देश बनाउने लालसा

यदि कुनै राजनीतिले आममानिसको जीवन पहिलेभन्दा सुरक्षित, सम्मानित र आशावादी बनाउन सक्दैन भने उसको ‘देश बनाउने’ राजनीति केवल नाराबाजी हो ।

पुस १, २०८२

केशव दाहाल

The desire to build a country

What you should know

मंसिर पहिलो हप्ताको कुरा हो । एक जना गाउँले भाइले मलाई सोध्यो, ‘के गर्दै हुनुहुन्छ दाइ आजकल ?’ मैले भने, ‘किताब लेख्दै छु ।’

उसले बडो निराशाका साथ भन्यो, ‘दाइ देश बनाउनुपर्ने समयमा कहाँ किताब लेखेर समय बर्बाद गरेको ?’ उसले यसरी भन्यो– मानौं, डाक्टर देश बनाउन छाडेर अस्पतालमा समय बर्बाद गर्दै छन् । प्राध्यापक देश बनाउन छाडेर विश्वविद्यालयमा समय बर्बाद गर्दै छन् । खेलाडी देश बनाउन छाडेर मैदानमा समय बर्बाद गर्दै छन् । कवि देश बनाउन छाडेर कविता लेख्दै छन् । र, लेखक देश बनाउन छाडेर किताब लेख्दै छन् । 

भाइ त मात्र एक जना प्रतिनिधि पात्र हो । आजकल ऊ जस्ता धेरै मान्छे मैले यत्रतत्र भेटेको छु, जो देश बनाउने हुटहुटीले रातोदिन दौडिइरहेका हुन्छन् । कतै देश बनाउने बैठक र भेला, कतै देश बनाउने प्रशिक्षण र सम्मेलन । एकातिर सामाजिक सञ्जालमा देश बनाउने भाषण, अर्कोतिर देश बनाउने पत्रकार सम्मेलन र ज्ञापन । मानौं, नेपालीलाई अहिले ‘देश बनाउने’ भूत सवार भएको छ । तिर्सना जागृत भएको छ देशको । त्यसैले, आजकल शिक्षक पढाउन छाडेर देश बनाउने काममा कुदेका छन् । कलाकार, कलाकारिता छोडेर देश बनाउने कामका लागेका छन् । युवाहरू, कलेज छाडेर देश बनाउने काममा जुटेका छन् । व्यापारीहरू, व्यापार छाडेर देश बनाउने काममा लागेका छन् । र, त्यसका लागि सबैले रोजेको एउटै काम छ– राजनीति । र, एउटै लक्ष्य छ– सत्ता । उनीहरू यसरी कुदेका छन्, मानौं अरू सबै बेकारका कुरा हुन्, मुख्य कुरा हो देश बनाउनु । 

अवश्य नै अहिले देशको राजनीति बिग्रिएको छ । राजनीति बिग्रिएका कारण अरू धेरै कुरा बिग्रिएको छ । र, यसलाई सुधार्नु अहिलेको अनिवार्य काम हो । तर के देश बनाउने भाष्यले राजनीतिलाई सही मार्गनिर्देश गर्छ ? कि, यो स्वयंमा राजनीतिलाई दिशाहीन गर्ने अर्को भ्रान्ति हो ? आजलाई यी र यस्तै प्रश्नमा केही विमर्श गरौं ।

यो पक्कै हो, झट्ट सुन्दा देश बनाउने कुरा निकै कर्णप्रिय लाग्छ । लयबद्ध कविता जस्तो । कुनै क्रान्तिकारीले देखेको सपना जस्तो । सडकमा लगाउने जोसिलो नारा जस्तो । सुनिँदा उत्साहजनक, देखिँदा राष्ट्रप्रेमी । तर गहिरिएर मनन गर्दा यो नारामा कुनै जीवन भेटिँदैन । न त यसको छेउ सजाउन सकिन्छ, न त टुप्पो । देश बनाउने भनेको के हो ? गम्भीर भएर यो प्रश्नमाथि विचार गर्दा यो नारा जति आकर्षक सुनिन्छ, उति नै खोक्रो पनि देखिन्छ । यो यस्तो नारा हो, जसले मान्छेको जीवनलाई सम्बोधन गर्दैन, राजनीतिलाई दिशाबोध गर्दैन, बरु त्यसलाई अझ दुविधाग्रस्त र भ्रमित बनाएर छोडिदिन्छ । 

किनभने, ‘देश बनाउने’ कुरा आफैंमा निकै अमूर्त कुरा हो । कसको देश बनाउने ? कस्तो देश बनाउने ? यो यस्तो अमूर्त अवधारणा हो, जसले देश र मान्छेलाई अलग गर्छ । अर्थात्, यो अवधारणाले राष्ट्रिय गीत त मन पराउँछ, तर त्यो गीत गाउने मान्छेलाई बेवास्ता गर्छ । यो यस्तो अमूर्त कुरा हो, जसले ‘हुनुपर्छ चमेली सबैलाई बराबर’ भन्ने गीत त गाउँछ, तर त्यही चमेलीलाई सडकमा उभिने ठाउँ दिँदैन । यो यस्तो अमूर्त कुरा हो, जसले ‘मान्ठा’ को गीत त मन पराउँछ, तर मान्ठालाई मान्छे गन्दैन । यो धारणाले चुच्चे नक्साका लागि जीवन दिने कुरा गर्छ, तर त्यही चुच्चे नक्साभित्र बसेका मान्छेलाई आफ्नो राजनीतिबाट अलग गर्छ । यो अवधारणाले सडक बढाउनु जायज ठान्छ, तर सडक भत्काउँदा बेघरबार भएकाहरूको आँसु देख्दैन । यो यस्तो रूढ र परम्परागत धारणा हो, जो मधेशमा लहलह धानका बाला झुलेको फोटो देखेर मख्ख पर्छ, तर त्यही धान उमार्ने किसानलाई जमिन दिने कुरा गर्दा मुन्टो बटार्छ ।

‘देश बनाउने कुरा’ खासमा ती मान्छेहरूको कोरा सपना हो, जसलाई न त तराईको चर्को घाममा पसिना बगाउनेहरूको भाषा मनपर्छ, न त हिमालको सिरेटो सहनेहरूको भावना । अवश्य नै, उनीहरूलाई तराईका मैदानहरू आकर्षक लाग्दछन् र हिमालका कञ्चन धुनीधाराहरूले मोहनी लगाउँछन् । तर त्यहाँका मान्छे ? ती घिनलाग्दा लाग्छन् । उनीहरूलाई अग्ला घर मन पर्दछ, ठूला सडक मनपर्छ, चिल्ला कार मनपर्छ र तिनको छेउमा उभिएको कुनै श्रमिक देख्दा दिगमिग लाग्छ । 

यसरी हेर्दा, देश बनाउने नाराले मान्छेको वास्तविक जीवनको प्रतिनिधित्व गर्दैन । र, यहींबाट राजनीतिमा अनगिन्ती समस्याहरू सुरु हुन्छन् । यसर्थ नै देश बनाउने नारा मान्छेको राजनीति गर्नेहरूका लागि उपयुक्त नारा होइन । यो लोकतान्त्रिक राजनीतिका लागि उपयुक्त प्रस्ताव होइन । यो जनकेन्द्रित विचार होइन । यो मानवतावादी भाष्य होइन । यो अर्थमा आज हामीलाई देश बनाउने हैन, मान्छेको जीवन बदल्ने राजनीति चाहिएको छ । यहाँ बुझ्नुपर्ने के छ भने जब मान्छेको जीवन फेरिन्छ, देश स्वभावतः आफैं फेरिन्छ । तर देश फेरिँदैमा सबै मान्छेको जीवन फेरिन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । यसो किन भनिएको हो भने राजनीतिले मान्छे र देशलाई बहुआयामिक अर्थ र सम्बन्धबाट बुझ्नुपर्ने हुन्छ । विचार गरौं त देश भनेको के हो ? भूगोल, सिमाना, माटो । देश भन्ने चिजलाई मान्छेबाट अलग गर्‍यो भने के हुन्छ ? र, मान्छेलाई भिन्न राखेर देश बनाउने भन्यो भने त्यो कस्तो देखिन्छ ? 

आज देश बनाउन दौडधुप गरिरहेका मान्छेलाई ‘देश बनाउने’ भनेको के हो भनेर प्रश्न गर्‍यो भने त्यसको कुनै मूर्त जवाफ आउँदैन । यो स्वाभाविक पनि हो किनभने देश बनाउने कुरा अमूर्त नै हुन्छ । मूर्त त हुन्छ, मान्छेको जीवन बदल्ने कुरा । जसका लागि मान्छेलाई सुनिश्चित गर्नुपर्छ उसको स्वाभिमान र समृद्धि । विचार गरौं, मान्छेको स्वाभिमान र समृद्धि प्राप्त हुन्छ कसरी ? मान्छेको दैनिक जीवन समृद्ध हुन्छ कसरी ? शिक्षा, स्वास्थ्य र सामाजिक न्यायको अवस्था फेरिन्छ कसरी ? उत्पादन बढ्छ कसरी ? रोजगारी सिर्जना हुन्छ कसरी ? कुरा गर्नुपर्ने आजका प्रश्न यी हुन् । तर जो देश बनाउने कुराबाट मोहित छन्, उनीहरू बेरोजगारसँग होइन, बेरोजगारीको तथ्यांकसँग खेल्न बढी रुचाउँछन् । गर्नुपर्ने थियो अस्पताल बनाउने कुरा । विश्वविद्यालय बनाउने कुरा । कृषि उत्पादन बढाउने कुरा । पर्यटन सुधार्ने कुरा । रोजगारी बढाउने कुरा । भ्रष्टाचारको अन्त्य गर्ने कुरा । न्याय सुनिश्चित गर्ने कुरा । तर ती सबैलाई छोडेर जब राजनीति सिधा देश बनाउने अमूर्त सपनामा ठोकिन पुग्छ, त्यसपछि यो पक्का छ, सबै कुरा अन्योलग्रस्त हुन्छ र बन्नुपर्ने केही पनि बन्दैन ।

प्रश्न आउन सक्छ, देश बनाउने भन्दा बिग्रन्छ के ? ‘देश बनाउने’ भन्ने अमूर्त भाषाले राजनीतिलाई जिम्मेवारीबाट भाग्न सजिलो बनाउँछ । हिजो समाजवाद बनाउने भनेर आधा शताब्दी खेर गयो, तर गाउँमा एउटा राम्रो स्कुल र अस्पताल बनेन । सायद हिजो गाउँमा एउटा राम्रो स्कुल र अस्पताल बनाउने सपना देखेको भए, त्यो बन्थ्यो होला । तर हामी कुद्यौं समाजवादको अमूर्त सपनामा । त्यस्तै आज देश बनाउने अमूर्त कुराले हाम्रो अर्को आधा दशक जानेछ, तर यो पक्का छ, गाउँमा एउटा वृद्धाश्रम बन्ने छैन ।

किनभने जब सम्पूर्ण राजनीति मृगतृष्णाको पछाडि दौडिन्छ, तब बाटोमा भेटिने कुवाहरू नदेखीकनै छुट्छन् । र, मान्छेको तिर्खा मेटिँदैन । यो निश्चित छ, जब मान्छे, देश बनाउने ठूलो मिसनमा लाग्छ, सानातिना काममा आँखा लाग्न छोड्छन् । त्यसपछि शिक्षा सुधार नगरे पनि हुन्छ, स्वास्थ्य प्रणाली लथालिङ्ग भए पनि हुन्छ, श्रमिकको जीवन असुरक्षित भए पनि हुन्छ । किनकि भनिदिन सकिन्छ, ‘हामी त देश बनाउँदै छौं ।’ अझ खतरनाक कुरा के छ भने– यो अमूर्त भाष्यले नेताहरूलाई उत्तरदायित्वबाट भाग्ने सुविधा दिन्छ । जनताका ठोस मुद्दामा निरपेक्ष बसेर, असामान्य बन्न प्रेरित गर्छ । जब मान्छेलाई ‘देश बनाउने ठूलो सपना’ देखाइन्छ, स्वभावतः साना सपनाहरू गौण हुँदै जान्छन् । र, राजनीति जमिनबाट गायब हुन्छ । 

अतः आजलाई हामीले बनाउनुपर्ने देश होइन, जीवन हो । यदि कुनै राजनीतिले आममानिसको जीवन पहिलेभन्दा सुरक्षित, सम्मानित र आशावादी बनाउन सक्दैन भने उसको ‘देश बनाउने’ राजनीति केवल नाराबाजी हो । देश तब बन्छ, जब एउटा युवाले देश छोड्नुपर्ने बाध्यता सकिन्छ । देश तब बन्छ, जब बिरामीले उपचारका लागि सम्पत्ति बेच्नुपर्दैन । देश तब बन्छ, जब किसानले उत्पादनको मूल्य पाउँछ । देश तब बन्छ, जब महिलाहरू कुनै त्रासबिना सडकमा हिँड्न पाउँछन् । देश तब बन्छ, जब नागरिकले राज्यमाथि हिस्सेदारी पाउँछन् । यी सबै जीवनका सवाल हुन्, देश बनाउने कोरा नारा होइनन् । अतः आज हामीलाई चाहिएको राजनीति ‘मान्छेको जीवन बदल्ने’ राजनीति हो । अन्यथा, मान्छेको जीवन नबदली ‘देश बनाउने’ कुरा गर्नु केवल ‘फन्टसी’ मात्र हो– सुन्न राम्रो, तर जीवनसँग असम्बन्धित ।

भन्नपर्दैन कि, देशको मेरुदण्ड लोकतन्त्र, सुशासन र सामाजिक न्याय हो । जहाँ लोकतन्त्र, सुशासन र न्याय छैन, त्यहाँ देश केवल राज्यको प्रशासनिक संरचना मात्र हुन्छ– जनताको देश हुँदैन । यो कुनै दया वा कृपाको कुरा होइन, यो नागरिकको अधिकार हो । जब केही वर्ग, जाति, भूगोल वा पहुँच भएकाहरू मात्र ‘देश बनाउने’ अवसरमा सहभागी हुन्छन् र बाँकी फगत दर्शक बन्छन्, तब त्यो देश असमानताको कारखाना बन्छ । जहाँ न्याय छैन, त्यहाँ विकास केवल केहीका लागि सुविधा बन्छ, तर धेरैका लागि असमान र पीडा । त्यस्तो देशमा सम्भवतः विकास नै भए पनि न्याय हुँदैन । संरचना बन्छन् तर जीवन भत्किन्छ । र, मान्छेको जीवन भत्किएको छ भने त्यो देश बनेर पनि आममान्छेका लागि अर्थहीन हुन्छ । 

केशव केशव दाहाल राजनीतिक-सामाजिक अभियान र लेखनमा सक्रिय छन् । राजनीतिक विश्लेषक र साहित्यकार दाहालकाे उपन्यास मोक्षभूमिले पद्मश्री साहित्य पुरस्कार पाएकाे थियाे ।

Link copied successfully