कसको असफलता, कस्तो असफलता ?

समस्या लोकतन्त्र र संविधान होइन, दलतन्त्र, नेतातन्त्र र सिन्डिकेटतन्त्र हो । जहिलेसम्म यस्तो विकृततन्त्र अन्त्य गरी उन्नत लोकतन्त्र र सुसंस्कृत राजनीतिको अभ्यास प्रारम्भ गरिन्न, तहिलेसम्म विद्यमान संकटको समाधान हुने सम्भावना छैन ।

मंसिर २४, २०८२

गेजा शर्मा वाग्ले

Whose failure, what kind of failure?

What you should know

२३–२४ भदौको जेन–जी विद्रोहबाट करिब २४ घण्टामा कांग्रेस–एमालेको बलियो भनिएको सरकार विस्थापित भएर अन्तरिम सरकार बनेपछि नेपाली राजनीतिमा केही गम्भीर र जटिल प्रश्नहरू उठेका छन् । भदौ २४ मा देश केवल सरकारविहीन मात्रै भएन, राजधानीमा नै हिंसा, विध्वंस र अराजकताको साम्राज्य स्थापित भयो ।

शीतल निवास, सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनदेखि दुर्गम गाउँका वडा कार्यालयजस्ता सार्वजनिक सम्पत्ति जलाएर खरानी बनाइयो । प्रधानमन्त्री, मन्त्री र राजनीतिक पार्टीका नेताहरूलाई सुरक्षा निकायले हेलिकोप्टरमार्फत उद्धार गरी अज्ञात स्थानमा राखी सुरक्षा गर्नुपरेको थियो ।

दुई लाखभन्दा बढी संख्याको सुरक्षा निकायले जनताको सुरक्षा गर्न नसकेको मात्रै होइन, नेपाल प्रहरीले आफ्नै कार्यालय र हतियारको सुरक्षा गर्न नसकेको अत्यन्त दारुण र चिन्ताजनक अवस्थासमेत सिर्जना भयो ।

नेपालमा विशाल राजनीतिक क्रान्ति, आन्दोलन र माओवादीको नेतृत्वमा एक दशक लामो सशस्त्र द्वन्द्व पनि भएको थियो । तर राज्य यति निरीह र कमजोर अहिलेसम्म भएको थिएन । के यो राज्यकै असफलता हो कि राजनीतिको ? लोकतन्त्रको असफलता हो कि संविधानको ? राजनीतिक पार्टीको असफलता हो कि नेतृत्वको ? शासन प्रणालीको असफलता हो कि सरकारको ? सुरक्षा प्रणालीको असफलता हो कि सुरक्षा निकायको ? भन्नेजस्ता प्रश्न मात्रै होइन, यक्ष प्रश्न खडा भएका छन् ।

यी प्रश्नको वस्तुनिष्ठ रूपमा निरूपण नगरी विद्यमान संकटको समाधान हुने सम्भावना छैन । त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृश्यमा देखिएका पछिल्लो राजनीतिक संकट तथा आन्दोलनको स्वरूपका बारेमा वस्तुनिष्ठ विश्लेषण गर्ने प्रयास गरिएको छ ।

राज्य कि राजनीतिको असफलता ?

सन् २०२४ का अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता ड्यारोन आसेमोग्लु र जेम्स ए रविन्सनको सन् २०१२ मा प्रकाशित ‘ह्वाई नेसन्स फेल’ नामक विश्व चर्चित पुस्तकमा लोकतान्त्रिक संस्थाको विकासलाई सर्वोच्च प्राथमिकता दिइएको छ । अमेरिका, युरोप, अफ्रिका र एसियाका देशको अध्ययन–अनुसन्धान गर्दै आएका लेखकद्वयले लोकतन्त्रको सफलता र आर्थिक विकासका लागि कार्यमूलक, प्रभावकारी र सबल संस्था पूर्वसर्त भएको विचार व्यक्त गरेका छन् ।

लोकतन्त्रको सफलताका लागि समावेशी राजनीतिक संस्था र आर्थिक विकासका लागि समावेशी आर्थिक संस्था विकास गर्न सुझाव दिएका छन् । आसेमोग्लु र रविन्सनको तर्क छ– ‘जुन देशमा राजनीतिक र आर्थिक संस्थाहरू सबल, स्वायत्त र कार्यमूलक भए, ती देशमा लोकतन्त्र पनि सफल भयो र आर्थिक विकास पनि भयो । तर जुन देशमा भएनन्, ती देशमा लोकतन्त्र पनि दुर्घटनामा पर्दै आएका छन् र आर्थिक विकास पनि भएन ।’

राज्यका निकायहरू दोहनकारी भए भने आर्थिक विकासमा प्रतिकूल प्रभाव पर्ने तर्क गरेका छन् । त्यसैले समावेशी आर्थिक वृद्धि र आर्थिक विकासले मात्रै लोकतन्त्रको औचित्य पुष्टि हुने विचार व्यक्त गरेका छन् । 

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक बेन अन्सेलको सन् २०२३ मा ‘ह्वाई पोलिटिक्स फेल’ भन्ने अर्को विश्व चर्चित पुस्तक प्रकाशित भएको छ । लोकतान्त्रिक संस्थाहरूको तुलनात्मक अध्ययन–अनुसन्धान गर्दै आएका अन्सेलले राजनीति असफल हुनुमा आधारभूत रूपमा पाँच मूल कारण अर्थात् पाँच पासो (ट्र्याप) जिम्मेवार भएको निष्कर्ष निकालेका छन् । ती पाँच पासो हुन्– लोकतन्त्रको पासो, समानताको पासो, समुन्नतिको पासो, सुरक्षाको पासो र ऐक्यबद्धताको पासो ।

लोकतन्त्र, समानता, समुन्नति, सुरक्षा र सामाजिक ऐक्यबद्धता नागरिकका स्वाभाविक चाहना र नैसर्गिक आकांक्षा हुन्छन् । ती पाँच आयाम एकअर्कामा अन्तरसम्बन्धित पनि हुन्छन् र अन्तरविरोधपूर्ण पनि हुन्छन् । तर ती सबै आकांक्षा एकैसाथ हासिल हुँदैनन् वा नहुन पनि सक्छन् ।

ती पाँच आयाम अन्तरसम्बन्धित भएर एकअर्काको परिपूरक भए राजनीति सफल हुन्छ । तर अन्तरविरोधपूर्ण भए भने राजनीति असफल हुन्छ । राजनीति न निरपेक्ष रूपमा अनुकूल हुन्छ, न निरपेक्ष रूपमा प्रतिकूल हुन्छ । त्यसैले उदार मूल्य मान्यता र प्रक्रियाका आधारमा लोकतान्त्रिक प्रणालीको संस्थागत विकास गरी डेलिभरी गर्न नसके लोकतन्त्र र राजनीति दुवै असफल हुने अन्सेलको निष्कर्ष छ ।

‘ह्वाई नेसन्स फेल’ र ‘ह्वाई पोलिटिक्स फेल’ का केही निष्कर्ष र सूचकांकहरू नेपालको सन्दर्भमा पनि प्रासंगिक छन् । यो केही हदसम्म राज्यको असफलता पनि हो र केही हदसम्म राजनीतिको असफलता पनि हो । अमेरिकाको वासिङ्टन डीसीस्थित थिंक ट्यांक फन्ड फर पिसद्वारा वार्षिक रूपमा प्रकाशित हुने फ्रजाइल स्टेट इन्डेक्स (कमजोर राज्य सूची) मा १७९ देशहरूमध्ये नेपाल ७८ अंकका साथ ५७ औं स्थानमा छ ।

राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, संवैधानिक, सुशासन, विधिको शासन, मानवअधिकारको अवस्थालगायतका सूचकांकका आधारमा निर्धारण हुने सूचीमा नेपाल अहिले नै ५७ औं स्थानमा छ । यो स्वयंमा चिन्ताजनक र जोखिमपूर्ण हो ।

जेन–जी विद्रोहको कारणले सिर्जना भएको राजनीतिक, आर्थिक, संवैधानिक, सामाजिक, सुरक्षा अवस्थाको कारणले अर्को वर्ष नेपालको स्थान थप खस्किन सक्छ । यदि फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन भएर संविधान सही मार्गमा आएन भने थप राजनीतिक तथा संवैधानिक संकट सिर्जना हुने निश्चित छ । जसको प्रतिफलस्वरूप नेपाल कमजोर राज्यबाट असफल राज्यतर्फ उन्मुख हुन सक्ने जोखिम उच्च हुँदै गएको छ । 

जेन–जी विद्रोहका क्रममा सुरक्षा निकायको असफलता मात्रै होइन, सुरक्षा प्रणालीकै बारेमा समेत गम्भीर प्रश्नहरू उठेका छन् । शीतल निवास, सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन सेना र सुरक्षा निकायले किन बचाउन सकेनन् ? उनीहरूले नबचाएका हुन् कि बचाउन नसकेका हुन् ? भन्ने प्रश्न हरेक नेपालीको मनमा छ ।

यसको जवाफ सरकार र सुरक्षा निकायले जनतालाई दिनु आवश्यक छ । यही कारणले यो कतै राज्यकै असफलता त होइन ? भन्ने बहस पनि चलिरहेको छ । सरकार र सुरक्षा निकायले यसबारेमा गम्भीर समीक्षा गरी अविलम्ब उपयुक्त नीति तथा रणनीति अख्तियार गर्नु आवश्यक छ । होइन भने भविष्यमा अर्को कल्पनातीत दुर्घटनासमेत हुन सक्छ । 

लोकतन्त्र कि संविधानको असफलता ?

हार्वर्ड विश्वविद्यालयका प्राध्यापकहरू स्टेभिन लिभित्स्की र ड्यानियल जिबलटद्वारा लिखित ‘हाउ डेमोक्रेसिज डाई’ पुस्तकमा उदार लोकतन्त्रका संकट जटिल र चुनौतीपूर्ण भएको निष्कर्ष निकालिएको छ । सन् २०१८ मा प्रकाशित उक्त पुस्तकका लेखकद्वयको निचोड छ– ‘शीतयुद्धकालीन साम्यवाद, फासीवाद, सैन्य शासन तथा एकदलीय तानाशाह अहिले लोकतन्त्रका प्रमुख चुनौती होइनन् । पपुलिजम, उग्रराष्ट्रवाद, अनुदारवाद, निर्वाचित अधिनायकवाद तथा सर्वसत्तावाद, अराजकतावाद प्रमुख चुनौती हुन् ।’ यदि उक्त चुनौतीहरूको समयमै सम्बोधन गरिएन भने लोकतन्त्रमाथि थप संकट सिर्जना हुने भविष्यवाणीसमेत गरेका छन् । 

‘हाउ डेमोक्रेसिज डाई’ का शिक्षा र सूचकांकहरू नेपालका लागि पनि उत्तिकै सान्दर्भिक र मननीय छन् । अन्तर्राष्ट्रिय सन्दर्भमा लोकतन्त्र र सरकारमाथि तथा नेपालको सन्दर्भमा लोकतन्त्र, संविधान र सरकारमाथि केही गम्भीर प्रश्नहरू उठेका छन् ।

पूर्वउल्लिखित तीन पुस्तकको सार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भसहित समीचीन मीमांसा गर्दा प्रमुख रूपमा तीन निष्कर्षमा पुगिन्छ । पहिलो, लोकतान्त्रिक पद्धतिबाट निर्वाचित सरकारले लोकतान्त्रिक मूल्य–मान्यताअनुसार राज्य सञ्चालन नगरेको मात्रै होइन, ती सरकार क्रमिक रूपमा अनुत्तरदायी, अधिनायकवादी र सर्वसत्तावादी हुँदै गएका छन् । दोस्रो, जनताको आकांक्षाअनुसार सरकारले आर्थिक विकास, डेलिभरी र सुशासनको प्रत्याभूति गर्न सकेका छैनन् ।

तेस्रो, राज्य, लोकतन्त्र, सरकार र पार्टीप्रति जनताको व्यापक असन्तुष्टि, आक्रोश र वितृष्णा सिर्जना भएको छ । त्यसैको प्रायोजित प्रोपोगान्डा र अतिरञ्जित व्यापार गरी पपुलिस्ट, उग्रराष्ट्रवादी र अनुदारवादी व्यक्ति, प्रवृत्ति र पार्टीहरूको उदय मात्रै भइरहेको छैन, उल्लेखनीय जनसमर्थनसमेत हासिल गर्दै आइरहेका छन् । त्यसैले राज्य, लोकतन्त्र, सरकार र पार्टीहरू अलोकप्रिय र प्रतिरक्षात्मक हुँदै गएका छन् । 

तर नेपालको सन्दर्भमा लोकतन्त्रको असफलता हो कि संविधानको ? भन्ने बहसमा निष्कर्षमा पुग्नुभन्दा पहिले अर्को विवादको निरूपण गर्नु आवश्यक छ । त्यो हो– नेपालमा लोकतन्त्र र संविधान पूर्ण रूपमा कार्यान्वयन भएको छ कि छैन ? पंक्तिकारको विचारमा लोकतन्त्र पूर्ण रूपमा कार्यान्वयन भएको छैन, संविधान पनि पूर्ण रूपमा कार्यान्वयन भएको छैन ।

यदि लोकतान्त्रिक मूल्य–मान्यता तथा संविधानको मर्म र भावनाअनुसार राज्य सञ्चालन भएको भए, सम्भवतः अहिलेको राजनीतिक तथा संवैधानिक संकट सिर्जना हुने थिएन । लोकतन्त्रको नाममा विगत लामो समयदेखि जे अभ्यास गरिँदै आएको छ, त्यो लोकतन्त्र होइन । त्यो लोकतन्त्रको नाममा दलतन्त्र, नेतातन्त्र र सिन्डिकेटतन्त्र हो । जतिसुकै कटु भए पनि राजनीतिक यथार्थ यही हो । उक्त वास्तविकतालाई आत्मसात् गर्नु स्वयं लोकतन्त्रवादी र पार्टीहरूकै स्वार्थ र भविष्यका लागि लाभदायक हुनेछ । 

एकातिर लोकतन्त्रको संस्थागत विकास हुन सकेको छैन, अर्कोतिर लोकतान्त्रिक, संवैधानिक तथा सार्वजनिक संस्था सबल र सक्षम छैनन् । कतिपय समय र सन्दर्भमा कार्यपालिका, व्यवस्थापिका र कार्यपालिकाबीच अन्तरविरोधपूर्ण सम्बन्ध र द्वन्द्वसमेत हुँदै आएको छ । त्यसैले ती संस्थाले जनताको विश्वास पनि गुमाउँदै गएका छन् ।

लोकतान्त्रिक संस्थाहरू सबल, सक्षम र कार्यमूलक नभएका कारण सरकार, पार्टी र नेतृत्व पनि जनताप्रति उत्तरदायी भएनन् । त्यसैले समस्या लोकतन्त्र र संविधान होइन, दलतन्त्र, नेतातन्त्र र सिन्डिकेटतन्त्र हो । जहिलेसम्म यस्तो विकृततन्त्र अन्त्य गरी उन्नत लोकतन्त्र र सुसंस्कृत राजनीतिको अभ्यास प्रारम्भ गरिन्न, तहिलेसम्म विद्यमान संकटको समाधान हुने सम्भावना छैन । 

लोकतन्त्र भनेको प्रणाली, पद्धति र प्रक्रिया हो । लोकतान्त्रिक संस्थाहरू कार्यमूलक र प्रभावकारी भए पद्धतिको विकास हुन्छ र पद्धतिको विकास भए मात्रै प्रणालीको विकास हुन्छ । लोकतन्त्रको अर्थ शासन प्रणाली मात्रै होइन, जीवन पद्धति हो । यदि जीवन पद्धतिका रूपमा सरकार र पार्टीले आत्मसात् गर्न सकेनन् भने लोकतन्त्रकै औचित्यमाथि समेत प्रश्नचिह्न खडा हुनेछ ।

नेपालको सन्दर्भमा सबैभन्दा प्रमुख समस्या सुशासन र उत्तरदायित्व हो । लोकतान्त्रिक प्रणाली छ, संविधान छ, दलहरू छन् । तर सुशासन र उत्तरदायित्व छैन । नेपाली जनताका लागि लोकतन्त्रको विकल्प छैन । लोकतन्त्रको विकल्प भनेको थप उन्नत लोकतन्त्र हो । लोकतन्त्रको विकल्प पपुलिजम, उग्रराष्ट्रवाद, अनुदारवाद हिजो पनि थिएन, आज पनि होइन र भोलि पनि हुने छैन । 

यदि लोकतान्त्रिक संस्था प्रभावकारी र कार्यमूलक नभए लिभित्स्की र जिबलटको निष्कर्षजस्तै अधिनायकवादी तथा सर्वसत्तावादी शासक जन्मिन्छन् । लोकतन्त्रको संस्थागत विकास भएका कारण अधिकारसम्पन्न भए पनि अमेरिकाका कुनै पनि राष्ट्रपति सर्वसत्तावादी वा अधिनायकवादी भएनन् ।

जर्ज वासिङ्टन, अब्राहम लिंकन, फ्र्यांकलिन रुजबेल्टजस्ता भिजनरी नेताले लोकतन्त्र र आर्थिक विकासका बलियो आधारशिला खडा गरेका थिए । यदि सुदृढ प्रणाली र सबल संस्था नभएको भए डोनाल्ड ट्रम्पको कार्यकालमा दुर्घटना पनि हुन सक्थ्यो । तर ट्रम्पले चाहेर पनि लोकतन्त्रलाई कमजोर बनाउन सकेनन् ।

शासकीय प्रणाली कि सरकारको असफलता ?

अहिलेको अर्को बहुचर्चित ‘न्यारेटिभ’ हो, २०४६ पछि अनुसरण गर्दै आएको शासकीय प्रणाली र सरकारले जनताको भावनाअनुसार डेलिभरी गर्न सकेनन् । राजनीतिक प्रणाली (पोलिटिकल सिस्टम) र शासकीय प्रणाली (गभर्नेन्स सिस्टम) फरक हुन् ।

नेपालले अनुसरण गरेको राजनीतिक प्रणाली लोकतन्त्र हो भने शासकीय प्रणाली संसद्बाट प्रधानमन्त्री निर्वाचित हुने संसदीय प्रणाली हो । संसदीय प्रणालीको कारणले राजनीतिक अस्थिरता भयो र यस्तो प्रणालीले डेलिभरी गर्न पनि सकेन । त्यसैले स्थिर र प्रभावकारी सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक भएको बहस पुनः उठेको छ । राजनीतिक अस्थिरता र कुशासनको चक्रव्यूहबाट गुज्रिरहेको घडीमा यस्तो प्रस्ताव लोकप्रिय हुनु अस्वाभाविक भएन । 

उक्त आरोप र ‘न्यारेटिभ’ मा पनि आंशिक सत्यता छ । किनभने यो सरकार र शासकीय प्रणालीको पनि असफलता हो । तर संसदीय प्रणालीको विकल्प प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली होइन । यदि राजनीतिक अस्थिरताबाट मुक्तिका लागि स्थिरताका नाममा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अंगीकार गर्नु भनेको ‘तावाबाट उम्केको माछा भुंग्रोमा पर्ने’ नेपाली उखान चरितार्थ गर्नुजस्तै हो ।

किनभने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अधिनायकवादी तथा सर्वसत्तावादी हुने जोखिम झनै उच्च भएको अन्तर्राष्ट्रिय अभ्यासले पुष्टि भइसकेको छ । तर उत्तिकै सत्य के पनि हो भने विद्यमान शासकीय प्रणाली अस्थिर भयो र राज्य सञ्चालन गर्ने राज्यका निकायहरू कार्यमूलक र प्रभावकारी भएनन् । त्यसैले शासकीय प्रणाली र सरकार दुवै असफल, अलोकप्रिय र कमजोर हुँदै गएका छन् ।

त्यसैले सरकारलाई जनताप्रति थप उत्तरदायी कसरी बनाउने र यो शासकीय प्रणालीलाई डेलिभरी गर्ने प्रणालीका रूपमा कसरी विकसित गर्ने ? यसबारे गम्भीर अध्ययन, छलफल र बहस गरी ठोस निष्कर्षमा पुग्नुपर्ने उपयुक्त घडी हो । लोकतान्त्रिक संस्कारको अभाव, राजनीतिक अस्थिरता, अन्त्यहीन सत्ताको खेल, भ्रष्टाचार र कुशासनका कारणले समस्या सिर्जना भएका हुन् । यी समस्या प्रणाली र संस्थाभन्दा पनि शासकीय शैली र नेतृत्वको कार्यशैलीसँग अन्तरनिहित छन् ।

अर्कोतिर शासकीय प्रणाली र सरकार मात्रैले भन्दा पनि नेपाली राजनीतिको बहुप्रचलित प्रवृत्ति ‘क्याकिस्टोक्रेसी’ का कारणले थप अलोकप्रिय र बदनाम भएको देखिन्छ । अयोग्यहरूले शासन गर्ने तन्त्रलाई अंग्रेजीमा ‘क्याकिस्टोक्रेसी’ अर्थात् अयोग्यतन्त्र भनिन्छ ।

वास्तवमा विद्यमान संकटको प्रमुख कारण नै ‘क्याकिस्टोक्रेसी’ हो । नेपालले जति छिटो यस्तो ‘क्याकिस्टोक्रेसी’ को दुश्चक्रबाट लोकतन्त्र र सरकारले मुक्ति पाउँछ, त्यति नै छिटो विद्यमान संकटबाट पनि मुक्ति पाउँछ । लोकतन्त्रमा सरकार र शासकीय प्रणाली भनेको मेरिटोक्रेसी (योग्यतातन्त्र) हो । तर नेपालको सन्दर्भमा ‘क्याकिस्टोक्रेसी’ (अयोग्यतन्त्र) भएको छ । लोकतन्त्रका लागि योभन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ ?

राजनीतिक पार्टी कि नेतृत्वको असफलता ?

जेन–जी आन्दोलनपछि पुराना अर्थात् मूलधारका पार्टीहरू असफल भएको दाबी गर्दै ती पार्टीको विकल्प खोज्नुपर्ने अर्को ‘न्यारेटिभ’ पनि प्रचलित हुँदै गएको देखिन्छ । २०६१ मा राजा ज्ञानेन्द्रले ‘कू’ गरी प्रत्यक्ष शासन गरेको १५ महिनाबाहेक २०४६ मा लोकतन्त्र स्थापना भएपछि निरन्तर पार्टीहरूले राज्य सञ्चालन गर्दै आएका कारणले उक्त आरोप लाग्नु अस्वाभाविक भएन ।

उक्त आरोपमा पनि आंशिक सत्यता छ । यदि पार्टीहरूले लोकतान्त्रिक प्रणालीको मूल्य र मान्यता, संविधानको मर्म र भावना तथा जनताको आकांक्षाअनुसार राज्य सञ्चालन गरेको भए अहिलेको संकट सिर्जना हुने थिएन । त्यसैले अहिलेको संकटका लागि पार्टीहरू राजनीतिक र नैतिक दुवै दृष्टिले जिम्मेवार छन् । यो वास्तविकतालाई पार्टीहरूले आत्मसात् गर्नु अपरिहार्य छ ।

तर यो पूर्ण रूपमा पार्टीको मात्रै असफलता पनि होइन । राज्य र पार्टीको पटक–पटक नेतृत्व गर्ने अवसर पाएर पनि डेलिभरी गर्न नसकेका मूलधारका पार्टीको प्रमुख नेतृत्वको असफलता हो । यसैगरी प्रमुख नेतृत्वको निकट रहेर सत्ताको अधिकतम दोहन गर्दै आएका दोस्रो पुस्ताका प्रभावशाली नेतृत्व पंक्तिको पनि असफलता हो । त्यसैले नेतृत्वको असफलताको सिकार पार्टीलाई बनाउनु हुँदैन ।

अर्कोतिर कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायतका पार्टीहरूमा वृद्ध नेतृत्व हाबी भएको छ, जसलाई अंग्रेजीमा ‘जेरोन्टोक्रेसी’ अर्थात् वृद्धतन्त्र भनिन्छ । ‘जेरोन्टोक्रेसी’ पनि अहिलेको संकटको प्रमुख कारणमध्ये एक हो । ‘जेरोन्टोक्रेसी’ जेन–जी विद्रोहको पनि प्रमुख एजेन्डा थियो ।

त्यसैले मूलधारका पार्टीहरूलाई वृद्धतन्त्रबाट मुक्त बनाएर भिजन र विचारसहितको नयाँ पुस्ताको नेतृत्व स्थापित गर्नु आवश्यक छ । पुस्तान्तरणसहितको यस्तो नयाँ नेतृत्वले पार्टीलाई मौलिक रूपमा रूपान्तरण र सुधार गर्नुपर्छ । होइन भने यथास्थितिमा यस्ता पार्टीको भविष्य पनि छैन, औचित्य पनि छैन ।

तर गोयबल्स शैलीमा प्रोपोगान्डा गर्ने पपुलिस्ट, सर्वसत्तावादी, अधिनायकवादी होइन, दूरदृष्टि भएको भिजनरी, ऊर्जाशील, उत्तरदायी, स्वच्छ छवि तथा पारदर्शी जीवनशैली भएको नेतृत्व आजको आवश्यकता हो । त्यसैले आजको आवश्यकता भ्रम होइन, भिजन हो र प्रोपोगन्डा होइन, पर्फर्मेन्स हो ।

‘दी मिथ अफ स्ट्रङ लिडरसिप’ पुस्तकका लेखक आर्सी ब्राउनको ‘शक्तिशाली शासक होइन, भिजनरी र उत्तरदायी नेतृत्व’ आवश्यक भएको विचार नेपालको सन्दर्भमा पनि उत्तिकै मननीय छ । के नेपालका पार्टीहरूले उक्त वास्तविकतालाई आत्मसात् गरी आफूलाई रूपान्तरण गरी भिजनरी नेतृत्व स्थापित गर्न सक्लान् ? होइन भने संविधान, सरकार र पार्टी मात्रै होइन, लोकतन्त्र र राज्य नै असफल हुन सक्छ । सबैलाई चेतना भया !

गेजा शर्मा वाग्ले गेजा शर्मा वाग्ले राजनीति, भूराजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका विषयमा लेख्छन् । उनी बेलायतको बर्मिंघम विश्वविद्यालयमा नेपालको राजनीतिक संक्रमण र शान्ति प्रक्रियासम्बन्धी अनुसन्धान फेलो समेत रहेका थिए ।

Link copied successfully