लोकप्रिय नेतृत्वको तप्केनीमा पार्टी

विभिन्न पेसा तथा व्यवसायमा सफलता प्राप्त गरेर लोकप्रिय छवि बनाएका व्यक्तिले राजनीतिक पार्टी गठन गर्ने चलन सदावहार छ । तर, व्यक्तिको लोकप्रियताको आडमा गठन भएका आफूभन्दा अघिल्ला पार्टीले जहाँ–जहाँ र जसरी कमजोरी गरे, त्यसको अध्ययन गर्न र सिक्न तत्पर नहुँदा पछिल्ला पार्टीहरू उसैगरी दुर्घटनामा परिरहेका छन् ।

पुस ७, २०८२

किशोर दहाल

Party in the shadow of popular leadership

What you should know

प्रसंग १- २०३६ मा अर्थ सचिवबाट राजीनामा दिएर चर्चामा आएका, २०४६ को जनआन्दोलनमा बौद्धिक समुदायको तर्फबाट सक्रिय भूमिका खेलेका र २०४७ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद्मा अर्थ मन्त्रालयको नेतृत्व गरेका देवेन्द्रराज पाण्डेको नेतृत्वमा २०४९ मा ‘प्रजातान्त्रिक लोकदल’ नामक पार्टी गठन भयो ।

बहस–छलफलका लागि त्यतिबेला उपलब्ध सबै खाले मञ्चमा यो पार्टीको चर्चा हुन्थ्यो । लोकदलप्रति अपेक्षा व्यक्त हुन्थ्यो, तर निर्वाचनमा भने मतदाताको साथ पाएन । २०५० माघको उपनिर्वाचनमा काठमाडौं र झापाका उसका दुवै उम्मेदवारले १०० मत पनि कटाउन सकेनन् । २०५१ को मध्यावधि निर्वाचनमा उम्मेदवार भएका १० जनामध्ये पाण्डेले मात्रै चार अंकमा मत पाए । कुनै उम्मेदवार पनि निकट प्रतिस्पर्धी हुन सकेनन् । मध्यावधि निर्वाचनपछि पार्टी विभाजन भयो । पाण्डेले पनि नेतृत्व छाडे । बिस्तारै पार्टी नै ओझेल पर्दै गयो ।

प्रसंग २ 

माओवादी सशस्त्र युद्धको एक जना नेतृत्वकर्ता, सफल अर्थमन्त्रीका रूपमा चर्चा गरिएका, प्रधानमन्त्री भइसकेका र पढेलेखेका नेताका रूपमा स्थापित बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० मा ‘नयाँ शक्ति, नेपाल’ नामक पार्टीको घोषणा भयो । संविधान घोषणापछि नै तत्कालीन एनेकपा माओवादी परित्याग गरेका उनले पूर्वपार्टीका सीमित नेता, विभिन्न पेसामा पहिचान बनाइसकेका सफल व्यक्ति र सेलिब्रिटीहरूलाई साथमा लिएर पार्टी घोषणा गरेका थिए ।

पार्टी घोषणाअघि नै नयाँ शक्तिको खाँचोबारे बहस चलाएका भट्टराईकै नेतृत्वमा नयाँ पार्टी घोषणा भएपछि चर्चा पाउनु र सफलताको अपेक्षा गरिनु स्वाभाविकै थियो । कतिसम्म भने, पार्टी घोषणा कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नयाँ शक्तिले एमालेबाहेक अरू पार्टीलाई धक्का दिन सक्छ’ भन्ने उद्घोष गरेका थिए । तर, पार्टी अपेक्षाकृत फक्रिन सकेन । २०७४ को आमनिर्वाचनमा अध्यक्ष भट्टराई मात्रै विजयी भए, त्यो पनि कांग्रेससँग तालमेल गरेर । नयाँ शक्ति बिस्तारै अन्य पार्टीसँग एकता र विभाजनको चक्रमा फस्दै गयो ।

प्रसंग ३ 

टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा लोकप्रिय छवि बनाएर रवि लामिछानेको नेतृत्वमा २०७९ असार ७ मा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा भयो । उसका सैद्धान्तिक, वैचारिक र सांगठनिक पक्षमा अन्योल रहेकै अवस्थामा सोही वर्ष मंसिर ४ मा भएको निर्वाचनमा उसले प्रत्यक्षतर्फ ७ सहित २० सिट जित्यो । २७५ सदस्यीय प्रतिनिधिसभामा ऊ चौथो दल बन्यो । लगत्तै सत्तामा गयो, बाहिरियो, केही महिनापछि पुनः गयो । पार्टीको आगामी सफलता/असफलताबारे अहिल्यै आकलन गर्नु उचित हुँदैन । तर, यो पार्टी आन्तरिक र बाह्य चुनौतीमा फसेको छ । सभापति लामिछाने स्वयं एक विवादित व्यक्तिका रूपमा स्थापित भएका छन् ।

नागरिकता र पासपोर्टको विवाद बल्लतल्ल सल्टाएका उनीमाथि यतिबेला सहकारी ठगीको आरोप छ । लामै समय थुनामा बसेर केही दिनअघि मात्रै उनी धरौटीमा रिहा भएका छन् । उनलाई जोडेर नागरिकता, पासपोर्ट वा सहकारी ठगीका विषय सार्वजनिक भएयता पार्टीको सम्पूर्ण शक्ति नै लामिछानेको बचाउ गर्नेतर्फ केन्द्रित छ । सांगठनिक गतिविधि सुस्त छन् । संस्थापक महामन्त्री मुकुल ढकालदेखि विघटित प्रतिनिधिसभामा सशक्त भूमिकाका लागि परिचित सन्तोष परियार तथा सुमना श्रेष्ठसम्म पार्टीबाट अलग भइसकेका छन् । पार्टीको सैद्धान्तिक/वैचारिक पक्षलाई लिएर अझै पनि सन्देह छन् ।

***

स्थापित पार्टीलाई सैद्धान्तिक, वैचारिक, कार्यक्रमिक, पार्टी सञ्चालन पद्धति जस्ता यावत् विषयमा चुनौती दिने र आफू स्थापित हुने लक्ष्य बोकेर समय–समयमा नयाँ पार्टी गठन भइराख्छन् । त्यही सूचीमा पर्छन्– प्रजातान्त्रिक लोकदल, नयाँ शक्ति र रास्वपा । यहाँ यी तीन वटा पार्टीको प्रसंग लिइनुको कारण भने उनीहरूमा रहेको कम्तीमा एउटा साझा विशेषता हो— नेतृत्वको लोकप्रिय छवि । 

तत्कालीन माले र मार्क्सवादी पृष्ठभूमिका केही जुझारु युवा अनुहार मेरुदण्डका रूपमा रहेको भए पनि लोकदल र पाण्डे पर्याय जस्तै थिए । नयाँ शक्ति भट्टराईकै राजनीतिक छवि, लोकप्रियता र हुटहुटीको उपज थियो । त्यसैमार्फत स्थापित हुन सकिन्छ भन्ने विश्वास थियो । पार्टी घोषणा हुने दिन प्रकाशित भएका प्रमुख पत्रिकाहरूमा उनको फोटोसहित छापिएको ‘ज्याकेट एड’ त्यसको एउटा प्रमाण हो । रास्वपा त ‘रविको पार्टी’ को रूपमा अद्यापि परिचित छ । नेता तथा कार्यकर्ता पंक्तिबाट भइरहने रविको महिमामण्डन, बीपीसँग तुलनादेखि ‘जिउँदो रहेसम्म रवि नै सभापति’ भन्ने जस्ता अभिव्यक्तिले सो पार्टीमा उनको एकछत्र प्रभावलाई पुष्टि गर्छ ।

यो शृंखला यी तीन वटा पार्टीमै सीमित भने हुँदैन । विभिन्न पेसा तथा व्यवसायमा सफलता प्राप्त गरेर लोकप्रिय छवि बनाएका व्यक्तिले राजनीतिक पार्टी गठन गर्ने चलन सदावहार छ । २०७४ को स्थानीय निर्वाचनअघि रवीन्द्र मिश्रको नेतृत्वमा ‘साझा पार्टी’ गठन भएको थियो । २०७९ को निर्वाचनअघि रेशम चौधरीको संयोजकत्वमा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन भएको थियो । त्यस्तै, विखण्डनवादी राजनीतिबाट उदाएका सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ ले २०७९ बाटै आमनिर्वाचनमा प्रतिस्पर्धाको सुरुवात गरेको हो । यी सबै पार्टी मूलतः एक–दुई व्यक्तिको लोकप्रियताको जगमा स्थापना भएका थिए । र, उनीहरू सबैले भोगेको साझा नियति हो– दुर्घटना । ती आकस्मिक दुर्घटना भने थिएनन् । तिनमा साझा कारण छ– नेतृत्वको लोकप्रियता, जसलाई सामान्यतया पार्टीको शक्ति र पुँजी ठानिन्छ ।

व्यक्तिको लोकप्रियताको आडमा गठन भएका आफूभन्दा अघिल्ला पार्टीले जहाँ–जहाँ र जसरी कमजोरी गरे, त्यसको अध्ययन गर्न र सिक्न तत्पर नहुँदा पछिल्ला पार्टीहरू उसैगरी दुर्घटनामा परिरहेका छन् । २१ फागुनको निर्वाचनलाई लक्षित गरेर गठन गरिएका कुलमान घिसिङ (उनी मन्त्री पदमा रहेकाले औपचारिक रूपमा उनको आबद्धता छैन) को ‘उज्यालो नेपाल पार्टी’, वीरेन्द्रबहादुर बस्नेत केन्द्रीय सदस्य (पार्टी उनकै ‘आइडिया’ हो, पदाधिकारीले निर्वाचन नलड्ने नीति भएकाले उनी केन्द्रीय सदस्य मात्रै छन्) रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’, हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ जस्ता पार्टीहरू व्यक्ति विशेषको लोकप्रियताका कारणले बढी चर्चामा छन् । यस्ता पार्टीले पनि विगतका पार्टीका कमजोरीबाट सिकेनन् भने त्यही नतिजा भोग्नुपर्नेछ, जुन यसअघिका यस्तै पार्टीले भोगिसकेका छन् ।

***

लोकप्रिय व्यक्तिको नेतृत्वमा पार्टी गठन हुँदा समाजको तल्लो तहसम्मै चर्चा पाउने गर्छ । सामाजिक सञ्जालको प्रयोगमार्फत आफ्ना कुरा लक्षित समूहसम्म पुर्‍याउन झन् सहज हुन्छ । उसै पनि लोकप्रिय व्यक्तिलाई पछ्याउने जमातको आकार ठूलै हुन्छ, उसले गर्ने पोस्टमा हुने अन्तर्क्रियाले चर्चा गर्ने समूहको दायरा फैलिँदै जान्छ । यसले पार्टीको नीतिलाई प्रचार गर्न धेरै मिहिनेत गर्नै पर्दैन । कतिपय अवस्थामा त सामाजिक सञ्जालको चर्चाले नै पार्टीको पक्षमा माहोल सिर्जना गर्छ । २०७९ को निर्वाचनमा रास्वपाको पक्षमा माहोल बनाउने काम उसको सांगठनिक संयन्त्रले भन्दा पनि सामाजिक सञ्जालले नै गरेको थियो ।

पार्टी घोषणा र त्यसको पक्ष/विपक्षमा समाजका विभिन्न तप्कामा हुने छलफलले पार्टीलाई नै फाइदा पुर्‍याउँछ । चर्चित नेतृत्वका कारण त्यसको स्वीकार्यता पनि सहजै स्थापित हुन्छ । तर, त्यो चर्चा र स्वीकार्यता लामो समय उस्तै आयतनमा रहन भने सक्दैन । अर्थात् स्थापित हुन जति सजिलो छ, टिक्न कठिन छ । त्यसका लागि उक्त पार्टीले थप रणनीति तय गर्नुपर्छ । त्यहीँ नै पार्टीहरू चुक्ने गर्छन् ।

पहिलो, मूल नेतृत्वको छविलाई पार्टीको छविमा रूपान्तरण गर्ने विषय हो । कुनै पनि व्यक्तिप्रति समाज सधैं आकर्षित भइरहन पनि सक्दैन । समाजले नयाँपन खोज्छ । नयाँ विषय खोज्छ । नयाँ सूचना खोज्छ । निश्चित समयपछि राम्रै मान्छेको पनि विकल्प खोज्छ । यो आमचरित्र हो । अर्कोतर्फ, व्यक्ति स्वयं अनेकौं सबल पक्ष र कमजोरीको संयुक्त स्वरूप हो । जब ऊ राजनीतिको मैदानमा होमिन्छ, तब उसका अनेकौं विषय बाहिर आउँछ । समाजको सामूहिक स्वार्थ र नैतिकतामा असर नपर्ने हदसम्म निश्चित पेसा, व्यवसायमा रहेका व्यक्तिको कमजोरीलाई आमबहसको विषय बनाइएको हुँदैन । त्यो सम्भव र आवश्यक पनि हुँदैन । तर, राजनीतिक मैदानमा रहने व्यक्तिको कमजोरी, स्वभाव र चरित्रले ठूलो समूह वा देशकै सामूहिक विश्वास र अपेक्षालाई प्रभावित पार्छ । त्यसपछि भने उसमाथि सार्वजनिक निगरानी सुरु हुन्छ, अतिरिक्त चासो व्यक्त हुन्छ ।

दोस्रो, व्यक्ति स्वयं नै राजनीतिमा अघि बढ्दै जाँदा अनेकौं विवादमा पर्न सक्छ । आफ्नै कमजोरी वा परिबन्धले उसको नैतिक धरातल नै भत्किने सम्भावना रहन्छ । त्यसैले व्यक्तिको छविलाई पार्टीको छवि र व्यक्तिको पुँजीलाई पार्टीको पुँजी बनाउनुपर्छ भनिएको हो । जिम्मेवारीको विकेन्द्रीकरण, हस्तान्तरण, सामूहिक नेतृत्व, कार्यक्रम, पार्टीका निर्णय लिने प्रक्रियामा लोकतान्त्रिक र पारदर्शी प्रणाली, पार्टीका सैद्धान्तिक/वैचारिक पक्षमा प्रस्टता र सोहीअनुसार पार्टीमा जोडिने बाटो तय गर्ने प्रक्रिया जस्ता कामले पार्टीको छवि निर्माण गर्छ । पार्टीको विचार र नीति प्रस्ट भयो भने त्यसलाई रुचाएका वा प्रतिबद्धता व्यक्त गर्न सक्ने मानिस जोडिँदै जान्छन् । उनीहरूलाई सक्रिय र जिम्मेवार बनाउन लोकतान्त्रिक प्रणाली र निर्णय प्रक्रियामा समान सहभागिता सुनिश्चित गर्न सकियो भने पार्टीप्रति अपनत्व र लगाव बढ्छ । त्यसले पार्टीलाई पिरामिड जस्तो बलियो धरातलमा उभ्याउँछ । त्यतिबेला नेतृत्व सामान्य प्राविधिक विषय बन्छ, पार्टीको नीति, लक्ष्य र कार्यक्रम मुख्य हुन्छ ।

नीति तथा कार्यक्रम मन पराएर होइन, लोकप्रिय व्यक्तिलाई नेतृत्वमा देखेर त्यही पार्टीमा जोडिने पद्धतिलाई प्रश्रय दिने र उत्प्रेरित गर्ने हो भने जस्तासुकै व्यक्ति पनि जोडिन्छन् । मुख्यतः पार्टीलाई आफ्नो स्वार्थ पूरा गर्न र आफ्ना कमजोरीलाई ढाक्ने औजार बनाउन चाहनेहरू जोडिन्छन् । पार्टीले थेग्नै मुस्किल पर्ने महत्त्वाकांक्षी जोडिन्छन् । आफ्नो स्वार्थ पूरा नहुने स्थिति देखेमा ती तत्कालै अलग्गिन्छन् ।

कांग्रेस, एमाले तथा तत्कालीन माओवादी जस्ता पार्टी किन लामो समय टिक्न सके ? किनकि, यी पार्टीले नेता विशेषको व्यक्तित्व र लोकप्रियताभन्दा बढी सिद्धान्त, नीति र कार्यक्रमलाई प्राथमिकता दिए । त्यही आधारमा मानिस जोडिएका थिए । बीपी कोइरालाले पत्रिकामा प्रकाशित गरेको आह्वानबाट कांग्रेस निर्माणको प्रक्रिया सुरु भएको भए पनि तत्कालै यो आमअपनत्वमा विस्तार भएको थियो । एमाले (तत्कालीन झापा कमिटी, कोके, माले) र माओवादीको नेतृत्वलाई त कार्यकर्ताले देख्न र भेट्नै पाउँदैन थिए । मानिसलाई आकर्षण गर्ने विषय नै तिनका सिद्धान्त, नीति, कार्यक्रम र संघर्ष थियो । त्यसैले ती पार्टी लामो समय टिके । यद्यपि, यसका अरू पनि कैयौं कारण छन् ।

***

लोकप्रिय नेतृत्व निश्चित समयसम्म मात्रै पार्टी हितका निम्ति उपयोगी हुन्छ । त्यसपछि ऊ पार्टीकै निम्ति जोखिम बन्छ । किनकि लोकप्रियताका कारण उसमा आफैंलाई नै पार्टी ठान्ने अहंकार विकास हुन्छ । आफ्नै लोकप्रियतामा पार्टी टिकेको र टिक्ने अभिमान बढ्छ । त्यतिबेला उसले जिम्मेवारी/शक्ति बाँडफाँटप्रति अनिच्छा देखाउँछ । जिम्मेवारी बाँड्दा आफ्नो विशेषाधिकार खोसिएजस्तो महसुस उसलाई हुन्छ । 

आफ्नो एकल नेतृत्व, एकल शक्ति, आफूप्रतिको आमआकर्षणको निरन्तरताले उसलाई लोभ्याउँछ । त्यसैलाई निरन्तरता दिने प्रयत्न उसको हुने गर्छ । पार्टीभित्र आफू निकटका व्यक्तिलाई प्रयोग गरेर आफ्नो नेतृत्वलाई थप बलियो बनाउने उपाय रच्छ । आफ्नो एकाधिकार कायमै राख्न उसले लोकप्रियतावादी मुद्दालाई उछाल्छ । पार्टी र देशमा संकट आइपरेको प्रचार गर्छ । यही प्रचारबीच ‘संकटसँग लड्न बलियो नेतृत्व चाहिएको’ भन्दै पार्टीका नियमित लोकतान्त्रिक प्रक्रियालाई समेत निरुत्साहित र अवरुद्ध गर्छ । अनि पार्टीभित्र निरंकुशता हाबी हुन्छ । सबै पार्टीले एउटै सूत्र अपनाए भन्ने होइन, तर अधिकांशसँग मेल खाने प्रवृत्ति यही हो ।

जब नेतृत्वको छवि र पुँजीलाई पार्टीकै छवि र पुँजी बनाइँदैन, जिम्मेवारी हस्तान्तर गर्दै वैकल्पिक नेतृत्वको समूह तयार गर्दै गइँदैन, त्यतिबेला मूल नेतृत्व संकटमा पर्दा सम्पूर्ण पार्टीपंक्ति नै तिलमिलाउँछ । रास्वपा सभापति रवि लामिछाने थुनामा परेका बेला सम्पूर्ण पार्टी नै थुनामा परेजस्तो स्थिति हुनुको कारण त्यही हो । किनकि, यो पार्टीलाई आफ्नै नीति र कार्यक्रमप्रति, अन्य नेताको क्षमताप्रति विश्वास नै छैन । त्यस्तो हुन्थ्यो भने, लामिछानेलाई आफूमाथिको आरोप वारपार भएपछि मात्रै पार्टीको नेतृत्वमा फर्किने गरी निलम्बित गर्न सक्थ्यो, पदमुक्त गर्न सक्थ्यो । नेतृत्वको छविमा पार्टीको छवि र भविष्य निर्भर रहेको ठानिएकैले पार्टीपंक्तिको ऊर्जा नेतृत्वकै छवि जोगाउन केन्द्रित भएको छ । रवि जोगिएनन् भने पार्टी र आफ्नो राजनीतिक भविष्य पनि नजोगिने भय पार्टीपंक्तिमा छ । यस्तो स्थितिमा पार्टी पिरामिड जस्तो बलियो जगमा अडिने होइन कि, बाँसको लिंगो जस्तो हुन्छ, जहाँ सबैले टुप्पोमा बाँधिएको घैंटो जस्तो नेतृत्वलाई मात्रै हेरिरहेका हुन्छन् ।

यस्तो अवस्था नयाँ पार्टीमा मात्रै होइन, स्थापित र ठूला भनिएका पार्टीमा समेत देखिने गरेको छ । जबजब एउटा व्यक्ति अतिशय शक्तिशाली हुँदै आउँछ, त्यहाँ पनि पार्टीभन्दा नेतृत्वलाई ठूलो ठान्नेहरूकै बोलवाला बढ्दै जान्छ । परिणामतः त्यो पार्टी कम, ‘फ्यान क्लब’ बढी बन्छ । आज प्रायः कम्युनिस्ट पार्टीहरू यही प्रवृत्तिबाट व्यतीत छन् । एमाले, माओवादी केन्द्र (अहिले नेपाली कम्युनिस्ट पार्टी), राजमो, नेमकिपा, मालेलगायतका पार्टी सीमित व्यक्तिको वरपर घुमिरहेको छ । नेतृत्व चयनमा लोकतान्त्रिक पद्धति नहुने, वैचारिक घर्षण नहुने, नयाँ तथ्य र विचारप्रति आकर्षण नहुने, नयाँ पुस्ताको प्रवेशका लागि सहजीकरण नहुने जस्ता कारणले उनीहरू सुक्दै जान बाध्य छन् । कुनै बखत आन्तरिक लोकतन्त्रकै लागि परिचित पार्टीभित्रको लोकतन्त्रसमेत शिथिल बन्दै गएको छ । उकुसमुकुस र विभाजन नियमित उपक्रम बन्दै गएको छ ।

***

पुराना पार्टीहरू संकटमा पनि जेनतेन टिक्न सक्नु र नयाँ पार्टीहरू केही वर्षमै ओइलाउनुको अरू केही पक्ष पनि छन्– सैद्धान्तिक/वैचारिक आधार, आर्थिक स्रोतको जोहो, सांगठनिक धरातल । जसले यी सबै पक्षबीच तालमेल मिलाउन सकेका हुन्छन्, तिनीहरू संकटमा पनि टिकेको पाइन्छ । आफ्ना वरपर समर्थक देखेर पार्टी खोल्नेमध्ये कैयौंले तालमेल मिलाउन सक्दैनन् र दुर्घटना भोगेको देखिन्छ ।

कांग्रेस, एमाले, तत्कालीन माओवादी जस्ता नेताहरूले प्रारम्भमै प्रशस्तै वैचारिक घर्षण गरेका थिए । कांग्रेसमा बीपी कोइराला, एमालेमा सीपी मैनाली र मदन भण्डारी तथा माओवादीमा मोहन वैद्य तथा बाबुराम भट्टराई जस्ता नेताहरू थिए । विचार र सिद्धान्तमा उनीहरूको घर्षण पार्टीभित्र र बाहिर दुवैतर्फ थियो । नवगठित धेरै पार्टीले यतातर्फ खासै रुचि राखेको देखिँदैन । उनीहरू दौडिन चाहिरहेको देखिन्छ, तर कता दौडिने अमलममै देखिन्छन् । खासमा कता दौडिने भनेर थाहा पाउनैका लागि विचार र सिद्धान्तमा प्रस्टता चाहिने हो । के काम गर्ने ? कसरी गर्ने ? भन्ने प्रश्नको उत्तरका लागि चाहिने हो । इतिहासलाई कसरी बुझ्ने, समसामयिक घटनालाई कसरी बुझ्ने भन्ने प्रस्टताका लागि चाहिने हो । कसका निम्ति राजनीति गर्ने भनेर आफू उभिने भुइँ निर्क्योल गर्न चाहिने हो । पार्टीमा जोडिने फरक–फरक पृष्ठभूमिका मान्छेलाई साझा स्वार्थमा गाँस्नका लागि चाहिने हो । यो सबै नहुँदा नयाँ पार्टीका नेताहरू चर्कै आवाजमा बोलिरहेको सुनिन्छ, तर के, किन र कसको पक्षमा बोलिरहेका छन् भन्ने खुट्याउनै मुस्किल पर्छ ।

संगठन निर्माणमा पनि पुराना पार्टीले अथक मिहिनेत गरेका छन् । भूमिगत भएर एक–एक जनालाई सहमत गराउँदै आफ्नो पार्टीमा जोडेका छन् । यस्तो संगठन तहगत हुन्थ्यो । बहुपक्षीय सम्बन्धबाट जोडिन्थ्यो । अन्तरक्रिया हुन्थ्यो । त्यहीँभित्र आफूलाई अब्बल ठहराउँदै अघि बढ्ने प्रतिस्पर्धा हुन्थ्यो । सर्वसाधारण, विभिन्न पेसा–व्यवसायका मानिस हुँदै बिस्तारै देशका स्थायी संस्थापन पनि प्रत्यक्ष वा अप्रत्यक्ष ढंगले पार्टीमा संगठित हुन्थे । र, बलियो सांगठनिक आधार बन्थ्यो । संगठनभन्दा बाहिर समर्थक पनि हुन्थे । यसैकारण पुराना पार्टीमा कुनै क्षण संकट देखिए पनि चाँडै नै जुर्मुराउन सक्छन् वा आफैंप्रति भरोसा गरेर सम्हालिन सक्छन् । नयाँ पार्टीहरू भने संगठन होइन, समर्थकलाई सर्वस्व ठान्छन् । जबकि, समर्थकबीच सांगठनिक वा वैचारिक प्रतिस्पर्धा हुँदैन, तहगत दोहोरो सम्बन्ध हुँदैन । त्यहाँ एकपक्षीय आकर्षण हुन्छ । त्यहाँ जिम्मेवारी वा जवाफदेहिता हुँदैन । मुख्यतः समर्थकले चाँडै नयाँ ‘आदर्श’ खोज्छन्, मन परेकै भए पनि पुरानो गीत सुन्न छाडेर नयाँ गीत सुने जस्तै । त्यसैले पनि समर्थकको आडमा खुलेका पार्टी चाँडै दुर्घटनामा पर्छन् ।

कांग्रेसलाई आर्थिक पक्षमा भरथेग गर्ने सुवर्णशमशेर जस्ता नेता थिए । एमाले (तत्कालीन माले) का धेरै नेता भूमिगत भएर जनतासँगै खाने–बस्ने गरेकाले पार्टी चलाउन धेरै रकम चाहिँदैनथ्यो । माओवादी पनि युद्धकालमा जनतासँगै आश्रित थियो । आर्थिक स्रोतका लागि चन्दा उठाउने र लुटपाटसम्मका काम गर्थे । जब यी पार्टी सत्ता–सञ्चालक भए, उनीहरूले पैसावालसँग बलियो आर्थिक सम्बन्ध निर्माण गरे । त्यसैले प्रारम्भमा उनीहरूले पार्टीलाई अगाडि बढाउन सके, बिस्तारै सत्ता–सञ्चालन गर्ने हैसियत बनाए । 

सरकारमा जाने सम्भावना भएको पार्टीलाई उद्योगी, व्यवसायी, व्यापारीले पनि खुला हृदयले सहयोग गर्छन् । सरकारमा पुगेपछि पार्टीहरूले पनि उनीहरूको हितमा काम गरिदिन्छन् । उनीहरूबीच दोहोरो सम्बन्ध बनेको छ । केही पार्टीले त उद्योगी र व्यापारीलाई पार्टीहरूले समानुपातिक सभासद/सांसद बनाएका पनि छन् । पार्टीका सिफारिसमा हुने नियुक्तिबाट लेबी उठाइन्छ । आफ्नो पार्टी सरकारमा आउनासाथ तलका कार्यकर्तासम्मै खुसी हुन्छन्, किनकि लाभको हिस्सा त्यहीँसम्म पुग्छ । यसले पार्टीको संगठनलाई पनि जोगाउन भूमिका खेल्छ । नयाँ पार्टीलाई यसरी आर्थिक स्रोतको जोहो गर्न असाध्यै कठिन हुन्छ । किनकि, पहिल्यै स्थापित आर्थिक सम्बन्धका बीचमा उनीहरू प्रवेश गर्नै मुस्किल पर्छ । नयाँ र पारदर्शी विकल्प पहिल्याउन पनि कठिनाइ पर्छ । 

यसरी, वैचारिक/सैद्धान्तिक पाटोमा अप्रस्ट, संगठनभन्दा समर्थकमा विश्वास र पार्टी सञ्चालनका लागि आर्थिक जोहोको भरपर्दो र वैधानिक मार्ग पहिल्याउन नसक्दा नयाँ पार्टीहरू बर्खायामको च्याउ जस्तै हुने गरेका छन् । तर, चाहिएको भने बलियो जरासहितको पीपल जस्तै पार्टी हो । स्पष्ट छ, जसले प्रशस्तै पूर्वतयारी गरेर अघि बढेको छ, ती मात्रै लामो समयसम्म टिक्नेछन् । उखानै छ— चाँडै तातियो भने चाँडै सेलाउनुपर्छ, ढिलो तातियो भने ढिलै ।

किशोर दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Link copied successfully