शासकीय स्वरूपमा सावधानीपूर्ण बहस

राज्यको संरचनागत समस्याहरूको वास्तविक मूल समाधानबिना नै राष्ट्रपति–प्रधान प्रणालीमा आश्रय खोज्नु भनेको बहुलवादी सन्तुलनबाट परामुख हुँदै द्वैध वैधताको गतिरोध, अधिनायकवादी प्रवृत्तिको जोखिम र सामाजिक विभाजनको तीव्रता जस्ता समस्याहरूलाई आमन्त्रण गर्नु हो

पुस ८, २०८२

गणेशप्रसाद पाण्डेय

Cautious debate on the form of government

What you should know

नेपालको राजनीतिक परिदृश्यमा विद्यमान शासन व्यवस्थाको संस्थागत असफलता र त्यसबाट उत्पन्न गहिरो नागरिक निराशा नै हालैको नवयुवा पुस्ता (जेन–जी) आन्दोलनको मूल कारण हो । यो आन्दोलन वंशवाद, सरकारी ढिलासुस्ती, राज्य व्यवस्थामा बढ्दो असमानता, राजनीतिक नेतृत्वप्रति गहिरो अविश्वास र सीमित व्यक्ति तथा परिवारको राज्यका अधिकांश अवसरहरूमा रहेको एकाधिकारविरुद्धको एक सशक्त प्रतिवाद हो ।

यी संरचनागत र संस्थागत समस्याहरूको समाधानका लागि नवयुवा पुस्ताले राज्य सञ्चालनको ढाँचा र प्रक्रियामाथि पुनरावलोकनको माग राखेका छन् । यसै विमर्शको केन्द्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) को प्रस्ताव एक सशक्त प्रमुख विकल्पका रूपमा उठेको छ । प्रस्तुत लेखमा संसदीय र राष्ट्रपतीय प्रणालीका मौलिक विशेषता, सम्भाव्यता र सीमितताहरूको विश्लेषण गर्दै नेपालको सामाजिक–राजनीतिक सन्दर्भमा दुवै प्रणालीको औचित्यको विवेकपूर्ण विवेचना गरिएको छ ।

नेपालको संविधानले बेलायती शैलीको परिमार्जित संसदीय प्रणाली अंगीकार गरेको छ । यस प्रणालीमा प्रधानमन्त्री कार्यकारी प्रमुखको भूमिकामा रहन्छन् भने राष्ट्रपतिले औपचारिक राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्छन् । साथै, मन्त्रिमण्डलका सदस्यहरू व्यवस्थापिकाबाट चयन हुन्छन् र व्यवस्थापिकाप्रति उत्तरदायी हुन्छन् । कार्यपालिकाको कार्यकाल व्यवस्थापिकाको विश्वासमाथि निर्भर हुन्छ । अविश्वासको प्रस्तावमार्फत मन्त्रिमण्डलको नेतृत्व परिवर्तन हुन सक्छ, जसले संकटकालीन परिस्थितिमा नयाँ निर्वाचनबिना नै सत्ता परिवर्तन सम्भव हुन्छ ।

सैद्धान्तिक रूपमा संसदीय शासनमा कार्यपालिका र व्यवस्थापिकाबीचको निकट सम्बन्धले नीति निर्माण र कार्यान्वयनमा सापेक्षिक सहजता सिर्जना गर्छ । प्रत्यक्ष जवाफदेहिताको माध्यमबाट शासनको विश्वसनीयता बढ्ने अपेक्षा गरिन्छ । साथै, संसदीय प्रणालीमा मन्त्रिमण्डल प्रायशः गठबन्धनमा आधारित हुने हुँदा यसले धर्म, जाति एवं क्षेत्रीय विविधताको समावेशी प्रतिनिधित्वलाई प्रोत्साहन गर्दछ । प्रख्यात राजनीतिविद् एरेन्ड लिज्फार्टको तुलनात्मक अध्ययनले बहुमतीय प्रणाली अपनाएका देशहरूको तुलनामा समावेशी (कन्सोसिएसनल) लोकतान्त्रिक प्रणाली अपनाउने देशहरूमा व्यवस्थाको स्थिरता, राजनीतिक शान्ति र प्रजातान्त्रिक टिकाउपन हुने प्रवृत्ति देखाएको छ । 

तथापि, नेपालको व्यावहारिक अनुभवमा संसदीय व्यवस्थाले राजनीतिक स्थायित्व दिनुको सट्टा कार्यकारी र व्यवस्थापिकाबीच अस्थिर सम्बन्धको सिकार भएको पुष्टि गर्छ । संस्थागत दुर्बलता, परम्परागत संरक्षणवादी संस्कृति र दलगत निहित स्वार्थजस्ता संरचनागत समस्याहरूले यसको प्रभावकारितालाई निरन्तर क्षीण बनाइरहेको छ ।

बारम्बारको सत्तारूढ गठबन्धनको पुनर्गठन, संसद् विघटन र लगातारको सत्ता परिवर्तनले आम नागरिकमा संसदीय व्यवस्थाप्रति वितृष्णा र अनास्था बढाएको छ । यसको प्रत्यक्ष असरस्वरूप संघीयता र विकेन्द्रीकरणका मौलिक लक्ष्यहरू प्राप्त गर्न कठिनाइ उत्पन्न भएको छ । यस्ता राजनीतिक विकृतिका कारण आम जनमानसमा संसदीय प्रणालीप्रतिको विश्वास कमजोर हुँदै गएको छ । 

यी दीर्घकालीन संस्थागत एवं संरचनागत समस्याहरूको मूल समाधानका रूपमा नवयुवा पुस्ताले प्रत्यक्ष निर्वाचित कार्यकारी (राष्ट्रपति) शासन प्रणालीको पक्षमा सशक्त वकालत गर्न थालेका छन् । यस प्रणालीका पक्षधरहरूको प्रमुख तर्क छ कि प्रत्यक्ष जनादेश प्राप्त राष्ट्रपति व्यवस्थापिकाबाट संस्थागत रूपमा स्वतन्त्र रहन्छन् । परिणामतः राष्ट्रपतिको कार्यकाल सुनिश्चित हुने, प्रत्यक्ष जनादेशले राजनीतिक र प्रशासनिक स्थायित्व प्रदान गर्ने र नेतृत्व तुलनात्मक रूपमा बलियो, उत्तरदायी र परिणाममुखी हुने अपेक्षा गरिन्छ ।

तथापि, तुलनात्मक राजनीतिक अध्ययनहरूले हाम्रोजस्तो विविधतापूर्ण र अल्पविकसित राजनीतिक संस्कृति भएको समाजमा शक्तिको अत्यधिक केन्द्रीकरणले विभिन्न जोखिम उत्पन्न गर्न सक्ने चेतावनी दिएका छन् ।

द्वैध–वैधताको संकट : यस प्रणालीले द्वैध–वैधताको संकट र सम्झौताहीनताको जोखिम बोकेको छ । जब राष्ट्रपति र व्यवस्थापिका दुवै जनताद्वारा प्रत्यक्ष रूपमा निर्वाचित हुन्छन्, तब दुवैले लोकतान्त्रिक वैधताको समान दाबी गर्छन् । शक्तिको स्पष्ट सीमांकन गर्न स्वभावतः कठिन हुने हुँदा राष्ट्रपति र व्यवस्थापिकाबीच संघर्ष र अविश्वासको वातावरण सिर्जना हुन्छ, जुन प्रणालीगत द्वन्द्वको मूल कारण बन्न पुग्छ । 

लचिलोपनको अभाव : प्रसिद्ध राजनीतिज्ञ जुआन लिन्जका अनुसार राष्ट्रपति–प्रधान प्रणालीमा राष्ट्रपतिको निश्चित कार्यकालले राजनीतिक स्थिरताको आभास सिर्जना गर्दै वास्तविक लचिलोपनमा बाधा पुर्‍याउन सक्छ । यसले विशेषगरी संकटकालीन परिस्थितिमा समेत यदि राष्ट्रपति असफल भए वा जनसमर्थन गुमाए भने पनि उनलाई निर्धारित समयअगावै हटाउन कठिन हुने हुँदा यो समस्या अझ विकराल हुन सक्छ ।

समावेशितामा चुनौती : प्रख्यात राजनीतिविद् लिज्फार्टको विश्लेषण अनुसार नेपालजस्तो नूतन संघीय, बहुलवादी र बहुजातीय राज्यमा सर्वसम्मतिमूलक राजनीति, सहभागितामूलक निर्णय प्रक्रिया र शक्ति साझेदारीका मूल्यहरूलाई प्रोत्साहन गर्नु नितान्त आवश्यक छ । यसबाट मात्र राज्यका विभिन्न वर्ग, भौगोलिक क्षेत्र र सामाजिक समुदायबीच एकता, विश्वास र सद्भावनाको संरक्षण गर्न सकिन्छ । तथापि, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मोडल यी अनिवार्यतासँग मूलतः विरोधाभासी देखिन्छ ।

प्रत्यक्ष जनादेश प्राप्त राष्ट्रपतिहरू प्रायः आफ्नो सर्वोच्च वैधताको अहंभावले प्रेरित भएर सर्वसम्मति र सम्झौतामूलक राजनीतिप्रति अनिच्छुक हुन सक्छन् । यसले बहुलवादी समाजमा विद्यमान संरचनागत विषमता र बहिष्करणको भावनालाई अझ गहिरो बनाउने सम्भावना रहन्छ । यस प्रणालीअन्तर्गत बहुमतवादी निर्णय प्रक्रियाले अल्पमत र सीमान्तीकृत समूहहरूको आवाज उपेक्षित गर्ने जोखिम बढाउँछ, जसले नेपालको जातीय, सांस्कृतिक र क्षेत्रीय रूपले विविध समाजमा गम्भीर असन्तुष्टि र सामाजिक संघर्षको बीजारोपण गर्न सक्छ । यसबाट संघीयताको आधारशिला र समावेशी राष्ट्र निर्माणको चेतना दुर्बल हुने आशंका पनि दृढ हुन्छ ।

अधिनायकवादको जोखिम : राजनीतिक स्थायित्वको आकांक्षामा राष्ट्रपति–प्रधान प्रणालीले अधिनायकवादी र निरंकुशतावादी प्रवृत्तितर्फ झुकावको गम्भीर जोखिम पनि बोकेको हुन्छ । यदि प्रत्यक्ष जनादेश प्राप्त राष्ट्रपतिले आफ्नो व्यापक वैधताको दुरुपयोग गर्दै संविधानमा निहित जाँच र सन्तुलनको व्यवस्थालाई कमजोर पार्ने प्रयास गरेमा सम्पूर्ण शासन प्रणाली कार्यकारी एकाधिकारवादतर्फ धकेलिन सक्छ । लिन्जले पनि यस विषयमा चेतावनी दिँदै उल्लेख गरेका छन् कि लोकप्रिय रूपमा निर्वाचित राष्ट्रपतिले आफ्नो सर्वोच्च जनादेशलाई साधन बनाई अलोकतान्त्रिक वा अधिनायकवादी कार्यहरूलाई सुविधाजनक वैधताको आवरण बनाउन सक्छन् ।

नेपालजस्तो देश जहाँ संवैधानिक संस्थाहरू अझ सुदृढ भइसकेका छैनन्, व्यवस्थापकीय र न्यायिक नियन्त्रणका उपायहरू कमजोर छन् र राजनीतिक दलको आन्तरिक लोकतन्त्र अपरिपक्व र कमजोर छ, त्यस्तो सन्दर्भमा अत्यधिक बलियो कार्यपालिका सिर्जना गर्नु लोकतान्त्रिक मूल्य र संस्थागत सन्तुलनका लागि विपरीत हुन सक्छ । यसले संविधानवादको सिद्धान्तलाई क्षति पुर्‍याएर दीर्घकालमा राजनीतिक अस्थिरता र सत्ताको दुरुपयोगको सम्भावना बढाउन सक्छ ।

आर्थिक–सामाजिक प्रभावः राष्ट्रपति–प्रधान प्रणाली आर्थिक विकास र सामाजिक समानताको दृष्टिले संसदीय प्रणालीको तुलनामा सामान्यतया कम प्रभावकारी हुन्छ । राजनीतिशास्त्रका विभिन्न तुलनात्मक अध्ययनहरूले संयुक्त राज्य अमेरिका जस्ता विशिष्ट अपवादबाहेक विकासशील राष्ट्रहरूमा राष्ट्रपति–प्रधान प्रणाली अपनाएका देशहरूको आर्थिक विकास र सामाजिक नतिजामा औसत रूपमा नकारात्मक प्रभाव पर्ने प्रवृत्ति देखाएका छन् । बहुमतवादी निर्णय प्रक्रियाले सामाजिक र आर्थिक नीतिमा समावेशी दृष्टिकोणलाई संकुचित गर्न सक्ने भएकाले आय विषमता बढ्ने र समावेशी विकासको उद्देश्य प्राप्त गर्न कठिनाइ उत्पन्न हुने सम्भावना रहन्छ ।

दक्षिण एसियाली अनुभव ः पाकिस्तान र श्रीलंका जस्ता देशको अनुभवले बलियो कार्यपालिका प्रणालीमा निहित शक्ति केन्द्रीकरण र त्यसको संकुचित प्रयोगको जोखिम स्पष्ट रूपमा उजागर गरेको छ । श्रीलंकामा सन् २०१८ मा तत्कालीन राष्ट्रपतिले संविधानको स्पष्ट व्याख्याविपरीत प्रधानमन्त्रीलाई हटाउने प्रयास गरेको घटनाले कार्यपालिकाको संवैधानिक सीमा उल्लंघनको एक ठोस उदाहरण प्रस्तुत गर्छ ।

यस्तै, पाकिस्तानको ऐतिहासिक संवैधानिक विकासमा धारा ५८(२)(बी) जस्ता प्रावधानहरूले राष्ट्रपतिलाई व्यवस्थापिका विघटन गर्ने विस्तृत विवेकाधिकार प्रदान गरेको थियो, जसले कार्यकारी स्वेच्छाचारितालाई संस्थागत रूप दिने सम्भावना सिर्जना गरेको थियो । यस्ता घटनाहरूको दृष्टान्तलाई मनन गर्दा नेपाल जस्तो गहिरो राजनीतिक ध्रुवीकरण र दलीय प्रतिस्पर्धा रहेको संवेदनशील राजनीतिक वातावरणमा राष्ट्रपति–प्रधान प्रणालीमा सत्ताको दुरुपयोग हुन सक्ने सम्भावना अत्यन्त प्रबल रहन्छ । यसले राज्यको सामान्य प्रशासनिक कार्यप्रणालीलाई अवरुद्ध गर्नुका साथै संघीयता र समावेशी विकास जस्ता संवैधानिक प्राथमिकताहरू कार्यान्वयनमा गम्भीर बाधा उत्पन्न गर्न सक्छ ।

नेपालको वर्तमान सन्दर्भमा विचार गर्दा दुवै शासनप्रणाली (संसदीय र राष्ट्रपतीय) का तर्कहरूको तुलनात्मक मूल्यांकन सावधानीपूर्वक, दीर्घदृष्टिसाथ र सन्दर्भसापेक्ष रूपमा गर्नु अनिवार्य छ । नेपाल सांस्कृतिक, जातीय, धार्मिक र भाषिक दृष्टिले बहुलवादी राष्ट्र हो, जहाँ समानुपातिक प्रतिनिधित्व र समावेशी शासनको निरन्तरता नै लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड हो ।

संसदीय गठबन्धन प्रणालीले विभिन्न सामाजिक वर्ग, भौगोलिक क्षेत्र र राजनीतिक समुदायहरूलाई सहभागी गराउँदै साझा शासन र शक्ति साझेदारीको संस्कृति विकास गर्ने ऐतिहासिक अवसर प्रदान गरेको छ । यो पनि स्मरणीय छ कि वर्तमान संविधानको पूर्ण रूपमा कार्यान्वयन भएको एक दशक पनि पूरा भएको छैन । यस्तो संक्रमणकालीन अवस्थामा शासनको मौलिक संरचनामा परिवर्तन गर्नाले संवैधानिक स्थायित्व र ऐतिहासिक वैधतामाथि नै प्रश्नचिह्न लाग्ने जोखिम रहन्छ ।

संविधानविद् र नीति विश्लेषकहरूको निरन्तर चेतावनी छ कि नवस्थापित लोकतान्त्रिक संस्थाहरूलाई समय, अभ्यास र सुदृढीकरणको अवसर दिनु नै लोकतान्त्रिक परिपक्वताको अनिवार्य प्रक्रिया हो । संविधानमा निहित समावेशी सिद्धान्त, संस्थागत सन्तुलन र संघीय मूल्यलाई कमजोर पार्ने गरी हतारमा गरिने संरचनागत परिवर्तनले विपरीत परिणामका रूपमा राजनीतिक अस्थिरता, संवैधानिक विचलन र सामाजिक अविश्वास निम्त्याउने गम्भीर जोखिम सिर्जना गर्न सक्छ । यसकारण, विद्यमान संरचनाभित्र नै संस्थागत सुधार गर्ने दिशामा जोड दिनु नेपालको लोकतान्त्रिक यात्राको वर्तमान चरणमा अधिक युक्तिसंगत र उपयुक्त नीतिगत विकल्प हुन सक्छ ।

यसका अतिरिक्त, हाम्रो राजनीतिक इतिहास र लोकतान्त्रिक अनुभवले पनि यो स्पष्ट संकेत दिँदै छ कि जनादेशको स्पष्टता, नेतृत्वको स्थिरता र दीर्घकालीन विकास नीतिको सफल कार्यान्वयनका लागि केवल संवैधानिक र संरचनात्मक ढाँचामा परिवर्तन गर्नु मात्र पर्याप्त हुँदैन । संवैधानिक निकायहरूको सबलीकरण र स्वायत्तता, राजनीतिक संस्कृतिको परिपक्वता, प्रशासनिक नैतिकताको संवर्द्धन र पारदर्शी निगरानी संयन्त्रहरूको सुदृढीकरण पनि समानान्तर रूपमा अपरिहार्य छ ।

राजनीतिक आचरण र शक्ति–सन्तुलनमा मौलिक सुधार नगरी बारम्बार शासन प्रणालीमा संरचनात्मक परिवर्तन गर्नुले लोकतन्त्रलाई सबल बनाउने होइन, बरु संरक्षणवाद र केन्द्रीकरणको केन्द्रबिन्दु मात्र प्रधानमन्त्रीबाट राष्ट्रपतितिर स्थानान्तरण हुने जोखिम उत्पन्न हुन सक्छ । यस्तो अवस्थामा अनौपचारिक शक्ति सञ्जाल, पारिवारिक–व्यावसायिक गठजोड र अपारदर्शी निर्णय प्रक्रियाहरू अझ ठोस रूपमा संस्थागत हुने र लोकतान्त्रिक उत्तरदायित्व र पारदर्शिता झन् दुर्बल बन्ने सम्भावना रहन्छ । 

यी दृष्टिकोणबाट समेत यो पुष्टि हुन्छ कि नेपालको लोकतान्त्रिक भविष्य संवैधानिक पुनःसंरचनाभन्दा संस्थागत सुधार र राजनीतिक संस्कृतिको परिवर्तन गर्नु नै वर्तमानको वास्तविक नीतिगत आवश्यकता हो । साथै शक्ति केन्द्रीकरणका परम्परागत प्रतिमानहरूबाट विमुख हुँदै बहुलवाद, सामूहिक निर्णय प्रक्रिया र साझा उत्तरदायित्वमा आधारित गणतान्त्रिक मूल्यहरूको संस्थागत संवर्द्धनतर्फ अग्रसर हुनु अपरिहार्य छ ।

राज्यको संरचनागत समस्याहरूको वास्तविक मूल समाधानबिना नै राष्ट्रपति–प्रधान प्रणालीमा आश्रय खोज्नु भनेको बहुलवादी सन्तुलनबाट परामुख हुँदै द्वैध–वैधताको गतिरोध, अधिनायकवादी प्रवृत्तिको जोखिम र सामाजिक विभाजनको तीव्रता जस्ता समस्याहरूलाई आमन्त्रण गर्नु हो । यसले नेपालजस्तो सांस्कृतिक, भाषिक र जातीय विविधता भएको नव–संघीय समाजका लागि दीर्घकालीन अस्थिरता र सामाजिक अविश्वासको बाटो खोल्न सक्छ । त्यसकारण, शासन प्रणालीको विमर्श गर्दा संवैधानिक रूपदर्शन मात्रै होइन, नेपालको सामाजिक बहुलता, ऐतिहासिक संवेदनशीलता र भविष्यको समावेशी आकांक्षा पनि केन्द्रीय विचार हुनुपर्छ ।

सारांशमा, नवयुवा पुस्ताको राजनीतिक आन्दोलन र यसले उठाएका व्यवस्था सुधारका न्यायोचित मागहरूको पृष्ठभूमिमा लोकतन्त्रलाई अधिक प्रभावकारी, समृद्ध र समावेशी बनाउने उद्देश्य अत्यन्त सार्थक र ऐतिहासिक रूपले प्रासंगिक छ । तथापि, प्रणालीगत स्थिरता र दक्षता खोज्ने क्रममा संवैधानिकता, बहुलवाद र संघीय समावेशिता जस्ता मौलिक सिद्धान्तहरूको बलिदान गर्नु हुँदैन । शासन प्रणालीमा मौलिक पुनःसंरचना गर्ने निर्णय लिँदा तुलनात्मक अनुभवको वैज्ञानिक विश्लेषण, राष्ट्रिय ऐतिहासिक चेतना, दीर्घकालीन राष्ट्रिय एकता र विकासको दूरदर्शी दृष्टिकोणको आधार हुनुपर्छ ।

अतः, विद्यमान संसदीय प्रणालीभित्र सुधार गर्ने वा प्रत्यक्ष निर्वाचित कार्यकारीको अवलम्बन गर्ने विषयमा व्यापक छलफल, गहन अन्तर–विषयक अध्ययन, सामाजिक सहमति र विवेकपूर्ण निर्णय लिनु नै आजको सर्वोच्च राष्ट्रिय आवश्यकता हो । यस प्रक्रियामा सबै पक्षलाई समान सहभागिता, पारदर्शी विमर्श र उत्तरदायित्वपूर्ण बहसको अवसर प्रदान गरी नेपालको लोकतान्त्रिक भविष्यलाई संवाद र सहमतिबाट मजबुत बनाउनुपर्छ । यिनै मार्गदर्शक सिद्धान्तको अनुसरणद्वारा मात्र युवा पुस्ताको ऐतिहासिक ऊर्जालाई एक सार्थक, स्थायी र राष्ट्रनिर्माणमा योगदान दिने संस्थागत परिणतितर्फ अग्रसर गर्न सकिने आशा गर्न सकिन्छ ।

गणेशप्रसाद पाण्डेय

Link copied successfully