरेको छ ? किन मूल्य दिएको छ ? भन्ने सिकाउनुपर्छ । विद्यालय ज्ञान अन्वेषणको स्थान हो, विश्वास निर्माणको उपकरण होइन ।
यो विषय शिक्षक र विद्यालय प्रशासनले गहिरोसँग बुझ्न आवश्यक छ । विवाह अवधारणाअन्तर्गत परिवारका विविध रूपहरू— जस्तै एकल अभिभावक, विस्तारित परिवार, पुनर्विवाह जस्ता केन्द्रीय विचार वा अवधारणाहरू सिकाउनुपर्छ । विवाहसँग सम्बन्धित सम्मान, हेरचाह, जिम्मेवारी, सहमति जस्ता महत्त्वपूर्ण केन्द्रिय अवधारणामा आधारित रहेर विभिन्न क्रियाकलापमा सहभागी गराइ शिक्षण गर्न सकिन्छ ।
शिक्षाले विद्यार्थीलाई जीवनका लागि तयार पार्नुपर्छ, तर समयभन्दा अगाडि जीवन बाँच्न बाध्य पार्नु हुँदैन । विद्यालयहरूले अवधारणाको बुझाइ विस्तार गर्नुपर्छ, विश्वास थोपर्नु हुँदैन । नैतिक तर्कशक्ति विकास गर्नुपर्छ, भूमिका जबर्जस्ती लागू गर्नु हुँदैन । बाल्यकाल र सिकाइलाई संरक्षित र नैतिक रूपमा सम्मान गर्नुपर्छ । शिक्षकले संवेदनशील विषय शिक्षण गर्दा परिवारसँग सहकार्य गर्नुपर्छ । सांस्कृतिक शिक्षा र सामाजिक अभिनयबीच स्पष्ट सीमा कोर्नुपर्छ । शिक्षकले विद्यार्थीको उमेरअनुसार उपयुक्त, समावेशी र चिन्तनमूलक सिकाइ क्रियाकलाप निर्माण गर्नुपर्छ ।
विद्यालयले सिकाउने नाममा वयस्क सामाजिक संस्थाहरूको नक्कल गर्ने होइन । आलोचनात्मक सोच, नैतिक तर्क र अन्तर–सांस्कृतिक समझ विकास गर्ने हो । विद्यालयले बालबालिकाको विकासात्मक अवस्था, स्वायत्तता र विविधताको सम्मान गर्नुपर्छ । विद्यालयहरू विश्वास–तटस्थ हुनुपर्छ । विद्यालयले धर्मबारे पढाउनुपर्छ, तर संस्थागत रूपमा धर्म अभ्यास गराउनु हुँदैन । विद्यालयले कुनै एक विश्वास प्रणालीलाई मात्रै प्राथमिकता दिनु हुँदैन ।
विवाह र पारिवारिक जीवनलाई अवधारणात्मक रूपमा अध्ययन गर्नुपर्छ । विवाह जस्तो संवेदनशील विषयलाई वास्तविक रूपमा अभिनय गराएर सिकाउँदा विद्यार्थीले बयस्कहरूको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । बालबालिका वयस्क भूमिकाका वाहक होइनन् । विद्यार्थीलाई ‘पति/पत्नी’ को पहिचान तोक्ने, वास्तविक वैवाहिक भूमिकाको नक्कल गर्ने, लैंगिक वा सांस्कृतिक रूढिवादी परम्पराहरू सुदृढ गर्ने कार्य विद्यालयहरूले गर्ने अभ्यास होइनन् । यसले प्रत्यक्ष र परोक्ष रूपमा विद्यार्थीको समग्र विकासमा बाधा पुर्याइरहेको हुन्छ । भोलि ती दुलाहा–दुलही बनेका केटाकेटी हेपाइको सिकार भए भने त्यसको जिम्मा कसले लिने ? यस्ता हर्कतले भविष्यमा निम्त्याउने जोखिम कसले बेहोर्ने ?
विद्यालयमा सिकाइने विषयवस्तु विद्यार्थीको बौद्धिक, भावनात्मक र नैतिक विकाससँग मेल खानुपर्छ । उमेर र कक्षा सुहाउँदो हुनुपर्छ । अभिनय गराउनैपरे सावधानीपूर्वक प्रतीकात्मक रूपमा मात्रै गराउनुपर्छ । सिकाइ वयस्क वास्तविकताको नक्कल गर्ने अनुभवात्मक अभ्यासमा आधारित हुनुहुँदैन । विवाहको अभिनय गराउँदा यज्ञ मण्डप नै बनाएर विधिपूर्वक सबै कर्म पूरा गर्ने काम राम्रो होइन । विद्यालय शैक्षिक स्थल हुन् ।
धार्मिक वा सामाजिक रीतिरिवाज अभ्यास गर्ने थलो होइनन् । धार्मिक, सामाजिक, सांस्कृतिक रीतिरिवाज अभ्यास गर्ने थलो भनेको समाज र परिवार नै हो । त्योभन्दा ठूलो प्रयोगशाला कक्षाकोठा र विद्यालयको कम्पाउन्ड हुन सक्दैन । विद्यालयले समावेशिता र विविधतालाई आत्मसात् गर्नुपर्छ । सिकाइको केन्द्रमा समावेशिता र विविधतालाई राख्नुपर्छ । कुनै एक मोडेललाई ‘सामान्य’ वा ‘आदर्श’ बनाउनुभन्दा विभिन्न धर्म, संस्कृति र परिवार संरचनाको प्रतिनिधित्व गराएर सिकाउनुपर्छ । कुनै एक मोडेललाई मानक बनाएर विद्यार्थीलाई सिकाइ क्रियाकलापमा संलग्न गराउनु राम्रो हुँदैन ।
शिक्षकहरू सहजकर्ता हुन्, धार्मिक प्राधिकार होइनन् । शिक्षकहरूले विश्वास थोपर्ने होइन, अनुसन्धानलाई प्रोत्साहन गर्ने तटस्थ सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । संवेदनशील सामग्रीबारे विद्यार्थीलाई सिकाउँदा अभिभावकहरूलाई अग्रिम जानकारी गराई उनीहरूको पूर्वस्वीकृति लिनुपर्छ । विद्यार्थीलाई लज्जित बनाउने, लेबल लगाइने वा अलग गरिने गतिविधिबाट जोगाउनुपर्छ । बालबालिकाले अनुसन्धान, आत्मचिन्तन र संवादमार्फत उत्कृष्ट रूपमा सिक्छन् । सिकाइमा यस्ता अभ्यासहरूलाई आत्मसात् गरिनुपर्छ । विविधता, स्वायत्तता र बालअधिकारको सम्मान हामी वयस्कहरूको नैतिक र शैक्षिक दायित्व पनि हो ।
नेपालको शिक्षा प्रणालीलाई सामाजिक, सांस्कृतिक र धार्मिक परम्पराहरूले गहिरोसँग गाँजेको छ । शताब्दीयौंसम्म गुरुकुल, विहार र सामुदायिक धार्मिक संस्थाहरूमा शिक्षा प्रदान गरिन्थ्यो, जहाँ नैतिक र आध्यात्मिक निर्माण शिक्षासँग जोडिएको पाइन्छ । हाम्रा विद्यालयहरू गहिरो धार्मिक परम्परा, विविध जातीय पहिचान र बलियो पारिवारिक तथा सामुदायिक प्रभावले निर्माण भएको जटिल सामाजिक–सांस्कृतिक परिवेशमा सञ्चालन भइरहेका संस्था हुन् । संवैधानिक धर्मनिरपेक्षता, विश्वव्यापी शैक्षिक ढाँचा, बालअधिकार र कक्षाकोठामा बढ्दो सांस्कृतिक भाषिक, लैंगिक विविधताले कक्षाकोठालाई समृद्ध बनाएको छ ।
नेपाल हिन्दु, बौद्ध, इस्लाम, इसाई, किरात तथा विभिन्न आदिवासीका विश्वास प्रणालीहरूको साझा घर हो । नेपालको संविधान (२०७२) ले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको छ, जसको अर्थ राज्य सबै धर्मप्रति तटस्थ रहन्छ र विश्वासको स्वतन्त्रता सुनिश्चित गर्छ । धर्म र विवाह नेपाली समाजका अभिन्न अंग भए पनि बहुसांस्कृतिक शैक्षिक सन्दर्भहरूका औपचारिक विद्यालय शिक्षामा संवेदनशील सामाजिक विषय जोडिन्छन् ।
त्यहाँ शिक्षणमा दार्शनिक, नैतिक र शैक्षिक प्रश्नहरू जोडिन्छ नै । धर्म र विवाह निजी विषय मात्रै नभई जात, जातीयता, लैंगिक मान्यता र सामुदायिक अपेक्षाले निर्माण गरेका सामूहिक–सामाजिक अभ्यास हुन् । शिक्षा दर्शन, नैतिक दर्शन र राजनीतिक दर्शनहरूले धर्म र सामाजिक संस्थाहरूबारे पढाउनुपर्छ, तर संस्थागत धार्मिक अभ्यास वा वयस्क जीवनको नक्कल गर्ने अभ्यासमा संलग्न हुनु उपयुक्त हुँदैन भन्ने तर्क प्रस्तुत गरेका छन् ।
आज नेपालका कतिपय क्षेत्रमा कानुनी निषेध हुँदाहुँदै पनि बालविवाह सामाजिक यथार्थकै रूपमा रहेको छ । त्यसैले विद्यालयमा विवाहसम्बन्धी यस प्रकारको अभिनयात्मक सिकाइ अझ संवेदनशील बनेको देखिन्छ । विद्यालयहरूले विवाह सिकाउन यथार्थपरक अभिनय (जस्तैः विवाह समारोहको नक्कल वा पति–पत्नीको भूमिका बाँडफाँट) प्रयोग गर्दा परम्परागत लैंगिक असमानता बलियो बनाउने, विषम लैंगिक मोडेल सामान्यीकरण गर्ने र बालबालिकालाई समयभन्दा अघि वयस्क भूमिकामा धकेल्ने जोखिम रहन्छ ।
शिक्षाशास्त्रीहरूले बालबालिकालाई उनीहरूमा आवश्यक भावनात्मक र नैतिक क्षमता विकास हुनुअघि नै वयस्क भूमिका थोपर्ने अभ्यासप्रति चेतावनी दिएका छन् । विवाहमा सहमति, आत्मीयता र कानुनी जिम्मेवारी समावेश हुन्छ । यी पक्षहरू बालबालिकाले अर्थपूर्ण रूपमा अनुकरण गर्न सक्दैनन् । विवाह जस्तो संवेदनशील विषयलाई ठट्टाका रूपमा प्रस्तुत गरिनु र मनोरन्जनको विषय बनाइनु झन् घातक हुन्छ ।
यस्ता अभ्यासहरूले बाल संरक्षण र लैंगिक समानताप्रतिको नेपालको प्रतिबद्धतासँग पनि द्वन्द्व सिर्जना गर्न सक्छन् । अनुभवजन्य सिकाइ उपयोगी भए पनि सबै ज्ञान अभिनयमार्फत सिकिनुपर्छ भन्ने होइन । शिक्षा वयस्क जीवनको अभ्यास होइन, बुझाइ विकास गर्ने प्रक्रिया हो ।
विद्यालयहरूले संवेदनशील सामाजिक विषयहरू सिकाउँदा तटस्थताको सिद्धान्त अवलम्बन गर्नुपर्छ । विवाहजस्ता विषयहरू यथार्थपरक अभिनयमार्फत होइन, अवधारणात्मक रूपमा पढाइनुपर्छ । संवेदनशील विषयहरू परिवारसँग पारदर्शी रूपमा आदानप्रदान गर्दै विश्वास निर्माण गर्नुपर्छ । शिक्षकहरूले विद्यार्थीमाथि कुनै पनि विश्वास वा भूमिका थोपर्नु उपयुक्त हुँदैन । बरु अनुसन्धान र आत्मचिन्तनलाई प्रोत्साहन गर्नुपर्छ ।
नेपालको परिवर्तनशील शैक्षिक परिवेशमा विद्यालयहरूले सांस्कृतिक परम्परा र दार्शनिक, नैतिक तथा बाल–केन्द्रित सिद्धान्तबीच सन्तुलन कायम गर्नुपर्छ । धर्म र विवाह नेपाली सामाजिक जीवनका केन्द्रमा भए पनि विद्यालयमा संस्थागत धार्मिक अभ्यास र विवाहको यथार्थपरक अभिनयले बहिष्करण, बाध्यता र समयपूर्व वयस्कीकरणको जोखिम निम्त्याउँछ ।
अनुसन्धान–आधारित र चिन्तनशील दृष्टिकोणले विद्यार्थीहरूलाई सामाजिक संस्थाहरू आलोचनात्मक रूपमा बुझ्न मद्दत गर्छ । विद्यालयको सिकाइले विद्यार्थीको पहिचानगत, संस्कृतिगत विविधता, स्वायत्तता र बालअधिकारको सम्मान गर्छ । यस्तो दृष्टिकोणले नेपालको संवैधानिक मूल्य र बालअधिकारप्रति देशको प्रतिबद्धताको सम्मान गर्नुका साथै विद्यार्थीलाई जटिल र बहुलवादी समाजमा जिम्मेवार नागरिकका रूपमा उभ्याउनका लागि तयार गर्छ ।
– लामिछाने युलेन्स स्कुलका प्रिन्सिपल हुन्
