निर्वाचन सुरक्षाका लागि पर्याप्त बजेट अपरिहार्य

लोकतन्त्रको एउटा नियमित उत्सव आयोजना गर्नका लागि बाह्य मुलुकको सहयोग खोज्नुपर्ने स्थिति दुःखद हो । यसले मुलुकको प्रतिष्ठा र स्वाभिमान उँचो बनाउँदैन । त्यसैले सकेसम्म आफ्नै बजेटको सदुपयोग गर्नुपर्छ, सहयोग माग्ने कुरामा जोड दिनु हुँदैन ।

पुस १०, २०८२

सम्पादकीय

Adequate budget is essential for election security

What you should know

लोकतान्त्रिक व्यवस्था अँगालेका मुलुकमा निर्वाचन नियमित उपक्रम हो, कहिलेकाहीँ भने अनपेक्षित समयमा पनि निर्वाचन आयोजना गर्नुपर्छ । यतिबेला नेपाल पनि अनपेक्षित निर्वाचनको चरणमा छ । २३ र २४ भदौको जेन–जी आन्दोलनले राजनीतिक परिस्थिति बदलेपछि नियमितभन्दा दुई वर्षअघि नै २१ फागुनका लागि मिति तोकिएको हो ।

निर्वाचनका लागि राजनीतिक वातावरण क्रमशः अनुकूल बन्दै गएको छ । बहुपक्षीय संवाद चलिरहेका छन् । आयोगले तय गरेको कार्यतालिका पनि बिथोलिएको छैन । यद्यपि, सुरक्षा व्यवस्थाप्रतिको संशय भने कायमै छ । किनकि, जेन–जी आन्दोलनका क्रममा भत्किएको सुरक्षा मनोविज्ञान अझै थिग्रिसकेको छैन ।

निर्वाचन नै हुने स्थितिमा सुरक्षाकर्मीको मनोबल बढाउन र असुरक्षा सिर्जना गर्ने सम्भावित स्रोतको पहिचान र निस्तेज गर्ने रणनीतिलाई प्रभावकारी बनाउनु अपरिहार्य छ । सुरक्षाका लागि पर्याप्त बजेट व्यवस्थापन गर्न सकियो र चुस्त सुरक्षा रणनीति बनाउन सकियो भने मात्रै निर्वाचनमा नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउनेछन् ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । यसमध्ये आयोगका लागि अर्थ मन्त्रालयले ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सुनिश्चित गरिसकेको छ । गृह र रक्षा मन्त्रालयले निर्वाचन सुरक्षाका लागि करिब साढे २० अर्ब रुपैयाँको स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव गरेका छन् ।

नेपाल प्रहरीका लागि ४ अर्ब २ करोड, नेपाली सेनाका लागि ३ अर्ब ४४ करोड, सशस्त्र प्रहरीलाई ३ अर्ब ३३ करोड, ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई ३१ करोड ४६ लाख, गृह मन्त्रालयलाई ३१ करोड र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गर्न प्रस्ताव गरिएको हो ।

बजेट विनियोजनका लागि गरिएको प्रस्ताव केलाउँदा निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका लागि गर्ने खर्चभन्दा अन्य निकायले सुरक्षा व्यवस्थापनका लागि गर्ने खर्चको आकार ठूलो देखिन्छ । समग्रमा पनि २७ अर्ब रकम ठूलै हो ।

विकास बजेट न्यून रहेको र त्यही पनि खर्च नहुने स्थिति लामो समयदेखि चलिरहेकै छ । जेन–जी आन्दोलनमा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको पुनर्निर्माणका लागि पनि अतिरिक्त बजेटकै आवश्यकता छ । यस्तो परिस्थितिमा २७ अर्ब रकम सानो होइन । तर जतिसुकै खर्च हुने भए पनि लोकतन्त्रमा निर्वाचन टार्न सकिँदैन । स्रोत सुनिश्चित गर्ने अर्थ मन्त्रालय र परिचालन गर्ने विभिन्न निकायले मितव्ययी खर्च गर्ने विवेक भने पुर्‍याउनुपर्छ ।

जेन–जी आन्दोलनमा प्रहरी नै मार्ने, कुटपिट गर्ने, अर्धनग्न बनाएर लखेट्ने, हतियार खोस्ने, कार्यालय र सवारीसाधन जलाउने काम भएको छ । त्यसैले यतिबेला सुरक्षाकर्मीको मनोबल कमजोर भएको विश्लेषण हुने गरेको छ । त्यतिबेला लुटिएका हतियार पनि सम्पूर्ण रूपमा फिर्ता भइसकेको छैन । भागेका सबै कैदी पनि फिर्ता भएका छैनन् ।

यस पृष्ठभूमिमा हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न होला वा नहोला भन्ने संशय छ । निर्वाचनको त विकल्प छैन । तर त्यस्तो निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनुपर्छ । हुन त, निर्वाचन सुरक्षामा सेनाका ७९ हजार ७ सय २७, प्रहरीका ७१ हजार ६ सय २०, सशस्त्र प्रहरीका ३५ हजार १ सय १६ र अनुसन्धान विभागका १ हजार ९ सय जनशक्ति तैनाथ गराउने निर्णय भइसकेको छ ।

त्यस्तै, १ लाख ४७ हजार संख्यामा निर्वाचन प्रहरी (साविकमा म्यादी प्रहरी) भर्ना गर्ने निर्णय पनि भइसकेको छ । तर सुरक्षाकर्मीको प्रभावकारी परिचालन र चुस्त सुरक्षा रणनीति अख्तियार गर्न त्यतिबेला मात्रै सम्भव हुन्छ, जतिबेला उनीहरूले आवश्यक बजेट र साधन स्रोत पाउनेछन् । त्यसका लागि सरकारले नै विश्वस्त बनाउनुपर्छ र व्यवस्थापन गर्नुपर्छ ।

निर्वाचनका लागि नेपालले पहिल्यैदेखि विभिन्न देशसँग सहयोग माग्दै आएको छ । यस पटक पनि सरकारले गैरघातक सुरक्षा सामग्री र सवारीसाधन सहयोग गर्न भारतसमक्ष आग्रह गरेको छ । निर्वाचन आयोग, गृह मन्त्रालय तथा सुरक्षा निकायहरूका लागि चाहिने सवारीसाधन तथा भीड नियन्त्रणका लागि प्रयोग हुने सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्न अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारतसँग अनुरोध गरेको हो । जसअन्तर्गत, चारपांग्रे र दुईपांग्रे गरेर १९ सयभन्दा बढी सवारीसाधन मागिएको छ ।

त्यस्तै, गैरघातक सुरक्षा सामग्रीअन्तर्गत अश्रुग्यास, ग्यास गन, पानीका फोहरा हान्ने सवारी, हेल्मेट, ढाललगायतका सामग्री माग गरिएको छ । निर्वाचनका लागि चीन, बेलायत, अमेरिका, जर्मनीलगायत देशले पनि सहयोगको प्रतिबद्धता जनाएका छन् ।

लोकतन्त्रको एउटा नियमित उत्सव आयोजना गर्नका लागि बाह्य मुलुकको सहयोग खोज्नुपर्ने स्थिति दुःखद हो । यसले मुलुकको प्रतिष्ठा र स्वाभिमान उँचो बनाउँदैन । त्यसैले सकेसम्म आफ्नै बजेटको सदुपयोग गर्नुपर्छ, सहयोग माग्ने कुरामा जोड दिनु हुँदैन ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully