नयाँ पाइलामा चिडियाखाना 

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखानाको व्यवस्थापकीय जिम्मेवारी वहन गरेको ३० वर्ष पूरा भयो, आर्थिक दुरवस्थाको दुश्चक्र चिर्दै सम्पन्नशाली यात्रामा हिँडिरहेको चिडियाखानाले वन्यजन्तुको उद्धार र पुनःस्थापनामा कदम चालिरहेको छ ।

पुस १५, २०८२

हरिहर तिमिल्सिना

Zoo on a new footing

What you should know

हिजो पुस १४, अर्थात् सदर चिडियाखानाको ३० औं वार्षिक–उत्सव । यो बेला चिडियाखानाको पुरानो र नयाँ यात्रा–कथा सम्झनु सान्दर्भिक हुनेछ । 

सन् १९२१ को साहित्यतर्फको नोबेल पुरस्कार विजेता, सुप्रसिद्ध कृति ‘पेनगुइन आइल्यान्ड’ का लेखक एनाटोल फ्रान्सले भनेका थिए, ‘एउटा जनावरलाई प्रेम नगरेसम्म मानिसको आत्मा एक हिस्सा पनि जागृत हुन सक्दैन ।’ ‘पेनगुइन आइल्यान्ड’ को कथा आफैंमा रोचक छ । एक पटक एकजना पादरी पेन्गुइनहरूको बसोबास क्षेत्रमा पुग्छन् । लहर लागेर उभिएका पेन्गुइनलाई उनी मानिसका रूपमा कल्पना गर्छन् र धर्मोपदेश दिन थाल्छन् । उनको यस कदमले देवलोकमा खैलाबैला मच्चिन्छ । देवताहरूले ती सबै पेनगुइनलाई मानिसमा रूपान्तरण गरिदिन्छन् । पेनगुइनहरू मानिसमा परिवर्तित भएपछि लुगा लगाउन, जमिन जोड्न, धन थुपार्न र यौनमा लिप्त हुन पुग्छन् । तिनीहरूमा अनैतिकता र तृष्णाको जालो बढ्दै जान्छ । अन्त्यमा ती मानिस हत्या, हिंसा र युद्धमा उत्रिन्छन् । यहाँ ‘लुगा’ लाई मानव सभ्यताको सुरुवाती बिन्दुका रूपमा लिइएको छ । निष्कर्षले भन्छ– लुगा लगाएका मानिसभन्दा नाङ्गा पेनगुइन सभ्य र नैतिक थिए । यस सन्दर्भले मानवको एकलकाँटे र स्वार्थीपना अनि जीवजन्तुको अबोध र निःस्वार्थपनाको प्रतिनिधित्व गर्छ ।

महाभारतको अन्त्यमा पनि एउटा प्रेरणादायी सन्दर्भ छ । पाँच पाण्डव स्वर्ग जाने तयारी गर्दै गर्दा सबैले उनीहरूको साथ छोड्दै गए । एउटा कुकुर भने स्वर्गको द्वारसम्म पछिपछि लागेर गयो । इन्द्रले युधिष्ठिरलाई कुकुर लिएर स्वर्गभित्र प्रवेश गर्न नपाइने कथन सुनाए । युधिष्ठिरले भने, ‘इन्द्रदेव ! सबैले साथ छोडेका बेलामा यस कुकुरले हामीलाई अन्तिम समयसम्म साथ दिई यहाँसम्म आयो । यसले स्वर्गभित्र प्रवेश पाउँदैन भने हजुरको दिव्य स्वर्गको बास मलाई पनि मञ्जुर छैन ।’ यस कथनले जीवजन्तुसित मानिसको परापूर्वकालदेखिको सम्बन्धलाई उजागर गर्छ । 

हुन पनि मानिस र जीवजन्तुबीच बडो गज्जबको सम्बन्ध छ । जीवजन्तु, चराचुरुङ्गी र कीटपतङ्ग छन् र त मानव जीवन सुन्दर छ । जीवजन्तु छन् र त यो धर्ती चलायमान छ । प्रकृतिका शृङ्गार र गहनाका रूपमा जीवजन्तुले यस धर्तीलाई शोभायमान बनाइरहेका छन् । आफूलाई संसारको सर्वोच्च प्राणी घोषणा गर्ने मानिसको जीवजन्तुबिना यस धर्तीमा केही अस्तित्व छैन । त्यही भएर जागरुक मानिसले प्रकृति र जीवजन्तुलाई जोगाउन विविध पहल गर्दै आएको छ । नेपालका सन्दर्भमा राष्ट्रिय प्रकृति संरक्षण कोषले प्रकृति र वन्यजन्तु संरक्षणका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ । कोषले जिम्मा लिएर सफल व्यवस्थापकीय नमुना प्रस्तुत गरेका विविध संस्थामध्ये सदर चिडियाखाना जाउलाखेल पनि एक हो । 

वि.सं. १९८९ मा जुद्धशमशेर जबराले 

आफ्नो निजी सोख पूरा गर्न सदर चिडियाखानाको स्थापना गरेका थिए । वि.सं. २००७ को परिवर्तनपछि चिडियाखाना नेपाल सरकारको स्वामित्वमा आयो । वि.सं. २०११ पछि मात्रै यो सर्वसाधारणका लागि खुला भयो । सरकारी निकायका रूपमा रहँदै गर्दा आर्थिक अभाव र व्यवस्थापकीय अन्योलबीच येनकेन प्रकारेण यो चल्दै आयो । वि.सं. २०५२ पुस १४ गतेदेखि चिडियाखानाको व्यवस्थापकीय जिम्मेवारी ६० वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको मातहतमा आयो । वि.सं. २०८२ पुस १४ गते चिडियाखानाले नयाँ व्यवस्थापनको छातामुनि समेटिएर तीसौं वर्षको यात्रा पूरा गरेको छ । यस अवधिमा सदर चिडियाखाना आर्थिक दुरवस्थाको दुश्चक्र चिर्दै सम्पन्नशाली यात्रामा पाइला चाल्दै छ । यसको आयाम र गरिमा विस्तार हुँदै आएको छ । 

सदर चिडियाखाना जाउलाखेलमा हाल विभिन्न १ सय १५ प्रजातिका १३ सयभन्दा बढी वन्यजन्तुहरू आश्रय लिइरहेका रहेछन् । तिनको रेखदेख, उपचार र सेवाका लागि संरक्षक (क्युरेटर), हेरालु (जु किपर), पशुचिकित्सक र प्रशासनिक एवम् व्यवस्थापकीय टोली दिनरात खट्ने गरेको छ । जाउलाखेलको व्यस्त सहरी वातावरणको छेवैमा लगभग १ सय १८ रोपनी (करिब ६ हेक्टर) क्षेत्रफलमा चिडियाखाना फैलिएको छ । भौगोलिक आयामका हिसाबले यो सानो छ, तर जैविक विविधताका दृष्टिले आफैंमा विशाल र उदाहरणीय छ । पछिल्लो समयमा यहाँका गोठ, टहरा र खोरहरूलाई अलि व्यवस्थित गरिएको रहेछ । यहाँ हरेक वर्ष दस लाख आगन्तुक आउने गरेका रहेछन् भने यसको वार्षिक आम्दानी १८ करोड पुगेको रहेछ । यद्यपि यस रकमले मात्रै जीवजन्तुको रेखदेख गर्न मनग्य नपुग्ने हुनाले विभिन्न व्यक्ति, संस्था र निकायहरूले यसलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

हाल चिडियाखानासित जोडिएर ‘संरक्षण शिक्षा’, ‘फ्रेन्डस् अफ जु’ र ‘एडप्ट एन एनिमल’ अभियान चलिरहेका रहेछन् । यहाँ आगन्तुकका लागि बाल उद्यान, नौका विहार, चौतारी, विश्राम स्थल, शिशु स्याहार केन्द्र, स्तनपान कक्ष, रेस्टुराँ, शौचालय र पिउने पानीको सुविधा पनि विस्तार भएको रहेछ । यो एक मनोरञ्जन स्थल मात्रै नभएर विभिन्न कलेज र विद्यालयका विद्यार्थी, शिक्षक, अध्येता र अनुसन्धानकर्ताका लागि ज्ञान आर्जन गर्ने केन्द्रका रूपमा विकसित हुँदै रहेछ । 

संसारका केही पशुप्रेमी, प्रकृतिप्रेमी र स्वतन्त्रताका उपासकहरू निरीह जीवजन्तुलाई एकै ठाउँमा थुनेर राखेको मन पराउँदैनन् । झट्ट हेर्दा चिडियाखानाले जीवजन्तुको प्राकृतिक अधिकार हनन गरेजस्तो पनि देखिन्छ । यस पंक्तिकारलाई पनि त्यस्तै लाग्थ्यो, तर भावना र यथार्थबीच एउटा ठूलो पर्खाल हुने रहेछ । वास्तविक कुरा के रहेछ भने चिडियाखाना जंगलबाट छलिएर सहर छिरेका, अन्य जीवले आक्रमण गरी घाइते बनाएका, कुनै दुर्घटना र प्राकृतिक विपत्तिको चपेटामा परी ज्यान गुमाउने अवस्थामा पुगेका एवम् मानवीय अतिक्रमणले खतरामा परेका जीवलाई बचाउने केन्द्र पनि रहेछ । वर्षमा चार सयभन्दा बढी जीवलाई सदर चिडियाखानाले उद्धार गरी पुनःस्थापना गर्दो रहेछ । केही अर्ना, चित्तल र कृष्णसार लगायतका जीवलाई जंगलमै लगेर छोडेका दृष्टान्त पनि छन् । यसरी सदर चिडियाखानाले वन्यजन्तुको उद्धार, उपचार र पुनःस्थापनामा कदम चाल्दै आएको रहेछ ।

प्राकृतिक बासस्थानबाट लोपोन्मुख जीवजन्तुलाई विश्वका विभिन्न अन्वेषक र चिडियाघरले प्रजनन, प्रवर्द्धन र संरक्षण गरी वंश जोगाएका रोचक प्रसंग छन् । नियन्त्रित प्रजनन गराई पुनः केही प्रजातिका घोडा, मृग, गिद्ध, कछुवा, भ्यागुता, बाँदर, सिंह, चितुवा आदिको वंश बचाएका उदाहरण दुनियाँमा धेरै छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको अगुवाइमा नेपालमा पनि लोपोन्मुख घडियाल गोही र एक प्रजातिको गिद्धको प्रजनन गराई तिनको संख्या अभिवृद्धि गराइएको छ । 

महामानव गौतम बुद्धले भनेका छन्, ‘सबै प्राणीप्रति दयाभाव राख्नु नै मानिसको सबैभन्दा ठूलो धर्म हो ।’ बुद्धका दुई आँखाले प्रज्ञा र करुणाको संकेत गर्छन् । सदर चिडियाखाना पनि प्रज्ञा र करुणाको सन्देश दिन अग्रसर भइरहेको देखिन्छ । पछिल्लो समयमा चिडियाखानाले उपत्यकाभित्रका मात्रै ३ सयभन्दा बढी विद्यालयमा संरक्षण शिक्षामा आधारित ४० भन्दा बढी कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसमा हजारौं विद्यार्थी र शिक्षक आबद्ध छन् । विद्यार्थीले किताब र काँचको पर्दामा देखेका वन्यजन्तुलाई सीधै जंगलमा गएर हेर्न सक्दैनन् । चिडियाखानाले नै विद्यार्थीलाई प्रत्यक्ष जीवजन्तु हेर्ने र यो सुन्दर धर्तीको अस्तित्वसित जोडिएको संरक्षण शिक्षालाई अघि बढाउने हौसला प्रदान गर्न सक्छ । आफूभन्दा ‘साना’ लाई ‘खाना’ बनाउने पारिस्थितिक प्रणालीको नियम हो, यसविपरीत चिडियाखानाले भुसुनादेखि हात्तीसम्मलाई जोगाउनुपर्छ भन्ने सन्देश दिँदै आएको छ । 

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना, जाउलाखेलको व्यवस्थापकीय जिम्मेवारी वहन गरेको ३० वर्ष पूरा भएको छ । आगामी दिनमा वन्यजन्तुको संरक्षण क्षेत्रमा यसले उदाहरणीय कार्य गर्न सकोस् । भक्तपुरको सूर्यविनायकमा स्थापना गर्ने भनिएको फराकिलो चिडियाखानाको कथा कहाँ पुग्यो ? जनमानसमा यसको पनि जिज्ञासा छ ।

हरिहर तिमिल्सिना

Link copied successfully