तपाईं–हाम्रा निजी सूचना डलर खर्बपतिहरूले पलपल संकलन गर्ने कच्चा पदार्थ हुन्, तपाईं–हाम्रो अस्तित्व उनीहरूका लागि केवल सूचना बिन्दु (डेटा प्वाइन्ट) हो, झिल्के स्क्रिनमा हामीले बिताउने समय अर्थात् हाम्रो उमेरको हिस्सा ती प्रभुत्वशाली खर्बपतिको ढुकुटीमा थुप्रिरहेको हुन्छ
What you should know
अत्तर प्रसंग- एकादेशमा जब ‘डिस्कर्ड’ बाट प्रधानमन्त्री छानिँदै थियो, धेरैको ध्यान प्रधानमन्त्री बन्न लागेको अनुहारतिर खिचिएको थियो । यो पंक्तिकारको ध्यान भने ‘डिस्कर्ड’ नामको डिजिटल एपले तान्यो । छद्मभेषमा लुकेर खेल खेल्ने मैदान डिस्कर्डले उपलब्ध गराएको थियो र पर्दाभित्रबाट छद्मभेषीहरू निर्धक्क लाहा तताएर प्रधानमन्त्री पदको लालमोहर लगाउँदै थिए ।
डिस्कर्डको सिधा अर्थ हुन्छ– भद्रगोल । डिजिटल युगमा भद्रगोलको पनि कोड हुन्छ, त्यो कोड ‘ओपन–सोर्स’ (खुला) छ र त्यसको बजार बेहिसाब । यद्यपि हामी बाँचिरहेको परिवेश नौलो छ तर बुझ्न नसकिने होइन, जटिल छ तर छिचोल्न नसकिने होइन ।
जर्मन लेखक प्याट्रिक सस्किन्डको चर्चित उपन्यास ‘पर्फ्युम’ (अत्तर) को प्रसंगबाट कुरा अगाडि बढाऔं । उपन्यासमा अद्भूत सुँघ्ने क्षमता भएको एउटा पात्रको कथा छ । अद्भूत घ्राणशक्तिले उसलाई अत्तर कारखानातिर डोर्याउँछ । नयाँ–नयाँ प्रयोग गरेर किसिम किसिमका अत्तर बनाउन ऊ सफल हुन्छ । क्रमशः उसका अत्तरको ख्याति बढ्न थाल्छ र उसको महत्त्वाकांक्षा पनि । अन्ततः कुनै युवतीको शरीरमा अन्तर्निहित बास्ना झिकेर अद्भूत अत्तर तयार पार्ने भूत एक दिन उसको दिमागमा सवार हुन्छ । अलौकिक अत्तर (पर्फ्युम) आविष्कार गर्ने लालसामा ऊ क्रमशः एकपछि अर्को युवतीहरूको हत्या गर्दै जान्छ । एक दिन त्यस्तो अत्तर बनाउन ऊ सफल पनि हुन्छ ।
लगत्तै ऊ पक्राउ पर्छ र उसलाई फाँसीको सजाय सुनाइन्छ । अनि एउटा किल्लामा उसलाई सार्वजनिक फाँसी दिन लगिन्छ । उत्ताउलो भीड चिच्याइरहेको हुन्छ– हत्यारा ! हत्यारा ! ऊ मन्दमन्द मुस्कुराउँछ र त्यही अत्तर हावामा उडाइदिन्छ । उसलाई झुन्ड्याउन माग गर्दै उत्ताउलो भइरहेको भीड अत्तरको प्रभावमा पर्नेबित्तिकै मदहोस हुन थाल्छ । अनि तुरुन्तै उसैलाई ‘देवदूत ! देवदूत ! ’ भन्दै चिच्याउन थाल्छ । सिंगो किल्ला नै उसको अघिल्तिर नतमस्तक हुन्छ । जुन अत्तर बनाउन उसले पच्चीस युवतीको हत्या गरेको थियो, त्यही अत्तर प्रयोग गरेर ऊ अचानक हत्याराबाट देवदूत पुकारिन्छ र फाँसीको तखताबाट सकुशल उम्केर हिँड्छ ।
ठीक यस्तो काण्डको नाम हो– अत्तरकाण्ड । अचेल अत्तरकाण्डको तुफान नै चलेको छ । डिजिटल प्रविधिको प्रभुसत्ताले प्रत्येक दिमागमा कब्जा जमाउने र अल्गोरिदमको रिमोट कन्ट्रोलबाट नियन्त्रण गर्ने चाल चलिरहेको आजको जमानामा अत्तरकाण्ड एक राजनीतिक यथार्थ हुन पुगेको छ । कुनै दरबारिया हत्याकाण्ड, भ्रष्टाचारकाण्ड वा अग्निकाण्ड जस्ता ऐतिहासिक घटनाक्रममा अत्तरकाण्ड फिट खाँदैन, बरु यसले क्रमभङ्ग गरेर नयाँ चुनौती पेस गरेको छ । आमसमाजमा कृतिम मदहोसी फैलाउन सक्ने यसको शक्तिलाई कम आँक्न मिल्दैन । यसर्थ हाम्रो समाज र राजनीतिमा खुट्टा पसारिसकेको अत्तरकाण्डलाई नचिनीकन अब यो मुलुकको भविष्य बोधगम्य लाग्ने छैन ।
मान्छे : एक तथ्यांक बिन्दु
भर्खरै स्थापित ताजा भाष्यले भन्छ– जेन–जी आन्दोलन ‘डिस्कर्ड’ मार्फत उठेको थियो । तर सडकमा आएका जेन–जीहरूले आन्दोलन कुन बिन्दुबाट दर्दनाक विद्रोहमा परिणत भयो थाहै पाएनन् । तसर्थ ‘डिस्कर्ड’ कै अल्गोरिदमबाट नयाँ सरकार नै कसरी उत्पादन गरियो, त्यो त झन् आश्चर्यको विषय हुने भैहाल्यो । तैपनि ‘डिस्कर्ड’ लाई नै आन्दोलन उठाउने जादुको बाकस किन ठानिएको हो भने यहाँ डिजिटल प्रविधिले ल्याइरहेको आश्चर्यजनक परिवर्तनको भाष्य बलियो छ । आन्दोलन र विद्रोहहरू मात्र होइन, समग्र राजनीति नै डिजिटल प्रविधिको पकडमा गएको सजिलो व्याख्या जताततै व्यप्त छ ।
विशेषगरी फेसबुक, एक्स, ह्वाट्सएप, टिकटक, युट्युब जस्ता डिजिटल साधनहरूको प्रयोगबाट राजनीतिक शक्ति सन्तुलन बदलिएको भाष्य नेपालमा झन् बलियो छ । राजनीतिमा बालेन, रवि लामिछाने जस्ता पात्रहरूको उदय हुन पनि प्रविधिले नै सम्भव गरायो भन्ने गरिएको छ । डिजिटल प्रविधिसँगै हुर्किएको मानिने जेन–जी पुस्ताको विद्रोह त झन् प्रविधिले सम्भव गराएको मानिनु अनौठो भएन । के (अ)सामाजिक सञ्जालले आधारभूत जनतालाई साँच्चै बलियो बनाएको हो त ? साँच्चै सुसूचित गरेको हो ? ज्ञानसम्पन्न बनाएको हो ? युवा पुस्तालाई साँच्चै बागी विप्लवी बनाएको हो ? साँच्चै परिवर्तनको सूत्रधार बनेको हो त डिजिटल प्रविधि ? कि यो अत्तरकाण्ड मञ्चन गर्ने सुसञ्जित अखडा बनेको हो ?
सूचना प्रविधि विज्ञानको एक नयाँ चमत्कारकै रूपमा आएको हो, यसले जीवनका आयामहरू बदलेको, सर्वसाधारणको सूचनाको पहुँच बढाइदिएको पनि सत्य हो । समानान्तर सत्य के पनि हो भने हामी जे जस्ता डिजिटल उत्पादन उपभोग गरिरहेका छौं, तिनका मालिक आजको संसारका सबैभन्दा प्रभुत्वशाली खर्बपतिहरू हुन् । उनीहरूले निर्माण गरेको नयाँ अर्थव्यवस्थालाई विद्वान्हरूले ‘डिजिटल पुँजीवाद’, ‘ध्यान अर्थतन्त्र’ (एटेन्सन इकोनोमी), ‘निगरानी अर्थतन्त्र’ (सर्भेलेन्स क्यापिटलिज्म) आदि नामकरण गरेका छन् । तपाईं–हाम्रा निजी सूचना (तस्बिर, रुचि, आनीबानी, स्वास्थ्य समस्या, घरव्यवहार, रिस/ईर्श्या/माया आदि–आदि) डलर खर्बपतिहरूले पलपल संकलन गर्ने कच्चा पदार्थ हुन् । तपाईं–हाम्रो अस्तित्व उनीहरूका लागि केवल सूचना बिन्दु (डेटा प्वाइन्ट) हो । झिल्के स्क्रिनमा हामीले बिताउने समय अर्थात् हाम्रो उमेरको हिस्सा ती प्रभुत्वशाली खर्बपतिको ढुकुटीमा थुप्रिरहेको हुन्छ ।
आममानिसको सूचना र धन जसको नियन्त्रणमा पुग्छ, ऊ सबैभन्दा शक्तिशाली हुन्छ । यो स्वयम्सिद्ध तथ्य हो । आफ्नो विस्फोटक पुस्तक ‘द एज अफ सर्भेलेन्स क्यापिटलिज्म’ मा सुसाना जुबोफले निकालेको निष्कर्ष के हो भने शक्तिशाली टेक कम्पनीले निगरानी अर्थतन्त्रको यस्तो नयाँ जञ्जाल बिछ्याएका छन्, जसको कच्चा पदार्थ पनि सर्वसाधारण हुन् र उपभोक्ता पनि । तिनले आफ्ना एपमार्फत हामीमाथि चौबिसै घण्टा निगरानी राखेर हाम्रो रुचि, प्राथमिकता, असन्तुष्टि, राजनीतिक झुकाव आदि व्यक्तिगत सूचना व्यर्थै संकलन गरेका होइनन् । त्यो सूचनाबाट न कपडा बन्छ, न त बिजुली नै । बरु तपाईंका सूचनाको प्रयोग गरेर तपाईंकै रुचि, इच्छा र व्यवहारमा हस्तक्षेप गरिन्छ । तपाईंले थाहै नपाई तपाईंको दिमागमा अरूले नै रचेका घृणा, रुचि, इच्छा र आक्रोशहरूले कब्जा जमाइसकेका हुन्छन् ।
फेकन्युज, डिपफेक, एआईले बनाउने फेक फोटो/भिडियो, होहल्ला, बबण्डर आदि आज दैनिक भोगाई भइसकेका छन् । सत्य र असत्य, तथ्य र मिथ्या, वास्तविक र अवास्तविकको भेद छुट्याउन नसक्ने स्थितिको मान्छे सिकार भइरहेको छ । आफ्नै जीवनमाथि आफ्नो नियन्त्रण नभएको जस्तो, आफ्नै इच्छा/आकांक्षामाथि आफ्नो पकड नभएको जस्तो, आजको मान्छेले आफ्नो निजत्व र गरिमा नै मोबाइलको प्रकाशभित्र डुबेर नष्ट भइरहेको जस्तो महसुस किन गरिरहेको छ ? किनभने तपाईं जतिजति सञ्जालको जञ्जालमा फस्दै जानुहुन्छ, त्यतित्यति नै जुकरबर्ग, एलन मस्कहरूको धन र शक्तिको ढुकुटी भरिँदै जान्छ । त्यसको राजनीतिक परिणाम के हुन्छ ? विश्वव्यापी असमानता बढ्दै जान्छ, मुठ्ठीभर धनाढ्यको हातमा शक्ति र सम्पत्ति थुप्रिन्छ, अनि सर्वसाधारण जनताको स्वतन्त्रता र अधिकार खारेज हुँदै जान्छ ।
अन्तिम भोज
जुबोफ र अरू धेरै अनुसन्धानकर्ताका अनुसार डिजिटल पुँजीवादले जुन हदमा जनताको दैनिकी नियन्त्रित गरिराखेको छ, त्यसभन्दा बढी लोकतन्त्रकै भविष्यमाथि खतराको तरबार झुन्ड्याइदिएको छ । युरोप/अमेरिकामा टेक खर्बपतिहरूले चरम दक्षिणपन्थी राजनीतिलाई जिताउन पैसाको खोलो बगाइरहेको तथ्यले आखिर के भन्छ ? निगरानी पुँजीवादी व्यवस्थाले अन्ततः आफ्नो शक्ति, पैसा र प्रविधि किन आप्रवासीप्रति घृणा गर्ने गोरा नश्लवादी राष्ट्रवादको राजनीति जगाउन खन्याइरहेको छ ? किनभने यसको वास्तविक चरित्र नै त्यही हो । यो अर्थव्यवस्थाको सबैभन्दा ठूलो सिकार कुनै पुस्ता भएको छ भने त्यो जेन–जी नै हो । आखिरीमा एउटा पुस्तालाई जेन–जी भन्ने ट्याग लगाइएको नै व्यापारिक प्रयोजनका लागि थियो ।
कोकाकोला खाएर आधुनिक बन्नु र मिम हेरेर सुसूचित वा ज्ञानी हुनु उस्तैउस्तै हो । डिजिटल कर्पोरेटले रचेका केही शब्दावली सुगाले झैं दोहोर्याएर न स्वतन्त्र हुन सकिन्छ, न त नयाँ समयको सारथि । ग्रिसका अर्थशास्त्री यानिस भारुफाकिसको पुस्तक ‘टेक्नोफ्युडलिज्म : ह्वाट किल्ड क्यापिटलिज्म’ का अनुसार आजको मानव जगत् लतारिएर टेक्नो–सामन्तवादमा पुगेको छ । खेलका सारा नियम टेक्नो–सामन्तहरूले बनाइरहेका छन् भने त्यही खेल मैदानलाई मुक्ति मैदान ठान्नेहरू अत्तरकाण्डको बेहोसीमा नराम्रोसँग फसेको देख्न सकिन्छ । त्यसैले अपूर्व द्विविधा र भ्रममा परेर आलोचनात्मक चिन्तन र स्वतन्त्रताका संघर्षहरू गुमराह भइरहेका छन् ।
नेपालको पछिल्लो राजनीतिक संक्रमण टेक्नो–सामन्तवादकै प्रत्यक्ष उत्पादन जस्तो प्रतीत हुन्छ । एक्काइसौं शताब्दीका अढाई दशकमा अमेरिकी नेतृत्वको उदार विश्वव्यवस्था भत्किँदै मात्र छैन, युरोप/अमेरिकाकै राष्ट्रिय सत्ताहरूमा चरम दक्षिणपन्थीहरूले पकड जमाइरहेका छन् । त्यसको प्रत्यक्ष प्रभाव नेपाल जस्तो परनिर्भर र जरा उखेलिएको समाजमा घातक ढंगले परिरहेको छ । यो मुलुकको आर्थिक, सामाजिक संकट दिनानुदिन बढ्दै गइरहेको छ । तिनै संकटको नाभीबाट राजनीतिक संकट चरम बन्दै गइरहेको छ । यही बेला एक–से–एक मसिहाहरू ‘देश बनाउने’ अत्तर छर्किंदै राजनीतिको मैदानमा उत्रिएका छन् । यस्तो लाग्छ, इतिहासको अन्तिम भोज खान उनीहरू तँछाडमछाड गरिरहेछन् ।
व्यक्तिरेखी चिन्तन
मसिहापन्थ भनेको सामन्ती परम्पराकै एउटा रूप हो । उदारवादी वा मार्क्सवादी विचार प्रणालीअन्तर्गत आधारभूत जनताको हकको लडाइँ लडेर नै सामन्ती सत्ताहरू ढालिएको इतिहास छ । नेपालमा २०४७ को प्रजातान्त्रिक संविधानमा समेत राजपरिवारका कुनै पनि सदस्यमाथि अदालतमा प्रश्न उठाउन पाइँदैनथ्यो । राजतन्त्र सामन्ती शासन व्यवस्था भएकैले राजपरिवार संविधान वा कानुनभन्दा माथि हुन्थ्यो । लोकतान्त्रिक गणतन्त्रको राजनीतिमा विचार र प्रणालीको स्थान प्रमुख हुन्छ भने व्यक्ति प्रणालीको कर्ता । मसिहापन्थले चाहिँ व्यक्तिलाई प्रमुख बनाउँछ, त्यसैले प्रकारान्तरले त्यो सामन्तवादी विचारकै कर्ताधर्ता हुन पुग्छ ।
टेक्नो–सामन्तवादले लोकतान्त्रिक प्रणालीभित्रै महिसापन्थलाई हुर्किने वातावरण बनाइदिएको छ । अमेरिकी पत्रकार क्रिस हेजले आफ्नो पुस्तक ‘द साइरेन्स कल’ मा भनेअनुसार (अ)सामाजिक सञ्जाल उद्योगका लागि प्रत्येक मान्छेको ध्यान (एटेन्सन) नै बिक्रीको वस्तु हो । यिनले हाम्रो उमेर मात्र खाँदैनन्, हामीलाई अत्तरकाण्ड मच्चाइरहेकाहरूका बबण्डरमा ध्यान केन्द्रित गर्न लगाउँछन् । हाम्रो वास्तविक जीवनका मुद्दा, समस्यामाथि चिन्तन गर्ने समय र मनस्थिति ध्वस्त पारिदिन्छन् । हाम्रा व्यक्तिगत र सामूहिक संघर्षहरू अलपत्र पर्छन् र हामी अत्यासग्रस्त मानसिकतामा कुनै मसिहाले मच्चाएको अत्तरकाण्डको सिकार हुन्छौं । यस प्रकार सर्वसाधारणको उमेर, पैसा र ध्यान तानेर हाम्रो जीवनसँग सरोकार नै नराख्नेहरू धनी र शक्तिशाली हुन्छन् । हाम्रो हातबाट हाम्रै राजनीतिसमेत मसिहाहरूले खोसेर लैजान्छन् ।
टेक्नो–सामन्तवादले लोकतन्त्रको मैदान मात्र होइन, उदारवादले आदर्श मानेको बजार अर्थतन्त्र पनि ध्वस्त तुल्याइदिन्छ । अचम्मको कुरा त के भने लोकतान्त्रिक व्यवस्थाका भ्यानगार्ड बौद्धिक तथा राजनीतिकर्मीहरूलाई समेत यसले व्यक्तिरेखी बहस, चिन्तन र आलोचनाको घनचक्करमा पारिदिँदो रहेछ । लोकतान्त्रिक गणतन्त्रका सारथि भनेका जनतालाई केन्द्रमा राख्ने विचारधाराले निर्मित राजनीतिक पार्टी हुन् । ती पार्टीभित्र निरंकुश नेतृत्वको विकास भयो भने पनि त्यसको विरुद्धको संघर्ष वैचारिक हुनुपर्छ । व्यक्तिरेखी चिन्तनका आधारमा गरिने संघर्षले एउटा व्यक्तिको ठाउँमा अर्को व्यक्तिको मात्र परिकल्पना गर्दछ ।
लोकतान्त्रिक पार्टीभित्र निरंकुश नेतृत्वको निर्माण कसरी हुन्छ ? यसको सिधा जवाफ हुन्छ– विचार र प्रणालीको निरन्तर विकास अवरुद्ध भएर । त्यसो भए निरंकुश नेतृत्वविरुद्धको संघर्ष केवल व्यक्तिरेखी चिन्तन र संघर्षबाट सम्भव छ ? छैन । त्यस्तो संघर्षको प्रस्थानबिन्दु नै वैचारिक हुनुपर्छ । राजनीतिक पार्टीको महत्त्व किन पनि हो भने उसलाई उसले बोकेको विचार र एजेन्डाकै आधारमा प्रश्नको कठघरामा उभ्याउन सकिन्छ । व्यक्तिरेखी बहस र संघर्षले अन्ततः मसिहापन्थलाई नै बाटो बनाइदिन्छ । यसर्थ विचारलाई केन्द्रमा राखेर बहस उठाउनु, मुद्दाहरू तिखो बनाउनु र राजनीतिलाई सत्ताको खेलबाट जनताको घरआँगनतिर तान्नु आजको चुनौती बनेको छ ।
अन्तमा,
लोकप्रियतावाद (पपुलिज्म) को हावा संसारभरि चलेको छ । नेपालमा उत्पन्न मसिहापन्थ त्यसैको एक अवतार मात्रै हो । यसको जरा नेपाली समाजका वास्तविक समस्या र तिनका उपचारसँग जोडिएको छैन । यो हावाहावामै बेलुन फुलेझैं फुलेको छ । यसको सम्पूर्ण रणनीतिलाई एकै शब्दमा बुझ्न सकिन्छ– अत्तरकाण्ड ।
(अ)सामाजिक सञ्जाल र टेक्नो–सामन्तवादले अत्तर छर्किने र मान्छे लठ्याउने प्लाटफर्म उपलब्ध गराइदिएका छन् । सामान्य जनताको शक्ति के हो भने जुन दिन अत्तरको प्रभावले छोड्छ, मान्छे आफ्नै घर/गाउँ/टोलमा ब्युँझिन्छ र ऊ आफ्नो एवम् आफ्नो समाजको मुद्दा बोकेर लड्न आउँछ ।
नेपाली समाजको जरा उखेलिने क्रम जारी छ । संस्कृतिको जरा, उत्पादनको जरा, पारिवारिक संरचनाको जरा, कृषिको जरा, सबै सबै जराहरू । यो समाजले भोगिरहेको संकटतिर फर्किनासाथ अत्तरकाण्डको नशा उत्रिन थालिहाल्छ । किनभने यो बहुआयामिक र चुनौतीपूर्ण संकटको सामना गर्न अलग्गै स्तरका वैचारिक, राजनीतिक तयारी चाहिन्छ । विदेश बस्ने कर्मशील नेपालीहरूलाई केही समय अवश्य भ्रम पार्न सकिएला, तर उनीहरूलाई पनि डिजिटल झ्यालबाट देखाइने चलचित्र वास्तविक होइन भन्ने थाहा पाउन धेरै समय लाग्ने छैन ।
अत्तरकाण्डको तुफान चलिरहँदा नेपाली समाज र राज्यको वास्तविकता चिन्ने र भविष्यको रेखा कोर्न सक्ने विचारको विकासमा लागिरहनु भने महत्त्वपूर्ण हुनेछ ।
