दुर्गा कँडेल (छत्कुली) लेख्छिन्– राजनीतिक दलहरू सच्चिने होइन सक्किने बाटोमा हिँडे, जसकारण समाजले परिवर्तनको पाइला चाल्यो र ढल्यो पुरानो सत्ता ।
What you should know
२०८२ भदौ २३ बाट जेन–जी समूहले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध प्रदर्शन सुरु गरे । प्रदर्शनका दुई दिनमै इतिहासमा कहिल्यै नभएको यस्तो घटना घट्यो, जसले करिब दुईतिहाइको सरकारलाई घुँडा टेक्न बाध्य बनायो । आगजनी र तोडफोडको त हिसाबकिताबै छैन ।
यसअघि पनि देशमा ठूल्ठूला आन्दोलन भएका थिए । २००७ मा राणाविरोधी आन्दोलन राजनीतिक पार्टीको आयोजनामा भएको थियो । २०४६ मा पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन भएको थियो, २०६२/६३ मा लोकतन्त्र र गणतन्त्रका खातिर भयो । यी र यस्ता आन्दोलनबाट देशलाई भयानक क्षति भइरहेकै छ । देशमा अस्थिर राजनीति रहिरहेकै छ । राजनीतिक दलहरू सत्ता र शक्तिका लागि पटक–पटक नेतृत्वमा गइरहेकै छन् । तर, जनतामा झूटा आशा पनि छरिरहेकै छन् । नेताहरू सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्न पनि पछि पर्दैनन् ।
समग्रमा भन्दा राजनीतिलाई व्यापारीकरण, भ्रष्टीकरण र पारिवारिक बनाउँदा जनताले देशमा सुशासनको प्रत्याभूति गर्नै पाएनन् । देशमा प्रजातन्त्र आएको पनि करिब चार दशक पुग्न लाग्यो । तर, देश र जनताको अवस्था झन् बिग्रँदो अवस्थामा पुग्यो । राजनीतिमा भएको व्यापारीकरण, भ्रष्टीकरण र पारिवारिकीकरणलाई यसरी स्पष्ट बुझ्न सकिन्छ ।
राजनीतिमा व्यापारीकरण
राजनीति राज्य सञ्चालन गर्ने नीति हो । सामाजिक तथा राष्ट्रिय जीवनका साझा सवाल समाधान र साधनहरूको बाँडफाँट गर्न सत्ता कसरी प्रयोग गर्ने भन्ने निर्धारण–प्रक्रिया हो राजनीति । राजनीति जनताको मत लिएर सत्तामा पुग्ने खेल भएकाले जनताकै इच्छाअनुसार काम गर्नु कर्तव्य ठहरिन्छ ।
राजनीति व्यक्तिगतभन्दा समूह र राष्ट्रको हितमा प्रयोग हुने अभ्यास हो । जनताका न्यूनतम आवश्यकता खातिर नीति बनाएरै कार्यान्वयन हुनु नै नागरिकलाई सेवा गर्नु हो । यस्तो पवित्र काम गर्ने निहुँमा सत्ता र शक्तिको दुरुपयोग गर्नाले जनतामा चरम निराशा छाएको थियो । राजनीति व्यापारीकरण कसरी भयो भने राजनीति र लोकतन्त्रलाई जनसेवा वा विचारका आधारमा नभई व्यापार, नाफा र पैसाको बलमा सञ्चालन गर्ने प्रवृत्ति संस्थागत भएकाले हो ।
कुनै विशिष्ट तह र तप्का होस्, चुनावमा टिकट लिन होस् वा ठूलाठूला ठेक्कापट्टामा होस् वा स–साना काममा बिचौलियाको हालीमुहाली होस्— सर्वत्र कमिसन तथा आर्थिक पाटोको विषय संस्थागत बन्दै गयो । यसले राजनीति सेवा नभएर व्यापारीकरणमा परिणत भयो, जहाँ ‘राम्रा’ भन्दा ‘हाम्रा’ ले प्राथमिकता पाउने भए । पैसावालको राज चल्ने भएपछि तल्लो वर्ग अझ तल झर्ने अवस्था सिर्जना हुँदै गयो । केही समय अगाडिदेखि नै ‘क्रिप्टोक्रेसी नेक्सस’, ‘नेपो बेबी’ नामक भाष्यको पनि निर्माण भइरहेको अवस्था थियो ।
राजनीतिमा भ्रष्टीकरण
राजनीतिमा भ्रष्टीकरण भनेको व्यक्तिगत, समूहगत तथा पार्टीगत फाइदाका लागि सार्वजनिक पद, नीति र स्रोतहरूको दुरुपयोग गर्नु हो । यसले लोकतन्त्र, सुशासन र विकासको मार्गमा बाधा पुर्याउँछ । जब राजनीतिमा भ्रष्टीकरणले प्रश्रय पाउँछ तब समाजमा राजनीतिक दलप्रति जनताको विश्वास गुम्छ । यसले लोकतन्त्र कमजोर बन्छ, ‘मेरिटोक्रेसी’ हराउँछ, साधन र स्रोतको उचित बाँडफाँट हुँदैन र जनता सडकमा आउनुपर्ने अवस्था आउँछ । ठेक्कापट्टामा राजनीतिक गठजोड, पार्टीभित्र टिकट किनबेच, जागिर तथा पदमा जान सम्पर्क–सम्बन्ध आवश्यक र सांसदसमेत पैसामा किनबेच हुने अवस्थाले राजनीतिमा जवाफदेहिता कमजोर बन्दै जाने, जसको परिणामस्वरूप अहिलेको जेन–जी आन्दोलन भयो ।
राजनीतिमा पारिवारिकीकरण
राजनीतिमा पारिवारिकीकरण भनेको राज्यसत्ता तथा सत्ता संरचनामा परिवार वा वंशको वर्चस्व रहने तथा बढ्ने प्रक्रिया हो । यसमा नेतृत्व, पद, अवसर, निर्णयहरू परिवारका सदस्य तथा आफन्तमार्फत हस्तान्तरण हुन्छ । यस्तो परिवेशमा नेतृत्वको उत्तराधिकारी परिवारभित्रैबाट बनाउने, योग्यता भएकालाई भन्दा पारिवारजनलाई प्राथमिकतामा राखेर काम गर्ने, योग्य र सक्षम व्यक्तिलाई अघि बढ्ने अवसरबाट वञ्चित गर्ने, पार्टीका निर्णय पारिवारको स्वार्थवरिपरि रहने गरी गर्ने काम राजनीतिमा पारिवारिकीकरण भित्र पर्छ । यसले सक्षम, योग्य, अनुभवी व्यक्ति र कार्यकर्ता तथा नागरिकमा चरम वितृष्णा पैदा गर्छ । यसले आक्रोश पोख्ने वातावरण खोजिरहेको हुन्छ, जुन जेन–जी आन्दोलनको नामबाट आयो ।
यसअलावा यी उल्लिखित विशेषतासँगै जोडिने पक्ष भनेको राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतीकरण हो, जसले समाजमा वितृष्णा पैदा गर्छ । केही वर्षअघि निर्मला पन्तको बलात्कारपछिको हत्यामा हत्यारा पत्ता लाग्न सकेन । यो भनेको अपराधमा राजनीतीकरण हो । इँटाभट्टामा जिउँदै मान्छे जलाउनेलाई आममाफी दिने काम पनि अपराधमा राजनीतीकरण हो । राजनीतिक स्वार्थ पूरा गर्न अपराधलाई बलिदान दिने प्रवृत्ति नौलो रहेन । यस्ता विषयहरूको समग्रताले समाज आक्रान्त बन्दै गयो । राजनीतिक दलहरूले सच्चिने होइन सक्किने बाटो रोजे, जसकारण समाजले परिवर्तनको बाटोमा पाइला चाल्यो र ढल्यो पुरानो सत्ता । देशमा पुरानो सत्ता ढलेर नयाँ सरकार बनेको परिप्रेक्ष्यमा नयाँ आशाको कल्पना गरिएको छ । देश आर्थिक रूपमा कमजोर भएको छ, विपदमा छ । पटक–पटकका विपद् तथा आन्दोलनको सामना गरेको अनुभव छ देशसँग । भूकम्प, कोभिड सामना गर्दा शारीरिक र मानसिक रूपमा कमजोर भएको अवस्था छ । नेपालसँग सशस्त्र द्वन्द्वमा रहँदासमेत विपद् व्यवस्थापन गरेको अनुभव छ । अहिलेको आन्दोलन र ध्वंसात्मक अवस्थाले देशलाई जर्जर बनाए पनि जनतामा शारीरिक र मानसिक स्थिति तन्दुरुस्त छ । तसर्थ, जनता खरानी टक्टक्याएर उठ्नेछन् ।
