यथाशक्य निर्माणले मात्रै पुष्टि हुनेछ ठेक्का तोड्नुको औचित्य

चुनौतीका बाबजुद सरकारले केचाहिँ सुनिश्चित गर्नैपर्छ भने, जुन गतिका साथ आयोजनाको निर्माण अघि बढिरहेको थियो, त्यसअनुसार निर्माण कार्य पूरा हुने सम्भावित समयभन्दा अघि नै नयाँ प्रक्रियाबाट पूरा हुनेछ । साथसाथै, आयोजनाको गुणस्तर पनि सुनिश्चित हुनेछ । र, आगामी दिनमा तोकिएकै समयभित्र निर्माण पूरा हुने विधि र मानक स्थापित हुनेछ ।

पुस ४, २०८२

सम्पादकीय

Only by building as much as possible will the justification for breaking the contract be confirmed.

What you should know

सरकारले लामो समयदेखि काम नभएका र प्रगति पनि नदेखिएका आयोजनाका ठेक्का तोड्न अग्रसरता देखाएको भए पनि तिनको यथाशक्य निर्माणको सुनिश्चितता भने गर्न सकेको छैन । त्यसैले सरकारले सुरुवात गरेको सकारात्मक प्रयत्नले निष्कर्ष नपाउने र झनै अन्योल सिर्जना हुने हो कि भन्ने आशंका बढेको छ ।

उसै अलपत्र आयोजना, त्यसमा पनि निर्माणको निरन्तरता सुनिश्चित हुन सकेन भने त्यसले सम्भावित लाभग्राहीलाई थप चिढ्याउन सक्छ । जुन उद्देश्यबाट ठेक्का तोडिएको हो, स्वयंमा प्रत्युत्पादक हुन सक्छ । त्यसैले ठेक्का तोड्ने प्रक्रियालाई नै सरकारले 

आफ्नो सफलता ठान्नु हुँदैन । बरु यथाशक्य छिटो निर्माण पूरा हुने सुनिश्चितता गर्नुपर्छ । त्यो पनि कसैको व्यक्तिगत आदेश वा दबाबबाट होइन, व्यावहारिक विधिबाट हुनुपर्छ । अनि मात्रै आयोजना निर्माणका काममा देखिने ढिलासुस्ती अन्त्य हुन सक्छ । समयमै लाभ प्राप्त हुन सक्छ । त्यसबाट नै पुँजी निर्माण र रोजगारी सिर्जनाको आधार बलियो बन्छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गत ठेक्का रुग्ण बनेको भन्दै धमाधम सम्झौता तोडिएको हो । अहिलेसम्म सडक विभागअन्तर्गत २ सय ३५ रुग्ण रहेकामा ३५ वटाको ठेक्का तोडिसकिएको छ । सडक विभागअन्तर्गत तोडिएका ठेक्काको रकम मात्र २ अर्ब ९ करोड ७९ लाख रुपैयाँ छ ।

तोडिएका अधिकांश ठेक्का निर्माण व्यवसायीले जेभी (ज्वाइन्ट भेन्चर) मा लिएका छन् । त्यस्तै, जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका २२ वटा ठेक्का तोडिएका छन् । ती आयोजनाको कुल सम्झौता रकम १४ अर्ब २३ करोड छ । त्यस्तै, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत ४२ ठेक्का रुग्ण रहेकामा ३७ को तोड्ने प्रक्रिया अघि बढाइएको छ । यसमा स्वास्थ्य भवन निर्माणतर्फ ३ ठेक्का तोडिएको छ । तोडिएको भवनको ठेक्का रकम ३ करोड २५ लाख रुपैयाँ छ । समग्रमा झन्डै साढे १६ अर्बका ६० ठेक्का तोडिएका छन् ।

आयोजना समयमै पूरा हुँदा त्यसबाट लक्षित वर्गले छिटो लाभ लिन पाउँछन् । सडक वा पुलको निर्माण पूरा भएसँगै यात्रा छोटो र सहज हुन सक्छ । खानेपानी आयोजनाको पूर्णतासँगै समुदायले सहज र स्वच्छ पानी पिउन पाउँछन् । सिँचाइ आयोजनाको पूर्णतासँगै उत्पादकत्व बढ्छ ।

तोकिएकै समयमा निर्माण कार्य पूरा हुँदा बजेटको सदुपयोग हुन्छ । राज्यको आत्मविश्वास वृद्धि हुन्छ । अन्यत्रको आयोजनामा नयाँ बजेट परिचालन हुन सक्छ । साथसाथै, रोजगारी र व्यवसायको सम्भावना बढ्छ । मान्छेको उत्पादकत्व पनि बढ्छ । आयोजना समयमै पूरा हुँदा राज्यका संयन्त्रप्रतिको विश्वास जागृत हुन्छ, त्यसले अन्ततः राज्य प्रणालीप्रति नै विश्वास जगाउँछ । त्यतिबेला व्यक्ति र परिवार स्वयंलाई आफ्ना योजना बनाउन र कार्यान्वयन गर्न सहज हुन्छ ।

समयमै आयोजना पूरा नहुँदा सबै लाभहरू गुम्छन् । आयोजनास्थल वरपर हैरानी र जोखिम लम्बिन्छ । राज्य संयन्त्रको कार्यशैलीप्रति निराशा बढ्छ । व्यक्ति र परिवारको पलायन हुन सक्छ । त्यसैले पनि लामो समय व्यतीत भइसकेका तर तत्कालै निर्माणले गति लिने सम्भावना पनि नरहेका आयोजनाका ठेक्का तोडिनु अनिवार्य थियो । किनकि त्यसले नयाँ प्रक्रियाको सुरुवात गर्ने बाटो खोल्छ । अल्झिरहनुभन्दा प्रक्रियालाई अन्त्य गरेर नयाँ सुरुवात गर्नु धेरै उचित हुन्छ ।

त्यसले सरकारको चासो स्थापित हुन्छ, निर्माण व्यवसायीलाई आफ्नो हेलचेक्क्रयाइँ सधैं चल्दैन भन्ने सन्देश दिन्छ, ठेक्का लगाउने निकायलाई पनि कामकारबाहीमा जवाफदेही हुनुपर्ने चलन स्थापित गर्छ र जनतामा पनि आयोजनाको निर्माणको काम नयाँ ढंगले सुरु भई समयमै समापन हुने आशा जगाउँछ । यसर्थ सरकारको पहलकदमीलाई अनुचित भन्ने ठाउँ छैन । अबको ध्यान केन्द्रित हुनुपर्छ– यथाशक्य निर्माणको सुनिश्चिततातर्फ । सरकारका अघिल्ला सबै पहलकदमीलाई निर्माणको सुनिश्चितताले मात्रै न्याय गर्न सक्छ, उचित ठहर्‍याउन सक्छ । नत्र अदूरदर्शी र अपरिपक्व काम गरिएको ठहर्छ ।

अबको काम थप चुनौतीपूर्ण छन् भन्ने सरकारले ख्याल गर्नुपर्छ । त्यसको अनुभूति भयो भने मात्रै सफलतापूर्वक अगाडि बढ्न सकिन्छ । पहिलो चुनौती हो, अदालतमा पर्ने मुद्दा । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माणको ठेक्का तोडेपछि चित्त नबुझेर निर्माण व्यवसायी सर्वोच्च अदालत गएका छन् ।

आगामी दिनमा अरू पनि जान सक्छन् । सरकारले ठेक्का तोड्ने निर्णयको कानुनी आधार स्थापित गर्न सक्नुपर्छ, जुन लोकतन्त्र र विधिको शासनमा अपरिहार्य छ । दोस्रो, ठेकेदारलाई दण्डित गर्ने विषय । किनकि, सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा (८) मा ठेक्का तोडेर बीचमा काम बाँकी भए त्यो सबै काम गर्न लाग्ने रकम ठेक्का लिने निर्माण व्यवसायीबाट असुलउपर गर्ने भनिएको छ । अहिले धमाधम ठेक्का तोडिए पनि निर्माण व्यवसायीबाट असुलउपर गर्ने विषय चुनौतीपूर्ण छ ।

तेस्रो, पुनः ठेक्कामा लगाउनका लागि अहिले ठेक्का तोडिएका आयोजनाको काम कति बाँकी छ, अब निर्माण पूरा गर्न कति बजेट चाहिन्छ भनेर वस्तुनिष्ठ मूल्यांकन हुनुपर्छ । त्यसको निर्माण कार्य अघि बढाउनका लागि बजेटको सुनिश्चितता गर्नुपर्छ । खासगरी बहुवर्षीय र दायित्व सिर्जना हुने खालको आयोजनामा बजेटको सुनिश्चितता अपरिहार्य हुन्छ ।

यसले अन्तरनिकाय समन्वय र चुस्त नतिजाको माग गर्छ । नेपालमा अन्तरनिकाय समन्वय कमजोर छ । त्यसैले ठेक्का प्रक्रिया समयमा सुरु नहुने र त्यसले गर्दा अपेक्षित समयमा निर्माण कार्य पनि पूरा नहुने आशंका बलियो बनेको हो । चुनौतीका बाबजुद सरकारले केचाहिँ सुनिश्चित गर्नैपर्छ भने, जुन गतिका साथ आयोजनाको निर्माण अघि बढिरहेको थियो, त्यसअनुसार निर्माण कार्य पूरा हुने सम्भावित समयभन्दा अघि नै नयाँ प्रक्रियाबाट पूरा हुनेछ । साथसाथै, आयोजनाको गुणस्तर पनि सुनिश्चित हुनेछ । र, आगामी दिनमा तोकिएकै समयभित्र निर्माण पूरा हुने विधि र मानक स्थापित हुनेछ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully