भोकमरीको भय र भाष्य

भोजराज पौडेलको लेख- भोकमरी अन्त्य गर्ने हाम्रो यात्रा केवल तथ्यांक र नीति मात्र होइन, त्यो हाम्रो मानवीय संवेदनशीलता र साझा उत्तरदायित्वको प्रतिबिम्ब हो । हामीले सबैलाई समेट्ने, सबैको आवाज सुन्ने र सबैका लागि न्याय सुनिश्चित गर्ने समाज निर्माण गर्नुपर्छ ।

पुस ३, २०८२

भोजराज पौडेल

Fear and commentary on hunger

What you should know

संसारका विभिन्न निकाय तथा अनुसन्धान संस्थाले वार्षिक रूपमा सार्वजनिक गर्ने प्रायः सबैजसो सूचकांकमा नेपालको स्थान पुछारमा हुन्छ । त्यसकारण पनि यस्ता नियमित रूपमा सार्वजनिक हुने सूचकांकलाई लिएर एउटा सिंगै आलेख खर्चिनु आवश्यक छ कि छैन भनेर मैले नसोचेको होइन ।

तर पछिल्लो प्रतिवेदन भोकमरीसँग जोडिएको र हामी कृषिप्रधान अर्थतन्त्र रहेको हुनाले यस विषयमा केही आधारभूत प्रश्न नै अनुत्तरित छन् । यस आलेखमा मैले ती प्रश्नलाई उजागर गर्ने प्रयास गरेको छु ।

विश्वव्यापी रूपमा भोकमरीको अवस्था मापन गर्न र विद्यमान भोकमरीको समस्यालाई सम्बोधन गर्न घच्घच्याउने उद्देश्यका साथ विश्व भोकमरी सूचकांक (जीएचआई) २०२५ – सार्वजनिक भएपछि यसले दक्षिण एसियामा तरंग ल्यायो । खासगरी भारतले प्रतिवेदन तयार पार्न प्रयोग गरिएको अध्ययन पद्धति र तथ्यांकमाथि प्रश्न उठाएर यसको विरोध गर्‍यो । यो सन्दर्भमा भारतले भनेको छ कि प्रतिवेदनले खाद्य सुरक्षाको अवस्थालाई प्रतिविम्बित गर्न र विद्यमान भोकमरीको अवस्थालाई सही तथ्यांक प्रयोग गरेर यथोचित रूपमा चित्रण गर्न सकेको छैन । तर नेपालको हकमा भने मुलुकमा भोकमरी झनै बढेको भनेर चिन्ता प्रकट भयो । यस सन्दर्भमा हामीले भोकमरीमा को छ, यसको अर्थराजनीति के हो र नेपाल किन दशकौंदेखि यही समस्यामा अल्झिरहेको छ भन्ने प्रश्नहरूको जवाफ खोज्नुपर्ने हुन्छ ।

भोकमरी केवल खाद्य उत्पादनको समस्या होइन । त्यो राजनीतिक, आर्थिक, सामाजिक र वातावरणीय संकटसँग गहिरो रूपमा गाँसिएको छ ।अमर्त्य सेनको १९८१ मा प्रकाशित पुस्तक ‘गरिबी र दुर्भिक्षः अधिकार र अभावको निबन्ध’ ले दुर्भिक्ष (फेमिन) को अध्ययनमा नयाँ दृष्टिकोण अगाडि सारेको छ । उनले दुर्भिक्षको कारणलाई केवल खाद्य आपूर्तिमा नभई राजनीतिक र आर्थिक संरचनासँग जोडेर विश्लेषण गरेका छन् । १९४३ को बंगाल दुर्भिक्षको अध्ययनमा सेनले ‘खाद्य आपूर्ति घटबढ’ सिद्धान्तलाई चुनौती दिएका छन्, जसले दुर्भिक्षको मुख्य कारण खाद्य अभावलाई मान्थ्यो । सेनको अनुसन्धानअनुसार, १९४३ मा बंगालमा खाद्य आपूर्ति १९४१ भन्दा बढी थियो, तर ग्रामीण मजदुलगायत केही समूहले आफ्नो ‘अधिकार’— खाना किन्न वा साट्न सक्ने क्षमता— गुमाए । युद्धकालीन महँगी र सहरी क्षेत्रमा आर्थिक वृद्धिले खाद्यको मूल्य मजदुरको पहुँचभन्दा बाहिर पुर्‍यायो ।

सेनले लोकतन्त्रको भूमिकालाई पनि विशेष महत्त्व दिएका छन् । उनका अनुसार, ‘जीवित लोकतन्त्रमा कहिल्यै दुर्भिक्ष हुँदैन ।’ लोकतन्त्रमा स्वतन्त्र प्रेसले भोकमरीको प्रारम्भिक चेतावनी दिने काम गर्छ र सरकार नागरिकको दबाबमा छिटो समस्याको सम्बोधन गर्न बाध्य हुन्छ । चुनाव जित्नका लागि नेताहरू जनताको मागप्रति उत्तरदायी हुनुपर्छ, जसले सरकारलाई छिटो कदम चाल्न प्रेरित गर्छ । सेनले चीनको ‘ग्रेट लिप फर्वार्ड’ (१९५८–१९६१) को समयमा स्वतन्त्र प्रेसको अभावले लाखौंको मृत्यु लुकाइएको र स्वतन्त्र भारतमा लोकतान्त्रिक दबाबले ठूलो दुर्भिक्ष हुन नदिएको उदाहरण दिएका छन् ।

तर, सेनले लोकतन्त्रले आकस्मिक दुर्भिक्ष रोक्न सक्ने भए पनि दीर्घकालीन भोकमरी समाधान गर्न चुनौती रहेको स्वीकार गरेका छन् । यसकारण भोकमरीको समाधानका लागि केवल खाद्य आपूर्ति होइन, अधिकार, सूचना र उत्तरदायी शासन पद्धति पनि अत्यन्त महत्त्वपूर्ण छन् । यही कामका लागि अर्थशास्त्री सेनले सन् १९९८ मा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाए ।

सेनले अगाडि सारेको दृष्टिकोणमा टेकेर हामीले हाम्रो आर्थिक, सामाजिक र राजनीतिक संरचना र धरातललाई बुझ्नुपर्ने हुन्छ । मलाई लाग्छ, नेपालको राजनीतिक, आर्थिक र सामाजिक धरातल प्रायः सबै नेपालीले बुझेका छन् । त्यो बुझाइ गलत हो कि सही भन्ने छलफलमा अहिले प्रवेश नगरौं । सारा नेपालीले बुझेको नेपालको राजनीतिक, आर्थिक र सामाजिक बनोटमा भोकमरीमा को छ ? राज्यले यो समस्याको समाधानार्थ के प्रयत्न गरिरहेको छ ? किन भोकमरीको जोखिम निरन्तर कायम छ ?

नेपालको संविधान २०७२ ले खाद्य सुरक्षाको प्रत्याभूति गरेको छ तर मर्ममा जाने हो भने यो काम हुन सकेको छैन । जीएचआईमा यस वर्ष नेपाल ७२ औं स्थानमा रहेको छ भने यसको २० वर्षअघि २००६ मा पहिलो पटक सूचकांक (जीएचआई) सुरु हुँदा नेपाल ५७ औं स्थानमा थियो । त्यतिबेला नेपालको जीएचआई स्कोर २०.६ थियो भने अहिले यो स्कोर १४.८ रहेको छ । यसले के देखाउँछ भने नेपालले विगत २० वर्षमा कुनै उल्लेखनीय प्रगति गरेको छैन ।

ज्ञान, राजनीतिक इच्छाशक्ति र कार्यलाई एकसाथ अघि बढाउँदा भोकविरुद्धको लडाइँमा प्रगति सम्भव छ भन्ने भाष्य र विश्वासका आधारमा विश्व भोकमरी सूचकांक सुरु भएको थियो । विश्वका अन्य मुलुकको हकमा त्यो सही सावित भए पनि नेपालको हकमा हामीले खासै उपलब्धि हासिल गर्न सकेका छैनौं । त्यो किन भने जीएचआई स्कोर ० (शून्य) भनेको सबैभन्दा उत्तम अथवा शून्य भोकमरी हो भने १०० (सय) भनेको सबैभन्दा खराब अवस्था हो । नेपालले विगत दुई दशकमा आफ्नो जीएचआई स्कोरमा जम्मा ५.८ को मात्र कमी ल्याएको छ । त्यो अत्यन्तै नगण्य प्रगति हो । विगत दुई दशकमा नेपालले यथेष्ट वैदेशिक सहायता र सहयोगका बाबजुद गर्न नसकेको प्रगति अबका आउँदा दिनमा कसरी गर्न सक्छ भन्ने प्रश्न छ । विश्वव्यापी रूपमा र केही क्षेत्रमा खाद्य सुरक्षाबारे चिन्ता बढ्दो छ । विकासका लागि नेपालमा मात्र होइन, संसारभरि नै वित्तीय स्रोतहरू अत्यधिक दबाबमा छन् ।

विश्व भोकमरी सूचकांक– २०२५ का अनुसार, विश्वका धेरै अल्पविकसित देशहरू भोकमरीको गम्भीर समस्याबाट गुज्रिरहेका छन् । यो सूचकांकले कुपोषण, बाल मृत्युदर, बाल कुपोषण र बालवय वृद्धिमा अवरोधलगायतका सूचकहरूलाई आधार मानेर विभिन्न मुलुकहरूमा विद्यमान भोकमरीको अवस्था मापन गर्छ । २०२५ को प्रतिवेदनअनुसार, विश्वका केही देशहरूमा सुधार देखिए पनि दक्षिण एसियाली मुलुकहरू, विशेषगरी नेपाल, बंगलादेश, भारत, पाकिस्तान र अफ्रिकाका केही देशहरू अझै उच्च जोखिममा छन् ।

नेपालले विगत केही वर्षमा खाद्य सुरक्षामा केही सुधार गरे पनि, ग्रामीण तथा दुर्गम क्षेत्रका बासिन्दाहरू अझै पनि पर्याप्त पोषणयुक्त खाना पाउनबाट वञ्चित छन् । जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, असमान वितरण प्रणाली र गरिबीका कारण नेपालमा खाद्य असुरक्षा बढिरहेको छ । तर मुख्य प्रश्न के हो भने कृषिप्रधान देश भएर पनि नेपालले किन खाद्य सुरक्षाको प्रत्याभूति दिन सकेको छैन भन्ने हो ।

सन् २०१५ मा संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्य (एसडीजी) घोषणा गर्दा दोस्रो लक्ष्य ‘शून्य भोक’ राखिएको थियो । त्यो लक्ष्यले हामी सबैलाई एउटा साझा सपना देखायो— जहाँ कुनै पनि मानिसलाई भोकले नसताओस्, सबैले पर्याप्त, पोषणयुक्त खाना पाउन सकुन् । तर, आजको यथार्थमा फर्केर हेर्दा, त्यो सपना अझै धेरै टाढा छ । २०२५ को ग्लोबल भोकमरी सूचकांकले देखाएको तस्बिर झनै भयावह छ । जीएचआई–२०२५ अनुसार, विश्वको औसत भोकमरी स्कोर १८.३ छ, जुन ‘मध्यम’ श्रेणीमा पर्छ । २०१५ मा यो स्कोर १९.१ थियो, जसले देखाउँछ कि पछिल्लो दशकमा प्रगति निकै सुस्त छ । प्रतिवेदनमा समेटिएका विश्वका १२१ देशमध्ये ४४ देशको जीएचआई स्कोर ‘गम्भीर’ वा ‘अत्यन्त गम्भीर’ श्रेणीमा छ । अफ्रिका, दक्षिण एसिया र द्वन्द्वग्रस्त क्षेत्रहरूमा भोकमरीको अवस्था अझै गम्भीर छ । २०२५ को प्रतिवेदनअनुसार, विश्वभर ७३ करोड ५० लाख मानिसहरू (विश्व जनसंख्याको ९.२ प्रतिशत) कुपोषणको सिकार छन् । पाँच वर्षमुनिका बालबालिकामध्ये १४.५ प्रतिशत कुपोषित, ६.८ प्रतिशत कुपोषणको गम्भीर अवस्थाबाट गुज्रिरहेका छन् र ४.५ प्रतिशत बालबालिका मृत्युवरण गरिरहेका छन् । यी तथ्यांकहरूले हामीलाई हाम्रो प्रयासहरू पर्याप्त छैनन् भन्ने सन्देश दिन्छ ।

जीएचआई – २०२५ ले विश्वव्यापी रूपमा भोकमरीको मुख्य कारणहरूमा द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक संकटलाई औंल्याएको छ । सुडान, गाजा, म्यानमार, नाइजेरिया, दक्षिण सुडान, अफगानिस्तान, सिरिया, यमन, इथियोपिया, चाड, कंगो, बंगलादेश, भारत, पाकिस्तान जस्ता देशहरूमा द्वन्द्व, राजनीतिक अस्थिरता, जलवायु परिवर्तन र आर्थिक संकटका कारण खाद्य सुरक्षामा चुनौती देखिएको छ । सुडानमा २०२४ मा दुर्भिक्ष देखिएको थियो जसले गर्दा देशको आधा जनसंख्याले गम्भीर खाद्य असुरक्षाको सामना गर्दै छ । गाजामा दुर्भिक्ष फैलिँदै छ । सहायता वितरणमा अवरोधले जनसंख्यालाई भोकमरी र हिंसामा उजागर गरिरहेको छ । यी घटनाहरूले पुष्टि गर्दछन् कि भोकमरी केवल खाद्य उत्पादनको समस्या होइन । त्यो राजनीतिक, आर्थिक, सामाजिक र वातावरणीय संकटसँग गहिरो रूपमा गाँसिएको छ ।

नेपालको सन्दर्भमा, खाद्य असुरक्षा र कुपोषण अझै गम्भीर चुनौतीका रूपमा विद्यमान छ । नेपालमा २०२४ को तथ्यांकअनुसार, कुल जनसंख्याको १६.५ प्रतिशत खाद्य असुरक्षाको उच्च जोखिममा छन् । ग्रामीण तथा दुर्गम क्षेत्रका बासिन्दाहरू अझै पनि पर्याप्त पोषणयुक्त खाना पाउनबाट वञ्चित छन् । नेपालका ७७ जिल्लामध्ये २२ जिल्ला उच्च खाद्य असुरक्षाको जोखिममा छन् । मधेश, तराई, पहाड र हिमाली क्षेत्रका बीचमा पोषण र खाद्य पहुँचमा ठूलो भिन्नता छ । मधेश र तराईमा खाद्य असुरक्षा बढी देखिन्छ, जसमा सामाजिक, आर्थिक र भौगोलिक कारणहरू छन् ।

नेपालमा खाद्य असुरक्षा र पोषणमा क्षेत्रीय, जातीय र सामाजिक असमानता देखिन्छ । आर्थिक रूपमा कमजोर वर्ग, महिला, बालबालिका र वृद्धवृद्धाहरू बढी जोखिममा छन् । पछिल्लो तथ्यांकअनुसार, ग्रामीण क्षेत्रमा झन्डै २० प्रतिशतभन्दा बढी घरपरिवारले वर्षको कुनै न कुनै समयमा खाद्य अभावको सामना गरेका छन् । खाद्य असुरक्षा केवल भौतिक अभाव मात्र होइन, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षसँग पनि जोडिएको छ । आर्थिक असमानता, शिक्षा अभाव, स्वास्थ्य सेवा पहुँचको कमी र सांस्कृतिक भेदभावले खाद्य असुरक्षा झन् गहिरो बनाएको छ ।

नेपालमा कृषकहरूको ठूलो हिस्सा साना किसान हुन्, जसले सीमित स्रोत र प्रविधि प्रयोग गर्छन् । कुल कृषियोग्य जमिनमध्ये ६८ प्रतिशत साना किसानको स्वामित्वमा छ । तर, उनीहरूको उत्पादन क्षमता न्यून छ । जलवायु परिवर्तन, बाढी, पहिरो, सुक्खा जस्ता प्रकोपले खाद्य उत्पादनमा असर पुर्‍याउँछन् । खाद्य आपूर्ति र वितरण प्रणालीमा कमजोरीका कारण धेरै क्षेत्रहरूमा खाद्य अभाव देखिन्छ ।

नेपालले आफ्नो कृषि क्षेत्रको दीर्घकालीन सुधारका लागि दुई प्रमुख रणनीति कार्यान्वयन गरेको छ । कृषि परिप्रेक्ष्य योजना (एपीपी) र कृषि विकास रणनीति (एडीएस) । एपीपी सन् १९९५ देखि २०१५ सम्म २० वर्षका लागि लागू गरिएको थियो । यसको मुख्य उद्देश्य कृषि वृद्धिलाई तीव्र बनाउँदै गरिबी निवारण, रोजगारी सिर्जना र कृषि क्षेत्रलाई आत्मनिर्भर तथा व्यावसायिक बनाउने थियो ।

एपीपीको अनुभवबाट सिक्दै, नेपालले २०१५ देखि २०३५ सम्मका लागि कृषि विकास रणनीति (एडीएस) लागू गरेको छ । एडीएसको उद्देश्य कृषि क्षेत्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी, दिगो र समावेशी बनाउँदै आर्थिक वृद्धि, जीवनस्तर सुधार र खाद्य तथा पोषण सुरक्षामा योगदान पुर्‍याउनु हो । यसले आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण र विविधीकरणमार्फत कृषि प्रणालीको समग्र रूपान्तरणमा जोड दिएको छ । साथै, राम्रो शासन, उत्पादकत्व र नाफामा सुधार ल्याउने रणनीति अपनाइएको छ ।

सरकारले खाद्य सुरक्षा र पोषण सुधारका लागि विभिन्न नीति र कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । राष्ट्रिय पोषण रणनीति, खाद्य अधिकार ऐन र सामाजिक सुरक्षा कार्यक्रमहरू लागू गरिएका छन् । तर, यी कार्यक्रमहरू प्रभावकारी हुनका लागि पर्याप्त बजेट, समन्वय र निगरानी आवश्यक छ । खासगरी, गर्भवती महिला, सुत्केरी महिला, बालबालिका र वृद्धवृद्धाका लागि लक्षित पोषण कार्यक्रमहरू आवश्यक छन् । विद्यालय पोषण कार्यक्रम, मातृ स्वास्थ्य सेवा र पोषण शिक्षा कार्यक्रमहरूलाई प्रभावकारी बनाउनुपर्छ ।

यी सबै तथ्यांक र तथ्यहरूले हामीसामु खडा गर्ने प्रश्न भने गम्भीर छन्– दशकौंको प्रयासपछि पनि किन अझै लाखौं मानिस भोकमरीको सिकार छन् ? के हाम्रो नीति, कार्यक्रम र दृष्टिकोण पर्याप्त छन् ? हामीले आर्थिक, सामाजिक र सांस्कृतिक भेदभावलाई कसरी सम्बोधन गर्दछौं ? जलवायु परिवर्तनले कृषकहरूको जीवनलाई थप जोखिमपूर्ण बनाएको छ । हामीले आधुनिक प्रविधि र स्थानीय ज्ञानलाई कसरी सन्तुलित गर्नेछौं ? सरकारका नीति र कार्यक्रमहरू छन्, तर तिनीहरूको प्रभावकारिता र समन्वयमा सुधार आवश्यक छ । हामीले सामाजिक सुरक्षा र पोषण कार्यक्रमहरूलाई कसरी सबैसम्म पुर्‍याउनेछौं ? खाद्य असुरक्षा केवल उत्पादनको समस्या होइन, त्यो वितरण, पहुँच, सामाजिक न्याय र मानव अधिकारको प्रश्न हो । जब कुनै बच्चा भोकै सुत्छ, त्यो केवल परिवारको समस्या होइन, त्यो हाम्रो समाजको विफलता हो ।

अन्ततः भोकमरी अन्त्य गर्ने हाम्रो यात्रा केवल तथ्यांक र नीति मात्र होइन, त्यो हाम्रो मानवीय संवेदनशीलता र साझा उत्तरदायित्वको प्रतिबिम्ब हो । हामीले सबैलाई समेट्ने, सबैको आवाज सुन्ने र सबैका लागि न्याय सुनिश्चित गर्ने समाज निर्माण गर्नुपर्छ । कुनै पनि व्यक्ति कहिल्यै भोकै बस्न नपरोस् भन्ने हाम्रो साझा सपना पूरा गर्न मुलुकको अर्थराजनीतिमा संरचनागत सुधार गर्न जरुरी छ । संरचनागत सुधारसँगै सोच, दृष्टिकोण र कार्यशैलीमा परिवर्तन ल्याउनुपर्छ ।

भोकमरी अन्त्यका लागि नीति, कार्यक्रम, प्रविधि र सामाजिक न्यायलाई एकसाथ अघि बढाउनुपर्छ । हामीले हरेक नागरिकको अधिकार र सम्मानको रक्षा गर्न सक्यौं भने मात्र शून्य भोकमरीको सपना साकार हुनेछ । यस यात्रामा सरकार, नागरिक समाज, निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय र प्रत्येक नागरिकको भूमिका छ । हामीले साझा उत्तरदायित्वका साथ, भोकमरी अन्त्य गर्ने अभियानलाई सफल बनाउनुपर्छ । किनभने, कुनै पनि समाजको सभ्यता र प्रगतिका लागि सबैभन्दा आधारभूत कुरा हो— कोही पनि भोकै बस्नु नपरोस् ।

अन्त्यमा, भोकमरीको समस्या केवल नेपालको मात्र नभई विश्वव्यापी चुनौती हो । यसलाई समाधान गर्न सबै देश, अन्तर्राष्ट्रिय संस्था र समुदायको साझा प्रयास आवश्यक छ । दीर्घकालीन सोच, समावेशी नीति र प्रभावकारी कार्यान्वयनमार्फत मात्र भोकमरीमुक्त समाजको परिकल्पना साकार पार्न सकिन्छ । आशा गरौं, हरेक नयाँ वर्षमा आउने भोकमरीको सूचकांक हेरेर हामी विचलित हुनु नपरोस् ।

भोजराज पौडेल पौडल विकास अर्थशास्त्री हुन्। उनले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास-साझेदारसँग विभिन्न मुलुकको आर्थिक विकास र नीतिगत सुधारका क्षेत्रमा काम गरेका छन्।

Link copied successfully