त्रिभुवन विमानस्थलले खोजेको बलियो सुरक्षा प्रणाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी, सशस्त्र, अध्यागमन, भन्सार, बैंक, नोट सटही काउन्टरसहित गरेर १७० निकाय सक्रिय छन् तर एकीकृत कमान्ड छैन बरु विभिन्न निकायबीच जिम्मेवारीको दोहोरोपन छ । समन्वय छैन ।

पुस ११, २०८२

सम्पादकीय

Tribhuvan Airport seeks stronger security system

What you should know

काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उडेको भारतीय वायुसेवाको विमान अपहरण भएको २६ वर्ष बितिसक्दासमेत दुःस्वप्न बनेर बल्झिरहन्छ । आफ्नो भूमिबाट उडेको विमानस्थल अपहरणकारीको कब्जामा परेका कारण नेपालको निधारमा लज्जास्पद दाग लागेकै छ । अर्कोतर्फ, त्यही घटनापछि नै अन्तर्राष्ट्रिय जगत्मै त्रिभुवन विमानस्थलको सुरक्षा प्रणाली कमजोर छ भन्ने स्थापित हुन पुग्यो, तर अढाई दशकसम्म विश्वास फर्काउन सकिएको छैन ।

यसबीचमा विमानस्थलको सुरक्षा प्रणालीलाई विश्वसनीय बनाउन कैयौं उच्चतम प्रविधि विकास भयो, यहाँ प्रयोग पनि भयो । यद्यपि, केही समयको अन्तरालमा विमानस्थलबाटै सुनदेखि मानवसम्मको तस्करीका विवरण सार्वजनिक भइरहन्छन् । जसले नेपालको दाबीलाई खण्डित गरिरहन्छ ।

विमानस्थलको सुरक्षा, यहाँभित्रका सम्पूर्ण गतिविधिको नियमन र निगरानी, गलत मनसाय राखेर हुन सक्ने कामको निरुत्साहन गर्दै अन्तर्राष्ट्रिय जगत्मा गुमिरहेको विश्वास फर्काउन नेपालले अथक मिहिनेत गर्नुपर्ने खाँचो छ । त्यसका लागि विभिन्न प्रतिवेदनले दिएका व्यावहारिक सुझावको कार्यान्वयन प्रस्थानबिन्दु हुन सक्छ ।

२४ डिसेम्बर १९९९ को बेलुका ४ः२७ मा ८ नेपाली, १५० भारतीय र विभिन्न मुलुकका गरी १७८ यात्रु र चालक दलका ११ सदस्यसहित दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको जहाज अपहरणमा परेको थियो । त्यसपछि भारतको अमृतसर विमानस्थल, पाकिस्तानको लाहोर, अफगानिस्तानको काबुल (अवतरण नभएको), संयुक्त अरब इमिरेट्सको दुबई हुँदै अफगानिस्तानको कान्दाहार पुगेर विमानले विश्राम लिएको थियो ।

त्यसपछि मात्रै अपहरणकारीले आफ्नो उद्देश्य स्पष्ट पारेका थिए । फिरौतीस्वरूप भारतीय जेलमा रहेका मौलाना अजहर मसुद (आतंकवाद मच्चाएको आरोपमा त्यतिबेला भारतीय जेलमा रहेका) सहित ३६ कश्मीरी पृथकतावादी समूहका सदस्यलाई छुटाउनुपर्ने माग अपहरणकारीले राखेका थिए ।

उनीहरूले २० करोड अमेरिकी डलरसमेत माग गरेका थिए । ६ दिन लामो वार्तापछि जहाज अपहरणमुक्त भएको थियो । यही घटनाको पृष्ठभूमिमा नेपालको अध्यागमन र सुरक्षा पार गरेर भारतीय जहाज चढ्नुअघि यात्रुले एउटा क्याबिन बक्समा प्रवेश गर्नुपर्छ, जहाँ भारतीय सुरक्षाकर्मीले जाँच गर्छन् । 

त्यसो त, त्रिभुवन विमानस्थलबाट नियमितजसो सुन तस्करी हुँदै आएको छ । बेलाबेलामा समातिने सुन नै किलोका किलो परिमाणमा हुने गरेको पाइन्छ । २२ मंसिरमा २०८० मा विमानस्थलमा भन्सार कार्यालयले तस्करीको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो । डलर, सुन, लागूऔषध ड्रोनलगायतका विद्युतीय उपकरणहरू र महँगा वस्तुहरू पनि तस्करी हुँदै आएका छन् । नसमातिएका सुन तथा वस्तुको हिसाबकिताब छैन ।

त्रिभुवन विमानस्थलको सुरक्षा प्रणालीलाई हेप्दै ‘बिकिनी किलर’ रूपमा चिनिएका चार्ल्स शोभराजले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती छिराइदिन सक्छु’ भनेर दिएको अभिव्यक्ति आजपर्यत्न चर्चामा छ । तस्करीका घटना र शोभराजजस्ता व्यक्तिका अभिव्यक्तिले कुख्यातहरूले अध्यागमन हुँदै आपराधिक गतिविधिको साम्राज्य स्थापित गरेको सत्य खुल्छ । यस्तै कारणले विभिन्न देश तथा संस्थाले विमानस्थलको सुरक्षा प्रणालीप्रति अविश्वास व्यक्त गरेको पाइन्छ । त्यसलाई भत्काउनका लागि राज्यले सुरक्षा रणनीतिमा गर्नुपर्ने सुधार र विश्वास आर्जनका लागि बढाउनुपर्ने कूटनीतिक सक्रियता देखाउन सकेको छैन ।

भारतीय विमान अपहरणपछि गठित अवकाशप्राप्त प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको नेतृत्वको उच्चस्तरीय छानबिन समिति, २०७४ मा सुन तस्करी शृंखलाबारे छानबिन गर्न सहसचिव ईश्वरराज पौडेल नेतृत्वमा उच्चस्तरीय छानबिन समिति, चन्द्र घले पक्राउ परेपछि गठित तत्कालीन प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वको समिति तथा विज्ञहरूले विमानस्थलको सुरक्षा प्रणालीबारे प्रशस्तै बोलेका छन् ।

विमानस्थलमा त्यहाँका कर्मचारी मात्र होइन, विभिन्न माध्यमबाट पास प्राप्त व्यक्तिहरू विमानस्थल आवतजावत गरिरहन्छन् । तर पासवाहक व्यक्तिको खासै सुरक्षा जाँच र निगरानी हुँदैन । ‘क्याटरिङ’ सेवा उपलब्ध गराउने व्यक्ति, ‘ब्यागेज होल्ड’ को पछाडिबाट करिडोरसम्म जाने बाटो प्रयोग गरी हिँड्ने लोडर वा सरसफाइकर्मी र विमानस्थलभित्र आवतजावत गर्न पाउने पासवाला व्यक्ति पनि हुन्छन् । उनीहरूको दुरुपयोग हुने सम्भावना छ । यसलाई व्यवस्थित गर्नुपर्छ ।

विमानस्थलको प्रणालीलाई छलेर अवैधानिक काम गर्नेहरूले नयाँ–नयाँ उपाय अपनाइरहेका हुन्छन्, उनीहरू उच्चस्तरका प्रविधि प्रयोग गरिरहेका हुन्छन् । त्यस्तै, आतंकवादमा संलग्नदेखि अरू विभिन्न कसुरका व्यक्तिले आउजाउ गरिरहेका हुन सक्छन् । त्यसैले पनि सुरक्षाकर्मीमा विशेष सतर्कता र सावधानी चाहिन्छ । यसका लागि त्यसको पहिचान गर्न र योजनालाई असफल तुल्याउन सोही उच्च क्षमताको प्रविधि र जनशक्ति आवश्यक पर्छ ।

विमानस्थलमा प्रविधिको प्रयोग प्रशस्तै भए पनि सुरक्षाकर्मीलाई पर्याप्त तालिमको भने अभाव छ । अर्कोतर्फ सीसी क्यामेराको प्रयोग चुस्त दुरुस्त हुन सकेको छैन । सबै क्षेत्रमा सीसी क्यामेराको पहुँच नपुग्नु छँदै छ, भएकै क्यामेरा पनि कतिपय अनुसन्धानमा सहयोगी हुन सकेका छैनन् ।

पौडेलको नेतृत्वको समितिले विमानस्थल आगमनतर्फ तीन महिनाको सीसीटीभी रेकर्ड माग्दा ब्याकअप नभएको भन्दै २१ दिनको ‘डेटा’ मात्र पाएको थियो । कतिपय स्थानका सीसीटीभी फुटेज क्यामेरा बिग्रिएको भन्दै दिइएको थिएन । संवेदनशील स्थानमा यस किसिमको हेलचेक््रयाइँ उचित हुँदैन । सबै क्षेत्रमा पहुँच पुग्ने गरी सीसी क्यामेरा जडान राख्नुपर्ने र आवश्यकता परेका बेलामा प्रमाण संकलनका लागि उपयोग गर्ने व्यवस्था गर्नुपर्छ ।

त्यस्तै, विभिन्न सेवा प्रदायकहरू जस्तै– चमेना गृह, मुद्रा सटही काउन्टर, सीआईपी लाउन्जलगायतमा कार्यरत कर्मचारीलाई विमानस्थलमा ड्युटी नभएको अवस्थामा पनि विमानस्थलले निगरानीमा राख्ने व्यवस्था गर्नुपर्छ । किनकि, सबै पक्षमाथि शंका गर्नु र निगरानी बढाउनुपर्छ । विमानस्थलभित्र हुने सवारीसाधनको ओहोरदोहोर र अन्य सवारीसाधनसँगको सम्पर्कलाई व्यवस्थित बनाउनुपर्छ, निगरानी बढाउनुपर्छ ।

राज्यका गुप्तचरी संयन्त्रलाई बलियो बनाउनुपर्छ । सन्दिग्धलाई हुने गरेको राजनीतिक संरक्षण अन्त्य हुनुपर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी, सशस्त्र, अध्यागमन, भन्सार, बैंक, नोट सटही काउन्टरसहित गरेर १७० निकाय सक्रिय छन् तर एकीकृत कमान्ड छैन बरु विभिन्न निकायबीच जिम्मेवारीको दोहोरोपन छ । समन्वय छैन । त्यसैले एउटा संयुक्त समन्वय कक्ष स्थापना गरेर सामूहिक रूपमा परिचालित हुँदा प्रभावकारी नतिजा प्राप्त हुन सक्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully