हामीले प्रश्न गर्ने वा विगतप्रति उनीहरूमा आत्मालोचनाको भाव छ कि छैन वा गलत बोले भन्ने स्विकारोक्ति छ कि छैन भनेर नसोध्ने हो भने हामी घृणा र उत्तेजनाको भासमा नराम्रोसँग जाकिने निश्चित छ ।
What you should know
काठमाडौँ — तोकिएको निर्वाचन मिति नजिकिँदै जाँदा दलहरूमा व्यस्तताको पारो ह्वात्तै बढ्दै छ । धेरैभन्दा धेरै नागरिकमाझ कसरी पुग्ने ? कसरी आफ्नो पहिचान कायम राख्ने ?
अनि यो भागदौडमा कसरी भाइरल हुने ? भागाभागको यो राजनीतिक कोलाहलले हो वा विवेक र चेतनायुक्त राजनीतिक समझको अभावमा हामीमाथि ‘राजनीति गर्छु’ भनेर आएकाहरू भाषाको सामान्य मर्यादासमेत भुलेर एकोहोरो बोलिरहेका छन् । तिनले मर्यादा नाघेर विगत र वर्तमानमा बोलेका विषयको भिडियो क्लिप सामाजिक सञ्जालका झ्याल, ढोकाबाट छिरेर हाम्रा हात–हातमा आइपुगेका छन् । ती सुन्दासुन्दै हामी आफैं कस्ता–कस्ता भइसकेका छौं ! मनोद्दीपक औषधिको असरजस्तो टिकटक, रिल्स र सर्टस्को असर हाम्रो सोच र चिन्तन प्रक्रियामा जानी–नजानी परिरहेको छ । यो असरबारे हामीलाई बुझाउने कुनै सरकारी संयन्त्र यतिबेला हामीमाझ छैन । किनकि सरकार आफैं आफूलाई जोगाउने यत्नमा प्रयत्नरत छ ।
नेताहरूका आवेग, आवेश, प्रतिशोध र घृणायुक्त सार्वजनिक अभिव्यक्तिले हाम्रो हातेफोन फोहोर भइरहेको हामीले पत्तै पाइरहेका छैनौं । बरु चिया पसलमा बसेर हामी चियाको बाफसँगै तिनै कुराहरूमा रत्तिरहेका छौं । वादविवाद गरेझैं चियाको चुस्की लिइरहेका छौं ।
जेन–जी विद्रोहपछिको परिदृश्यमा अनेकन प्रश्न हावामा तैरिरहेका छन्, केही प्रश्न आफैंमा यस्ता छन्, जसको उत्तर न वर्तमानले दिनेछ, न भविष्यले । एक थरी मान्छेहरू कानेखुसीको स्वरमा शंका र उपशंकाहरू प्रसार गरिरहेका छन् । एक थरी सारा षड्यन्त्रका सूत्रहरू रटेर हामीमाथि भयको शासन गर्न रमाइरहेका छन् । एक थरीहरू भने सिंगो संसारभरका राजनीतिक दाउपेचका बासी कथाहरू भट्याएर हामीलाई दिगभ्रममा पारेर रमाइरहेका छन् । यो सबै प्रक्रियामा तिनीहरूले सामाजिक सञ्जालकै भरमग्दुर प्रयोग गरिरहेका छन् । अनि यही कोलाहलले सिंगो समाज निसासिँदो बनेको छ ।
यस्तो संकटका बेला दलहरू अघि सर्नुपर्ने हो । किनकि उनीहरूसँग इतिहास थियो । बारबार सत्तामा बसेको अनुभव थियो । तर, उनीहरू आफैं भने एक फुकीपछि उडिजाने सिमलको फूलजस्तो समाजभन्दा धेरै पर उडिगए । जेन–जी विद्रोहको रापताप मत्थर भएपछि उनीहरू फर्केर त आए तर झनै धेरै चेत गुमाएर । झनै धेरै विवेक र संयम गुमाएर । यही कोलाहलमाझ उनीहरू आफैं कोलाहलको वाहक बनेर फर्के ।
हेर्दाहेर्दै समय त यस्तो भयो कि राजनीति गर्नेहरूका आफ्नै सीमा र मर्यादाहरू छन् भन्ने विषयको बहससमेत असान्दर्भिक बन्ला भन्ने पीर भयो । सामाजिक सञ्जालको प्रभावमा परेर विचार के हो, चेतना के हो र धारणाहरूको निर्माण कसरी हुन्छ भन्ने विषय बिस्तारै गौण बन्दै गयो । यसैको सन्निकट प्रभावले हामी प्रतिक्रिया जनाइहाल्ने हतारोमा यतिसम्म अभ्यस्त भयौं कि देखिएका दृश्य वा सुनिएका आवाजको दायाँ–बायाँ पनि केही छ वा त्यसको पृष्ठभूमिका अरू केही कुरा पनि हुन सक्छ भनेर सोच्नेसम्मको फुर्सद नहुने भयो । हामी यति धेरै हतारोको जालमा पर्यौं कि हरदिन, हरक्षण हामी कसैलाई जित्ने अज्ञात प्रतिस्पर्धाको मनोदशामा फस्यौं । यही मनोदशाबाट हामीले राजनीतिको रछ्यानमा फ्याँकिएका हर चीजलाई झनै धेरै फैलाइरहेका छौं । यतिबेला कतै यही कोलाहलमा हाम्रो समाज अभ्यस्त हुने त होइन ? अर्को खतरा पैदा भएको छ ।
राजनीतिको दहमा हामफालेका नयाँ हुन् कि पुराना, सबैमा एउटै भूत सवार छ– जसरी हुन्छ भाइरल हुने । अनि त्यसका निम्ति अल्गोरिदमको बुइँ चढ्ने । उनीहरूका शब्दमा उत्तेजना छ, जवाफदेहिता हराएको छ । उनीहरूको भावमा संयमता छैन, आवेग मिसिएको छ । उनीहरूको हाउभाउमा शान्तपना छैन, उद्देलन घोलिएको छ । उनीहरूले भन्ने सन्दर्भमा सिलसिला छैन, विशृंखलता मिसिएको छ । उनीहरूमा यस्तो हतारो छ कि जहाँ, जुनसुकै बेला दुर्घटना हुने खतरा छ । अनि यही दुर्घटनामा तपाईं, हाम्रो वर्तमान र भविष्य पर्ने जोखिममा छ ।
एकपछि अर्को विद्रोहको धक्का सहँदासहँदै समाज त त्यसै कमजोर भइसकेको छ– सन्नीपातबाट थलिएको बिरामी जस्तो । भर्खर पोस्ट अपरेटिभ वार्डमा सारेको बिरामी जस्तो । यसै पनि गरिबी, अभाव र हैरानीका लम्बेतान शृंखलाबाट आजित समाजका आफ्नै दुःख छन् । दुःखमा फसेका जनतासँग धेरै समय लगाएर सोच्ने, विचार–विमर्श गर्ने र तथ्य पर्गेल्न सक्ने शक्ति कमजोरै हुन्छ । यस्तो कमजोर समाजमाथि बसेर यति धेरै संवेदनशील समयमा नेताहरू आक्रोशको भाषा बक्छन् । घृणाको राजनीतिक तुरूप फ्याँक्छन् । प्रतिशोधको भावभूमि तयार पार्न यत्न गर्छन् ।
भलै हामीलाई संवेदनाको अनि आवेग र घृणायुक्त भाषाको कारोबारमा सामेल गर्न खोजिरहेकाहरू हाम्रै उत्पादनहरू हुन् । उनीहरू कहिले आफैं मिल्छन्, कहिले आफैं छुट्टिन्छन् । आफैं लड्छन्, आफैं अँगालो मार्छन् । कहिले भित्तासम्मै पुर्याउने गरी एकअर्कालाई गाली गर्छन् । कहिले सारा पोल खोलिदिन्छु भनेर घुर्की लगाएजस्तो गर्छन् । कहिले फाइल ‘रेडी’ छ भनेर गम्भीर अनुसन्धान र अभियोजनको विषयलाई राजनीतिक तुरूप बनाउँछन् । सकल जनतामाझ उनीहरू यस्ता कुरा पुर्याइरहेछन्– यस्तो लाग्छ, राजनीति गर्नु भनेकै घृणाको दोकान चलाउनु हो । प्रतिशोधको स्टोर खोल्नु हो । आवेगको पसल थाप्नु हो । विकासको सपना देख्दादेख्दै थाकेका, समयको हरेक घुम्तीमा आफ्नै सपनाबाट नमज्जाले पछारिएर जेनतेन उठेका सारा जनता भने यिनै दोकान, स्टोर र पसलमा झुम्मिन अभिशप्त छन् ।
समाज त त्यसै पनि उद्वेलित छ । पछिल्ला दुई दशकमा बनेका एकपछि अर्को अस्थिर सरकारले थोपरेका बासी घोषणाहरूबाट समाज त्यसै–त्यसै उद्विग्न छ । अनि नागरिकहरू कोही सरकारी प्रशासनका ढोकामा स्वाभिमान बेच्नुपरेको रनाहमा छन् । कोही प्रशासनका झ्याल–झ्यालमा मुन्टो निहुर्याउँदाको सास्तीबाट यो देशदेखि नै विरक्तिएका छन् । कोही कुनै देश जाने सपनाको उडान भर्दा दुर्घटित भएपछि बनेको कर्जाको खाल्डोमा खसेका छन् । कोही झूटा आश्वासनको भर परेर समय र ऊर्जा दुवै गुमाएपछिको रन्कोमा छन् । कोही भने सम्भावनाको कुनै मधुरो उज्यालो दूर क्षितिजमा पनि कतै नदेखेर विभिन्डिएका छन् ।
समय यस्तो छ, हरेक नयाँ पुस्ता पुरानै दिग्दारीको हरक सुँघेर बाँच्न बाध्य देखिन्छ । उराठलाग्दो घटनाक्रमको लामो चक्रमा घुम्दाघुम्दै दिग्दारी पनि मान्छेको घाँटी–घाँटीसम्मै आइपुगेको छ । बेलाबेला समाज हुलुक्क हुन्छ अनि केही क्षण शान्त भएजस्तो पनि देखिन्छ । तर, हामीलाई शासन गर्ने नेताहरू पुरानै शैलीमा मञ्चमा देखापर्छन् अनि फेरि पुराना दिनको नमिलेका हिसाबकिताब हामीसँग सुनाउँछन् । तथ्य, तथ्यांक र विश्लेषणलाई पर मिल्काएर उनीहरू आवेगपूर्ण शैलीमा केही नयाँ भन्न खोजेजस्तो गर्छन् । घृणा मिसाएर चर्को स्वरमा बोलेर आफू बौरिएको नाटक गर्छन् । अनि यिनै कुराहरू घुम्दै–घुम्दै हाम्रो मोबाइलमा आइपुग्छन् । आएर कोही भन्छन्– बदला लिन्छु । कोही भन्छन्– हिसाब अझै बाँकी छ । कोही भन्छन्– गोली थाप्न तयार छु । कोही भन्छन्– सेरियर मर्दिन्छु । कोही भन्छन्– टुँडिखेलमा आत्महत्या गर्छु । कोही भन्छन्– नाङ्गै कुद्न तयार छु । कोही भने सामान्य लाज पनि मिल्काएर भन्छन्– कट्टु खोल्न तयार छु ।
अहो कस्तो मृत्यु चिन्तन ! कस्तो आत्मघृणा ! कस्तो बीभत्स घोषणा !
अमेरिकाको जर्जटाउन विश्वविद्यालयका निर्देशक एवं प्रोफेसर ड्यानियल बेम्यानले घृणायुक्त भाषणवाजीले कसरी संसारमा हिंसा फैलाइरहेछ भनेर विश्लेषणात्मक आलेख लेखेका थिए, जसमा उनी भाषाले सिधै हिंसा उत्पन्न नगरे पनि हिंसाको सम्भावना बढाउने निष्कर्षमा पुगेका छन् । मिडिया र सामाजिक सञ्जालबाट यस्ता भाषणहरू फैलिने र मानिसलाई पूर्वाग्रह व्यक्त गर्न वा हिंसात्मक व्यवहारमा आउन प्रोत्साहित गर्छ भनेर उल्लेख गर्दै उनले लेखेका छन्, ‘जिम्मेवार राजनीतिक भाषण र सामाजिक सञ्जालको नियन्त्रण अस्थायी उपाय हुन सक्छन् तर घृणास्पद भाष्यले समाजमा ध्रुवीकरण र हिंसाको मूल कारणलाई सम्बोधन गर्न पर्याप्त छैन ।’
प्रोफेसर ड्यानियलले आफ्नो लेखमा घृणायुक्त भाषणले खतरनाक भावना पनि उत्पन्न गराएको बुझाउन स्वीडेनमा भएको हिंसासम्बन्धी एक अध्ययनको दृष्टान्त प्रस्तुत गरेका छन्, जसले घृणायुक्त भाषण सुन्नेहरूमा लक्षित समुदायप्रति नकारात्मक भावना बढ्ने उल्लेख गरिएको छ । युरोपमा गरिएको अर्को एक अध्ययनमा नेताहरूले गर्ने हिंसायुक्त भाषणले उनीहरूका समर्थकहरूमा हिंसात्मक राजनीतिक मनोविज्ञान विकास हुने र कुनै समुदाय वा समूह लक्षित हिंसाले अझै वैधता पाउने उल्लेख छ ।
राजनीतिमा हिंसायुक्त आह्वान पहिले पनि हुन्थे । तर, त्यतिबेला त्यस्ता कुराहरू सभास्थलमा भएकाहरूमाझ मात्रै सीमित थियो । अनि सीमित सञ्चारमाध्यमले त्यसलाई आ–आफ्नै शैलीमा समाचार बनाउँथे । सञ्चारमाध्यमको बृहत् पहुँच नभएको समयमा त्यस्ता कुराहरू निकै ढिलो गरी मात्रै वितरण हुन्थ्यो, जसको प्रभाव आम जनसमुदायमा नभई सीमित स्वरूपमा मात्रै हुने गर्थ्यो । दलहरूले राजनीतिक नारा, जुलुसमा पनि हिंसात्मक शैलीका र कसैको मृत्युको कामना गरिएका नारा नलगाउने होइनन् । ‘ले ले जनता खुकुरी ले ...लाई छप्काइदे’ भन्थे । ‘यसपालाको हैजा... लाई लैजा’ पनि भनेको सुनिन्थ्यो । यस्तै–यस्तै राजनीतिक नाराहरू सुनेर हुर्केको एउटा पुस्ता यो बीचमा भएका यावत् ‘परिवर्तन’ पछि पनि यस्तै हिंसात्मक शैलीमा नयाँ–नयाँ संस्करणहरू नयाँ–नयाँ शैली र स्वरूपमा अनि अझै बृहत् र सघन रूपमा सुन्न अभिशप्त छ । दुर्भाग्य त यो छ कि हुर्किरहेको नयाँ पुस्ता र भविष्यको रेखाचित्र कोर्दै गरेको जेन–जी पुस्ताले पनि राजनीति भनेकै यस्तै हिंसात्मक शब्द, उत्तेजनात्मक भाव अनि घृणा र प्रतिशोधको एउटा निरन्तर प्रवाह हो भनेर मात्रै बुझ्ने खतरा छ ।
दोस्रो जनआन्दोलनयता नेपाली समाजले शृंखलाबद्ध साना–ठूला आन्दोलन र विद्रोह झेलेको छ । समाजका तह–तहमा अनेक खालका असन्तुष्टि र तुषहरू छन् । मिटरब्याजीदेखि उखु किसानका पीडासम्म, पर्यावरण विनाशले निम्त्याएका विपत्तिदेखि न्याय नपाएका स्वरहरूको आक्रोशसम्म । बलात्कारका चित्कारदेखि हिंसाका घटनामा राज्यले खेलेका प्रश्नवाचक भूमिकासम्मले हाम्रो समाज त्यसै त्यसै कमजोर छ भन्ने संकेत गरिरहेको छ । यति कमजोर समाजमाथि उभिएर नेताहरू भने घृणा र आक्रोश ओकलिरहेका छन् । भाइरल हुने तोडमा हो कि, विरोधीको स्वर मथ्थर पार्ने यसैगरी हो भन्ठानेर हो ? आफ्नै विगतदेखि तर्सेर हो कि समाजले यही र यस्तै स्वरहरूमा अभ्यस्त पार्ने हो भन्ठानेर हामीले नेता ठानेकाहरू शृंखलाबद्ध रूपमा घृणा ओकलिरहेका छन् । आक्रोश पोखिरहेका छन् । अश्लील र अश्लीलको भेद बिर्सेर अनाफ–सनाफ बकिरहेछन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले निर्वाचनका बेला हुने घृणात्मक अभिव्यक्ति तथा घृणाजन्य कुराको उक्साहट कसरी हुन्छ भन्नेबारे संक्षिप्त रिपोर्ट नै प्रकाशित गरेको छ, जसमा समुदाय वा कुनै वर्ग वा धार्मिक समुदाय निर्वाचनका बेला विशेष जोखिममा पर्ने र त्यसको कारण दलका नेता तथा उम्मेदवारले दिने घृणा र उत्तेजना हुने औंल्याएको छ । नेताहरूले घृणापूर्ण अभिव्यक्तिका अलावा भ्रामक सूचना फैलाउनाले समाजमा उत्तेजना बढने र हिंसा तथा आक्रमणका घटनाहरू वृद्धि हुन सक्ने कुरा पनि रिपोर्टमा उल्लेख छ ।
हामीमाथि शासन गर्न अग्रसर भएर आएका नयाँ र पुराना नेताहरूको डिजिटल फुटप्रिन्ट केलाएर उनीहरूका बेलगाम बोलीमाथि हामीले प्रश्न गर्ने वा विगतप्रति उनीहरूमा आत्मालोचनाको भाव छ कि छैन वा गलत बोले भन्ने स्विकारोक्ति छ कि छैन भनेर नसोध्ने हो भने हामी घृणा र उत्तेजनाको भासमा नराम्रोसँग जाकिने निश्चित छ । शान्त भाव र स्वस्थ समीक्षाको मौकाबिना हामीले न उन्नत शैलीको राजनीति पाउँछौं न सभ्य समाजको परिकल्पना नै । भाषामा उत्तेजना र भावमा हिंसा, शैलीमा घृणा र शब्दमा भ्रमको मलजलले हामीलाई फेरि पनि कलह र कोलाहलले भरिएको समाजमा परिणत गर्नेछ । त्यतिबेला जितेर आउनेहरू मैमत्त अट्टहासमा हुनेछन् र हारेर आउनेहरू फेरि घृणा र उत्तेजनाको नयाँ दोकान थाप्न बस्नेछन् । अनि हामी आफैंलाई हेरेर निरीह भावमा भन्न बाध्य हुनेछौं– साँच्चै सतीले नै सरापेको देश रहेछ कि क्या हो ?
