यो लोकतन्त्रले गरिरहेको विकास साँच्चिकै भुइँमान्छेको हिस्साको विकास हुँदै होइन । जाडोले होइन, गरिबीले मान्छे मर्छ । यहाँ जाडोले मानिसलाई चिस्याउँदैन, उसलाई नाङ्गो बनाउँछ— घरविहीन, आम्दानीविहीन र सुरक्षाविहीन !
What you should know
जो सबकी घडी में बज रहा हैवह सबके हिस्से का समय नहीं है इस समय
यो कवितांश हिन्दीका प्रख्यात साहित्यकार विनोदकुमार शुक्लको हो, जो गत मंगलबार ९८ वर्षको उमेरमा बिते । यो महाप्रस्थान विश्वका एक शीर्ष कवि, कथाकारको बिदाइ हो ।
उनका लिखतहरूमा स्थानीय जीवनका दिनचर्या झल्किन्थ्यो । पर्यावरण, आदिवासी समाज, विस्थापन, किनारा गरिएका भुइँमान्छे र मानवीय मूल्यहरू जस्ता जटिल एवं उपेक्षित विषयमाथि उनका लेखनले झाँकी मात्रै देखाउँदैनन्, विवेक पनि जगाउँछ ।
उनका कलम सोर र सतहीपनभन्दा टाढा रहेर सत्य, संवेदना र सरोकारहरूका पक्षमा खडा रहन्छ । सत्ता–केन्द्रित साहित्य सिर्जनका यस कालखण्डमा समाज–केन्द्रित दृष्टि बनाएर राख्नु सजिलो छैन, तर विनोदकुमार शुक्लले यो साहस र इमानदारी अहर्निश देखाउँदै रहे । उनी यस्ता व्यक्तिका रूपमा बोल्दै रहे, जो अँध्यारो समयमा मधुरो आवाजमा सत्य भन्दै रहन्छन् । उनी आजीवन भारतको छत्तीसगढ राज्यमा रहे र त्यहींबाट आफ्नो एक अन्तर्राष्ट्रिय पहिचान बनाए ।
रचनाशीलताको जुन अभिनव उत्कर्ष र अद्वितीय भाषा–शिल्प उनले प्रस्तुत गरे, त्यसले पाठकलाई चकित र अभिभूत बनायो । एक पटक छत्तीसगढका मेरा पत्रकार मित्र आलोक पुतुलले उनीसँग जिज्ञासा राखेका थिए, ‘हाम्रो हिस्साको समय कहाँ छ त ?’ उनको जवाफ थियो, ‘अब हाम्रो समय रहेन यो । यो त फगत भन्नका लागि हो हाम्रो समय । हामीसँग अब समय छैन । हामीले समय अरूलाई दिइहालेका छौं ।
यो एक अर्को प्रकारको गुलामी हो । असलमा जुन गुलामी हुन्छ, त्यो ज्युँदो रहनका लागि नै हुन्छ । जब अरू कसैका भरोसामा ज्युँदो रहियो भने तब जसको भरोसा छ तिनका गुलाम भइहालियो नि । अचेल हामीले आफ्नो भरोसा हराउँदै गएका छौं, आफ्नो जीवनमा ।
हामीलाई आफैंमाथिको भरोसा उठ्दै गएको छ र हामी हुनु कोही ‘अन्य’ का भरोसामा निर्भर छ । यो कठिन समय हो ।’ बंगलादेशमा, जहाँ समाजले बर्बरीकरणको अध्याय व्यहोरिरहेको छ, त्यहींका सूचनाले हामी स्तब्ध, व्यग्र र उत्तेजित हुँदै गएका छौं । यस्तोमा एक भुइँमान्छेका शब्द शिल्पी बित्नुको खासै चर्चा नहुनु स्वाभाविक नै मानिदिनुपर्ला ।
अपने हिस्से की भूख के साथ
सब नहीं पाते अपने हिस्से का पूरा भात
यो पनि उनै विनोदकुमार शुक्लकै शब्द हो । शीतलहरको मौसम आएपछि मधेशको सन्दर्भ उजागर हुन्छ नै, यो नियमित आकस्मिकता हो । शीतलहरको चपेटा केवल तापक्रमको गिरावट होइन, यो राज्य–व्यवस्थाको संवेदनहीनता, विकासको असमानता र राजनीतिक प्राथमिकताको दरिद्रताको प्रतिबिम्ब हो ।
प्रत्येक वर्ष दोहोरिने शीतलहर अब प्राकृतिक विपत्ति मात्रै रहेन, यो मधेशमाथि थोपरिएको संरचनात्मक संकटको संकेतक बनिसकेको छ । असली प्रश्न यो होइन कि मधेशमा तापमान कति झर्यो, कति दिनसम्म सूर्य देखापर्यो वा कुहिरो कति बाक्लो छ ? सवाल हो— राज्यको संवेदना कतिको बाँचेको छ ? के राज्यको नैतिक थर्मामिटरले अहिले पनि काम गरिरहेको छ ? जाडोले एउटा प्रश्न छाड्दै गइरहेको छ— चिसोले मर्नु एक ‘सामान्य खबर’ मात्रै हो ?
वास्तवमा यो राज्यको आकाश मधेशी दलितहरूको हिस्सामा छैन । यो विपन्न दलितहरूका हिस्साको समय होइन । विकासको जुन दिशा छ, त्यस दिशाको कुनै अन्त्य छैन । र, जो अनन्त हामीसँग जोगिएको छ, त्यो विकासका नाममा, यति विकास हुन्छ कि त्यो नछोइएको अनन्त हामीबाट समाप्त हुँदै जान्छ र जे जस्तो विकसित हुन्छ, त्यसले हाम्रो पनि अन्त्य गरिदिन्छ । यो लोकतन्त्रले गरिरहेको विकास साँच्चिकै भुइँमान्छेको हिस्साको विकास हुँदै होइन । जाडोले होइन, गरिबीले मान्छे मर्छ । यहाँ जाडोले मानिसलाई चिस्याउँदैन, उसलाई नाङ्गो बनाउँछ— घरविहीन, आम्दानीविहीन र सुरक्षाविहीन !
शीतलहर मधेशमा मानवीय संकट बन्छ, पहाडमा पर्यटनको मौसम, आखिर किन ? के यो राजनीतिक विभेद होइन ? जब राज्यले कर्तव्य बिर्सिन्छ, त्यहींबाट मृत्यु सुरु हुन्छ । यसरी जाडोले होइन, राज्यले मान्छे मारिन्छ । यो नेपालको संवैधानिक समाजवाद कठ्यांग्रिएको हो ।
मधेश आज जाडोले होइन, राज्यको चिसोपनले काँपिरहेको छ । मधेश राज्यको योजनामा छैन, केवल संकटको नक्सामा छ । मधेशका नागरिक अगुवाहरू भन्छन्— मधेश सधैं ‘आपत्कालीन’ किन ? बाढी आउँदा आपत्कालीन, आगलागी हुँदा आपत्कालीन, जाडो आउँदा आपत्कालीन । तर, आपत्कालीन कहिल्यै संरचनात्मक सुधारमा रूपान्तरण हुँदैन किन ?
जुक्तिले लोकतन्त्र हिजो पनि अल्झिएको थियो । जुक्तिले भदौरे चट्याङ पश्चात् पनि सास लिइरहेको छ । कार्यकारीको निहितार्थलाई जब अदालतले शिरोधार्य गर्छ, जब अदालत र सेनाले मिलजुल गरेर एकताको भाष्य रच्छन्, तब यो समयको हिस्सा सबैको हिस्साको अनुकूलनमा रहँदैन ।
जनआन्दोलन–०६३ पछि पनि एउटा वर्चस्वशालीहरूको समूहले त्यो उभारबाट उत्पन्न ऊर्जालाई हाइज्याक गरेकै थियो, अहिलेको तरल अवस्थामा समेत जोकोही पनि आफ्नो अनुशासनको मियो चुँडालेर शक्ति हाइज्याक गर्न घम्साघम्सीमा छन् ।
सामान्य अवस्थामा कोही प्रधानन्यायाधीशबाट निवृत्त भइसकेपछि राजकीय प्रभामण्डल निस्तेज भइहाल्नु पर्ने हो, तर कोही अमूक पात्रलाई किन शक्तिशाली भनेर काठमाडौंमा तिनको ‘जीहुजुरी मा’ गरिन्छ ? भूतपूर्व प्रशासकहरू नखदन्तविहीन किन हुन नसकेको ? यस्ताहरूले कसको हिस्साका शक्ति हरण गर्न पुगेका हुन् ?
राजनीतिलाई निकै सरापियो । नेपालीहरू जहाँ बसे पनि गफिने र उपदेश दिने विषय नै बन्न पुग्छ राजनीति । तर, राजनीति मानवीय र करुणामय हुन सकेन । अर्काको घर जलाएर त्यसमा आगो ताप्नेहरू बढी देखिए । यस्तो मूल्यहीनताको समय कसरी आयो ? समाजमा पत्याउन भरोसा गर्नेहरूका अनिकाल किन पर्यो ?
धार्मिक कर्मकाण्ड ह्वात्तै बढेकै छ, साक्षरताको प्रतिशत बाक्लिएकै छ, पेसागत अध्ययन गर्नेहरू थपिएकै छन्, राजनीतिक विकल्पको कोलाहल सघन भइरहेकै छ । तर पनि रिक्तता छ । भरोसाको कमी छ । निष्ठाको अनिकाल छ । यस्तोमा जो आए पनि, जो शक्तिशाली देखिए पनि लोकतन्त्र बिचरा जुक्तिमै बाँच्नु परिरहन्छ ।
वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको सन्दर्भमा ‘जुक्ति’ बाट लोकतन्त्र जोगिएको बताएपछि दुनियाँले जुक्ति लोकतन्त्र थाहा पाएका हुन् । तर, जुक्ति लोकतन्त्रलाई फराकिलो क्यानभामा राखेर व्याख्या गर्ने हो भने यो संसद्को गणितलाई अनुकूल गर्ने खेलको शिष्ट संज्ञा हो । जननिर्वाचित शासकले जब आफ्ना दलीय, नश्लीय स्वार्थलाई अदालतको फैसलामा अनूदित गर्न जे जुन नेपथ्यका क्रीडा कौतुक गर्छन्, त्यो जुक्ति लोकतन्त्र हो । बहुमतको बलमा संविधानलाई बलात् थोपर्ने र बन्दुकको भरमा त्यसलाई कार्यान्वयन गर्ने दुस्साहस नै जुक्ति लोकतन्त्र हो ।
सेनालाई जनताका समर्पित सहयोगीभन्दा त्यसलाई ठेकेदार बनाउने तुरूप पछाडि जुक्ति लोकतन्त्रको मनोविज्ञान हुन्छ । जनताको सार्वभौमिकतालाई अवमूल्यन गर्दै कृत्रिम राष्ट्रियताका जयगाथा गाइन्छ, तब त्यो जुक्ति लोकतन्त्रको इतिहास लेखन भइरहेको हुन्छ । जब आन्तरिक उपनिवेश कायम राख्न भूराजनीतिक तुष्टीकरणको खेल खेलिन्छ, तब त्यो जुक्ति लोकतन्त्रको सर्वनाम बन्न पुग्छ । भूगोल हाम्रो छनोट होइन । तर, नीति हाम्रो रोजाइ हो । हामीले आजसम्म के गर्यौं ? कहिले एकातिर ढल्क्यौं, कहिले अर्कोतिर झुक्यौं र कहिले बाह्य शक्तिको विवादलाई आन्तरिक राजनीतिमा खपत गरेर तात्कालिक शक्ति सञ्चय गर्नु जुक्ति लोकतन्त्र हो ।
भदौरे चट्याङ त्यसै खसेको थिएन । समकालीन नेपालका यी चुनौतीरहित तीन दलपतिहरूका हर्कतबाट विकसित आर्द्रताको परिणाम थियो, यसमा रत्तिभर किन्तु–परन्तु छैन । तर, दलहरूको हविगत हेर्नुहोस् उनीहरू नै सिंहासनासीन छन् र प्रधानमन्त्री वार्ता गर्न विवश । कम्युनिस्ट–वामपन्थी राजनीतिमा कामरेडहरू कार्यकर्ता र कार्यकर्ताबाट कारिन्दामा कसरी काया फेरिए ? त्यो भेऊ नै पाएनन् । यता कांग्रेसी वृत्तमा दाइ–भाइबाट चेला, चेलाबाट चम्चा र चाकडीबाजहरूमा रूपान्तरण हुँदै आयो ।
यो नै कांग–वाम राजनीतिको शोकांतिका हो । यस्तोमा जतिसुकै गरे पनि हालका दलपतिहरू हल्लिनेवाला छैनन् । र, उनीहरूको हालिमुहाली राजनीति रहुन्जेल कुनै पश्चाताप र आत्मसमीक्षा हुँदैन । यिनीहरूलाई हल्लाउन तम्सिएका उत्साही पुरूषहरू पनि उही आहालमा लडीबुडी गर्ने थप संख्या हुन् । नयाँ शक्तिहरूमा त साथी होइन, भक्तहरूको भीड छ, समर्थक होइन, कट्टरपन्थीहरूको व्यापकता छ । अर्थात् जुक्ति लोकतन्त्रको गोलचक्कर लामो छ । निर्वाचन अभयमा हुन्छ, डरमा होइन ।
राष्ट्रपति, जो आपत्कालीन बत्ती बल्ने संस्था हो, त्यसले जुक्ति झिक्दै तीन प्रमुख दलपति र प्रधानमन्त्रीबीच संवाद सहजीकरण गरेका छन् । दलपतिहरूका मनमा रहेका भित्री चिसोलाई निर्मूल गर्नुपर्ने कार्यभार प्रथम महिला प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको छ ।
बाहिरी रूपमा हेर्दा पौने पाँच हजार कैदी अझै फरार छन्, करिब सात सय जति हतियार नियन्त्रण बाहिर छ, यसले सुरक्षा चुनौती दिन सक्छ । जसरी आ–आफ्ना दलभित्र यिनीहरूका वर्चस्व हालका लागि सुरक्षित छ, त्यसैगरी यिनीहरूलाई देशाटन गर्न पनि गाह्रो छैन । चुरो कुरा हो– वर्तमान सरकारले ठूला माछाहरू समाउने तयारी गर्नु हुन्न रे ! देहाततिर भनिन्छ नि, कानुन के हाथ बडा लम्बे होते है । दलपतिहरू यी सम्भावित गलपासोबाट त्राण चाहन्छन् । यस्तोमा प्रतिनिधिसभा पुनःस्थापना एउटा चम्किलो आश्रय देखिएको छ यिनीहरूलाई ।
भदौरे चट्याङ अग्ला–अग्ला मुद्दा लिएर अवतीर्ण भयो, तर आफूलाई प्रवक्ता कहलिन चाहनेहरू कोही होचा भए, कोही सतरन्जका प्यादा देखिए । यता तिनका प्रकटीकरणलाई नव–भाष्य दिने चिन्तकहरूको अवस्था आख्यानकी विदुषी विद्योतमासँग विवाहका लागि कालिदासलाई बेहुलाका रूपमा खोजी गरेर ल्याए जस्तो । जसरी विद्योतमासँग मौन वादविवाद हुँदा उनले एक अंगुली देखाउँदा कालिदासले दुई, पाँच अंगुली देखाउँदा कालिदासले मुट्ठी देखाए र यसलाई पण्डितहरूले गम्भीर कथ्य दिएर अर्थ्याइदिए जस्तै देखिएको छ ।
देश त यसरी जुक्तिले बन्दैन । काठमाडौंको आकाशमा पारिलो घाम छ, यता मधेशमाथि कुहिरो व्याप्त । उही विनोदकुमार शुक्लका पंक्ति टुङ्याउनीमा : अपने हिस्से में लोग आकाश देखते है ।
