४० वर्षमुनिका युवालाई ४० प्रतिशत जिम्मेवारी दिने स्पष्ट नीति नबनेसम्म कांग्रेस सबै पुस्ताको बन्न नसक्ने खतरा छ । जसमा महिलाको संख्या बराबरी हुनुपर्छ ।
What you should know
काठमाडौँ — शीतलहर झेल्दै केही दिनअघि म मधेश प्रदेशका आठ वटै जिल्ला पुगें । पार्टीका साथीहरू मात्रै होइन, शुभेच्छुक र सर्वसाधारण जनतासँग पनि अन्तरक्रिया गरें । २१ फागुनमा चुनाव हुँदै छ भन्ने धेरैलाई थाहा छ, तर चुनावको चहलपहल अझै सुरु भएको छैन ।
दलहरू पनि आन्तरिक तयारी र जोड–घटाउमै व्यस्त छन् । अधिकांश साथीहरूको एउटै जिज्ञासा थियो– मुलुक ठूलो सामाजिक, राजनीतिक, आर्थिक परिवर्तनको संघारमा छ । तर के कांग्रेसले परिवर्तनको यो हुटहुटीलाई आत्मसात् गरी देशलाई निकास दिन सक्छ ? आफैं परिवर्तित हुन सक्छ ?
एक जना साथीले कथा सुनाउनुभयो– एक आमाले एक जना साधुलाई आफ्नो आठ वर्षको छोरा चिनी वा सक्खरको लतमा फसेको र चोरेर भए पनि गुलियो मात्रै खान खोज्ने गरेको गुनासो गरिन् । उनले साधुलाई भनिन्– ‘महाराज, मेरो छोरालाई चिनी, सक्खर नखानु, यसले स्वास्थ्यलाई हानि गर्छ भनिदिनोस् न ।’ साधुले उनलाई एक महिनापछि आउन भने । एक महिनापछि आमासँग आएका बालकको टाउको मुसार्दै साधुले भने, ‘बाबु, धेरै चिनी वा सक्खर खानु हुँदैन । स्वास्थ्यलाई खराब गर्छ ।’ नभन्दै बिस्तारै बच्चाको आदत फेरियो । चोरेरै भए पनि चिनी वा सक्खर खाने बानी छुट्यो । खुसी भएकी आमा फेरि आफ्नो छोरालाई लिएर साधुकहाँ पुगिन् र खुसखबरी सुनाइन् । उनले साधुलाई भनिन्– तर तपाईंले मैले पहिलो पटक भेट्दा किन एक महिनापछि आउनु भन्नुभयो ? साधुले जवाफ दिए– किनभने त्यस बेलासम्म म आफैं सक्खरको लतमा थिएँ । एक महिनासम्म सक्खर छाडेपछि मात्रै मैले तपाईंको छोरालाई सक्खर खानु राम्रो होइन बाबु भनें र छोरालाई त्यसको (सकारात्मक) असर पर्यो ।’
२३–२४ भदौको जेन–जी आन्दोलनपछि कांग्रेसले केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा आत्मनिरीक्षण र समीक्षा गर्यो । लामो छलफलपछि पुस २६, २७ र २८ मा नियमित महाधिवेशन गर्ने गरी मिति तोकिएको छ । महाधिवेशन तयारीको काम युद्धस्तरमा गर्नुपर्नेछ । कांग्रेसको महाधिवेशन पार्टीको आन्तरिक विषय मात्रै होइन । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो आदर्श ठान्ने कांग्रेस नेपालको एउटा राष्ट्रिय पार्टी मात्रै नभएर राष्ट्रिय शक्ति हो । नागरिकलाई सार्वभौम सम्पन्न अधिकार दिलाउन र विश्व इतिहासमा लोकतन्त्रको सबल अभ्यास गराउन सफल भएको नेपाली कांग्रेस आफैंमा एउटा आन्दोलन पनि हो । २००७ को प्रजातान्त्रिक क्रान्तिको नेतृत्व गर्दै २०४६ मा प्रजातन्त्र पुनःस्थापित गर्न एवं २०६२/६३ को आन्दोलनमा निर्णायक भूमिका खेलेर कांग्रेसले आफ्नो अग्रणी भूमिका निर्वाह गरिसकेको छ । २०७२ मा संविधान जारी गराउन पनि यसको नेतृत्वदायी भूमिका थियो । यस्तो पृष्ठभूमिको कांग्रेस फेरि एक पटक पृथक्, निर्णायक र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने स्थितिमा छ । जेन–जी आन्दोलनपछि सिर्जित परिस्थितिलाई सामान्यकरण गर्दै देशलाई शान्ति र स्थायित्वका साथ अघि बढाउने महत्त्वपूर्ण घडीमा उभिएको छ । राजनीतिक संघर्ष र जिम्मेवारी दुवै सम्हालेको कांग्रेसलाई लोकतान्त्रिक गणतन्त्रलाई जोगाउँदै संविधानको अक्षरशः पालना गरेर मुलुकलाई विकास र समृद्धितिर डोर्याउनुपर्ने महत्त्वपूर्ण जिम्मेवारी छ ।
जेन–जीले मुलुकमा तत्काल परिवर्तन चाहेको छ । युवा पुस्ताले नेतृत्व हस्तान्तरण एवं पुस्तान्तरण, डिजिटलमैत्री संगठन, विचारमा समय सापेक्षित नवीकरण, युवामुखी राजनीतिक संस्कार साथसाथै सोच एवं प्रवृत्तिमा आमूल परिवर्तन खोजेका छन् । सुशासन, पारदर्शिता, तथ्यतथ्यांक प्रधान नीतिकेन्द्रित नेतृत्व कांग्रेसले खोजेको छ । नेतृत्व परिवर्तन, संरचनागत सुधार र नयाँ पुस्तालाई पूर्ण जिम्मेवारी दिने कांग्रेसको दायित्व बनिसकेको छ ।
राष्ट्रियता वा संगठनका सवालमा ‘बिजनेस एज युजुयल’ ले अब चल्दैन । जेन–जी अभियानपछि आत्मअवलोकन र आत्मालोचना गर्दै नयाँ नेपाल बनाउन नयाँ कांग्रेस अत्यावश्यक बनेको छ । यसका लागि समयानुकूल सांगठनिक संरचनामा परिवर्तन, संगठनको व्यापक रूपान्तरण र नेतृत्वमा पुस्तागत परिवर्तन, पार्टीका सबै तहमा पारदर्शी, प्रतिस्पर्धात्मक र नियमित आन्तरिक चुनाव पहिलो प्राथमिकतामा राख्नुपर्छ । पार्टीका जरा मानिने भ्रातृ संगठनहरूलाई परिणाममुखी बनाउने सवालमा नेतृत्व चुकिरहेको छ । यसका लागि नेतृत्वको सोचमा व्यापक परिवर्तन आवश्यक देखिन्छ । ४० वर्षमुनिका युवालाई ४० प्रतिशत जिम्मेवारी दिने स्पष्ट नीति नबनेसम्म कांग्रेस सबै पुस्ताको बन्न नसक्ने खतरा छ । जसमा महिलाको संख्या बराबरी हुनुपर्छ । दुःखको कुरा पार्टी राजनीति र नेतृत्वमा महिला सहभागिता प्राथमिकतामा परेकै छैन । त्यसैले सबैले पुरुषवादी मानसिकता र परम्परागत सोचको अन्त्य नै संगठनको कल्याण हो ।
शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्र नेपालमा उल्लेख्य सुधार भए पनि अझै सर्वसुलभ र गुणस्तरीय बन्न सकिरहेको छैन । तीन वटै क्षेत्र माफिया र कमिसनको चक्करमा फसेजस्तो देखिन्छ । सर्वप्रथम शिक्षामा क्रान्तिकारी सुधारका लागि कांग्रेसले पृथक् र प्रभावकारी मार्गचित्र बनाउन जरुरी छ । यसका लागि सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाका लागि ‘नेपाल एजुकेसन स्टान्डडर्स’ लागू गर्ने, विश्वविद्यालय स्वायत्तता, विद्यार्थी युनियनलाई पठनपाठनको गुणस्तर अनुगमन गर्न सक्रिय बनाउने, सीप विकाससम्बन्धी शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्छ । स्कुल तहदेखि नै ‘पढ्दै काम गर्दै’ परियोजना सञ्चालन गरी युवा विद्यार्थीलाई डिजिटललगायतका सीप सिकाउने नीति अवलम्बन गर्नुपर्छ ।
वास्तवमा कांग्रेसले आफ्नो संगठन सँगसँगै मुलुकको समृद्धिलाई मुटुमा राख्न सक्नुपर्छ । बदलिँदो परिस्थिति, घटनाक्रम र तत्कालीन आवश्यकतालाई मध्यनजर राखेर तल्लो तहसम्मका कार्यकर्ताहरूलाई प्रशिक्षण अभियानमार्फत जागरुक र जिम्मेवार बनाउन अत्यावश्यक पनि देखिन्छ । पछिल्लो समय मुलुकमा भएको उथलपुथलले संगठनको अवस्था दयनीय मात्र होइन, विश्वासमै खडेरी पर्ने स्थिति आएकाले संगठन निर्माण गर्दै त्यसलाई चलायमान बनाउन ठूलो चुनौती देखिएको छ । त्यसका लागि देशव्यापी प्रशिक्षण एवं घरदैलो जागरण अभियान तत्काल सुरु गर्नुपर्ने आवश्यकता देखिन्छ । आन्तरिक लोकतन्त्रलाई व्यवहारमा उतार्ने प्रतिबद्धताहरू पटक–पटक भए पनि कार्यान्वयन तहमा विकृति बढ्दै गएकाले संगठन, संस्कार, आचरण र चरित्रमा व्यापक परिवर्तन गर्न पनि सक्नुपर्छ ।
राष्ट्रियता एवं संविधानका कारण देखिएको संमस्याहरूले मुलुकको अवस्था जकडिएकाले गम्भीर हुनुपर्ने अवस्था पनि छ । संविधानले संघीयतालाई संस्थागत गरिसके पनि सीमांकन, नामांकन, प्रशासनिक व्यवस्थापनदेखि स्रोत साधनको पहिचान, परिचालन र उपयोगसम्बन्धी ऐन, नियम र नीति निर्माणलगायत काम बाँकी रहेकाले यसमा कांग्रेसले नेतृत्व लिन ढिला भइसकेको छ । साथसाथै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशामा कांग्रेसले अग्रसरता लिनुपर्छ । संविधान जारी भएको १० वर्षमा संशोधन गर्नुपर्ने प्रावधानलाई मध्यनजर राखेर संशोधनको प्रक्रिया अगाडि बढाउन तत्कालका लागि आमनिर्वाचनमा जानका लागि खुट्टा कमाउन वा बहाना झिक्नु भनेको लोकतान्त्रिक मर्मविपरीत हुने भएकाले ताजा जनादेशमा कांग्रेस होमिनै पर्छ । ताजा जनादेशले मात्र संविधान संशोधनको प्रक्रिया अघि बढाउने भएकाले संविधानकै कारण मुलुकको समृद्धिको बाटोमा अवरोध पुर्याउनु किमार्थ हुँदैन ।
मुख्य कुरा कांग्रेस आफैं सुध्रिने र सच्चिने कुरा हो । हामी आफैं नसुध्रिएसम्म र नसच्चिएसम्म जनताको घरदैलोमा कसरी जाने ? कसरी समर्थन माग्ने ? लोक कथाका साधुले चिनी र सक्खर खान छाडेर बालकलाई गुलियो नखान सल्लाह दिए जस्तै कांग्रेसजनले पनि आफू सच्चिएर मात्रै जनताको घरदैलोमा जानु उपयुक्त होला ।
