भत्काउनैपर्ने तीन नेपाली मिथक

यदि भदौको सामाजिक विस्फोटको दबाबले पनि विगत तीन दशकदेखि नेतृत्व गरेको अक्षम वृद्ध पुस्ता फेर्न सकेन भने आधुनिक संसारको दोस्रो प्रवाहमा पनि नेपाल फेरि छुट्ने नै छ।

पुस १३, २०८२

विष्णु सापकोटा

Three Nepali myths that need to be debunked

What you should know

उहिले पञ्चायतको अन्तिम दशकमा, अहिलेको हिसाबमा भन्दा बाह्र कक्षामा एउटा पचास पूर्णांकको ‘नेपाल परिचय’ भन्ने विषय पढ्नुपर्थ्यो । पंक्तिकारको पहिलो पटक नेपालसँग औपचारिक परिचय भएको त्यतिबेलै हो । त्यही परिचयबाट काम चलाउँदा चलाउँदै पञ्चायत नै ढल्यो ।

ढल्ने क्रममा त पछि राजतन्त्र पनि ढल्यो । ढल्ने क्रमसँगै जल्ने पनि भयो । माओवादी सशस्त्र युद्धमा राज्य र विद्रोही दुवैका गोला–बारुद जले, दोस्रो जनआन्दोलनपछि अन्तरिम संविधान जल्यो । हालैको जेन–जी विद्रोहसम्म आइपुग्दा सिंहदरबारदेखि देशै जल्यो । त्यसो भए, अब के त ? 

‘नेपाल परिचय’ अहिले के, कता, कसरी पढाइ हुन्छ, मैले ध्यान दिन पाएको छैन । जेन–जीमार्फत भएको सामाजिक विस्फोटले धेरै नेपालीको मस्तिष्क धेरै तरिकाले हल्लाइदिएको त छ तर मलाई साँच्चिकै खुलदुली केमा छ भने अठार–बीस–बाइस वर्षका युवाको कल्पनामा आफ्नो देश नेपाल भन्दा कस्तो चित्र उनीहरूको मनमा आउँछ होला ? अहिले नेपालको परिचय लेखियो भने त्यहाँ के लेखिनुपर्छ होला ? के चाहिँ पहिले लेखेकोबाट मेटिनैपर्छ होला ? यिनै प्रश्नहरूका बीच आजको स्तम्भमा मैले नेपालका स्थापित ‘डिस्कोर्स’ बाट मेटिनैपर्ने तीन वटा विषयमा प्रस्तावना राख्नेछु । 

जेन–जी विद्रोहपछि अबको बाटो के त भन्नेमा तत्काल सम्बोधन हुनुपर्ने सुशासनको माग त भइहाल्यो । देशले तीसौं वर्षदेखि भोग्नुपरेका भ्रष्ट अनुहारबाट बिदा लिएर सक्षम र स्वच्छ पुस्ताको राजनीतिक युग र कर्मचारीतन्त्रको आधुनिकीकरण सुरु भएको देख्ने आकांक्षा पनि बुझिने नै भयो ।

जेन–जी विस्फोटको धक्काले ‘युग परिवर्तन’ गर्छ कि गर्दैन, अहिले थाहा छैन । तर मेरो अपेक्षा के छ भने नयाँ पुस्ताले नेपालको परिचयमा परम्परागत रूपमा स्थापित गराइएका केही ‘डोमिनेन्ट न्यारेटिभ’ (वर्चस्वशाली संकथन) का मिथकलाई पत्याउने छैनन् । एउटा आलेखमा पूरै नेपाल परिचय लेख्न सकिने त भएन तर त्यही ‘स्पिरिट’ मा मैले तीन वटा भत्काउनुपर्ने मिथकमाथि आफ्नो दृष्टिकोणसहित चर्चा गर्नेछु । 

नेपालको परिचयसँग जोडिएको पहिलो मिथक हो– नेपाल भूराजनीतिक रूपमा संवेदनशील स्थितिमा छ । सानैदेखि जहिले पनि सुन्दै आएको भएर होला, पहिले त लाग्थ्यो– हो त हाम्रो भूराजनीति त अति संवेदनशील नै छ । तर पाँच–सात वर्ष दक्षिण–पूर्वी एसियामा बसेर मैले जुन ‘भूराजनीति’ र उनीहरूका देशलाई थिचेका इतिहासका गहिरा बोझ देखें । र, त्यो सबैलाई ती देशहरूले कति सहजतापूर्वक लिएर आफ्नो बाटो आफैं कोरिरहेका छन् भन्ने देखें, त्यसपछि मलाई दृढता र प्रस्टतासहित के लाग्न थाल्यो भने नेपालको भूराजनीतिलाई संवेदनशील छ भन्नु अयोग्य र भ्रष्ट शासकहरूले आफ्ना कमजोरी लुकाउन हामीमाथि थोपरेको वर्षौंदेखिको एउटा सामूहिक झूट हो ।

यही न्यारेटिभको प्रभावमा परेर अन्य विषयमा राम्रै बुझाइ राख्ने हाम्रो सार्वजनिक डिस्कोर्समा प्रभाव राख्ने कतिपय व्यक्तिहरू पनि त्यही झूटलाई लेखेर–बोलेर दोहोर्‍याइरहेका छन् । यो न्यारेटिभ किन बौद्धिक रूपमा काँतर र देशको परिचयका लागि घातक छ भनेर एकैछिन पर्गेलौं ।

पहिलो कुरा, संसारका कुनचाहिँ देशको भूराजनीति संवेदनशील छैन ? भारतकै हेर्नोस् त, एकातिर त्यहीं लदाखको पर अफगानिस्तानजस्तो ‘फ्रजाइल’ राज्य छ, अर्कोतिर आफ्नो घोषित दुश्मन पाकिस्तान छ । एकातिर बंगलादेश छ, अर्कोतिर म्यानमार ।

आफ्नो देशलाई अस्थिर र कमजोर बनाउन खोज्ने बाह्य तत्त्व त्यहाँ कति होलान् ? तर हामीले कहिल्यै सुनेका छौं भारतले हामी भूराजनीतिक रूपमा संवेदनशील छौं भनेर प्रलाप गरेको ? उता बंगलादेश नै हेरे भयो वा माल्दिभ्स वा पाकिस्तान नै । नेपालमा धेरै ध्यान दिइँदैन तर दक्षिण पूर्वी एसियाका देशहरूको भूराजनीतिक दृश्य पनि नेपालबाट त्यति धेरै टाढा नलाग्नुपर्ने हो । मध्य पूर्वका देशहरूको स्थिति हेरौं त उनीहरूका भूराजनीतिक जटिलता कति गहिरा छन् । त्यताका देशका बुझ्ने मानिसहरूसँग नेपाल भूराजनीतिक रूपमा संवेदनशील छ भन्ने जिकिर गरियो भने तिनीहरू हाम्रो ‘राष्ट्रिय मति’ प्रति सहानुभूति देखाउँदै हाँस्छन् । 

देश जहाँसुकै होस्, उसका छिमेकी भइहाल्ने भए । ती छिमेकीमध्ये कुनै बढी बलियो कुनै कमजोर हुने नै भए । अनि, यी राज्य भन्ने चीज बनेकै आफ्नो स्वार्थका लागि मिल्ने र सक्ने जति सबै गरेर, अरू देशबाट आफूले फाइदा लिने नै भयो । त्यसो भए, यो नेपालले मात्रै आफू मात्र भूराजनीतिक रूपमा संवेदनशील छौं भनेर एक पटक होइन, प्रत्येक पटक र एक वर्ष होइन, अनेकौं पुस्तासम्म प्रलाप दोहोर्‍याइरहनुको केही अर्थ छ ? संसारमा जुन कुरा अधिकतम देशको यथार्थ हो, त्यसलाई केवल आफ्नो विशिष्ट स्थिति जस्तो गरेर बुझ्न खोज्नु आफू गरिब भएको नै छिमेकी धनी भएकाले हो भने जस्तो भएन ? 

मूल बुँदा के हो भने, भूराजनीति संवेदनशील हुँदै नहुने भए पो यसलाई संवेदनशील भयो भनेर भन्नु π जसको स्वभाव नै धेरथोर त्यस्तै हो, त्यसलाई स्विकार्न नसकेर यो त संवेदनशील भयो भन्नुको अर्थ बौद्धिक रूपमा पनि लाज लाग्ने खालको विषय हो ।

दुनियाँका अरूले सुन्दा के सोच्ने होलान् हरेक पटक आफूलाई नै ठूलो बनाउँदै, आफ्नै भूराजनीति संवेदनशील छ भनेर प्रचार गरेको देख्दा ? त्यसमाथि, नेपालको विकास नहुनुमा र यहाँ हरदम अस्थिरता हुनुमा उताको भारतले गर्दा हो भनेर सोच्ने धेरै छन् । ल हो रे, भारत त्यस्तै छ रे । अब गर्ने के त ? हामीलाई मन परेन भनेर भारत त्यहाँबाट उठेर कतै गइदिन्छ त ! अनि अहिले त चीन पनि भारतकै सिको गर्दै ‘माइक्रो–म्यानेज’ गर्न खोज्यो पनि भनिन्छ । उसले पनि गरिहाल्छ त । यी देश भनेकै त्यस्तै हुन् त । के नेपाल पनि भारत वा चीन जति बलियो भएको भए हामीले त्यस्तै गर्दैनथ्यौं त ? हुन सक्छ, अझ बढी पो 

गर्थ्यौं कि ? पहिलो बुँदाको निष्कर्ष के हो भने, व्यक्ति होस् कि देश, हामीलाई अरूले गर्ने व्यवहार हाम्रो आफ्नो योग्यता र आचरणअनुसारको हुन्छ । संसारभर त्यही हो । नेपालको भूराजनीति कुनै अपूर्व हुँदै होइन । यसलाई संवेदनशील भन्नु आफू बाहिरको संसारलाई नहेरी, आफूलाई मात्र फरक देख्ने भूराजनीतिक असंवेदनशीलता हो । वा, यो आफू सत्तामा पुग्न सकिन भनेर कुण्ठा अभिव्यक्त गर्नु हो र देशका रूपमा आफ्नो सामूहिक अयोग्यताको आत्ममूल्यांकन गर्न नसकेर आफू पछाडि पर्नुको कारण अरू कोही हो भन्ने हरूवा रोदन हो । 

अब दोस्रो मिथकतिर लागौं– नेपाली समाजवाद । समाजवादको बुझाइ नेपालमा कसरी यस्तो हुन गएको हो भन्नेमा त भारतीय समाजवादीदेखि बीपी कोइराला हुँदै कम्युनिस्टको समाजवादसम्म आइपुग्दा लामै इतिहास छ । इतिहासतिर नगई वर्तमानकै कुरा गरौं । गरिबी र बेरोजगारी धेरै भएको देशमा समाजवादी राजनीति बिक्नु स्वयंमा आश्चर्यको विषय त होइन । र, यहाँ समाजवाद ठीक कि बेठीक भन्नेतिर प्रवेश गर्न खोजेको पनि होइन । मूल विषय के हो भने नेपालमा समाजवाद भन्नु नै एक ‘फ्रड’ हो । मैले यो यसै हलुंगो रूपमा भनेको होइन, यसका पछाडि कारण छन् ।

साढे तीन दशकदेखि सुनिराखिएको नेपाली राजनीतिको प्रमुख नारा भनेकै समाजवाद हो । पंक्तिकार सानो छँदादेखि नै ‘फलानो विस्तारवाद मुर्दावाद, फलानो साम्राज्यवाद मुर्दावाद’ भन्ने लेखेको सहरका पर्खाल–पर्खालमा देखिन्थ्यो । त्यतिबेला साँच्चै लाग्थ्यो, मेरो देश कमजोर किन भएको रहेछ भने संसारका ठूला–ठूला शक्तिहरू सबैले नेपाललाई कसरी निचोर्ने भनेर सामूहिक षड्यन्त्र गरेका रहेछन् । देश गरिब हुनुमा यहाँका शासक र जनताको खासै दोष रहेनछ । दोष त विश्व–पुँजीवाद र नव–साम्राज्यवादको रहेछ । त्यसैले तिनीहरूको यहाँ विरोध भइरहेको रहेछ । अब यो विरोधको प्रभावले तिनीहरू सुध्रेलान् र नेपाल पनि अरू कैयन् देशजस्तो विकसित हुने होला ।

केही पछि त बुझिहालियो, तिनीहरूले कुन–कुन देशले निःशुल्क पठाएका पर्चाबाट दीक्षित भएर त्यसो भन्दा रहेछन् । र, के पनि बुझियो भने तिनीहरूले गर्ने पुँजीवाद र साम्राज्यवादको विरोध तिनकै कार्यकर्ताबाहेक नेपाल बाहिरका कसैले कहिल्यै ध्यान दिन लायक ठानेकै रहेनछन् । यतिसम्म पनि ठीकै थियो तर समस्या कहाँ सुरु भयो भने यसले नेपाली समाजले कुनै सानोतिनो इलम वा उद्यम सुरु गर्ने वा निजी लगानीमार्फत केही आम्दानी बढाउने व्यक्तिभन्दा ‘पुँजीवाद मुर्दावाद’ भनेर नारा लगाउने परजीवी कार्यकर्तालाई ठूलो ठान्यो ।

बृहत् रूपमा नेपाली समाजले के बुझेन भने पुँजीवादका विसंगति धेरै छन् भनेर संसारमा धेरैले सुरुदेखि नै बुझेका थिए । धनी र गरिबबीचको खाडल यसले झन् गहिरो बनाउँछ भनेर पनि पुँजीवादी देशका धेरैले जहिल्यै बुझेका थिए । तर पुँजी निर्माण गर्ने निर्विकल्प प्रक्रिया हजारौं वर्षको इतिहासमा पुँजीवादी अभ्यास नै थियो । त्यसपछि सामाजिक न्याय र समानताका लागि राज्यले के गर्न सक्छ भनेर हरेक राज्यले सक्ने सहजीकरण गरिरहेकै थिए र छन् । तर उनीहरूले यो सबै ‘पुँजीवाद मुर्दावाद’ नभनीकन, बरु पुँजीवादलाई पूजा गरेर आफ्नो उद्यमशीलता बढाइरहेका छन्, यसबाट कसरी, कहाँ, कुन फाइदा लिन सकिन्छ भनेर रातदिन सोचिराखेका छन् ।

चीनले त्यही गरिरहेको छ, भियतनामजस्ता अरू कम्युनिस्ट देशहरूले पनि चुपचाप त्यही गरिरहेका छन् । अनि, धेरै सफल नभए पनि बनेको पुँजीको वितरण कसरी न्यायपूर्ण हुन सक्छ भनेर प्रयास गरिरहेका छन् । युरोपका समाजवादी सरकारले गरिराखेको पनि त्यही हो, न्युयोर्कका युवा मेयर जोह्रान मम्दानीले गर्छु भनेको समाजवाद पनि त्यही हो । नेपालका समाजवादीले पश्चिममा पनि त समाजवादी छन् भनेर मक्ख पर्नु बौद्धिक बुझाइको दरिद्रता हो । 

संसारको आलोकमा हेर्दा ‘प्रिमिटिभ’ भइसकेका सैद्धान्तिक बहसलाई नेपाली परम्परागत राजनीतिले भयंकर नयाँ र आजको युग सुहाउँदो विचार भनेर फलाकिरहेको छ । पुँजीवाद कति कठोर हुन्छ भनेर नेपालका कसैले बाहिर नसुन्ने राजनीतिकर्मीले भन्नुपर्छ र ? त्यो त पुँजीवादका चरम अभ्यास गरेकै देशमा पनि सधैं बहस भइराखेकै विषय त हो नि ।

नेपालका समाजवादीहरूले केसम्म बुझ्दैनन् भने पुँजीवाद भनेको सभ्यताको एउटा प्रकिया हो । पुँजीवाद कसैलाई मन पर्छ कि पर्दैन भन्ने एकदमै असान्दर्भिक छ । त्यति पनि नबुझेकाले नेपाली समाजवादीले पुँजीवादलाई कुनै एक व्यक्ति वा देश भन्ने ठान्छन् । यिनीहरूलाई अझै पनि लाग्छ पुँजीवादले सुन्छ, त्यसैले यिनीहरू त्यसका विरुद्ध नारा लगाउँछन् । यस्तो बुद्धि भएका राजनीतिकर्मीहरू नेता भएको देशले राम्रो बाटो लिएको भए बरु त्यो अचम्मको विषय हुने थियो । मेरो अपेक्षा छ जेन–जी पुस्ताले यो ‘फ्रड’ लाई बेलैमा चिन्नेछ । 

अब भत्काउनै पर्ने थप एउटा मिथकलाई हेरौं, जुन नेपालको बौद्धिक इतिहासको खोक्रोपनसँग जोडिन्छ । हरेक देशले आफूलाई महान् भन्ने कथ्य त बनाइहाल्ने नै भए । अझ त्यस्ता देशहरू, जो वर्तमानमा निमुखा छन्, उनीहरूको प्रवृत्ति झन् आफ्नो इतिहास अति गौरवशाली थियो भन्ने हुँदोरहेछ । तर यथार्थ के हो भने– धेरै अगाडि पनि नजाउँ, संसारले बौद्धिक रूपमा फड्को मारेका सत्रौं, अठारौं र उन्नाइसौं शताब्दीमा अहिलेको नेपाल सरहद एक प्रकारले सुक्खा थियो ।

अहिले पढिने हाम्रा प्राचीन लेखक, कवि आदिको इतिहास त्यही एक सय वर्षको हाराहारी मात्र छ । भारतसँग सिमाना खुला भएकाले उताका राजनीतिक र बौद्धिक अभ्यासहरू अलिअलि गरेर यता सर्दै बीपी कोइरालाको पालादेखि नेपालको आधुनिकीकरण सुरु भएको न हो । त्यसैले, जसरी आफ्नो परिवारको अपनत्व लिइन्छ, देश जस्तो भए पनि अपनत्व त लिई नै हालिन्छ । तर त्यसो गर्दा के बिर्सिन भएन भने, प्राचीन भारत वर्षको अंश हुँदाबाहेक, सभ्यतागत हिसाबमा विगत तीन–चार सय वर्षको नेपालको बौद्धिक इतिहासको जग बलियो छैन । त्यसैले, हामीले हाम्रो इतिहासलाई ‘ह्युमिलिटी’ का साथ स्विकार्नुपर्‍यो । हामी जे थियौं, त्यति मात्र भन्नुपर्‍यो । नभएको विषयलाई थियो भनेर अगाडि जाने बाटो तय हुँदैन । 

पछिल्लो मिथकको सन्दर्भ के हो भने, १८औं–१९औं शताब्दीको बौद्धिक विकासको सांसारिक प्रवाहमा नेपाल पछि छुटेकै हो । ल त्यो त अहिले हेर्दा इतिहास भयो रे । वर्तमानको विडम्बना के हुने भयो भने संसार निकट विगतका दस–बीस वर्षदेखि अर्को प्रविधिजन्य प्रवाहमा प्रवेश गरिसकेको छ ।

सरकारले दिने धेरै सेवाहरूका माध्यम बदलिइसकेका छन् । नागरिकले राज्यबाट पाउने सेवा सरल भएको छ । आर्थिक क्रियाकलापका प्रकृति बदलिएका छन् । भन्ने नै हो भने भूराजनीतिका आयामहरू पनि बरु यसले फेर्न थालेको छ ।

यदि भदौको सामाजिक विस्फोटको दबाबले पनि विगत तीन दशकदेखि नेतृत्व गरेको अक्षम वृद्ध पुस्ता फेर्न सकेन भने आधुनिक संसारको यो दोस्रो प्रवाहमा पनि नेपाल फेरि छुट्ने नै छ । समाजले रूपान्तरणको चरणमा प्रवेश गर्दा आफ्ना देशबारे बनेका प्रत्युत्पादक मिथकलाई भत्काएर जान सक्नुपर्छ । अहिले त्यो समय हो ।

विष्णु

Link copied successfully