बालेनको काँधमा अपेक्षाको भारी 

संघीयता, आर्थिक नीति, विदेश नीति, समावेशिता, धर्मनिरपेक्षता जस्ता संविधान र नेपाल राष्ट्रका मुख्य विशेषतामा बालेन्द्रको प्रस्ट दृष्टिकोण के हो ? यी र यस्ता अनेक प्रश्नबारे उनको मत जनता जान्न चाहन्छन् ।

पुस १४, २०८२

राजाराम गौतम

The weight of expectations on Balen's shoulders

What you should know

यसै पनि नेपाली समाज प्रतिक्रियात्मक छ र स–साना घटनाबाट तरंगित भइरहन्छ । त्यसमाथि आइतबार बिहान झिसमिसे नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको एकताको सन्दर्भ सानो होइन, अर्थपूर्ण राजनीतिक महत्त्वको छ ।

केही दिनको छलफलपछि यी दुई नेताबीच शक्ति बाँडफाँटको सहमति भएको छ । बालेन रविलाई रास्वपाको अध्यक्ष स्विकार्न तयार भएका छन् भने रवि बालेनलाई आगामी चुनावपछि पार्टीको संसदीय दलको नेता र प्रधानमन्त्रीका उम्मेदवार बनाउन सहमत भएका छन् ।

नेपाली राजनीतिमा पछिल्लो समय उदाएका यी दुई पात्रबीच सहमति र सहकार्य भएको हेर्न चाहने जमात यसबाट उत्साहित छ । अर्को जमात ‘नयाँहरू पनि शक्ति र पदमुखी नै रहेछन्’ भनेर आलोचना गर्दै छन् । आइतबारको बिहानीलाई नयाँ युगको सुरुवात भनेर उत्साह व्यक्त भइरहँदा पूर्वमा उदाउँदै गरेका अर्का नेता हर्क साम्पाङले ‘विदेशीको इसारामा भएको’ भनेर संशय गरेका छन् ।

आगामी दिनमा यस प्रकारका प्रशंसा र आलोचनाका स्वरहरू अरू थपिएलान् । राजनीतिमा लागेपछि ताली र गाली स्वाभाविक नै हो । यद्यपि, यो एकतापछि जुनस्तरको प्रतिक्रिया र तरंग आएको छ, अनेक प्रश्न उठ्छन् । के यो एकताले साँच्चिकै नेपाली राजनीतिलाई सत्मार्गमा डोर्‍याउने हैसियत राख्छ ? के यो स्वाभाविक राजनीति उपक्रम हो वा नेपथ्यको भूमिका पनि छ ? अझ राष्ट्रिय राजनीतिमा बालेनको पदार्पणलाई लिएर जुन उत्साह र अपेक्षा छ, त्यो कति स्वाभाविक हो ? कतै हामी बालेनलाई ‘ओभररेटेड’ गर्दै त छैनौं ? 

कुनै बखत काठमाडौंका चुनावी गफमा एउटा भनाइ निकै चर्चित हुने गर्थ्यो, ‘गणेशमानले लौरो उठाए पनि जित्छ ।’ उसबेला प्रजातन्त्रवादी सर्वमान्य नेता गणेशमान सिंहको लौरोको प्रतीकात्मक अर्थ थियो । उनको संघर्षशील व्यक्तित्व र लोकप्रियताका कारण आमवृत्तमा उनको प्रभावशाली छवि थियो । त्यो ‘लौरो’ उनले प्रजातन्त्रका लागि जीवनभर लडेको संघर्ष र त्यागको प्रतीक थियो । 

गणेशमानकालीन त्यो राजनीतिक कालखण्ड पछाडि छुटिसक्यो । अहिले काठमाडौंको राजनीतिक परिदृश्य फेरिएको छ । राजनीतिमा नयाँ अनुहारहरूको बाहुल्यता बढ्दै छ । तथापि ‘लौरो’ को चर्चा आज पनि छ । अहिले गणेशमानको ‘लौरो’ होइन, बालेनको ‘लौरो’ को हुने भन्ने होडबाजी चलेको छ । आगामी चुनावमा बालेनसँग सहकार्य गर्न पाए ‘दिग्विजयी’ होइन्छ भन्ने मनोविज्ञान यत्रतत्र छ । रवि पनि त्यही मनोविज्ञानबाट प्रेरित थिए र उनी चुनावी सहकार्य मात्रै होइन, बालेनलाई पार्टीमै भित्र्याउन सफल भएका छन् ।

यस्तै प्रयत्नमा रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ भने तत्कालका लागि पछि छुटेका छन् । यसबीच बालेनसँग भएका एकता भेटवार्ता र बैठकहरूलाई लिएर यस्तो ‘मिडिया हाइप’ सिर्जना गरियो, मानौं उनी त्यस्ता तिलस्मी पात्र हुन्, जसले लौरो उठाए पनि चुनाव जितिन्छ ।

यो विश्लेषण थप अघि बढाउनपूर्व एउटा ‘डिस्क्लेमर’– यहाँ प्रजातन्त्रवादी नेता गणेशमान सिंह र बालेनबीच तुलना गर्न खोजिएको होइन । न इतिहासका हिसाबले न त राजनीतिक व्यक्तित्वका दृष्टिले नै यी पात्रबीच तुलना हुन सक्छ । यद्यपि, लौरोको बिम्ब चाहिँ यी दुई पात्र जोड्ने साझा सन्दर्भ बन्दोरहेछ । हिजो गणेशमानले लौरो उठाए पनि जित्छ भन्ने राजधानीवासी लौरो चिह्नबाट मेयर जितेका बालेनले जोसँग सहकार्य गर्छन्, त्यही विजेता हुन्छ भन्ने ‘अनुमानित र सामाजिक सञ्जाल निर्मित भाष्य’ को पछि लागेका छन् । 

बालेनसँग न राजनीतिक इतिहासको विरासत छ, न त उनी गणेशमान जस्तो त्यागी राजनीतिका धरोहर नै हुन् । न उनको राजनीतिक/वैचारिक दृष्टिकोण जनताले सुन्न पाएका छन्, न त बलियो संगठनको आधार नै छ । यी सबैका बाबजुद पनि उनी वर्तमान समयमा व्याप्त चरम निराशा र त्यसको जगमा उठेको आक्रोश र अपेक्षाको बिम्ब बनेका छन् । प्रियतावादी राजनीतिको चुलीमा पुगेका बालेनको आकर्षण कुनै पार्टीका नेता वा राजनीतिक/वैचारिक दृष्टिकोणको जगमा होइन, एउटा असन्तुष्ट र आक्रोशले भरिएको समाजको आशाको अभिव्यक्ति बनेको छ । 

के बालेन समाजले गरेको आशा र अपेक्षामा खरो उत्रिन सक्लान् ? अथवा उनी समकालीन समाजको आकांक्षाको भारी बोक्न सक्ने योग्यता भएका पात्र हुन् ? राजनीति बालेनमय हुँदै जाँदा यी प्रश्न अरू सान्दर्भिक भएका छन् । यस पटक यो स्तम्भ मूलतः यिनै प्रश्नमा केन्द्रित हुनेछ । 

नेपाली राजनीतिमा बालेनको उदय झांगिँदै गएको दलतन्त्र र नेतातन्त्रविरुद्धको करारा जवाफ थियो । युवावयका बालेनलाई काठमाडौं महानगरले नगरपिताका रूपमा भोग्दै आएको छ । त्यस हिसाबले उनी राजनीति परीक्षण हुँदै गरेका पात्र हुन् । मेयरका रूपमा उनका कामलाई आमरूपमा रुचाइएको छ ।

उनले काठमाडौं महानगरमा सुधारको काम गरे भन्ने आम बुझाइ पनि छ । पार्किङ व्यवस्थापन, विपन्न नागरिकका छात्रवृत्ति/छुट/सुविधाहरू सन्दर्भित शिक्षा र स्वास्थ्यसँग जोडिएका सुधारात्मक पहलहरू, फोहोरको अस्थायी व्यवस्थापन, अनलाइनबाटै सेवाग्राहीले सुविधा लिन सक्ने डिजिटल प्रणालीको विकास, कतिपय अनधिकृत घरटहरा भत्काउने काम आदिको मान्छेहरूले प्रशंसा गरे पनि । तर, सँगै टुकुचा उत्खनन, सुकुम्बासी बस्तीमा डोजर चलाउने, फुटपाथ व्यापारीको वैकल्पिक व्यवस्था नगरी तीप्रतिका निर्मम व्यवहार गर्नुले गृहकार्यबिनै अपरिपक्व र आवेगपूर्ण कामहरू भए भनेर आलोचना पनि भयो ।

बालेनले महानगरको प्रशासनिक ढिलासुस्ती तोडे । शक्तिकेन्द्रहरूसँग झुकेनन् र निर्णय लिने आँट पनि देखाए तर संवाद, सहमति, प्रक्रिया र धैर्यता गुमाउँदा आलोचित भए, विवादमा पनि परे । उनी जनतासँग सामाजिक सञ्जालमार्फत मात्रै संवादमा आउने गर्छन् । सामाजिक सञ्जालमा उनले गर्ने कैयौं टिप्पणीका कारण विवादित मात्रै बनेका छैनन्, अपरिपक्व छवि पनि बनेको छ । 

हुन त ठाडो शैलीमा व्यक्त उनका भनाइका कारण कतिपय युवापुस्ताले उनलाई रुचाएको देखिन्छ र त्यही आधारमा उनको ‘एन्टी इस्टाब्लिसमेन्ट’ छवि पनि बनेको छ । यद्यपि, उनको ‘फेसबुके छवि’ ले राष्ट्रिय नेताको गरिमा बनाउँदैन । बालेन प्रियतावादमा रमाउने, अपारदर्शी कार्यशैली र व्यक्तिवाद केन्द्रित देखिए, यसबीचमा थुप्रै पटक । एकथरीले उनलाई भ्रष्टाचारमा नमुछिएका स्वच्छ छविका मेयर मानेका छन् भने कतिपय विषयमा उजुरी पर्दा उनले अख्तियार धाउनु परेको नजिर पनि छ । सारमा, मेयरका रूपमा काम गर्न चाहने, जोखिम लिन सक्ने आँटिला नेता हुन्, उनी । तर, सुशासनलाई संस्थागत गर्ने सन्दर्भमा उनी चुकेका छन् । त्यसकारण मेयरका रूपमा उनका कामको वस्तुनिष्ट समीक्षा आवश्यक छ । अब राष्ट्रिय राजनीतिमा हाम फालेका उनले आफ्ना बलिया पक्ष र कमजोरी पहिल्याउँदै बढ्न सक्नुपर्छ । 

मुलुकको राजनीति अब निर्वाचन उन्मुख छ । प्रमुख राजनीतिक दलहरूले सरकारलाई चुनावको वातावरण बनाउन आग्रह गर्दै चुनावमा भाग लिने प्रतिबद्धता जनाएका छन् । वैकल्पिक राजनीतिक दलहरूले पनि चुनावलाई केन्द्रमा राखेर एकता र सहकार्यका प्रयत्नलाई निष्कर्षमा पुर्‍याएका छन् ।

रवि र बालेनबीचको सहमतिमा अरू वैकल्पिक दलहरूलाई पनि समेट्ने भनिएको छ । यतिबेलाको मुख्य ‘हाइलाइट’ हो, काठमाडौंका मतदाताले मेयरमा पत्याएका बालेन दलीय राजनीतिमा होमिएका छन् । उनी राष्ट्रिय राजनीतिमा आउन् भन्ने उनका धेरै समर्थक/शुभेच्छुकको चाहना थियो ।

जानकारहरू उनले भित्रभित्रै तयारी गरिरहेको बताउँथे तर स्वतन्त्र हैसियतमा चुनाव जितेका बालेनले दलीय राजनीतिमा आइहाल्ने मनसुवा खुलेर प्रकट गरेका थिएनन् । कतिसम्म भने, जेन–जी आन्दोलनपछि अन्तरिम चुनावी सरकार बन्दा प्रदर्शनकारीले उनलाई प्रधानमन्त्री बनिदिन आग्रह गर्दा उनी मौन बसे, सम्पर्कमै आएनन् । तर, अब उनी राजनीतिमा होमिएका छन् । 

जेन–जी सडक प्रदर्शन र त्यसपछि निम्तिएको राष्ट्रिय विध्वंसपछि फेरिएको परिदृश्यमा एउटा सिङ्गो पुस्ताको प्रतिनिधि भन्दै राजनीति सम्हाल्न नयाँ पात्रहरू प्रकट भइरहेका छन् । जेन–जी प्रदर्शनअघि नामै नसुनेका पात्रहरू राष्ट्रिय चर्चामा छन् । ती अधिकांश पात्रहरूको रोजाइमा बालेन नै छन् । जेन–जी आन्दोलनलाई कसैले प्रदर्शन/प्रतिरोधका रूपमा लिएका छन् त कसैले विद्रोह र क्रान्तिकै संज्ञा दिएर विश्लेषण गरेका छन् ।

यो आन्दोलनपछि यसको नेतृत्व को ? आन्दोलन किन भयो र यसको गन्तव्य के भन्ने बहसहरू भइरहँदा नेतृत्वको खोजी पनि भइरहेको छ । जेन–जीका नाममा खुलेका विभिन्न समूहले यसको नेता बनिदिन बालेनलाई अनुरोध र सँगै दबाबै पनि दिए । त्यसैले अब उनी जेन–जी आन्दोलनको विरासत थाम्न तयार भएका छन् । राष्ट्रिय राजनीतिमा होमिएसँगै बालेनको राजनीतिक गन्तव्य विश्लेषणको विषय बनेको छ । बालेन आक्रोशका प्रतिनिधिमै सीमित हुन्छन् कि परिपक्व नेतृत्वमा उनको रूपान्तरण हुनेछ ? उनका आगामी भूमिकाले यी प्रश्नको निरूपण गर्नेछन् । 

यतिबेला बालेनसामु अनुकूलता र प्रतिकूलता दुवै छन् । बालेनको सबैभन्दा ठूलो अनुकूलता आम जनता पुराना दल र नेताप्रति वाक्कदिक्क छन् । जेन–जी आन्दोलनको त्यत्रो ठूलो झट्कापछि पनि पुराना र मुख्य दलहरूमा सुधारको गुञ्जायस छैन । निराश मतदाता नयाँ र वैकल्पिक शक्तिको खोजीमा छन् । बालेनको छवि यिनै पुराना भनिएका दलहरू र तिनले अंगीकार गरेको नेतातन्त्रविरुद्धको आवाज बनेको छ ।

काठमाडौं महानगरको रूपरंगमा आएको बदलावले काम गर्ने जनप्रतिनिधिको छवि उनको बनेको छ । जसले गर्दा उनलाई सहरी युवा र मध्यम वर्गको अत्यधिक समर्थन भएको अनुमान गर्न सकिन्छ । समाज पुराना र परम्परागत राजनीतिक दल र नेतृत्वको भाषा र शैलीबाट दिक्दार छ । बालेन यही बेला आक्रामक शैलीमा प्रस्तुत भएका छन् । उनको ठाडो भाषाशैली र रहस्यमय छवि पनि आकर्षणको कारण बनेको छ । 

तर के राष्ट्रिय राजनीतिमा पनि उनको यही रहस्यमय, अपारदर्शी शैली र व्यक्तिकेन्द्रित प्रवृत्ति सहयोगी होला ? हुन त बालेनले जेन–जी प्रतिनिधिहरूसँग आफू संविधानको पक्षमा रहेको, गणतन्त्रको पक्षमा रहेको बताएको कुरा सार्वजनिक भएको छ । कतिपय जेन–जी अभियन्ताहरूले बालेनले गणतन्त्र र यही व्यवस्थाका पक्षमा अभिमत जनाएपछि सहकार्य गर्न तयार भएको पनि बताएका छन् ।

यद्यपि, अहिलेको राजनीतिक प्रणालीको संस्थागत सुधारका उनका प्राथमिकता र सूत्र के हुन् ? बुझाउन सक्नुपर्छ । मेयरका रूपमा उनी व्यक्तिकेन्द्रित र प्रशासनिक हिसाबले कठोर देखिए । भोलि प्रधानमन्त्री भएछन् भने त्यो कार्यशैली कारगर होला ? राष्ट्रिय राजनीतिमा सत्ता, संसद्, संविधान, दल, गठबन्धन जस्ता जटिल संरचनाबाट चल्छ भन्ने कुरा सायद उनले हेक्का राख्न सक्नुपर्छ । सहकार्य र सहमतिको राजनीतिक भाषा सिक्नुपर्छ । एक्लो नायक बन्ने कि सामूहिक नेतृत्व र सहकार्यको भाषा बोल्ने ? उनीसामु अनेक प्रश्न छन् । 

बालेन आलोचना सहनै नसक्ने, तत्काल सामाजिक सञ्जालबाट उग्र प्रतिक्रिया व्यक्त गर्ने प्रवृत्तिका नेता भनेर समाजले चिन्छ । के उनले आलोचना सहन गर्न सक्ने नेताका रूपमा आफूलाई रूपान्तरण गर्न सकेका छन् ? राष्ट्रिय राजनीतिमा असहमति र प्रतिपक्षी दृष्टिकोण पनि लोकतन्त्रको अभिन्न पाटो हो भन्ने कुराको स्वीकारोक्ति उनमा छ ? सबैभन्दा मुख्य कुरा, के राष्ट्रिय राजनीतिमा उनको दृष्टिकोण के हो ? संघीयता, आर्थिक नीति, विदेश नीति, समावेशिता, धर्मनिरपेक्षता जस्ता संविधान र नेपाल राष्ट्रका मुख्य विशेषतामा उनको प्रस्ट दृष्टिकोण के हो ? यी र यस्ता अनेक प्रश्नबारे बालेनको मत जनता जान्न चाहन्छन् ।

अझ मुख्य कुरा सुशासनको हो । जनताले पारदर्शी र सुशासनसहितको प्रणाली खोजेका हुन् । सहकारी ठगी प्रकरणमा मुछिएका रवि अदालतको फैसला नआउँदासम्म अभियुक्त हुन् । उनीसँगको सहकार्यमा बढ्दै गरेका बालेनबाट सुशासनको अपेक्षा कसरी गर्ने ? सञ्जालमा प्रश्नको ओइरो लाग्न थालेको छ । 

मुलुकको राजनीति राजनीतिक/संवैधानिक हिसाबले जटिल मोडमा छ । राजनीतिमा विश्वास र भरोसा खण्डित हुँदै गएको छ । भदौ २३ र २४ पछि भएको कैयौं राजनीतिक घटनाक्रमहरू स्वाभाविक लाग्दैनन् । नेपथ्यको भूमिका र निर्देशन प्रेरित लाग्छन् । यही बेला विगतका राजनीतिक संघर्ष गरेका पुराना र परम्परागत पार्टीहरू अकर्मण्य हुँदै गर्दा नयाँ पुस्ता प्रियतावादी राजनीतिमा रम्दै छ । प्रियतावादले साधारणजनमा अनेक सपना देखाउँछ, तिनका आशा, विश्वास र भरोसामाथि भावनात्मक खेलबाड गर्छ । प्रियतावादीहरू कुलीनतन्त्रमाथि चर्को स्वरले विरोध गर्छन् ।

सुशासन, धर्म, राष्ट्रियता जस्ता संवदेनशील मुद्दाको आडमा राजनीति गर्ने प्रियतावादीहरू आवरणमा त जनताको मुद्दा उठाउँछन्, तर भित्री नियत कसरी सत्ता र शक्तिमा पुग्ने भन्ने हुन्छ । बालेन–रविहरू पनि जनसाधारणलाई आशा, अपेक्षा र सपना देखाउँदै एकीकृत भएका छन् । तर, ती अपेक्षा पूरा गर्न मुद्दाभन्दा बढी चुनाव र सत्ताकेन्द्रित देखिन्छन् । यी पात्र प्रियतावादको बुईं चढेर राजनीतिक सिंहासनमा पुग्न हतारिन्छन् कि जनअपेक्षाको भारी बोक्न योग्य हुन्छन् ? परीक्षा सुरु भएको छ ।

राजाराम कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको 'साप्ताहिक' र 'नारी' मासिकको सम्पादक भएका राजाराम कान्तिपुरमा समसामयिक बिषयमा लेख्ने गर्छन् ।

Link copied successfully